विकासन्युज

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो। कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पर्थ्यो। अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लागेकी छन् । ‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ’, उनले भनिन्, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’ उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छन्। उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती लगाइएको उनले बताइन्। रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएका छन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खाने आलु उत्पादन गर्छन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ। उनले पाँच–सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेका छन् । ‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’, उनले भने । किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा छ रोपनी जग्गामा करिब साढे छ क्विन्टल खायन आलु लगाएका छन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउँछन् । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। ‘आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ’, शाखा प्रमुख पाण्डेयले भने । उनका अनुसार यस कार्यक्रममा करिब तीन सय किसान आबद्ध छन्। साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन् ।  रासस

निष्क्रिय भयाे चोलेन्द्रविरुद्धको महाअभियोग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै उनी आजैबाट अदालतमा हाजिर हुने समेत बताइएकाे छ ।

यी तीन मन्त्रीले भने : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्छ

काठमाडाैं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री खाणले यस विषयमा निकास नभए उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको जानकारी दिए । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा उनीहरूले मन्त्रिपरिषद् बैठकमा राखेका हुन् । तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताएका थिए । गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घसंस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । रासस

हिउँदको सुख्खा समयमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो । विगतका बर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो ।यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन गरी बितरण हुँदै आएको उनले बताए । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ । सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो । रासस

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

तानसेन । काठमाडौंका विकाश मर्हजन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथो पटक पाल्पा घुम्न आएका उनलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । ‘एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ’, उनी भन्छन्, ‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल यात्रा र्याफ्टिङ, प्याराग्लाईडिङ्ग र जीपलाईनले पर्यटकलाई आर्कषित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रर्वद्धनमा थप टेवासमेत पुर्याएको छ । पहिलो पटक रानीमहल घुम्न आएका नेपालगञ्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्याफ्टिङ गर्दा आनन्द महसुस भयो’, उनी भन्छन्, ‘प्रकृतिसँग रमाउदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दछन् । यहाँका एतिहासिक तानसेन वजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमर्ण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्गजाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गरेका थिएनन् । उनी भन्छन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ र्याफ्टिङ सुविधा छ, भन्ने थाहा थिएन् ।’ चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उनी बताउँछन् । तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाईडिङ्ग संचालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन वजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका संचालक रुपम कक्षपतीले जानकारी दिए । यात्रुहरुको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उनको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौँ लगायतक्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट संचालित जीपलाईन यहाँ आउने पर्यटकहरुको अर्को गन्तव्य बनेको छ । पाँचसय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइकिलिङ्ग गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका संचालक देव पचभैया बताउँछन् । उक्त जीपलाईन पाल्पा दर्शनले संचालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ । रासस

सिरहामा पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे । समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ । यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए। रासस

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ । धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा स्थापना गरिएको थियो । त्यस लगत्तै कोरोना सङ्क्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरि स्थापना गरिएको हो । अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए । उनले तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताए । उनले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चकोसमेत जोहो हुने बताए । सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उनले सुनाए । ‘सरकारले धौलागिरि क्षेत्रलाइनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन ग-यो’, न्यूरेले भने, ‘अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बागलुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ ।’ उनले आफुहरुको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताए । धाैलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर प्रयोग गरेर बिरामीको उपचार गरिएको र पछिल्लो समय अक्सिजन सिलिन्डरसमेत अस्पताललाई प्रर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अभिषेक वाग्लेले जानकारी दिए । डा वाग्लेले भने, ‘बिरामीको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा समेत भरेर पठाउन सकिने भएको छ ।’ धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्नेगरी २०० शय्याको बनाउँदा उत्पादित अक्सिजन अस्पतालमै खपत हुनसक्ने अस्पतालको भनाइ छ । रासस

गण्डकी क्षेत्रीय अस्पताललाई बतास फाउन्डेसनले दियो अक्सिजन प्लान्ट

काठमाडौं । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने फाउन्डेसनले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीनेछ। अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई मध्यनजर गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन महाअभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल  ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘ १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको थियो । निर्धारित समय भन्दा ढिलो प्लान्ट हस्तान्तरण गरिएको भन्दै फाउन्डेसनले क्षमा याचना गरेको छ । वि.सं २०७८ जेठ ६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेको भए पनि अघिल्लो सरकार, कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको फाउन्डेसनको भनाई छ । पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप समस्या भएको थियो । अन्ततः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि त्यो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गरिएको फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्याय विवरण भने छिट्टै नै सार्वजनिक गर्ने फाउन्डेसनले प्रतिबद्धता व्यक्त गरेको छ। उक्त अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहेका थिए । त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेजका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहेका थिए ।