ओलीलाई भेट्न प्रचण्ड, रवी र लिङ्देन बालकोटमा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नका लागि तीन दलका नेताहरु बालकोट पुगेका हुन । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा तीन राजनीतिक दलका नेता र ओलीबीच भेट भएको हो । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनकोे बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बैठक छोडेर बाहिरिएका थिए । बैठक छोडेर बालुवाटारबाट लञ्ज ब्रेक’ का लागि आफ्नोे निवास खुमलटार पुुगेका प्रचण्ड माओवादीका नेताहरुसँग छलफल गरेर बालकोट लागेका हुन ।
सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । नेकपा एमालेको संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उनीहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमणकिशोर चौधरी र टीका थापाको नाम चर्चामा छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका चार र राप्रपाका एक जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुनलागेको हो । यस अघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन् । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ । ‘अधिकां विजयी प्रदेशसभा सदस्य काठमाडौं पुगेका छन्’, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भने । यसैबीच प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई यही पुस १५ गते शपथग्रहण गर्ने तयारी भइरहेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य ५२ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने बताइएको छ । अछामबाट कांग्रेसबाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावल प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सचिवालले शपथग्रहण र प्रदेशसभाको बैठक सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा गरिसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । बैठक सञ्चालनका लागि प्रदेशसभा हललाई सजिसजाउ पारिएको छ । यस क्रममा प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल र माइक पुनः जडान गरिएका छन् । ‘सचिवालयले प्रदेश प्रमुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग समन्वय गरेर शपथ ग्रहण र बैठक सञ्चालनको तयारी गरिरहेको छ’, उनले भने । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना निर्वाचित भएका छन् । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट पुरुष ३५ र महिला १८ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
पुस १५ गतेबाट अवैध मोबाइल फोन नचल्ने
काठमाडौं । आगामी पुस १५ गतेदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको हो । उक्त सिष्टम पूर्ण रुपमा लागु भएपछि नेपालमा दर्ता नभएका मोबाइल फोन बन्द हुनेछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले उक्त सूचनामार्फत् अनुरोधसमेत गरेको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडिएमएसमा गई दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले उक्त सूचनामा उल्लेख गरेको छ ।
६ वर्षमा ३५ हजार सवारीमा मात्र इम्बोस्ड नम्बरप्लेट जडान
काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट विसं २०८० मङ्सिरसम्म जडान गरिसक्नुपर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडानको अहिलेको गति हेर्दा निर्धारित अवधिमा सबै सवारी साधनमा जडान हुने अवस्था नभएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुको भनाइ छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जोड्नुपर्छ भनेर कानुनमा व्यवस्था गरिएकाले सेवाग्राहीले जडान गर्न पाउने तर बाध्यकारी नभएको उनको भनाइ छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएको छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कहिले कानुनी त कहिले भाषाको विवादका कारण अपेक्षाकृत रुपमा हुन सकेको थिएन । इम्बोस्ड नम्बर प्लेट जडानको अवधि गत वर्ष जेठमा सकिएपछि फेरि साढे दुई वर्षका लागि थप गरिएको थियो । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सो मद्दामा दुई वर्ष पहिले अदालतले प्लेट अङ्ग्रेजी भाषामै हुँदा फरक नपर्ने फैसला गरेको थियो । यातायात व्यवस्था विभागले विसं २०७३ जेठ १७ मा टाइगर आइटी ९द कर्पोरेसन०सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । विभागले सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने बताएको छ । आधुनिक र वैज्ञानिक नम्बर प्लेट खरिदका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आबद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ । त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा पूर्वाधार निर्माण छ । सडक विभागसँग काठमाडौं उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा निर्माण हुनेछ ।
गठबन्धनमा सहमति नभएपछि एमालेको शरणमा माओवादी
काठमाडौं । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक छोडेर बाहिरिए । गठबन्धन बैठक लगतै नेकपा एमालेका अध्यक्ष केपी शर्र्मा ओलीलाई भेट्न उनी बालकोट जादै छन् । सत्तारुढ दलसँग वार्ता नमिलेपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् । गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव देव गुरूङसहित एमालेसँग संवाद गर्न बालकोटतर्फ जान लागेका हुन । सत्ता गठबन्धनमा माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आउनु भएको थियो । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि प्रचण्ड ‘अब बालकोट जान्छु’ भन्दै बालुवाटारबाट निस्कीएका हुन । यता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । वाताको बीचमा प्रचण्ड निस्कीएपछि उनले गठबन्धन टुटेको बताएका हुन ।
रुद्राक्षको उद्योग स्थापना गरी ब्राण्ड बनाउँ, प्रचार गर्न नगर तयार छ : मेयर उदास
भोजपुरको षडानन्द नगरपालिकाका नगर प्रमुख हुन् सुरेन्द्र कुमार उदास । गत वैशाखमा सम्मपन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका उदास नगरको विकासको निम्ति दौडधुप गरिरहेका छन् । नगर प्रमुख उदास आफ्नो नगरपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा नमुना काम गर्न खोजिरहेको बताउँछन् । प्रस्तुत छ उनै नगर प्रमुख उदाससँग विकासन्युजका लागि राजिव न्यौपानेले समसामयिक सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश : षडानन्द नगरपालिकाले पूर्वाधार क्षेत्रको विकासलाई कसरी अगाडि बढाई रहेको छ ? षडानन्द नगरपालिकाको समग्र विकासका कामहरू सुरुवाती चरणमा अगाडि बढी रहेको छ । कतिपय कुरालाई निरन्तरता दिएका छौं । सतिघाट-दिङ्ला सडकलाई पिच गर्नको लागि भर्खरै मात्र ठेक्कामा लगाएका छौं । नगरको १४ वटै वडा कार्यालयसम्म जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सक्ने बनाउनको लागि स्तारोनती गर्ने भनेर तयारी गरिरहेका छौं । खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका योजनाहरू पनि सुचारु भइरहेका छन् । पूर्वाधारको विकासमा नगरपालिका निकैपछि छ भन्दा फरक नपर्ला, स्रोतले नपुगेर नगरको विकासले गति लिन नसकेका हो ? हामी निर्वाचित भएर आएको केही समय भयो । यसो हेर्दा पूर्व जनप्रतिनिधिहरूले नगरको विकासमा ध्यान नदिएको जस्तो देखिन्छ । पालिकाको क्रमिक विकासलाई कसरी अगाडि बढाउने भन्ने ठोस योजना नबनाई काम गरेको अवस्था देखिन्छ । त्यो कारणले पनि हुन सक्छ । हाम्रो नगर भौगोलिक हिसाबले पनि ठूलो छ । स्रोत साधनको पनि कमि नै छ । राज्यबाट प्राप्त गर्ने विभिन्न किसिमका फन्ड पनि कम छ । अरुण नदिमा पुल नबन्दा पनि विकासको काममा नगर पछि परेको देखिन्छ । अब पालिकाको हरेक क्षेत्रको विकासले तीव्रता पाउने छ । कात्तिकेघाट जोड्ने पक्की पुल निर्माण कार्यले किन तीव्रता पाउन सकेन, तपाईंहरुले सम्बन्धित निकायमा पहल तथा ताकेता गर्न नसकेको हो ? यो पुलको अनुगमनको काममा म आफै पनि गएका छु । यो सडक विभाग अन्तर्गत पुल महाशाखाको परियोजना हो । अहिले ठेकेदार कम्पनीले पुल निर्माणको काम पुन सुरु गरेको अवस्था छ । पुलको दुई पटिको किनारामा पिलर निर्माण भइसकेको छ । उनीहरूको भनाइ अनुसार लोड टेस्टको काम बाँकी छ । सो टेस्ट गरिसकेको एक महिनाभित्र पिलरको काम पनि सम्पन्न हुन्छ । बिचको पिलर बनाउनको लागि केही समस्या भएको उनीहरुले बताएका छन् । बेड लेबल भन्दा मुनिको काम ९० प्रतिशत भइसकेको छ । फागुनको १५ गतेसम्म पिलरको काम सक्ने र यस पटक पुलको माथिल्लो भागको काम गर्ने कुरा भएको छ । यो वर्ष पुलको ७० देखि ८० प्रतिशत काम सम्पन्न हुने आशामा छौं । अर्काे वर्ष पुलको काम सम्पन्न हुने विश्वास लिएका छौं । अघि सतिघाटदेखि दिङ्लासम्म जोड्ने सडकको पिच गर्न ठेक्का लगायौं भन्नु भयो, उक्त काम कहिले सुरु भई कहिले सम्पन्न हुन्छ ? यो बहु वर्षीय ठेक्का हो । सतिघाट–दिङ्लासम्मको सडक पिच २ वर्षभित्र सक्ने भनेर ठेकेदार कम्पनी र नगरबीच सम्झौता भएको छ । उक्त काम यही वर्ष सुरु भइ अर्को वर्ष सम्पन्न हुन्छ । यसलाई हामीले नगरको गौरवको आयोजनामा समावेश गरेका छौं । तर, हामीले उक्त काम यही वर्षभित्र सक्ने लक्ष्य लिएका छौं । किनभने पहिलो ठेक्का अनुसार ५ किलोमिटर सडक पिच हुन्छ । यसको लागि नगरले नै बजेटको व्यवस्थापन गरेको छ । सालमादेखि कात्तिके पुल जोड्ने सडकको पनि स्तारोन्नती गर्नु छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित छ । ५ किलोमिटरमा नगरको र एक किलोमिटरमा प्रदेश सरकारको बजेट रहेको छ । नगरपालिकाको प्रत्येक ठाउँमा सडक सञ्जाल पुगेको छ, तिघाट-दिङलासम्मको सडक पिच गर्ने ठेक्का पनि लगायौं भन्नु भयो, तर नगरको लागि यति कालोपत्रे पर्याप्त छैन, धेरै सडकको स्तरोन्नति भने अहिलेसम्म हुन नसक्दा स्थानीहरू बर्सेनि सास्ती खेप्दै आएका छन्, अब तपाईको कार्यकालमा नगरभित्र सडकको क्षेत्रमा के काम गर्ने सोच बनाउनु भएको छ ? नगर भित्र २/३ वटा मुख्य सडक छन् । ती सडकले प्राय प्रत्येक वडालाई समेट्छ । नगरबाट भोजपुरको सदरमुकाम जाने सडक पनि निकै अस्तस्त छ । त्यसमा वडा नं. ९ र १० पनि जोडिन्छ । दिङ्लाबाट भोजपुर सदरमुकामसम्म जाने सडक पिच गर्नको लागि प्रदेश सरकारले चासो देखाएको छ । उक्त सडकको लागि बजेट पनि विनियोजन भएको छ । दिङ्ला बजारबाट नेपालडाँडा-कुदाकाउले र खार्ताम्छा जानेबाटो पनि स्तारोन्ती गर्ने छौं । बाह्रै महिना सडक सेवा सञ्चालनमा आउने बनाउनको लागि सालमा-कात्तिके बालुबेसि-नेपालेडाडाँ, कुदाकाउलेलाई फोकस गरेका छौं । उदयपुरबाट ल्याङ हुँदै नेपालेडाडाँ जोडने सडकको बिचमा चिर्खुवा खोला छ । सो खोलामा पुल बनेको छैन । अहिले हामीले त्यहाँ पुल निर्माण गर्नको लागि टेन्डरको आव्हान गरेका छौं । मलाई लाग्छ, यो दुई वर्षभित्र उक्त पुलको पनि निर्माण सम्पन्न हुने छ । पुल निर्माण नभई बाह्रै महिना सञ्चालन गर्न सक्ने भन्ने चाहिँ गफ मात्र हुन्छ । दिङ्ला बजार हुँदै वाछा भइ कुदाकाउले जोड्ने ठाउँमा पनि हामीले एउटा पुलको प्रस्ताव गरेका छौं । वडा नं. ११, १२, १३ र १४ को सडकको रुटलाई व्यवस्थापन गर्ने योजना पनि छ । त्यसको पनि टेन्डर आव्हान गर्दै छौं । एक मात्र नभई हरेक वडाको विकास गरी समग्र पालिकाको विकासमा जुटको छौं । ५ वर्ष भित्र बाह्रै महिना सडकमा यातायात सहज रूपमा सञ्चालन गर्न सक्ने वातावरण मिलाउने छु । त्यसैले एक वर्षमा नै यो काम सकिन्छ भनेर आस मात्रै गरौं । काम गर्न निकै गाह्रो छ, बजेट थोरै छ अधिकतम कोसिस गरी रहेका छौं । पालिकामा अघिल्ला निर्वाचित जनप्रतिनिधिले कस्ता काम गरेको पाउनु भयो ? पालिकाको पहिलो प्राथमिकता के हो भनेर निर्धारण नगरिकन तोकिएर योजना बनाएको देखिएन । त्यो नै एउटा समस्या देखियो । सो काम गरेको भए अहिले मलाइ लाग्छ मेन-मेन सडकहरू बाह्रै महिना सञ्चालनमा आउन सक्थे होला । उहाँलाई मैले दोष लगाउन खाेजेकाे हैन । जसले जति सक्छ उति काम गर्ने हो । पहिलो प्राथमिकता के हो, त्यो प्राथमिकतामा बजेट निर्धारण कसरी गर्ने भन्ने समस्या विगतको ५ वर्षमा देख्यौं । योजनाहरूमा परेको बजेट पनि प्राविधिक साथीहरूसँग बसेर कसरी काम छिटो गर्ने सकिन्छ, छिटो जनताले सहज तरिकाले कसरी सेवा दिन सकिन्छ भन्ने विषयको समन्वय भएको पाइएन । खानेपानीको विषयमा पनि कोडिनेसन पुगेको देखिएन । नवा खोला खानेपानी योजना उहाँहरूले पहिलादेखि नै सुचारु गर्नु भएको थियो । विभिन्न विवादको कारण त्याे काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । नीतिगत रूपमा काम नभएको देखिए । यो वर्ष हामी त्यो काम पनि अगाडि बढाउन छौं । आवश्यकतालाई हेरेर काम गरेको भए राम्रो हुन्थ्यो । दिङ्ला भन्दा मुनि खानेपानीको आवश्यकता धेरै छ । केउरेनीपानी, तुङ्गेछा, दिङ्ला बजार त्यो एरियालाई फोकस गरेर पहिला खानेपानीको काम गरिरहेका छौं । त्यसपश्चात् क्रमिक रूपमा आवश्यकता भएको ठाउँलाई मध्यनजर गर्दै सम्बोधन गर्ने हिसाबले खानेपानीको काम अगाडि बढेको छ । नेपाले डाँडामा पनि खानेपानीको योजना सञ्चालन हुँदैछ । स–साना खानेपानीको योजना धेरै ठाउँमा सञ्चालन गर्ने प्रदेश सरकारको खानेपानीको सब डिभिजन, डिभिजन कार्यालयसँग समन्वय गरेको छु । अब खानेपानीको पनि धेरै वटा योजनाहरू सञ्चालन हुँदै छ । यस्तै, शिक्षा क्षेत्र नगरको विकराल नै छ । स-साना कुराहरू सम्बोधन भएका छैन । हिजो एउटा शिक्षक नियुक्ति गर्न एक वर्ष लाग्थ्यो । जसले गर्दा विद्यालयमा शिक्षकको अभाव भइ राख्थ्यो । विद्यार्थीले पढ्न पाउँदैन थिए । अहिले यस्तो छैन । विद्यालयमा शिक्षकको आवश्यकतालाई मध्यनजर गर्दै पदपूर्तिको काम गरिहरेका छौं । नगरपालिकामा अब लगभग बिजुली पुग्यो होला, कुनै ठाउँमा बाँकी पनि छन्, तपाईंले भन्नु भएको थियो, घरमा मात्र नभई बेसिका गोठमा पनि बिजुली पुर्याउँछु भनेर, यसका लागि नगरको तर्फबाट कुनै कसरत हुँदैछ ? नगरको अझै पनि केही ठाउँमा बिजुली पुग्न बाँकी छ । नपुगेका ठाउँमा पनि सम्बन्धित निकायहरूसँग समन्वय गरेर पुर्याउने पहल गरिरहेका छौं । मैले यो कुरा समय तोकेरै भनेको छु । यो काम पहिलो वर्ष नै गर्न सकिन्छ भनेर भनेको छैन । यो ५ वर्षको अवधिमा गोठ गोठमा पनि पुर्याउन सकिन्छ भनेर भनेको हुँ । त्यो अनुसार काम पनि भइ रहेको छ । पहिलो काम नेपाले डाँडा र कुदाकाउलेबाट याे कामकाे सुरूवात गर्ने सोच बनाइ रहेकाे छु । व्यवसायिक क्षेत्रको विकास र विस्तारको लागि नगरपालिकाले के काम गरिरहेको छ ? यसको लागि पनि नगर सचेत छ । नगरमा कृषिमा अलैँची र सुन्तलाको जोन रूपमा छुट्याएर काम गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट सञ्चालित योजना सञ्चालन भइरहेका छन् । पाखरीबास अनुसन्धान केन्द्र विज्ञहरूलाई पनि बेलाएर नगरकामा देखिएका कृषि खेतीका समस्या तथा समाधान गर्नको विषयमा छलफल गर्यौं । नगरमा कृषिका पनि थप जनशक्तिको व्यवस्था मिलाउँदै छु । कृषि र पशुको क्षेत्रका ४ वटा उपसेवा केन्द्र बनाउने भनेर निर्णय गरेका छौं । षडानन्द नगरपालिका रुद्राक्षको एउटा मुख्य केन्द्र पनि हो, पछिल्लो समय रुद्राक्षको व्यपार घटेको र बिक्री नै नभएको जस्ता गुनासोहरू आइ रहेको छ, आर्थिक हिसाबले हेर्ने हो भने निकै सम्भावना बोके यस क्षेत्रको दिगो बजार व्यवस्थापन गर्नेको लागि पालिकाले के पहल गरिरहेको छ ? रुद्राक्षको सम्भावनाको विषयलाई पहिला अध्यन गर्नुपर्ने हुन्छ । अहिले रुद्राक्ष विशेष गरी भारत र चीन निर्यात हुँदै आएको छ । रुद्राक्षको अहिले पहिलाको जस्तो मूल्य तथा बजार पनि पाएको छैन । मूल्य कम छ तर बिक्री भइ रहेको छ । अब रुद्राक्षको उद्योगहरू खोल्नु पर्छ । किसानको खेतबारीमा रुद्राक्ष खेर गइरहेको छ । तर, यसको उचित सदुपयोग भएको देखिँदैन । यस क्षेत्रसँग सम्बन्धित रुद्राक्ष व्यवसायी संघ पनि छ । उक्त संघले पनि आफ्नो तरीकाले काम गरिरहेको होला । संघ र नगरले समन्वय ह्यान्डीक्राफ्टका सामान बनाउने तालिमको सञ्चालन गर्ने योजना बनाएका छौं । रुद्राक्षको घरेलु तथा ठूला उद्योगको स्थापना गरी यसलाई अब ब्राण्ड बनाउँनु पर्छ । यसको प्रचार प्रसार गर्न नगर तत्पर छ । कसरी यसको बजार देश तथा विदेशमा बनाउने यसको आइडिया संघले पनि दिनु पर्याे । रुद्राक्षको व्यपार व्यवसाय विस्तारको लागि नगरले सक्ने सहयोग गर्छ । विदेशबाट करोडौं रुपैयाँको स्वागत गर्ने सामाग्री भित्रिन्छ । त्यसको ठाउँमा रुद्राक्षको मालालाई स्थापित गरौं । धेरै साथीहरूले रुद्राक्षको घरेलु उद्योग पनि खोलेका छन् । अन्त्यमा तपाईंको ५ वर्षको कार्यकालपछि षडानन्द नगरपालिका कस्तो बन्छ ? प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक बाह्रै महिना सञ्चालन हुन सक्ने अवस्था हुनेछ । अरुण नदिमा २ वटा पुल निर्माण सम्पन्न हुनेछ । एउटा सतिघाट र अर्को कात्तिके घाटमा । हामी गुणस्तरीय शिक्षाको विकासमा लाग्ने छौं । सरकारी विद्यालय पनि विद्यार्थीको रोजाइको केन्द्र बनाउने हो । मेरो कार्यकाल भित्र प्रत्येक नगर बासिकको घरमा स्वास्थ्य खानेपानी पुर्याउने छु । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरी प्रत्येक नागरिकको घरमा खाने पानी पुर्याउने हो । एम्बुलेन्स सेवाको व्यवस्थापन गरी अझै एउटा एम्बुलेन्स थप गर्ने सोचमा छौं । अस्पतालमा औषधीको व्यवस्थापन गरेका छौं । औषधीको कमी हुन अस्पतालमा दिएका छैनौं । हाम्रा व्यवसायिक कृषिमो जोड हुने छ । हरेक क्षेत्रमा परिवर्तन ५ वर्षमा देख्न पाउनु हुनेछ ।
रामचन्द्र पौडेलले भने : गठबन्धन टुट्यो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटको बताएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको उनले बताएका हुन । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेका थिए । गठबन्धनको बैठक छोडेर उनी बालबोट पुगेका छन् ।
घरेलु उपकरणबाट कपडा बुनी मनग्य आम्दानी लिँदै जगतबहादुर सिंह
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाएका छन् । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उनले पनि निरन्तरता दिँदै आएका हुन् । अल्लो, ढाँका, बेम्बो र सुतीको धागोबाट कपडा बुनेर पोशाक तयार गरी बिक्री गर्ने कार्यमा सिंह लागेका छन् । ‘बाबुबाजेले दार्चुला छँदा तान हाते लुममा कपडा बुनाई गरी बेच्ने कार्य गर्दै आएका थिए’, उनी भन्छन्, ‘तराई झरेपछि केही वर्ष यस कार्यले निरन्तरता पाउन सकेन, कृषि प्राविधिकको पढाइ सकी विभिन्न सङ्घसंस्थामा कार्य गरेँ तर त्यसबाट खासै सन्तुष्टि मिलेन, अहिले कृषिसँगै परम्परागत पेसालाई निरन्तरता दिने कार्यमा जुटेको छु ।’ आफैँले तयार गरेको हाते लुमबाट कपडा बुनाइको काम हुने गरेको छ । परिवारका छ जनाले कपडा बुनाइको काम गर्दै आएका छन् । दुई वर्षदेखि सञ्चालन हुँदै आएको जय लटिनाथ घरेलु कपडा उद्योगमा हाल उनले चार लाख लगानी गरी विस्तार गरेका छन् । ‘घरेलु उद्योगबाट उत्पादन गरिएका कपडा बजारमा सहजै बिक्री हुन थालेका छन्’, उनी भन्छन्, ‘उद्योगलाई आवश्यकपर्ने धागोलगायत कच्चापदार्थको अभाव छ, धनगढी, बुटवललगायत क्षेत्रबाट धागो ल्याउनुपर्ने बाध्यता छ ।’ बाह्य क्षेत्रबाट धागो र कच्चापदार्थ ल्याएर कपडा तयार गर्दा मूल्य उच्च हुने गरेको छ । यसैकारण पहाडी क्षेत्रबाट अल्लो ल्याएर घरमै प्रशोधन गर्ने उपकरण राखी धागो उत्पादन गर्ने सोच बनाएका सिंहको उद्योगबाट पुरुषका लागि कोट, पाइन्ट, सर्ट, महिलाका लागि दोपट्टा, कुर्ता, सुरुवाल, फ्रकलगायत कपडा उत्पादन हुने गरेको छ । व्यापारीले अर्डर गरेअनुसार तयारी पोशाकका लागि सिलाइ मेसिन राखेर एक जनालाई रोजगारी दिइएको छ । घरका छसहित सात जनाले उद्योगमा प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । उद्योगबाट हाल दुई लाख रुपैयाँ भन्दाबढीको कपडा उत्पादन भइसकेको छ । ‘ग्राहकले उत्पादित कपडा निकै रुचाउन थालेका छन्’, सिंह भन्छन्, ‘ग्राहकको मागअनुसार सस्तो कपडा उत्पादन गर्न कच्चापदार्थ पाउन सकेका छैनौँ ।’ घरेलु उद्योगमा उत्पादन भएको कपडाबाट तयार गरिएको कोट पाँच हजार रुपैयाँ, पाइन्ट दुई हजार पाँच सय रुपैयाँ, सर्ट एक हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । बिक्री मूल्यमा ३० प्रतिशत जति नाफा हुने गरेको छ । ‘स्वदेशी कच्चापदार्थ र सीप प्रयोग गरी परम्परागत तरिकाले तयार गरिने कपडाको माग धेरै छ’, सिंहका बुवा विष्णुबहादुर भन्छन्, ‘घरमै तयार गरिएका पुरानै उपकरणको सहायताले कपडा बुन्दा ढिलो हुनाका साथै उत्पादन पनि थोरै हुनेगरेको छ ।’ आधुनिक तरिकाले कपडा बुन्ने उपकरणको व्यवस्था गर्न सकिए उत्पादन बढाउन सकिने उनको भनाइ छ । ‘स्थानीयस्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ, त्यसका लागि मेसिन चाहियो’, उनी भन्छन्, ‘तत्काल आधुनिक मेसिन खरिद गर्न लगानी छैन, पुरानै पद्धतीमा काम गर्दै आएका छौँ ।’ विभिन्न सरकारी निकायमा अनुदान र आधुनिक तरिकाले कार्य गर्न तालिमको व्यवस्था मिलाइदिन आग्रह गरिए पनि कुनै पनि निकायले चासो नदिएको उद्योग सञ्चालक सिंहको गुनासो छ । सिंह परिवारले परम्परागत रुपमा घरमै निर्माण गरिएको उपकरण प्रयोग गरी कपडा बुन्ने गरेको नगरपालिका क्षेत्रमै पहिलो भएको नगरपालिकाको उद्योग शाखा प्रमुख डिबी कुश्मी बताउँछन् । यस कार्यलाई प्रोत्साहित गर्नका लागि प्रस्तावसहित आए शाखाका तर्फबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको उनी बताउँछन् । ‘घरेलु उद्योगलाई आधुनिक बनाउन नयाँ प्रविधि हस्तान्तरणमा घरेलु तथा साना उद्योग कार्यालयबाट पनि कार्यक्रम सञ्चालन भइरहेका छन्’, उनी भन्छन्, ‘नगरपालिकाले पनि घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।’ घरेलु उद्योगबाट उत्पादित कपडाका तयारी पोशाक स्थानीय बजार झलारीसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।