विकासन्युज

चन्द्रागिरी नगरपालिकाले पहिरोको कारण मृत्यु भएको परिवारलाई तत्काल ५० हजार दिने

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् । चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’ नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ । रासस

अविरल वर्षाः बाढी र डुबानको जोखिम

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि भारी वर्षा भइरहेको जनाएको छ । विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव ८ र तीन घण्टामा ६२ दशमलब २ मिमी वर्षाको मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ ।’ यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ । रासस

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् । दशैंको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसैबीच वर्षापछि आएको पहिराको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेव गाउँपालिका–७ र ८ का ४६, मालारानी गाउँपालिका–६ का ३५, सन्धिखर्क नगरपालिका–६ का १३ र पाणिनि गाउँपालिका–८ का दुईजना विस्थापित भएका हुन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताए । रासस

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । ‘काठमाडौं उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,’ उनले भने, ‘गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।’ महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ । रासस

१९४ मै पाइन्छ वाणिज्य बैंकको सेयर, यी हुन् सस्तैमा पाइने बैंक

काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै आइरहेको छ । नयाँ उचाईमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको हो । नेप्सेमा २५ वटा वाणिज्य बैंक सूचीकृत रहेका छन् । जसमा विभिन्न १० वटा वाणिज्य बैंकहरु मर्जरमा गएका छन् । मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका कारण नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, एनसीसी बैंक, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का रहेको छ । हाल १७ वटा वाणिज्य बैंकको मात्रै सेयर कारोबार भइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै महँगो सेयर मूल्य भएको बैंक नबिल बैंक रहेको छ । नबिल बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७८० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम प्रतिकित्ता १ हजार ७४० रुपैयाँ र न्यूनतम ७२६ रुपैयाँ रहेको थियो । यस्तै, नबिल बैंकलाई एनआईसी एशिया बैंकले पच्छ्याइरहेको छ । एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता ६१८.३० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ९३५.३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ रहेको थियो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४०१.२० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको थियो । यस्तै,एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४७९.९० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ७४५ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो । यस्तै, हिमालयन बैंकको सेयर मूल्य पूँजी बजारमा प्रतिकित्ता ३२० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम मूल्य ४८४ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको थियो । यस्तै, कृषि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५६० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको थियो । सबैन्दा सस्तो सेयर मूल्य भएको बैंकमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता १९४.७० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ३५८ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ रहेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको सेयर मूल्य प्रतिकित्ता २६३.५० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४२२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २५१ रुपैयाँ रहेको थियो । यस्तै, माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २२४.१० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४०२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको थियो । यस्तै, सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५३५.३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २८६ रुपैयाँ रहेको थियो । यस्तै, सानिमा बैंकको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५२२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २३३ रुपैयाँ रहेको थियो । यस्तै, एनएमबि बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४२७ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २२६ रुपैयाँ रहेको थियो । यस्तै, प्रभु बैंकको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४१०.८० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको थियो । यस्तै, सिटिजन्स बैंकको सेयर मूल्य प्रतिकित्ता १९५.४० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४०४.८० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४९८ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २०९ रुपैयाँ रहेको थियो । यस्तै, सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता १९५.७० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ३३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८९.४० रुपैयाँ रहेको थियो । यस्तै, नेपाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५०६ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २६३ रुपैयाँ रहेको थियो ।

जहाजमा काठमाडौं फर्किदै हुनुहुन्छ ? कुन प्लेनमा पर्छ सस्तो भाडा ?

काठमाडौं । अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ । सडकमा लामो यात्रा गरेर समस्या भोग्नुभन्दा सहज रुपमा छोटो समयमै जहाजमा यात्रा गर्ने चाहना धेरैको हुन्छ । तर, जहाजमा भनेजति भाडा तिर्न भने नसक्ने अवस्था हुन सक्छ । अहिले नेपालका धेरै वायुसेवा कम्पनीहरुले धेरै ठाउँका विमानस्थलमा उडान सेवा दिँदै आएका छन् । कतिपय अवस्थामा यात्रुको चापका कारण टिकट नपाइने अवस्था छ भने कतिपय ठाउँमा पाइए पनि महँगो टिकट तिर्नु पर्ने बाध्यता छ । आज हामीले विभिन्न विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन कति भाडा लाग्छ भनेर यो सामग्री तयार पारेका छौं । १. धनगढी-काठमाडौं श्री एयरलाइन्स नेपालको सबैभन्दा लामो हवाई रुट धनगढीदेखि काठमाडौं हो । श्री एयरलाइन्सले शनिबारका लागि ११ हजार ९ सय २५ देखि १६ हजार ९सय २५ रुपैयाँसम्म भाडा निर्धारण गरेको छ । बिहान ७ः१० बजे ११ हजार ९२५ रुपैयाँ तोकिएको छ भने साँझ ४ः३० बजेका लागि १६ हजार ९२५ रुपैयाँ कायम भएको छ । सौर्य एयरलाइन्स सौर्य एयरलाइन्सले धनगढीदेखि काठमाडौंसम्मको हवाइ भाडा ११ हजार ९२५ रुपैयाँदेखि १२ हजार ९२५ रुपैयाँसम्म निर्धारण गरेको छ । तर, यसको जवहाज सीमित छन् । बुद्ध एयर शनिबार र आइतबारका लागि भने बुद्ध एयरको जहाजको टिकट छैन । बुद्ध एयरको सबै जहाजको बुकिङ भइसकेको बुझिएको छ । २. पोखरा-काठमाडौं गुण एयरलाइन्स गुण एयरलाइन्सले पोखरादेखि काठमाडौंसम्मको हवाइ भाडा ५ हजार ६१५ रुपैयाँ भाडा निर्धारण गरेको छ । यति एयरलाइन्स यति एयरलाइन्सले ६ हजार ७६० रुपैयाँ निर्धारण गरेको छ । बुद्ध एयर बुद्ध एयरले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ । श्री एयरलाइन्स श्री एयरलाइन्सले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ । ३. विराटनगर-काठमाडौं यति एयरलाइन्स ६ हजार ८९० रुपैयाँ । गुण एयरलाइन्स ७ हजार २०० देखि १० हजार १०५ रुपैयाँसम्म । सौर्य एयरलाइन्स ७ हजार ४०० देखि १० हजार १०५रुपैयाँसम्म । श्री एयरलाइन्स ७ हजार ४०५ देखि १ हजार १०५ रुपैयाँसम्म । यति एयरलाइन्स यति एयरलाइन्सको ६ हजार ८९० देखि १० हजार १०५ रुपैयाँसम्म । ४. भैरहवा–काठमाडौं यति एयरलाइन्स ८ हजार ४५ देखि ८ हजार ६७५ रुपैयाँसम्म । श्री एयरलाइन्स ७ हजार ५७५ देखि ८ हजार ६७५ रुपैयाँसम्म । सौर्य एयरलाइन्स ८ हजार १००देखि ८ हजार ६७५ रुपैयाँसम्म । ५. भद्रपुर-काठमाडौं यति एयरलाइन्स ७ हजार ७७० देखि १२ हजार ८५५ रुपैयाँसम्म । श्री एयरलाइन्स ८ हजार ४५५ देखि १२ हजार ८५५ रुपैयाँसम्म । सौर्य एयरलाइन्स ८ हजार ८५० देखि १२ हजार ८५५ रुपैयाँसम्म । ६. नेपालगञ्ज-काठमाडौं यति एयरलाइन्स ९ हजार ९२० देखि १३ हजार ८८० रुपैयाँसम्म । नेपालगञ्जबाट काठमाडौंको अग्रिम टिकट बुकिङ  शनिबार र आइतबारका लागि प्याक भएको छ ।

चुनावमा उम्मेदवार बन्न योग्यता के चाहिन्छ ?

काठमाडौं । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोला । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्तै २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको र निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिकसुविधा पाउने अन्य लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । विद्यमान कानूनले उम्मेदवारीको अयोग्यतासम्बन्धी पनि व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति अयोग्य हुनेछ । यस्तै सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको हुनुपर्नेछ । यस्तै अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको र प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेकाले उम्मेदवारी दिन पाउने छैनन् । यस्तै कैदमा बसेको भए अवधिभर, नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति अयोग्य हुनेछ । यी व्यवस्थाबारे आयोगले सार्वजनिक सूचना दिइरहेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ । यसरी उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानूनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ बमोजिम उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा प्रमाणसहित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिनेछ । उक्त उजुरीमाथि जाँचबुझ गर्दा मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारको कानूनबमोजिम योग्यता पूरा गरेको नदेखिएको र अयोग्य रहेको पाइएमा आयोगबाट त्यस्ता मनोनयन बदर गरिने हुनाले योग्यता र अयोग्यताका सम्बन्धमा राजनीतिक दल र उम्मेदवार आफैँले यकीन गरी मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेङ्गुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ । जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ । यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ । रासस