विकासन्युज

घर-घरमा खानेपानीका धारा आउँदा मरिणका स्थानीय दंग

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो । वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन् । स्थानीय विमला तामाङले अहिले निकै सहज भएको बताए । । ‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो’, उनले भने, ‘अहिले वर्षौँदेखिको खानेपानीको प्यास मेटिएको छ ।’ आफैँलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उनले सुनाउए। मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घर–घरमा पुगेको हो । विसं २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो । ६२ लाख १८ हजार आठ सय ६८ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । उनका अनुसार मरिणखोला नजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उनले बताए । ‘निःशुल्क खानेपानी हाम्रो अभियान हो’, उनले भने, ‘त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ ।’ उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएको उनले स्मरणसमेत गरे । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्नेमा उनको जोड छ । वडाध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दामात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाइ सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाए । गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पुर्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी सङ्कलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो । अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताए ।

एनएलजी इन्स्योरेन्सले घोषणा गर्याे १०.५२६ प्रतिशत लाभांश

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३१५८ प्रतिशत अर्थात् ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद गरी कूल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत अर्थात् ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद गरी कूल ३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

गौरादह । झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट वञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायो ग्यास उत्पादन हुन्छ ।  २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए । कुहिने र नकुहिने फोहर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताए । कुहिने फोहरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अर्का सञ्चालक विमल खतिवडाले बताए । कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ । दैनिक १० हजार किलो प्राङ्गरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ । दमक क्षेत्रमा दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।  

३ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत ५९ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३ वटा लघुवित्तले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त, आरएसडिसी लघुवित्त, फष्र्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद गरी कूल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै, आरएसडिएसी लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ । यस्तै, फष्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ । यी तीनै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्ने उद्देश्यसहित बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलहरूले मिलेर सरकार बनाएर जाने विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् । प्रचण्डले नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन् ।

चितवनमा धान उत्पादनमा वृद्धि

चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो । उनका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो । रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो । जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ । रासस

बारामा तेलहन खेती बढ्यो

बारा । यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विसं २०७२/७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उलेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो । गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए ।