कतारमाथि क्यानडाको फराकिलो जित, जोनाथन डेभिडको ह्याट्रिक

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारमाथि फराकिलो जित हासिल गरेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा बिहीबार राति भएको खेलमा क्यानडाले कतारलाई ६-० गोलअन्तरले पराजित गरेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एक-एक गोल गरे । थप एक गोल आत्मघाती रूपमा आएको थियो ।

खेलको १६औँ मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । २९औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा कतारका हमाम अहमद रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३-० को अग्रता दिलाए । ५१औँ मिनेटमा कतारका असिम माडिबोले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित बन्यो ।

यसपछि क्यानडाले खेलमा पूर्ण नियन्त्रण जमायो । ६४औँ मिनेटमा नाथन सालिबाले गोल गर्दै अग्रता ४-० मा पुर्याए। ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गरेपछि स्कोर ५-० भयो।

दोस्रो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६-० को फराकिलो जित दिलाए ।

Share News