प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई दियो ५ लाख सहयोग
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई उक्त सहयोग गरेको हो । समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक दिपक संजेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।
भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने कार्य अन्तिम चरणमा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको ‘मनिटरिङ’ तथा ‘भेरिफिकेशन’को कार्य सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेशनको कार्य बाँकी रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा तीव्र गतिको इन्टरनेट पुर्याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारी–पत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यालय गरी करिब चार हजार दुई सय ५१ स्थानमा इन्टरनेट जडान गर्ने जनाइएको छ । उक्त निकायमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुलबापतको रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो । सोहीअनुरुप हालसम्म कूल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्याण्ड सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ । भूकम्पबाट अति प्रभाववित आठ जिल्लाका तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म रु चार करोड १५ लाख ३८ हजार चार सय ७९ (कर बाहेक) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट अति प्रभाववित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत १२ करोड ८६ लाख, ५३ हजार एक सय ८२ (करसहित) भुक्तानी गरिएको बताइएको छ । रासस
नेप्से सामान्य अंकले घट्दा तीन कम्पनीको सेयरमा लाग्यो सर्किट
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार २.६२ अंकले घट्दा सेयर विन्दु १८९७.०८ मा पुगेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ जसमा दुई कम्पनीको सेयरमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सिवाइसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेको छ । यस्तै, नकारत्मक सर्किट लाग्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ । आज कुल २० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ७२ करोडको कारोबार भएको छ ।
४० दलका ४ हजार २८५ उम्मेदवारको जमानत जफत
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेशसभाको दुबैतर्फ गरी ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । यस्तै आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी समेत जफत गरेको छ । समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ। यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।
काठमाडौं भ्यू टावरको काम १६ महिनामा ७० प्रतिशत सकियो
काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौँ महानगरपालिका कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ । निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ । सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ । कामपाले निर्माण सुरु गरेको समयदेखि ३० वर्षका लागि दिइएको हो, निर्माणको अवधि पाँच वर्ष राखेको भए पनि पाँच वर्षमा निर्माण सम्पन्न नभएको अवस्थामा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नगरेकाले कामपाले कारबाही गर्ने अवस्था नरहेको जनाएको छ । अर्को कम्पनीलाई दिइहाल्ने अवस्था छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक एक करोड रुपैयाँ रकम कामपालाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ । कामपाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम सकिसक्नुपर्ने भए पनि नसक्दा के गर्ने उल्लेख नभएको र समग्रमा तीस वर्षका लागि दिएकाले निर्माण कम्पनीलाई कारबाही गर्न मिल्ले अवस्था नरहेको हो । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुनेछ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । त्यसैगरी टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । बसपार्क सञ्चालन गर्न समस्या हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौं भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ । निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै कामपाले यस विषयमा छलफल सुरु भएको जनाएको छ । २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिककै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्मााणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ । टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन । आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन् ।
चुनाव भएको २३ दिनपछि निर्वाचन आयोगले गर्यो अन्तिम परिणाम सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले तीन सातापछि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले २३ दिनपछि सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका अुनसार आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनेछन् । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।
विरगञ्जमा सेन्ट्रल फाईनान्सको शाखा विस्तार
काठमाडौं । सेन्ट्रल फाईनान्सले पर्साको विरगञ्जमा बुधबारबाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजियस, मरचेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ । चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ६ अर्व ११ करोड रुपैयाँ र कर्जा ५ अर्व २० करोड रुपैयाँ रहेको छ ।
प्रभु क्यापिटलमा खाता खोल्ने १० जनालाई निःशुल्क डिम्याट सेवा
काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ । क्यापिटलकाे अनुसार यस योजना अवधिभर खाता खोल्ने ग्राहकमध्ये १० जनाले आजिवन निःशुल्क डिम्याट खाता सेवा पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेली राइड जित्नेछन् । यो योजनामा देश विदेशमा रहने नेपालीहरुले वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफु अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।