सार्वजनिक खरिद ऐन विकासको बाधक, आर्थिक वर्ष परिवर्तन गर्न मेयर महर्जनको सुझाव
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनले देशको विकास र समृद्धिमा वर्तमान ‘सार्वजनिक खरिद ऐन २०६३’ मुख्य बाधक रहेको बताएका छन्। अर्थ मन्त्रालयमा बिहीबार (आज) आयोजित अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले उक्त ऐनमा तत्काल संशोधनको माग गरेका हुन् । मेयर महर्जनले देश अहिलेको आर्थिक र भौतिक अवस्थामा आइपुग्नुमा खरिद ऐनको ठूलो भूमिका रहेको टिप्पणी गरे । विशेषगरी ललितपुर जस्तो सम्पदाको सहरमा समेत यही झन्झटिलो ऐन अनुसार काम गर्नुपर्दा प्राचीन वैभवको संरक्षण र पुनर्निर्माणमा बाधा पुगेको उनको तर्क थियो । उनले भने, ‘ठेकेदारहरूले काम पाउने बेलासम्म अनेक प्रयत्न गर्छन्, तर काम सुरु गरेपछि समयमा सम्पन्न गर्दैनन् । वर्तमान खरिद ऐन अनुसार काम गर्दा ठेकेदारलाई जति धेरै काम गर्यो त्यति नै घाटा हुने अवस्था छ, जसले गर्दा समयमै काम नगर्ने परिपाटी मौलाएको छ ।’ बैठकमा मेयर महर्जनले मुलुकको खर्च गर्ने प्रणाली र कार्यक्षमतामा सुधार ल्याउन आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । असारे विकासको प्रवृत्तिलाई रोक्न र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन समयरेखा बदल्नुपर्ने उनको धारणा थियो । सहकारी क्षेत्रमा देखिएको संकटका बारेमा बोल्दै महर्जनले ललितपुर महानगरपालिकामा सहकारी पीडितको समस्या तुलनात्मक रूपमा कम रहेको दाबी गरे । तत्कालीन समयमा जथाभाबी सहकारी संस्था दर्ता नगर्ने अठोट लिएकै कारण अहिले धेरै ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए । ‘अहिले देशभरका स्थानीय तहमा सहकारी पीडितहरू धर्ना बसिरहेका छन्, तर हामीले सुरुदेखि नै अपनाएको कडा नीतिले ललितपुरमा यो समस्या न्यून छ, उनले भने ।
अब बाइक साटेर घर लैजानुहोस् टियागो ईभी, टाटाको नयाँ अफर
काठमाडौं । सिप्रदी ट्रेडिङमार्फत नेपालको आधिकारिक वितरक रहेको टाटा मोटर्सले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार यो क्याम्पेन आगामी अप्रिल १७, १८, १९ र २०, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियानअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारी एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्नेछन् । यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजनाअन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पनि प्राप्त गर्नेछन् । साथै एक जना भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर तोकिएको अवधिभित्र अफरको लाभ लिन सक्नेछन् ।
अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
काठमाडौं । अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । ढाका, मस्को, कोलोम्बो, टोकियो, ओटावा तथा सोलमा रहेको नेपाली राजदूतावास तथा चीनको ग्वान्जोओस्थित महावाणिज्य दूतावासमा उक्त दिवस मनाइएको ती दूतावासले बिहीबार जारी गरेका बेग्लाबेग्लै विज्ञप्तिमा जनाइएको छ । ती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको आरोग्य दिवसम्बन्धी भिडियो सन्देश प्रस्तुत गरिएको थियो । टोकियोस्थित नेपाली दूतावासमा नेपाली उत्पादन शिलाजित च्यूरीको तेल, जैविक चिया, ‘हिमालयन वाथ साल्ट’ र ‘सिङङिङ वाउल’ को प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा साथै नेपालका पर्यटकीय क्षेत्र र पदमार्गसम्बन्धी प्रचारात्मक सामग्री जापानी अथितिहरुलाई निःप्रदान गरिएको थियो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् । रासस
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीकै मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढी ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ६ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ थियो । गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
कांग्रेसको विशेष महाधिवेशन विवादमा आज अन्तिम सुनुवाइ
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ । विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर रिटमा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि चैत २७ गते कामुप्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा लगायतलाई पेसीको सूचना दिन आदेश दिएको थियो । प्रारम्भिक सुनुवाइमा भने न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । अदालतले जटिल संवैधानिक र कानुनी प्रश्नहरूको अन्तिम निरूपण अन्तिम सुनुवाइमै हुने भन्दै तत्काल हस्तक्षेप आवश्यक नदेखिएको ठहर गरेको थियो । सो क्रममा अदालतले विपक्षीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा विरुद्ध कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखेको थियो ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीयता कार्यान्वयन र समन्वय सुदृढीकरणबारे छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे हुने बैठकमा प्रदेशस्तरका समस्या, प्राथमिकता र केन्द्र–प्रदेश समन्वयका विषयमा प्रत्यक्ष संवाद गरिने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बैठक मुख्यतः मुख्यमन्त्रीहरूको धारणा सुन्न केन्द्रित रहनेछ । बैठकमा सुदूरपश्चिमका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेशका कृष्णप्रसाद साह र कोशीका हिक्मत कार्की सहभागी हुने बजगाईंले जानकारी दिए । प्रधानमन्त्री साहले बैठकमा सरकारका प्राथमिकता, नीतिगत दृष्टिकोण तथा संघीय संरचनालाई प्रभावकारी बनाउने विषयमा धारणा राख्ने तयारी गरेका छन् । मुख्यमन्त्रीहरूले पनि संघीयतालाई सुदृढ बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाउने दिशामा प्रधानमन्त्री कार्यालयको धारणा जान्न चाहेको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । संघीय शासन प्रणाली कार्यान्वयनमा देखिएका व्यावहारिक समस्या र समाधानका उपायबारे केन्द्र र प्रदेशबीच प्रत्यक्ष संवाद हुने अपेक्षा गरिएको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
निर्धन उत्थान लघुवित्तका सीईओ दाहाल बाहिरिए, कार्कीलाई कामु सीईओ जिम्मेवारी
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि आज वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ । यससँगै संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु सीईओ कार्कीले सम्हाल्ने भएका छन् ।
इनड्राइले ल्यायो ‘राइड मोर, विन मोर’ क्याम्पेन, राइड बुक गर्दा पुरस्कार जित्ने अवसर
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइ एपबाट राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाटका लागि यात्रा गर्नेको संख्या बढ्ने भएकाले प्रत्येक यात्रालाई थप रमाइलो र लाभदायक बनाउने उद्देश्यले क्याम्पेन ल्याइएको कम्पनीले जनाएको छ । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ । क्याम्पेनअन्तर्गत प्रत्येक एक राइड बराबर एक लक्की–ड्र टिकट प्रदान गरिनेछ, जसअनुसार जति धेरै राइड गरियो उति धेरै जित्ने अवसर प्राप्त हुनेछ । मेगा गिभअवेमा सहभागी हुन राइड सम्पन्न भएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा दुई वटा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत १० जनाले अनर एक्स ७ डी स्मार्टफोन जित्न सक्नेछन् । साथै १ हजार जनाले १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), १ हजार जनाले २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड तथा १०० जनाले खल्ती प्रोमा अपग्रेड हुने अवसर पाउनेछन् । इनड्राइ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले प्रयोगकर्तालाई चालक छनोट गर्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै क्याम्पेनमार्फत ग्राहकप्रति आभार व्यक्त गर्न खोजिएको बताइन् । त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइसँगको सहकार्यले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोड्दै यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरे । यो क्याम्पेन नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । लक्की–ड्र हरेक हप्ता गरिने र विजेताको नाम इनड्राइका आधिकारिक फेसबुक, इन्स्टाग्राम तथा टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।