विकासन्युज

कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै

कञ्चनपुर । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका छौंँ’ उनले भने,’कम्तीमा पनि प्रत्येक सामुदायिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी स्थायी शिक्षकले पाउनुपर्छ भन्ने मान्यता थियो, त्यो पूरा भएको छ ।’ निजी विद्यालय र सामुदायिक विद्यालय बिचको पठनपाठनलाई एकरुपता ल्याउन एउटै कार्यतालिका बनाइ लागू गर्ने तयारी गरिएको छ । तिहारपछि कार्यतालिका बनाएर लागू गर्न शिक्षा शाखालाई निर्देशन दिइसकिएको नगर प्रमुख ओझाको भनाइ थियो । प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि ई हाजिरी जडान गर्न लागिएकोे उनले बताए । ‘ई हाजिरीका लागि १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । विगतमा भन्दा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तीन गुणा बढी बजेट विनियोजन गरेका छौँ’ नगरप्रमुख ओझाले भने, ‘पाँच वर्षभित्र शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएका छौँ ।’ आर्थिक स्रोत अभावले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्नका लागि छात्रवृत्ति वितरण कार्यलई वस्तुगत बनाइ गरिब र जेहन्दार समूहलाई केन्द्रित गरी मेयर गैरआवासीय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत टुहुरा, असहाय, अति विपन्न, लोपोन्मुख, जाती, गरिब, जेहन्दार, मुक्तकमलरी तथा दलित, अपाङ्गत भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने छ । ‘सामुदायिक विद्यालयका छात्रालाई निःशुल्करुपमा स्यानीटरी प्याड उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ’ सूचना अधिकारी बोगटीले भने, ‘विद्यालय, शिक्षक, विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालयको भौतिक संरचना सुधारको कार्य अगाडि बढाइएको छ, प्रारम्भिक बालविकास केन्द्रलाई आधुनिकरण गरी प्रभावकारी रुपमा सञ्चालन एवं व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’ नगरपालिकाभित्र सञ्चालित विद्यालयमा प्राविधिक विषय अध्ययन गर्दा कृष्णपुरवासीका लागि १० प्रतिशत आरक्षण, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदानको व्यवस्थाका साथै प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन योजना बनाइएको छ । विद्यालयमा शैक्षिक सामग्रीको अभाव पूर्ति, भौतिक पूर्वाधार सुधार, आधुनिक प्रयोगशालाको व्यवस्था, पुस्तकालय स्थापना, फर्निचरको व्यवस्था र खेलकुद सामग्रीको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्था गरिएको उनको भनाइ थियो । रासस

‘कम्पनीको सुधार गर्न रेटिङ आवश्यक छ, एकपटक गरे भैहाल्छ भन्नु गतल बुझाइ हो’

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालकी सिनियर एनालिस्ट ग्रीस्मा ढुंगानाले कम्पनीको सुधार गर्न रेटिङ आवश्यक भएको बताएकी छिन् । मंगलबार धितोपत्र बोर्डले धितोपत्र बजारमा क्रेडिट मूल्याङ्कन सेवाबारे गरेको कार्यक्रममा उनले कम्पनीको रेटिङ जति धेरै भयो त्यति नै धेरै विश्वास बढ्ने बताइन् । उनले कुनै ऋणीले लिएको क्षमताको आधारमा रेटिङ गर्ने गरेको बताइन् । कम्पनीको काम गर्ने क्षमता र कम्पनीको क्यास फ्लोको आधारमा रेटिङमा असर पर्ने बताइन् । ‘युनाइटेड स्टेडबाट रेटिङ शुरु भएको हो,’ उनले भनिन्, रेटिङ विश्लेषण हुने भएकाले सेयर मार्केटमा आवश्यक पर्छ । यस्तै, इक्रा नेपालका सैलेश सुवेदीले ४ सय ग्राहकलाई नेपालमा मात्र ३ वटा कम्पनीले रेटिङ सुविधा दिइरहेकाे बताए । सुवेदीले रेटिङकाे बजार बढेपनि यसकाे लागि दक्ष जनशक्ति नभएकाे र भएकालाई पनि राम्राे सेवा नभएकाे गुनासाे गरे । वित्तिय स्थायित्वकाे लागि रेटिङको महत्वपुर्ण भएकाे बताउँदै उनले नितिगत रुपमा स्पस्ट निति नहुदा काम गर्न गाह्रो भएको बताए । ‘एकपटक रेटिङ गरेपछि भैहाल्यो भन्ने गतल बुझाइले काम गर्न गाह्राे छ,’ उनले भने । रेटिङले क्लाइन्टलाई प्रत्यक्षमा लाभ दिन नसकेपनि व्यवसायलाई विकास गर्न भने सहज गराउने उनी बताउँछन् । सुवेदीले धितोपत्र बोडसङ्ग सबैभन्दा नजिक भएर काम गर्ने संस्था रेटिङ कम्पनी भएपछि बोडले समन्वय गर्न नचाहेको बताए ।  

कैलाली र कञ्चनपुरका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

कैलाली । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरु आकाश खुलेर धान काट्न पाएकामा खुसी छन् । परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।’ बडादशैंको भोलिपल्टदेखि सुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भएको थियो तर वर्षा रोकिसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुसी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताउँछन् । गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् । किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । रासस

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडाैं । इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा आवेदन दिने समय बढाइएकाे छ । आज (मंगलबार) सार्वजनिक विदा परेपछि आइपीओमा आवेदन दिने समय एक दिन थप गरिएकाे छ । कम्पनीकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरेकाे जानकारी दिएकाे हाे । इष्टर्न हाइड्रोपावरले छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ढुक्क हुनुस्, पश्चिम सेती परियोजना समयमै बन्छ : सुशील भट्ट

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरिसकेको छ । गत भदौ २ गते एनएचपीसी र बोर्डबीच पश्चिम सेती र सेती नदी–६ परियोजनाको क्रमशः ४५ दिन र ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गर्ने र दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरी बोर्ड समक्ष पेस गर्ने समझदारी भएको थियो । पश्चिम सेती जलविद्युत् परियोजना विकासको लागत एक खर्ब ६८ अर्ब रुपैयाँ र सेती नदी–६ को एक खर्ब एक अर्ब रुपैयाँ अनुमान गरिएको छ । ती जलविद्युत् परियोजना विकासका लागि बोर्ड र एनएचपीसीबीच समझदारी पश्चात् भएका विकासक्रम, परियोजनाका लाभ, वातावरणीय प्रभाव न्यूनीकरणलगायतका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग गरेकाे कुराकानी : गत भदौ २ गते लगानी बोर्ड र भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडबीच समझदारी भएयता पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको काम कसरी अघि बढिरहेको छ ? राष्ट्रिय गौरवको पश्चिम सेती र प्राथमिकता प्राप्त परियोजना सेती नदी–६ दुवै परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढिसकेका छन् । पश्चिम सेती सात सय ५० मेगावाट र सेती नदी–६ चार सय ५० मेगावाट गरी कूल एक हजार दुईसय मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माणका लागि भारत सरकारको एनएचपीसीसँग समझदारी हुनु आफैंँमा उपलब्धिपूर्ण छ । यसले पश्चिम सेती विकासका लागि करिब चार दशकदेखि भइरहेका प्रयासलाई सार्थकतातर्फ डो¥याएको छ । यससँगै, विकासकर्ताले ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको छ । त्यस्तै, विकासकर्ताले यस परियोजनाका सम्बन्धमा यसअघि तयार भएका अध्ययन दस्तावेजका लागि अतिरिक्त एक करोड ३९ लाख रुपैयाँ बुझाएको छ र सेती नदी–६ को सन्दर्भमा यसअघि विद्युत् विकास विभागले गरेको अध्ययन प्रतिवेदनका लागि ३० करोड ९० लाख रुपैयाँ निर्धारित समयभित्र बुझाउनेछ । समझदारीका प्रावधानअनुसार अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको छ । सेती नदी–६ को हकमा भने समझदारी भएको मितिले ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन प्राप्त हुनेछ । सर्वेक्षण अनुमति प्राप्त भएपश्चात् एनएचपीसीले दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर, वातावरणीय अध्ययन प्रतिवेदन बोर्डसमक्ष पेस गर्नेछ र सोको मूल्याङ्कन पश्चात् परियोजना विकासका लागि सम्झौता प्रक्रिया अघि बढ्नेछ । यसअघि पनि पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीबाट प्रस्ताव आएका थिए । यद्यपि ती प्रयास सार्थक हुन सकेनन् । ती प्रयास र अहिलेको पहलमा के फरक छ, जसले यी जलविद्युत् परियोजना विकास हुनेमा आश्वस्त हुन सकिन्छ ? परियोजनाका बारेमा यस अघिका पहलका सम्बन्धमा म धेरै टिप्पणी गर्न चाहन्न । परियोजना विकास गर्ने अभिप्रायले नै ती अघि बढाइएका थिए भन्ने लाग्छ । यसअघि भए/गरेका प्रयासका विवरण समेटिएको श्वेतपत्र लगानी बोर्डको कार्यालयले सार्वजनिक गरिसकेको छ । श्वेतपत्रले विस्तृत घटनाविवरण समेट्नुका साथै वस्तुस्थितिको यथार्थ चित्र प्रस्तुत गरेको छ । नेपालको जलविद्युत् क्षेत्रको विकासले यसको सम्भावित बजारसँग अन्योन्याश्रित सम्बन्ध राख्छ र बजार महत्वपूर्ण पक्ष पनि हो । यसका अतिरिक्त ऊर्जा निर्यातमा केन्द्रित परियोजना सहजीकरण एवं व्यवस्थापनको हाम्रो अनुभवका आधारमा एनएचपीसीसँग सहकार्य अघि बढेको हो । भारत सरकार स्वामित्वको एनएचपीसी प्राविधिक र वित्तीय दुवै हिसाबले सक्षम कम्पनी देखिएको छ । सो कम्पनीले भारतमा सात हजार मेगावाट भन्दा धेरै क्षमताका जलविद्युत् परियोजना कार्यान्वयन गरिसकेको छ । साथै, त्यसको दोब्बर क्षमताका परियोजना कार्यान्वयनका क्रममा छन् । एनएचपीसीले स्वच्छ र नवीकरणीय ऊर्जाका क्षेत्रमा दायरा विस्तार गर्न इच्छुक भई आएकाले नेपालमा यी दुई परियोजना विकास गर्न एनएचपीसी प्रतिबद्ध देखिन्छ । एनएचपीसीको वित्तीय क्षमता, प्राविधिक दक्षता र प्रतिबद्धतामा कुनै प्रश्न छैन । यी परियोजना ऊर्जा निर्यातमा केन्द्रित रहेर एनएचपीसीले कार्यान्वयन गर्दैछ र यसका लागि विकासकर्ता कम्पनी आफैँले बजार सुनिश्चित पनि गर्छ । यस सम्बन्धमा एनएचपीसीले समझदारी भएलगत्तै भारतको पीटीसी इन्डिया लिमिटेडसँग प्रारम्भिक विद्युत् बिक्री सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।लगानी बोर्डले यी ठूला परियोजनासहित हालसम्म कूल पाँच हजार मेगावाटका जलविद्युत् आयोजनालाई परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढाइसकेको छ । विगतमा यस्ता ठूला परियोजना विकासको कार्यान्वयन तथा सहजीकरण कार्यमा लगानी बोर्डले हासिल गरेको अनुभवले पश्चिम सेती विकासका क्रममा आउन सक्ने सम्भावित जोखिमलाई उचित ढङ्गले व्यवस्थापन गर्दै परिणाममुखी तवरले परियोजनालाई सम्पन्न गराउन सक्षम रहेको छ । त्यसकारण पश्चिम सेती परियोजना विकासमा कुनै सन्देह राख्नुपर्दैन । परियोजना विकासका लागि स्थानीय सरोकारवालाले सहज र अनुकूल वातावरण निर्माणमा सहयोग गर्नुपर्छ र हुनेछ भन्ने विश्वास गरेको छु । दुबै निर्यात केन्द्रित जलविद्युत् आयोजना हुन्, यसले परियोजना क्षेत्र र खासगरी स्थानीयवासीलाई हुने लाभ के–के छन् ? पश्चिम सेती र सेती नदी–६को विकाससँगै नेपालको आर्थिक–सामाजिक विकासमा ठूलो रूपान्तरण ल्याउनेछ र यसको प्रत्यक्ष तथा पहिलो लाभग्राही भनेको परियोजना क्षेत्रका बासिन्दा नै हुन् । विकासका दृष्टिले तुलनात्मक रूपमा पछाडि देखिएको सुदूरपश्चिम प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउन यो परियोजना रूपान्तरणकारी हुनेछ भनेर नै पश्चिम सेतीलाई राष्ट्रिय गौरवको परियोजनामा सूचीकृत गरिएको हो । यस परियोजनाबाट नेपाललाई निःशुल्क ऊर्जा, राजस्व/आयकर साथै स्थानीय समुदायको लागि रोजगारी, तालिम, आयआर्जनका क्रियाकलाप, सामुदायिक पूर्वाधार विकास, स्थानीय शेयर लगायत प्रत्यक्ष–अप्रत्यक्ष लाभ हुनेछ । परियोजना विकासबाट प्राप्त हुने निःशुल्क ऊर्जाले औद्योगिकीकरणका साथै ऊर्जाका अन्य स्रोतमाथिको निर्भरता न्यूनीकरण भई इन्धन आयात कम गर्न सकिन्छ । अथवा, स्वदेशमा विद्युत् उपभोगका लागि माग सिर्जना गर्न कठिन भएको खण्डमा हामीले निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यी परियोजना विकासका क्रममा प्राप्त हुने औद्योगिक लाभकोे अनुभव विगतमा गरिसकेका छौँ । नेपालमा रहेका सिमेन्ट, छडलगायत निर्माण सामग्री उद्योगले समेत लाभ प्राप्त गर्नेछन् । सुदूरपश्चिमको औद्योगिकरणको साथै आर्थिक उन्नतिमा यी परियोजनाको कार्यान्वयन कोशेढुङ्गा हुनेमा दुई मत छैन । ठूला परियोजनाको कार्यान्वयनका क्रममा हुनसक्ने सामाजिक तथा वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरण महत्वपूर्ण पक्ष मानिन्छ । यस सम्बन्धमा लगानी बोर्डको योजना के छ ? सामाजिक तथा वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्रमा नेपालमा प्रचलित असल अभ्यास अनुशरण गर्दै सम्भावित सामाजिक र वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरणका लागि विकासकर्ताले सुक्ष्म ढङ्गले योजना तर्जुमा, स्वीकृति र कार्यान्वयन गर्नुपर्नेछ । यस प्रयासबाट यसप्रकारका ठूला परियोजना कार्यान्वयनका क्रममा आइपर्नसक्ने सम्भावित सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र परियोजनाको स्थायित्व कायम हुनेछ । विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् परियोजनाका ‘फुटप्रिन्ट’ पहिचान भई सम्भावित असरको आँकलन हुनेछ । परियोजना विकास सम्झौतासँगै पहिचान भएका विभिन्न विषयगत योजना तर्जुमा भई कार्यान्वयन हुनेछ । सेती बेसिनको बहुआयमिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ? भौगोलिक हिसाबले पनि जटिल सेती करिडोरको विकासले विस्तारै गति लिएको छ । पश्चिम सेती र सेती नदी–६ विकासको प्रक्रिया अघि बढेसँगै यसको माथिल्लो तटीय ९अपस्ट्रिम०सेती नदी–३ जलविद्युत् परियोजनामा चिलिमे जलविद्युत् कम्पनीले लगानी प्रस्ताव गरेको छ । यसले स्वतन्त्र ऊर्जा उत्पादकको सेती बेसिनमा स्वतः आकर्षण बढेको देखिन्छ । सो क्षेत्रको प्रसारणलाइन निर्माणका लागि भारत सरकारको लाइन अफ क्रेडिट एलओसीमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी प्रसारण लाइन निर्माण कार्य अघि बढ्ने भएको छ । एक सय ५० किलोमिटरको यो प्रसारणलाइन सेती करिडोरका जलविद्युत् परियोजनाका लागि महत्वपूर्ण आधार हुनेछ । यस क्षेत्रमा विद्युत् उत्पादन वृद्धि भएसँगै आगामी दिनमा लम्की–बरेली अन्तरदेशीय विद्युत् प्रसारणलाइनमार्फत् विद्युत् व्यापारको बाटो खोल्नेमा आशावादी हुन सकिन्छ । यसलगायत सडक, विद्युत्, खानेपानी, शिक्षा, सञ्चारप्रविधि जस्ता आधारभूत पूर्वाधार समेतको स्तरोन्नतिले सेती करिडोर सुदूरपश्चिमको विकासमा रुपान्तरणको सम्बाहक हुनेछ । म व्यक्तिगत रुपमा सेती करिडोरको भविष्य अरुण करिडोरमा जस्तै देखिरहेको छु । उक्त बेसिनमा अरुण तेस्रोको कार्यान्वयनसँगै तल्लो र माथिल्लो अरुण जलविद्युत् परियोजना विकासले गति लिएको छ । दुवै परियोजनाको सर्वेक्षण अनुमतिपत्र जारी हुने चरणमा रहेको हाे भने यसपश्चात् दुवै परियोजनाको भावी मार्गचित्र के हुन्छ ? पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र जारी गर्ने अन्तिम चरणमा छौँ । र, सेती नदी–६ को सन्दर्भमा समझदारीको ६ महिनाभित्र सोही प्रक्रियाबाट अघि बढ्नेछ । एनएचपीसीलाई सर्वेक्षण अनुमतिपत्र जारी भएको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन लगानी बोर्डसमक्ष पेस गर्नुपर्नेछ र सो पश्चात् २१ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययनसमेत पेस भई स्वीकृतिपश्चात् परियोजना विकास सम्झौताको चरणमा प्रवेश गर्नेछ । यसबीचमा, लगानी बोर्डले परियोजना प्रभाव क्षेत्रका बासिन्दा तथा सरोकारवालाको राय तथा परामर्श लिने र प्राप्त राय/सुझावलाई सम्बोधन गर्नका निमित्त परियोजना विकासका विभिन्न चरणमा समावेश गर्दै लैजाने योजना रहेको छ । रासस

प्रभु बैंकले ३ करोड रुपैयाँसम्मको कर्जा सुरक्षण गर्ने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकले कृषिकर्जा वापत कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । तीन करोडसम्मको यस्तो कर्जा मध्ये १ करोडभन्दा माथिको कर्जा प्रवाहको हकमा भने बैंकले कोषको पुर्व स्वीकृति लिनुपर्नेछ । कोष मार्फत सुरक्षण हुने कर्जामध्ये कृषि कर्जा सुरक्षण शुल्क मध्य ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकि ५० प्रतिशत मात्र दुई किस्ताको रुपमा अषाढ मसान्त र पौष मसान्तमा बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित गरिएको कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना क्षति भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेको अवस्थामा बैंकले कोषमा दाबी गर्न सक्ने र उक्त दाबी बापत कोषले ५० लाखसम्मको कर्जामा ८० प्रतिशतसम्म र ५० लाखभन्दा माथि ३ करोडसम्मको हकमा ५० प्रतिशतसम्म दाबी भुक्तानी गर्नेछ ।

तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले  यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

जोरपाटीमा साथीमार्टको ११५ औं आउटलेट

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११५ औं आउटलेट जोरपाटीको आरुबारी चोकमा सञ्चालनमा आएको छ । रुपेश थिङले सञ्चालनमा ल्याएको उक्त आउटलेट ७ सय ५० स्वायरफिट क्षेत्रफलमा फैलिएको छ । आउटलेट खोल्नुको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने रहेको रुपेशले बताए । ‘राष्ट्रिय स्तरको रिटेल चेनसँग जोडिएर लोकल लेभलमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नै यो आउटलेट सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘रिटेल चेनको क्षेत्रमा साथीमार्टसँग हातेमालो गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित र विकास गर्ने योजना छ ।’ यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा मगाउन सक्नेछन् ।