अब नेपालका स्वास्थ्य जनशक्ति नि:शुल्क बेलायत जान पाउने
काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।
फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु
काठमाडौ । फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस
अडिट रिपोर्ट नबुझाउने राजनीतिक दलले चुनाव लड्न नपाउने
काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दलहरु मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागि नगराइने बताए । उनले दल दर्ताका लागि आवश्यक कागजात मध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने बताए । उनका अनुसार आयोगमा दर्ता भएका दलहरुले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरुको सूची सार्वजनिक गरिने छ । अयोगका सहायक प्रवक्ता अर्यालले दलहरुले आयव्यय विवरण नबुझाएको पाइएमा आयोगले पुनः माग गर्ने र माग गर्दा पनि नबुझाएको अवस्थामा निर्वाचनमा भाग लिन नदिइने बताए ।
सुपर न्यादी जलविद्युत् आयोजनाको सुरुङ मार्ग ’ब्रेक थ्रु’
लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माणकार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत धमाधम अघि बढिरहेको छ । ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढकिलोमिटर सडक बनाउन बाँकी रहेको र आागमी दुई महिनासम्म निर्माण सम्पन्न हुने उनले बताए । प्रबन्ध निर्देशक गुरुङले भने, यतिबेला हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पु¥याएर बाँध र ड्याम साइडबाट सडक खन्ने र सात किलोमिटरको सुरुङमार्गको काम भइरहेको छ । सुरुङका लागि दुई वटा अडिट टनेलसहित ५०० मिटर खन्ने काम सकिएको छ । यतिबेला दैनिक निर्माण कार्यमा २४० जना खटिएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) अनुसार आगामी दुई वर्ष (२०८१ असार) भित्र विद्युत् उत्पादन सुरु गरिसक्नुपर्छ । हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माणको ठेक्का लिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ । प्रवर्धकको इक्वीटी (स्व पुँजी) एक अर्ब ७५ करोड रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत लगानी रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सवस्टेसनमा जोडिने भएको छ । सवस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ । रासस
बैंकले ऋण नदिएपछि सञ्चय कोषबाट कर्जा लिँदै सञ्चयकर्ता, धितो राखेर घरजग्गामा जोड्दै
महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ । सञ्चय कोष शाखा कार्यालयका प्रमुख धुर्व तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई ४३ करोड ९० लाख ७८ हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए । त्यसैगरी दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप ५४ करोड ५६ लाख प्रदान गरिएको उनको भनाइ थियो । ‘बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ ।’ प्रमुख तिवारीले भने,’सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।’ धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए । सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय सञ्चालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यतासमेत हटेको छ । त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले एक हजार ५८३ सञ्चयकर्तालाई एक करोड १८ लाख भुक्तानी गरिएको छ । कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई रु एक्काइस लाख बीस हजार, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई ५६ लाख तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई उन्नाइस लाख ५० हजार भुक्तानी गरेको छ । त्यसैगरी गत आर्थिक वर्षमा घर सापटीतर्फ एक सय ८९ सञ्चयकर्तालाई ४३ करोड छैसठ्ठी लाख, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई सात करोड त्रिपन्न लाख, शैक्षिक सापटीतर्फ एक जनालाई नौ लाख ६९ हजार भुक्तानी गरिएको छ । जग्गा खरिद सापटीतर्फ १५ सञ्चयकर्तालाई दुई करोड प्रवाह गरिएको छ । ‘धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी अठार करोड एकचालीस लाख ८३ हजार असूल भएको छ,’ शाखा प्रमुख तिवारीले भने,’केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।’ गत वर्ष मात्रै चार हजार छ सय उनासी सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ । केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो । यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा चार पटक अन्तक्रिया गरेको थियो । रासस
आयातित तरकारीको माग घट्दै
काठमाडौं । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो । विगत तीन वर्षयता यहाँ अर्गानिक खेती विस्तार भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताले बताएका छन् । तीन वर्षअघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् । ‘अहिले सदरमुकाम बेनीका प्रायः सबैघरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ’, बेनी बजारका व्यवसायी राधिका केसीले भने, ‘ग्राहक स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट अग्र्यानिक तरकारी बजारमा आउन थालेपछि आयातित तरकारीको माग घटेको छ ।’ त्यसैगरी कृषकले पनि बजारमा अग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ३० वर्षदेखि कृषि पेसामा लागेका बेनी नगरपालिका–२ खबराका ५९ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् । घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघिसम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् । उनी विगत ३० वर्षदेखि तरकारी खेतीमा छन् । उनको जीवनको उर्बर समय खेतबारीको माटोमा बिताएका छन् । उनले भने, ‘तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।’ युवा नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयको भनाइ छ । ‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाको सङ्ख्या बढ्दै जान थालेको छ । खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका दुई दर्जन बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०७९ को साउनसम्म तरकारी बिक्री गरेर २८ लाखभन्दा बढी आम्दानी भएको बताएका छन् । त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताएका छन् । कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए । अग्र्यानिक तरकारी खरिद गर्न बेनी बजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उनी बताउँछन् । म्याग्दीका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ । बानियाँ भन्नछन्, ‘कोरोना कहर सुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, यसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषि फर्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मङ्गला गाउँपालिकाको हिदीमा तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फर्म सञ्चालित छन् । यी कृषि फर्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन् । सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरणलगायत मल र बीउको पनि सहजरुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाको आकर्षण बढ्दै जान थालेको हो । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषिउपजको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकोमा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ । रासस
सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु पर्दैन : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘हिजो बसेको बोर्डको बैठकले सीआस्वा शुल्क घटाएको छ, लगानीकर्ताले ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने छ, सोभन्दा बढी शुल्क लिन पाइँदैेन,’ उनले भने । यसअघि आईपीओ लगायत विभिन्न सार्वजनिक निष्काशनमा बैंकहरुले अधिकतम १०० रुपैयाँसम्म सीआस्वा शुल्क लिन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था लागू भएसँगै ५ रुपैयाँमध्ये एक रुपैयाँ सेयर निष्काशनकर्ता अर्थात मर्चेन्ट बैंकर्सलाई, एक रुपैयाँ सिडिएस एण्ड क्लियरिङ्लाई र बाँकी रहेको तीन रुपैयाँ बैंकलाई छुट्याइने छ । कार्यक्रममा उनले लामो समयदेखिको प्रयासबाट वित्तीय डेरिभेटिभ मार्केटको संभ्याव्यताका पछि संचालन गरिने बताए । ‘यो डेरिभेटिभ मार्केट सञ्चालन गर्न आफ्नो टिमले बम्बे स्टकमा गएर अध्ययन गरेको हो, यो मार्केटमा एसएमई ल्याइने छ, र यो एसएमई प्लेटफर्म धेरै क्रिटिकल छ,’ उनले भने । यसमा नेप्से र बम्बे स्टकको सहकार्य आगामी दिनमा रहने उनको भनाइ छ । बजार विकासको लागि धितोपत्र बोर्ड आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्न धेरै सिरियस रहेको बताएका छन् । र सबै सरोकारवालाहरु जिम्मेवारी हुनु पर्ने बताउँदै उनले लगानीकर्ताको गुनासो सम्बोधन गर्न बोर्डले काम गर्दै आएको विश्वास दिलाए । त्यस्तै, इक्विटी भेण्चर क्यापिटल सञ्चालन गर्न सेबोनले अनुमति दिएको उनले जानकारी गराए । बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गर्छौं : सीईओ कार्की कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले डेरिभेटिभ मार्केट नेपाली पुँजी बजारमा सम्भावना हेरेर मात्रै संचालन गरिने बताए । उनका अनुसार पुँजी बजारमा सम्भावना छ भने छिटोभन्दा डेरिभेटिभ मार्केटलाई सञ्चालन गरिने छ । त्यस्तै, कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले डेरिभेटिभ मार्केट नेपाली पुँजी बजारमा सम्भावना हेरेर मात्रै संचालन गरिने बताए । उनका अनुसार पुँजी बजारमा सम्भावना छ भने छिटोभन्दा डेरिभेटिभ मार्केटलाई सञ्चालन गरिने छ । नेप्सेका बोर्ड अध्यक्ष चक्र बहादुर बुढाले बजारमा नकारात्मक असर नपर्ने गरी डेरिभेटिभ मार्केट सञ्चालन गरिने बताए । पछिल्लो समय प्रविधिमैत्री र लगानिमैत्री बनाउन काम भइरहेकोले सबै क्षेत्रबाट सहयोग लिएर अघि बढ्नु पर्ने उनको भनाई छ ।
प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ट्रयाङक्युलिटी स्पामा ३० प्रतिशत छुट
काठमाडौं । प्रभु क्यापिटल र बीच सम्झाैता भएकेा छ । क्यापिटल र स्पाबीच शुक्रबार क्यापिटलका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झाैता भएकाे हाे । यस सम्झाैता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्युलिटी स्पा बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सोमा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ । २०८० असार मसान्त सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएकाे छ ।