विकासन्युज

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षको सम्भावना

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काभ्रेमा छ पदका लागि ६७ को उम्मेदवारी

काभ्रेपलाञ्चोक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ । आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेकाे जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराएका हुन् । दुवै क्षेत्रको प्रदेशसभा (क) र (ख)मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या करिब बराबर छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि नौ–नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (क) का लागि छ र प्रदेशसभा (ख) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराएकाे जनाइएको छ । जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरेका छन् । काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । रासस

पहिरो खस्दा कैलालीको भीमदत्त राजमार्ग अवरुद्ध

अतरिया । लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए । अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।

बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न ढोकाहरु खुले : डा. घिमिरे

काठमाडौं । बीमा विज्ञ डा. रबिन्द्र घिमिरेले बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न बाटो खुलेको बताएका छन् । बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएसँगै यो उद्योगलाई नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाका ढोकाहरु खुलेका उनले बताए । ‘नेपालको बीमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि धेरै कामहरु गर्नु अपरिहार्य भइरहेको अवस्थामा मौजूदा ऐन बाधक रहेको थियो, नयाँ ऐन प्रगतिशील छ, यसले बीमा उद्योग नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाको ढोकाहरु खोलिदिएको छ,’ नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष समेत रहेकका डा. घिमिरेले सामाजिक सञ्जालमार्फत भने । साथै, उनले बीमा ऐनको डिजाइनर तात्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी. तथा यसलाई यथासमयमा संसदबाट पास गराउन सक्रिय भूमिका खेल्नु हुने वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायत विशेष धन्यवादका पात्र रहेको बताए । र, सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माको पनि यसमा भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । नयाँ ऐन कार्यान्वयन भएसँगै यसले बीमा समिति बीमा प्राधिकरणमा परिवर्तन हुनुको साथै प्राधिकरणको क्षेत्राधिकार फराकिलो हुने छ । यसले बीमा प्राधिकरणलाई थप जिम्मेवार बनाएको छ । एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने डा. घिमिरे बताउँछन् । साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको उनको भनाई छ । यससँगै बीमा क्षेत्रमा कार्यरत विभिन्न पेशेवार प्रोफेसनलहरुको वृत्ति विकास हुनेछ । समग्रमा आम जनताले सर्वसुलभ ढंगबाट बीमा सेवा प्राप्त गर्ने, बीमाको पहुँच वृद्धि गर्ने, बीमाको पेनिट्रेशन र डेन्सिटी बढाउने संरचनाको विकास हुने डा. घिमिरेले बताए । साथै, उनले यो अवसरमा नियामक निकाय, बीमा सेवा प्रदायक कम्पनी तथा संस्थाहरु, अभिकर्ता, सर्भेयर, ब्रोकर, पत्रकार, अनुसन्धाकर्ता, प्राध्यापक, विश्लेषक, बीमित र बीमित हितमा काम गर्ने अभियन्ताहरु, बीमा क्षेत्रको हित चाहने सबै शुभेक्षुक सबैलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

नेपालगञ्ज । केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । ‘विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु हुन्,’ उनले भने । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घरसमेत फिर्ता भएको उनले बताए । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का तीन सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन् । बाढीले नरैनापुरका दुई सय घर भत्केका छन् । त्यहाँका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए । उनले पीडितलाई राहत र उद्धारका लागि पटक–पटक अनुरोध गरेको जानकारी दिँदै चार दिनदेखि विद्युत्समेत नभएको बताए । नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् । ‘यहाँका सबै स्थान पानीले भरिएको छ”, उहाँले भन्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुक्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ । बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय सरकारले राहत उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । रासस

उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो । उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्ने छ ।