डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध
डडेल्धुरा । डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए । उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो । आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए । विद्युुत् अवरुद्ध हँुदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युुतीय कारोबारमा असहजता भएको छ । रासस
नवलपरासीका मतदाता भन्छन् : विनोद चौधरीले पनि केही गर्लान भन्ने अपेक्षा छैन
काठमार्डौं । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् । अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाई छ । स्थानीय बैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाई दिए हुने अपेक्षा समेत गरे । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको २ दिनमै आवश्यक व्यवस्था मिल्ने थियो भन्दै खरालले त्यसका लागि उनमा चाहना हुनुपर्ने बताए । ‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन । तर आशावादी भई यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो । तर गर्नु होला भन्ने आशा छैन हैं फेरी ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाई दिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु प¥यो । अहिलेसम्म कसैले गरेका छैनन् । अव कसैले गर्लान भन्ने आशा पनि छैन्,’ खरेलले भने । उद्योगपति चौधरीबारे कुनै जानकारी नभएको केही मतदाताले बताएका छन । स्थानीय दिननाथ कँडेलले चिन्दै नचिनेकाले उनीसँगबाट आशा गर्ने ठाउँनै नरहेको बताए । जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नु हुन्छ कि हुन्न रु त्यो बुझेर मात्रै उनलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो । कँडेलले भने, ‘चिनिएको छैन, जानिएको छैन । चिनिन प¥यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नु हुन्छ ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नु हुन्छ कि हुन्न ? रोजगारी दिने, गरिब जनतालाई हेर्ने काम गर्न सक्नु हुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं ।’ नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पीच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणा समेत राखेका छन । नेपाली काँग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उहाँबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन । विगतमा त्यस क्षेत्रबाट सांसद बनेकाहरुले केही नगरेकाले अव बन्ने सांसदले पनि केही नगर्ने स्थानीय मतदाताको बुझाई छ । उद्योगपति चौधरी एमालेको समेत समर्थनमा उम्मेदवार बनेका जनता प्रगतिशील पार्टीका नेता एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, पर्यटन व्यवसायी उत्साहित
लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । दशैंका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ । गुरुङले भने, ‘अन्य समयभन्दा दशैं तिहारमा बढी पर्यटक आउछन्, तर दसैँमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।’ पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ । पर्यटक आगामी कात्तिक/मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘दशैंका बेलामा सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।’ पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताए । ‘होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ’ ,उनले भने । यसअघि होटलमा आउन बुकिङ गरेका २०/२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको उनले सुनाए । पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५/२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको उनले बताए । पर्यटकहरु हिमाल, पहाडका दृश्य, यस क्षेत्रको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न आउने गर्दछन् । पर्यटक विशेष गरी थोराङला, लार्के र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । उक्त पर्यटकीयस्थल साथै मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फूलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ७ मा पर्दछ । पदमार्गमा आउने पर्यटकले गर्दा यस प्रवेशद्वारको होटल व्यवसायमा समेत पर्यटकको चहलपहल तीव्र हुन थालेसँगै व्यवसायी व्यस्त हुने गरेका छन् । रासस
तौल घटाउन गोलभेँडा सेवन उत्तम हुने
काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ। यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ। यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ। यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ। बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ। टमाटरको रस छालाकालागि पनि राम्रो मानिन्छ। यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ। बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन्। अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ। ऐजेन्सी
‘सेयर कारोबार गर्दा कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुहोला’
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटकी लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले दोस्राे बजारमा काराेबार गर्दा कम्पनीको वित्तीय विवरण र व्यवस्थापन हेरेर मात्र लगानी गर्नुपर्ने बताएकी छिन् । आइतबार सम्पन्न भएकाे लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । सेञ्चुरी कमर्सियल बैंकका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा महर्जनले सेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सेयर लगानीकर्ता, बैकर्स, उद्योगी, व्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा,नाला,साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्यापिटलले समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । सेञ्चुरी क्यापिटल मार्केट सेञ्चुरी कमर्सियल बैङकद्वारा प्रवर्धित मर्चेन्ट बैंकर हो ।
अर्घाखाँचीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, २६५ रुपैयाँका दरले पठायो २ हजार बोरा
काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो । गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । यस पटक अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । कम्पनीले आज (सोमबार) २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको बताएको छ । अर्घाखाँची सिमेन्टले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । गुणस्तरीय सँगै निर्यातलाई निरन्तरता दिनका लागि आफु प्रतिबद्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट निर्यात सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो एउटा सपना पुरा भएको बताएका छन् । उनले अझै सिमेन्ट निर्यातलाई नियमित बनाउनका लागि अनवरत रुपमा लाग्ने बताएका छन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।
बैंकहरुले कर्जा ठप्प पारेर निक्षेप बढाए, सीडी रेसियो घट्यो
काठमाडौं । बैंकहरुले कर्जा प्रवाह ठप्प पारेर निक्षेप बढाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको भन्दै कर्जा प्रवाह रोकेका थिए । जसले गर्दा बैंकहरुको निक्षेप बढेको छ । वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । असोज महिना भरिमा बैंकहरुमा २८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत भदौ मसान्तसम्ममा बैंकहरुको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, एक साताको अवधिमा बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २१ गतेसम्म ४१ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले ६२ करोड बढाएर ४१ खर्ब ९३ अर्ब ६२ करोड रुपैयाँ प्रवाह गरेका छन् । असोज महिनाभरिमा भने ३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई सयपत्री फूल टिप्ने चटारो
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताए । उनले भने, ‘गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौं पठाएको हो ।’ तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउँछिन् । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताइन् । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउँछन् । ‘विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो’, वनमालाले भनिन् । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौंका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् । रासस