विकासन्युज

नेफाको २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न

काठमाडाैं ।  नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्रडस् एशोसिएसन (नेफा) को २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न भएकाे छ । पुस ८ गते शुक्रबार सम्पन्न सभाबाट मनोज अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदसीय कार्यकारिणी समिति निर्विरोध निर्वािचत भएका हुन् । संघको नवनिर्वाचित कार्यकारिणी समितिमा अध्यक्ष मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेश कूमार अग्रवाल, महासचिव अशोक मान कपाली, कोषाध्यक्ष हरि प्रसाद काल, सचिव ईश्वर बहादूर गूरूङ, सहकोषाध्यक्ष सूजन कूमार न्यौपाने तथा कार्यकारिणी समिति सदस्यमा प्रनिल मान सिंह प्रधान, संजिव अयार्ल ,  सीता अधिकारी, सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ,  गंगा राम पूडासैनी र  गंगा बहादूर राया निर्विरोध निर्वाचित भएका हुन् । कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले उपस्थित महानूभावहरुलाई स्वागत गर्दै नेपाली लोजिस्टिकको प्रवर्धन, काेभिडकाे आक्रान्त समयमा पनि नेपाली आयात निर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डरसहरुको भूमिका तथा यस व्यवसायमा टिडियसबाट परेको समस्या बारे जानकारी दिए । नेपालको निकासी पैठारी व्यापारमा सहजीकरण तथा नेपाली व्यवसाय विकासका लागि संघ तथा संघका सदस्यहरुबाट निर्वाह गरेको भुमिकालाई कदर गर्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स , नेपाल हस्तकला महासंघ, नेपाल निर्यात परिषद द्वारा बस्तुगत तर्फ उत्कृष्ट संघको अवार्डबाट बिभुषित गरेकाे उनले बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधान, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला ले मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव अशोक मान कपाली तथा कोषाध्यक्ष हरि प्रसाद (काल) ले क्रमश वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभामा प्रस्तूत गरेका थिए ।

विद्युत आपूर्तिमा समस्या भएपछि मनकामना केबलकार बन्द

काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए । ‘आइतबार साँझ ५ बजे विद्युत लोडसेडिङ हुँदा केबलकारको प्यानलमा फ्युजहरु जलेका छन्, प्यानलबाट नै समस्या आएको हो, कति क्षति भएको भन्ने अहिले नै आँकलन भएको छैन, प्राविधिक आएपछि मात्रै कति क्षति भएको भनेर एकिन क्षति निकाल्न सकिन्छ,’ उनले भने । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन गरिएको भएपनि अझै ५ दिन जति समय लाग्ने शेरचनले बताए । केबलकार मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । ‘निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहनेछ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

कास्कीमा होमस्टेले तान्यो पर्यटक

पोखरा । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट। रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने। कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा एक वर्षयता होमस्टे र रमणीयस्थल अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। याङजाकोट संस्कृतिविद् डा जगमान गुरुङको जन्मस्थान पनि हो। पछिल्ला वर्षमा कास्कीका गाउँमा सडक र यातायातको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटक ती ठाउँमा सहजै पुग्न सक्छन्। पर्यटक लक्षित खुलेका होमस्टेमा बास बस्नका लागि यतिबेला दैनिक तीन–चार ग्रुप त्यहाँ पुग्ने गरेको जानकारी विनम होमस्टे सञ्चालन गर्दै आएकी खिमकुमारी गुरुङ बताउँछिन्। शुक्रबार र शनिबार भने पाँच–छ ग्रुप नै आइपुग्छन्। दिनहुँको कामले हुने तनावबाट मुक्त हुन शान्त वातावरण खोज्दै पोखरा तथा आसपासका स्वदेशी पर्यटक त्यहाँ पुग्ने गरेको जानकारी होमस्टे सञ्चालक बताउँछन्। पोखराको काँहुखोलाबाट १८ किलोमिटर सडक पार गरेपछि याङ्जाकोट पुग्न सकिन्छ। काँहुखोलादेखि कसेरी, सुनपँधेली, चितेपानी, मादबेँसी, तारकाङको माझाडिही हुँदै याङ्जाकोट पुग्न सकिन्छ। याङ्जाकोट पुग्नका लागि काँहुखोलादेखि माझाडिहीसम्म १२ किलोमिटर पक्की सडक छ भने छ किलोमिटर कच्ची सडक छ। याङ्जाकोटमा यतिबेला नौवटा होमस्टे सञ्चालित छन्। त्यहाँ एक सय ३० जना पाहुना राख्न सकिन्छ। मादी गाउँपालिकाको कार्यालय पनि त्यही स्थानमा भएकाले मानिसको आउजाउ झनै बढ्दै गएको छ। मादी गाउँपालिका–३ का वडाध्यक्ष विकास गुरुङले पछिल्लो समय गाउँमा पर्यटकको सङ्ख्या बढ्नुको साथै यहाँका एतिहासिक तथा पर्यटकीयस्थलको विकासमा वडाले जोड दिएको बताए। याङजाकोटसम्म पुग्ने छ किलोमिटर सडक पनि पिच गर्न सके गाउँमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष गुरुङको भनाइ छ। गाउँमाथिको क्रपु डाँडा पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण मानिएकै कारण विदेशी पर्यटकलाई त्यहाँ पुर्‍याउन कच्ची सडक विस्तार गर्ने योजना गाउँपालिकाले राखेको जानकारी वडाध्यक्ष गुरुङले दिए। क्रपु डाँडामा हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लाग्ने गर्छ। गुरुङ र मगरले सञ्चालन गर्दै आएको होमस्टेमा पर्यटकको आकर्षण बढी हुने गरेको छ। उनीहरुले दिने संस्कार र सेवाबाट नै पर्यटक आकर्षित हुने गर्छन्। याङ्जाकोट पूर्वपट्टि फर्किएको गुजुमुच्च बस्ती छ। सूर्य झुल्कनासाथ सबैको घरआँगनमा घाम लाग्ने, दुई सय ५० घर कुरिया याङ्जाकोमा पोखराबाट वनभोज खान जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्न थालेको छ। आँखै अगाडि लमतन्न परेको अन्नपूर्ण हिमशृङ्खलाबाट पनि पर्यटक आकर्षित हुने गरेको स्थानीय सुकवीर गुरुङले बताए। तीन वर्षअघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको जानकारी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले दिए। हिउँदमा हिउँ पर्ने, लालीगुराँस फुल्ने र बर्खामा भुइँभरि रङ्गीविरङ्गी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ। यहाँबाट सूर्योदयको दृष्य देखिनुका साथै अन्नपूर्ण र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँ हेर्न सकिन्छ। सांस्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण याङ्जाकोट कास्की जिल्लाकै पर्यटकीय महत्वपूर्ण आकर्षणको केन्द्र बन्न पुगेको उनको भनाइ  छ। याङजाकोटबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पोखरा उपत्यकाको केही भाग, पुम्दीको शान्ति स्तूप, शिव मन्दिर, सराङकोट, काँहुकोट तथा धरहरा, मादी नदी, पर्यटकीयस्थल थाक, मौजा, तप्राङ, खिलाङ, तारकाङ, मादबेँसी सैमराङका विभिन्न गाउँ अवलोकन गर्न सकिने जानकारी गाउँपालिकाका अध्यक्ष गुरुङले दिए।

सानिमा बैंकका २१ वटा सवारी फिर्ता गर्न सूर्य कन्स्ट्रक्सनलाई निर्देशन

काठमाडौं । सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बिभिन्न शिर्षकमा कर्जा लिएको र बैकसँग गरेको सम्झौता बमोजिम साँवा ब्याज, किस्ता, हर्जाना ब्याज लगायत अन्य बुझाउनु पर्ने सम्पूर्ण दस्तुर नतिरेको हुनाले धितोमा राखिएको सवारीहरु फिर्ता गर्न बैंकले आग्रह गरेको छ । साथै, बैंकको नाममा सुरक्षण स्वरूप रहेका सवारी साधनहरू बैंकमा नबुझाएको हुँदा ७ दिनभित्र पायक पर्ने शाखा वा बैंकको केन्द्रिय कार्यालयमा बुझाउन ऋणी र जमानतकर्ताहरूलाई आग्रह गरेको हो । हाल उक्त सवारी साधन ऋणी बाहेक अन्य कसैद्वारा प्रयोग गरिएको भएमा गैर कानुनी हुने बैंकको ठहर छ । सवारी साधन नबुझाइएमा प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । सवारी साधन गैर कानुनी कार्यमा प्रयोग भएमा वा कुनै घटना घटेमा सम्पूर्ण जिम्मेवारी ऋणी तथा सवारी साधन प्रयोगकर्ताले नै लिनु पर्ने बैंकले जनाएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ स्थित रहेको सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बैंकलाई विभिन्न २१ वटा सवारी साधन बुझाउनु पर्ने छ । जसमा बा ३ क १५११, १५१०, १५०९, १५१४ नम्बरको एमसीभि टिप्पर र ट्रक रहेका छन् । यस्तै, ना १ क ५००७ र ५०१० नम्बरका टाटा टिप्पर रहेका छन् । यस्तै, ना १ क ८०१२, ८०१३, ८०१४, ८०१५ नम्बरको अशोक लेल्याण्डका सवारी साधन, बा २ क ७४३० र बा २ क २५४६ नम्बरको भाइब्रेटर स्वाइल कम्प्याक्टर, बा २ क ८५६६ र ८५६५ नम्बरका सेल्फ लोडिङ मोबाइल कंक्रिट मिक्सर, ना १ क ५०११ नम्बरको टाटा ट्रक, बा २ क ३२१३ नम्बरको मोटर ग्रेडर, बा २ क ७८० नम्बरको जेसीबी, बा २ क ६७६ नम्बरको एक्जाभेटर, बा १ क ९१२४ नम्बरको टाटा टिप्पर, बा १ क ६८९७ नम्बरको कोमात्सु एक्जाभेक्टर र बा ७ च ९३५४ नम्बरको टोयोटा पिकअप सवारी फिर्ता गर्नुपर्ने भएको हो ।

देउवाको विरोध : ‘पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ’

। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । देउवाले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरे । गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’

आधा घट्यो इन्धन आयात, भारतभन्दा नेपालमा महँगो

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उहाँले बताउनुभयो । भारतमा भन्दा नेपालमा इन्धनको मूूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उहाँको भनाइ छ । तरलता अभाव, बैङ्कको चर्को ब्याजदरले औद्योगिक उत्पादनमा कमी आउनु र विकास निर्माणको काम नहुँदा इन्धनको खपतमा कमी आएको निगमले जनाएको छ । निगमका अनुसार कुल खपतको २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनमा खपत हुने गर्छ । जलविद्युत् निर्माणमा बढी डिजेलको खपत हुने गरेकामा पछिल्लो समय निर्माण कार्य ठप्प अवस्थामा छ । विभागका अनुसार पाँच महिनाको अवधिमा २८ अर्ब ५९ करोड ६१ लाख रुपियाँ बराबरको दुई लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको छ । त्यस्तै ५५ अर्ब ४८ करोड ५९ लाख ७० हजार रुपियाँ बराबरको चार लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएको छ । यसबाहेक नौ अर्ब २० करोड ३४ लाख ३३ हजार रुपियाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन र ५८ करोड २९ लाख २५ हजार रुपियाँ बराबरको चार हजार ३४४ किलोलिटर मट्टीतेल आयात भएको विभागको तथ्याङ्क छ । पाँच महिनामा २३ अर्ब ७५ करोड आठ हजार ६३८ रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । भारतको तुलनामा नेपालमा इन्धनको मूल्य महँगो भएकाले खपतमा उल्लेख्य कमी आएको निगमले जनाएको छ । भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १५ रुपियाँ र डिजेल २५ रुपियाँ महँगो छ । यसअघि भारतमा भन्दा नेपालमा मूल्य सस्तो हुँदा तस्करी भएर भारतमा जाने गरेको थियो । ३९ अर्ब राजस्व सङ्कलन चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात गरेर ३९ अर्ब १७ करोड ४८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । इन्धनमा विभिन्न शीर्षकमा राजस्व सङ्कलन हुने गर्छ । प्रतिलिटर पेट्रोलमा कुुल राजस्व ६३ रुपियाँ ३६ पैसा, डिजेलमा ४७ रुपियाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपियाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपियाँ सङ्कलन हुने गर्छ । भन्सार बिन्दुुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुने गर्छ । भन्सार शुुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २० पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ । मूल्य अभिवृद्धि कर (भ्याट) बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुने गर्छ । यस्तै पूर्वाधार करबापत प्रतिलिटर डिजेल र पेट्रोलमा १० रुपियाँ सङ्कलन हुने गर्छ । सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजल प्रतिलिटरमा दुुई रुपियाँ सङ्कलन हुने गर्छ । वातावरण शुुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ ।आजको गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले समाचार लेखेकी छिन् ।

शाईन रेसुङ्गाको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको १४ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा शुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

सिटिजन लाइफका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट, कति वर्षसम्मको पाइन्छ ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख २ वर्षदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । ‘नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नु पर्नेमा सो भुक्तानी नभई २ वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरु पुस ११ गतेदेखी पुस २५ गतेसम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भक्तानी गरेमा सो मा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रूपमा छुट प्रदान गरिएको छ,’ कम्पनीको सूचनामा भनिएको छ । विलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाईने भएकाले यहि मौकामा नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ । थप जानकारी आवश्यक परेमा नजिकको शाखा र उपशाखा कार्यालयमा तथा अभिकर्ताहरुसँग सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।