ग्यापुले ल्यायो ७ लाख रुपैयाँ पुरस्कार सहितको टिकटक प्रतियोगिता
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । यस प्रतियाेगितामा सहभागी हुन टिकटक प्रयोगकर्ताले सहभागी कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ नि:शुल्क फारम भर्न सक्नेछन् । सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने कम्पनीले बताएकाे छ । पाेस्ट भएका भिडियाे मध्ये उत्कृष्ठ एक सय जनालाई छनौट गरी प्रतियोगितालाई अघि बढाउने ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए । प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले जानकारी दिएका छन् ।
तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । ‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ’, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । रासस
होटल, रेष्टुरेन्ट र बारलाई मेन्युमा तोकिएको बाहेक शुल्क नलिन सरकारको निर्देशन
काठमाडौं । सरकारले सबै होटल, रेष्टरेन्ट र बारलाई मेनुमा उल्लेख गरेको मूल्य बाहेक कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्दशन दिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टरेन्ट र बार संचालन गरिरहेको व्यवसायीलाई मेन्युमा तय गरेको मूल्य नै अन्तिम मूल्य हुने बताउँदै यस्तो निर्देशन दिएको हो । विभागका निर्देशक होमनाथ हुमागाईंले यस्तो नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने बताएका छन् । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य ९ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस० मा करसहितको मूल्य उल्लेख गर्नु पर्ने व्यवस्था छ ।
अमेरिकी डलरको भाउ घट्यो
काठमाडौं। अमेरिकी डलरको भाउ घटेको छ। निरन्तर उच्च मूल्य कायम भएको डलरको भाउ शुक्रबार सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ। डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३० रुपैयाँ १६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा तोकिएको छ।
स्थानीयद्वारा बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी
बैतडी । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने बताए । अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका बताइएको छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा तालाबन्दी गरेका हुन् । नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद आएको जनाएको छ । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भए पनि कुन ठाउँमा बनाउने निर्णय भने भइनसकेका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए । सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन । वडा नं ७ का बासिन्दाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमो अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर तालाबन्दी खुलाउने तयारी भएको उहाँको भनाइ छ । नगरपालिकामा तालाबन्दी हुँदा सम्पूर्ण सेवा ठप्प छन् । रासस
प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
वालेट ‘आइएमई पे’ ले दिन्छ बैंकले सरह ब्याज, ग्राहकको आकर्षण बढ्दो
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी सुनिल पौडेलले पछिल्लो समय आईएमई पे वालेट प्रयोग गर्छन । उनको वालेटमा ५० हजार रुपैयाँ राख्छन् र दैनिकी निर्धक्कसँग चलाउँछन् । बजारमा धेरै डिजिटल वालेट सेवा उपलब्ध भए पनि उनले आईएमई पे नै रोज्नुको खास कारण रहेछ । वालेटमा रहेको रकममा बैंकले सरह ब्याज दिन थालेपछि आईएमई पे वालेट नै आफ्नो रोजाईमा परेको उनले सुनाए । हाल बैंकहरुले साधारण बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्छन् । आईएमई पे पनि वालेटमा रहेको रकममा त्यत्ति नै दरमा ब्याज दिदै आएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणाली अर्थात् मोबाइल वालेट भन्ने वित्तीकै सर्वसाधारणाकाे मनमस्ष्किमा आउँछ ‘आइएमइ पे’ । नेपालको डिजिटल प्रणालीलाई टेवा पुर्याउने उद्देश्यले ५ वर्षअघि ‘आइएमई पे’ को सुरु भएको थियो । यसअघि नै मोबाइल बैंकिङ्ग सेवा लगायत अन्य इन्टरनेट सुविधाहरु सञ्चलानमा भएपनि वालेटको सुरुवात भने आइएमई पे ले गरेको बताउँछन् कम्पनीकाे कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई । २०७४ साल असार ५ गते राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको आइएमई डिजिटल साेलुसन लिमिटेडले आइएमई पे को नामबाट वालेट तथा एप्स संचालन गरिरहेको छ । ‘जे पे गर्दा पनि आइएमई पे’ नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गरिरहेको यस कम्पनीले विभिन्न स्किमहरुका साथ नेपाली अनलाइन भुक्तानीको माध्यमका रुपमा काम गरिरहेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी प्रणाली सञ्चालक १० वटा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थाहरु (वालेट तथा एप्स) २७ वटाले अनुमतिपत्र प्राप्त गरेका छन् । संचालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरु मध्ये आइएमई पे नेपालको लोकप्रिय मोबाइल वालेट हो । सेवा प्रवाहमा वालेटहरुबीच ठूलो प्रतिस्पर्धा छ । त्यसमा आइएमई पे का स्किमले ग्राहकलाई आकर्षित गरिरहेको छ । आइमएई पे ले भुक्तानीको काम मात्रै नभएर प्रयोगकर्तालाई ब्याज पनि प्रदान गर्ने स्किम संचालन गरिरहेको छ । जुन अरु कुनै भुक्तानी प्रदायकले गरेका छैनन् । आइएमई पे ले वालेटमा रकम जम्मा गर्दा ७.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । कम्पनीले विगत ३ वर्षदेखि प्रयोगकर्तालाई ब्याजदर दिइरहेको जनाएको छ । बैंकहरुको ब्याजदर अनुसार नै उक्त वालेटले ब्याजदर पनि परिमार्जन गर्ने गरेको छ । अहिले वाणिज्य बैंकहरुले बचतमा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन् । सोही अनुसार कम्पनीले पनि अहिले आइएमई पे मा रकम जम्मा गर्याे भने ७.१३ प्रतिशत ब्याजदर तोकेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई कस्टमर आकर्षण गर्न र डिजिटलमा ग्राहकलाई ‘इनकरेज’ गर्न वालेटमा रकम जम्मा गर्दा ब्याज दिने स्किम संचालन गरेको बताउँछन् । ‘वालेटमा सामान्यतः सानोतिनो पेमेन्ट गर्न मात्रै रकम जम्मा गर्छन्, वालेटमा ब्यालेन्स मेन्टेन गरेका हुँदैनन्, वालेटमा ब्याज दियो भने कस्टमर इनकरेज हुन्छन्, वालेटमा आकर्षण बढाउन ब्याजदर दिएका हौं, बैंकले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन्, आइएमई पेले पनि सोही ब्याज दिन्छ, बैंकको ब्याजदर परिमार्जन भयो भने त्यहि अनुसार परिवर्तन पनि हुने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइएमई पे ले कस्टमरलाई बैंक खाता बराबरको सुविधा दिइरहेको छ, जसलाई बैंकसम्म जानु पर्ने आवश्यकता छैन, जसको बैंकसम्म पहुँच छैन, फाइनान्सियल स्पेस छैन भने त्यस्ता ग्राहकलाई हामीले वालेटमा ब्याज दिने गरेका हौं ।’ नेपालमा रेमिट्यान्स आयात गर्नेमा आइएमई रेमिट्यान्स कम्पनी एक नम्बर हो । ग्राहकहरुले आजको दिनमा पनि नगद रकम नै बढी झिक्ने गर्छन् । अहिले पनि लाइन बसेर कारोबार गर्ने गरेका छन् । तर, आइएमई पेले लाइनमा बस्नुपर्ने झण्झटलाई मुक्त गर्दै सिधैं वालेटमा रेमिट्यान्स पठाउँदा ब्याज दिइरहेको छ । साथै वालेटमा रेमिट्यान्स इस्यू गर्दा ब्याजसहित अन्य सुविधाहरु पनि प्रयोग गर्न सकिने उनले बताए । राष्ट्र बैंकको नियम अनुसार वालेटमा ५० हजार रुपैयाँ भन्दा बढी राख्न दिँदैन । जस्तो वालेटमा ७५ हजार रुपैयाँ ब्यालेन्स छ भने २५ हजार बैंक खातामा राखेर ५० हजार मात्रै मेन्टेन गर्नुपर्ने राष्ट्र बैंकको नियममा छ । राष्ट्र बैंककाे नियम अनुसार वालेटलाई ५० हजार रुपैयाँ बराबरको कारोबार गर्न छुट छ । बढी रकम छ भने बैंकको खातामा लैजान ग्राहकलाई सुझाव दिने गरेको उनले बताए । ब्याजदरबाट ग्राहकलाई फाइदा ग्राहकको फाइदाका लागि वलेटमा ब्याज दिने व्यवस्था मिलाएको कामु सीईओ भट्टराइले बताए । धेरै मान्छेलाई वालेट चलाउन मोटिभेट गर्न ब्याज दिने व्यवस्था गरेको उनको भनाइ छ । यसबाट वालेटलाई कुनै फाइदा नरहेको उनी बताउँछन् । ‘कम्पनीलाई फाइदा भन्दा पनि ग्राहकलाई फाइदा हुने हो, धेरै मान्छेले वालेट चलाउनु हुन्न, डिजिटल पेमेन्ट गर्नुहन्न, यसको प्रयोग गर्दा इन्करेजमेन्ट होस्, साथै बैंकिङ्ग अभ्यास पनि सुरु हुन्छ, बैंकको सेवा पनि हुन्छ, यसबाट कम्पनीलाई केही पनि फाइदा छैन, ग्राहकलाई नै फाइदा होस भनेर नै ल्याएका हौ,’ उनले भने । वालेटमा पैसा राख्दा ब्याज दिन सम्भव भएर नै यो स्किम ल्याएको उनको भनाइ छ । बैंकसँगकाे सहकार्यमा खाता खोलिन्छ । डिजिटल अकाउण्ट खोलेर बैंक थ्रू भएर वालेटमा रकम राख्दा ब्याज दिने गरेको उनले बताए । विगत ३ वर्षदेखि वालेटमा रकम राख्दा ब्याज दिइरहेको उनले जानकारी गराए । आइएमई पे भिसा कार्ड बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले निःशुल्क रुपमा भिसा कार्ड वितरण गरिरहेको छ । जुन नेपालमा संचालित वालेटहरुमध्ये पहिलो पटक कम्पनीले भिसा सुरु गरेको हो । आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा अतिरिक्त छुटको व्यवस्था समेत मिलाएको कामु सीईओ भट्टराई बताउँछन् । ‘हामीले वालेटमा भिसा कार्ड वितरण गरिरहेका छौं, वालेटमा भिसा कार्ड दिने पनि आइएमई पे नै पहिलो हो, बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले भिसा कार्ड वितरण गर्छ, हामीले भर्चुअल र फिजिकल्ली नै भिसा कार्ड वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘भर्चुअल कार्डले इकमर्समा काम गर्छ, फिजिकल कार्डले जहाँ भिसा कार्ड प्रयोग हुन्छ त्यहाँ प्रयोग गर्न सकिन्छ, ग्राहकलाई वालेट प्रयोग गर्न र बैंक तथा वित्तीय संस्थामा जानुभन्दा अघिको चरणमा सुरुमा इनकरेजमेन्ट होस भनेर यो फिचर ल्याएका हौं, यो एउटा मिनि अकाउण्ट जस्तै चलाउने हो ।’ आइएमई पे भिसा कार्डलाई पनि कस्टमरले धेरै मन पराएको उनको भनाइ छ । कलेजमा गएर विद्यार्थीहरुलाई भिसा कार्ड वितरण गर्ने गरेको उनले बताए । ‘बैंकमा गएर झन्झिटिलो तरिकाले पैसा तिरेर डेबिट कार्ड लिनुपर्छ, त्यो कार्ड लिन पनि एक दुइ हप्ता कुर्नु पर्छ तर आइएमई पे को भिसा कार्ड क्यूआर तुरुन्तै गरेर तुरुन्तै पाइन्छ, यो निशुल्क हुन्छ,’ उनले भने । स्किममा प्रतिस्पर्धा पछिल्लो समय वालेटबीच कडा प्रतिस्पर्धा बढेको छ । वालेटहरुमा कारोबार गर्दा क्यास ब्याकमा धेरै प्रतिस्पर्धा देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नगद कारोबारमा केही संकुचन ल्याएपछि मोबाइल वालेटमा कारोबार बढेको थियो । राष्ट्र बैंकले पनि ‘डिजिटल पेमेन्ट’ अर्थात् विद्युतीय भुक्तानीमा जोड दिँदै क्यूआर प्रयोगलाई बढावा दिएको छ । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पनि मोबाइल बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । मोबाइल वालेटहरुमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किमहरु ल्याएका छन् । अहिले आफूमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किम तथा क्यास ब्याकको सुविधा दिइरहेका छन् । आइएमई पे ले पनि ग्राहक तान्न आकर्षक क्यास ब्याक र स्किम संचालन गरिरहेको भट्टराईले बताए । आइएमई पेले टप अप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा दिइरहेको छ । हवाइ यात्राको लागि टिकट काट्दा ३ सय रुपैयाँसम्म क्यास ब्याक र अन्य पुरस्कारको पनि व्यवस्था मिलाएको उनको भनाइ छ । ‘अहिले हाम्रो दशैं तिहारको स्किम पनि चलिरहेको छ, हामीले दशैं तिहार फेस्टिभल भनेर फोन देखि ट्याबलेट, ल्यापटप, बम्फरमा इलेक्ट्रिक स्कुटर पुरस्कार वितरण गर्न स्किम ल्याएका छौं, यो स्किम तिहार पछि पनि चल्छ,’ उनले भने, ‘प्रडक्ट अनुसार क्यासब्याक छुट्टाछुट्टै छ, कहिलेकाँही क्यूआर गर्दा शतप्रतिशत क्यासब्याक दिने पनि दिन्छौं, आइएमईको २२ औं वर्षको अवसरमा शतप्रतिशत क्यास ब्याक दिएका थियौं, त्यो पर्टिकुलर दिनमा मात्रै हो, कहिलेकाँही त्यस्तो पनि हुन्छ, सामान्यतया ५/१० प्रतिशत क्यासब्याक दिइरहेका हुन्छौ,’ उनले भने । आकर्षण बढ्दो भट्टराईका अनुसार वालेटमा आकर्षण बढ्दो छ । नेपालमा अहिले प्रयोग गर्ने संख्या पनि बढीरहेको छ । विदेशमा पहिला नै विकास भएपनि नेपालमा अहिले वालेट प्रयोग गर्नुपर्छ भन्ने सोच आएको छ । आइएमई पेको फिचरमा पनि आकर्षण बढेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए । आइएमई पे प्रयोग गर्ने ग्राहक संख्या २५ लाख छन् । जसमा सक्रिय प्रयोग कर्ता ६ लाख छन् भने सक्रिय कारोबार गर्ने प्रयोगकर्ता साढे २ लाख छन् । धेरै कारोबार वालेट टपअप र क्यूआर पेमेन्ट हुने गरेको उनले बताए । रकम ट्रान्सफर्मर वा पठाउने बढी छन्, संख्याका हिसाबले टप अप, क्यूआर, बिल पेमेन्ट, इलेक्ट्रीसिटीको बिल पेमेन्ट, हवाइ टिकट खरिदमा बढी कारोबार हुन्छ,’ उनले भने । साथै, मेरो सेयर नवीकरण, दोस्रो बजारमा सेयर खरिद बिक्री, भुक्तानी, टिएसमा धितो लोड जस्ता सुविधाहरू वालेटबाट प्रयोग गर्न सकिन्छ ।
गरिमा विकास बैंकका ग्राहकलाई हिमालयन होटलमा १५ प्रतिशत छुट
काठमाडौं । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंक बीच विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५% छुट सक्ने बैंकले जनाइएको छ । उक्त सम्झौता मा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।