विकासन्युज

पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ ड्राइभिङ कार

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् एडब्ल्युएस युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् । एडब्ल्युएसु जस्तो मल्टीबिलिअन वर्थ संस्थाुका पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा एडब्ल्युएस डीपरेसर प्रतियोगिता सम्पन्न गरेका हुन् । यसै क्रममा नेपालमै पहिलो पटक डिसेम्बर १० मा एडब्ल्युएस युजर ग्रुप नेपालद्वारा आयोजित यस एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा ३०० भन्दा बढीको सहभागीता रहेको थियो। सहभागीहरूमा अधिकतम क्लाउडमा कार्यरत व्यक्तिहरू तथा आईटीका विद्यार्थीहरु रहेका थिए । कम्युनिटी डेमा क्लाउडमा कार्यरत इञ्जिनियरहरूले क्लाउड सम्बन्धी विभिन्न विषयमा आफ्नो ज्ञान, अनुभव, र ह्याण्डस् अन डेमो प्रस्तुत गरेका थिए । च्याटबट, क्लाउडसेक्युरिटी, डाटा इञ्जिनियरिङ युजिङ एडब्ल्युएस आदि विषयका टेक्निकल सेसनमा सहभागीहरूले धेरै नयाँ कुराहरू सिक्ने मौका प्राप्त गरेको आयोजकले जनाएको छ। कम्युनिटी डेको मुख्य आकर्षण एडब्ल्युएस डीपरेसर रहेको थियो । यस प्रतिस्पर्धामा सबै स्तरका डेभलोपरहरुले रिइन्फोर्समेन्ट लर्निङलाई अन्वेशन तथा प्रयोग गरेर आफैं सञ्चालन हुने कारलाई रेसिङ ट्रयाकमा उतार्ने अवसर पाए । जसमा न्युनतम समयमा पूरा ट्रयाक कभर गर्न सफल हुने बिजेता भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो। पहिलो चरणमा १४० सहभागीहरूले एडब्ल्युएस डीपरेसर टिमबाट नै भर्चुअल ट्रेनिङ प्राप्त गरेर आफ्नो कोड भर्चुअल ट्रयाकमा प्रस्तुत गरेका थिए। टप १५ ले भने नेपालकै पहिलो एडब्ल्युएस फिजिकल डीपरेसर ट्रयाकमा नै रेस गर्ने मौका पाए। कार्यक्रमको मुख्य प्रायोजक जेनिस सोलुसन रहेको थियो । नेपालमा पहिलो पटक एडब्ल्युएसलाई निम्त्याउने यस संस्थाले कम्पनीहरूको दक्षता बढाउन विभिन्न क्लाउड सम्बन्धी सेवा दिँदै आएको छ। त्यसै गरी एडब्ल्युएस कम्युनिटी दे सफल बनाउन मद्दत गर्ने अन्य प्रायोजक सफ्टारिका कलेज अी आईटी एण्ड ईकमर्स, भायानेट, रिनेज्ड इन्स्योरेन्स, जेनिस एकाडेमी, खल्ती र टेकसाथी रहेका थिए। नेपालका एक मात्र एडब्ल्युएस एम्बास्डर तथा एडब्ल्युएस युजर ग्रुपको नेतृत्व गर्दै आएका अन्जनी फुयालले आफ्नो ४ वर्षको एडब्ल्युएस कम्युनिटी डे र डीपरेसर नेपालमा सम्पन्न गर्ने सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । उनी भन्छन्,ुयो त एउटा सुरुवात मात्र हो, हामी एडब्ल्युएस युजर ग्रुप नेपालले आउने दिनहरुमा अरु पनि यस्तै उपयोगी र फलदायी योजना र कार्यक्रमहरु ल्याउनेछौँ। त्यसैगरी एडब्ल्युएस युजर ग्रुप नेपालको सहनेतृत्व गर्दै आएकी बर्षा भण्डारीले आफु आईटी क्षेत्रमा विशेषज्ञ नभए पनि कम्युनिटीको नेतृत्व गरेर आफ्नो करियर बनाउन सकेकी बताइन् । आईटी क्षेत्रका व्यक्तिका लागि त झन् धेरै अवसर र सम्भावना रहेको उनको भनाइ छ । एडब्ल्युएस युजर ग्रुप नेपालले सन् २०१८ देखि सक्रिय रुपमा विभिन्न मिटअप तथा वेबीनारहरु संचालन गर्दै आएको छ। यी कार्यक्रमहरूमा क्लाउड जान्न उत्सुक आईटीका विद्यार्थीहरू तथा क्लाउडमा काम गरिरहेका प्रोफेसनल्सहरूले क्लाउड विशेषज्ञहरूसँग ह्याण्डस् अन ट्रेनिङ र वोर्कशपहरु लिन सक्छन् । यति मात्र नभएर विश्व बजारमा आईटी क्षेत्रमा आफ्नो करियर बनाउनका लागि क्लाउड सम्बन्धी ट्रेनिङ तथा सर्टिफिकेसन कसरी लिने, कहाँबाट सुरू गर्ने, प्रशिक्षक कसरी खोज्ने लगायत अन्य जिज्ञासाहरूको पनि उत्तर पाउन सक्छन्।

अध्यादेशविरुद्ध अनेरास्ववियु : कानुनी राज्य स्थापना गर्न सडकमा आउने अध्यक्ष बरालको चेतावनी

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले राष्ट्रपतिसमक्ष पेश गरेको मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९ फिर्ता लिन माग गरेको छ । अध्यक्ष बरालले नयाँ जनादेश आइसकेको अवस्थामा बदनीयतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएकी छन् । ‘देश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्‌को शपथग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको छ। यस्तो अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले २०७९ मङ्सिर २५ गते अपराध संहिता संशोधन गर्ने गरी ल्याएको अध्यादेश प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। उनले केही दिनभित्र नयाँ संसदको पहिलो बैठक बस्ने अवस्थामा काम चलाउ सरकारले अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात भएको बताएकी छन्। ‘जसले खुलेआम नयाँ जनादेशको मर्म र नयाँ संसद्को अधिकार मिच्ने प्रयास गरेको छ,’ उनले भनेकी छन् । ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निणर्यले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको बताउँदै अध्यक्ष बरालले सरकारको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको ठहर गरेकी छन् । तसर्थ राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैरसंवैधानिक राजनीतिक निणर्यले कानुनसँग अन्तरविरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निणर्य हो भन्ने अनेरास्ववियुको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ विगतमा जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएका सत्ताका माहिर खेलाडी देउवाले सांसद् किनबेच गरेर, राजाको बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने जस्ता अनेकन हर्कत गरेर सत्तामा पुग्ने सफल देउवा पुनः यस पटक संविधान विरोधी दण्डहीनतालाई प्रश्रय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याई पुनः एक पटक कलङ्कित बनेका छन् ।’ अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । उनले अन्यथा अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिएकी छन् ।

मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा ल्यायो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण  र कृषिसँग सम्बन्धित तथ्यांकलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट हेर्न सकिने कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिए । प्रणालीमा संस्थागत विवरण, कृषक विवरण, जग्गाको वर्गीकरण, सूचना र प्रकाशन गरेर विभिन्न शीर्षकमा विभाजन गरी सहज बनाइएको छ । सो प्रणाली निर्माणमा ड्रिमवर्क सोलुशनका कार्यक्रम व्यवस्थापक किरण बमनुले सहजीकरण गरेका थिए । उनले नगरपालिकालाई सो प्रणाली हस्तान्तरण समेत गरे । आगामी दिनमा नगरपालिकाले कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिनुका साथै कृषि ऋणका लागि व्यावसायिक योजना निर्माण तथा विश्लेषणको कार्य सफ्टवेयरबाट सञ्चालन गरिने कृषि प्राविधिक श्रेष्ठले बताए । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले विभिन्न ३६ बुँदे माग राखी जिल्लाका १२  स्थानीय तहमा  ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले अहिलेसम्म देशमा संघीय शिक्षा ऐन बन्न नसक्नुलाई दुर्भाग्यपूर्ण भनेको छ । शिक्षा ऐन नबनेका कारण कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्दै महासङ्घले सोमबार जिल्लाका सबै स्थानीय तहलाई ध्यानाकर्षणपत्र बुझाउने क्रममा मेलम्ची नगरपालिकामा पनि बुझाएको हो । मेलम्ची नगर प्रमुख आइतमान तामाङले महासङ्घको मागप्रति नगरपालिका सकारात्मक रहेको बताए । उनले शिक्षक र स्थानीय तहले मात्रै शिक्षामा परिवर्तन गर्न नसक्ने भन्दै महासङ्घ, पेसागत सङ्गठन, अभिभावकलगायत सरोकारवालाको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।  ध्यानाकर्षणपत्रमा शिक्षक सरुवा गर्दा साविकका ऐन, नियमानुसार सहमतिका आधारमा गरिनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्दा अध्यक्षलगायत बहुमत सदस्य अभिभावकमध्येबाटै छनोट गर्नुपर्ने, करार शिक्षक नियुक्ति गर्दा जिल्लाकै सूचीकृत विज्ञबाट गराउनुपर्ने, अनुमति र अभिलेखीकरण शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने लगायतको माग उल्लेख गरिएको महासङ्घका जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडाले जानकारी दिए ।  सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख  तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्तरूपमा नगरपालिकासँगै रहेको गोदामघरको शुभारम्भ गरेका छन् ।  भवन सञ्चालनमा आएसँगै अब लामो समयदेखि रहँदै आएको भण्डारणको समस्या अन्त्य हुने भएको छ । सो भवनबाट भण्डारणसहित स्वास्थ्य, कृषि र विपद् शाखाको सेवा पाइने नगरपालिकाले जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारबाट विनियोजित १९ लाख तीन हजार ३७ र आव २०७८/७९ मा आन्तरिक स्रोतबाट विनियोजित ३८ लाख ७० हजार आठ सय लागतमा नगरपालिकाको कार्यालय नजिकै उक्त गोदामघरकाे भवन निर्माण गरिएको हो । रासस

शिलान्यास भएको दुई दशकपछि धनकुटाको सहिदभूमिको खाल्सामा कालोपत्र हुने

धनकुटा । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत  २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौंका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए । यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।

म्याग्दीमा स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् । ‘३५ लाख ५९ हजार छ सय रुपैयाँ सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये  ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ सङ्कलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए । महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए । पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए । रासस

‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

भरतपुर । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी नै पुग्दैनन् । पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन् । समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिने गरेको उनले बताइन् । ‘पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्’, उनी भन्छिन्, लाज नै यसको मुख्य कारण हो ।’ सानै उमेरमा विवाह गर्ने चलनले गर्दा कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जचाउन लाज मान्ने गरेको उनले सुनाइन् । उनीे विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने बताउँछिन् । वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत नै छ । ‘गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्’, जौगैराकी माया चेपाङ भन्छिन्, ‘म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।’ उनले अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको बताइन् । बेलैमा गर्भ नजचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उनले बुझेकी छन् । ‘नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु’, माया भन्छिन्, ‘समयमै गर्भ जाँच नगराएका कारण मेरा पनि दुईवटा सन्तान जन्मिएर खेर गए । समयमै गर्भ जाँचेको भए समस्या पत्ता लाग्थ्यो कि भन्ने लाग्छ ।’ आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट बचाउन पनि समयमै जाँच गर्नुपर्ने उनको भनाइ छ । उनको जस्तै जौगैराकै शिला चेपाङको पनि समयमै गर्भजाँच नगर्दा एउटा वच्चा खेर गयो । स्वास्थ्यमा पटक–पटक समस्या देखिएको भन्दै उनले लाजका कारण स्वास्थ्यचौकी नजाँदा अहिले दुःख भोग्नुपरेको बताइन् । उनले गाउँमा चेतनाको स्तर कम हुँदा धेरैले यस्तो समस्या भोग्नुपरेको सुनाइन् । महिलासँगै पुरुषमा पनि प्रजनन स्वास्थ्यबारे जानकारी हुनुपर्ने उनको भनाइ छ । चेपाङ समुदायमा यो समस्या कायम रहेपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ । समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए । ग्रामीण अल्ट्रासाउण्ड सुरू गरिसकेको जनाउँदै उनले गर्भ जाँच्न आउने महिलालाई कम्तीमा चार महिनाका लागि निःशुल्क क्याल्सियम उपलब्ध गराउने कार्यक्रम छिट्टै लागू हुने बताए । गाउँपालिकाबाट टोलटोलमा पुगेर पनि स्वास्थ्य सेवा सञ्चालन गरिरहेको उनले बताए । संघीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा ‘चेपाङका लागि पोषण’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाले बताउँछन्। सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । रासस

दुर्घटना न्यूनीकरण गर्न सवारी साधन यान्त्रिक परीक्षण सुरू

रसुवा । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो । यही मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लंघन गर्ने सयौं सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिए । चीनसँगको कारोबार गर्ने नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकासमेत भएका कारण यहाँ मालसामग्री लिन आउने अधिकांश सवारीसाधनले यातायात कार्यालयबाट प्रदान गर्ने सडक अनुमतिपत्र नल्याउने, बिलबुक तथा सवारी चलाउने अनुमतिपत्रलगायतका आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने समेत समस्या रहेको बताइएको छ । यस्तै रसुवा जिल्ला पर्यटकीय क्षेत्रसमेत भएको र तोकिएको सवारी प्लेटभन्दा अन्य सवारीसाधनले समेत नियमविपरीत पर्यटक बोक्ने गरेका कारण त्यस्ता सवारीसाधनसमेत कारबाहीमा पर्ने गरेको जनाइएको छ । रासस