जीवन बीमामा ‘ट्रेण्ड सेटर’ बन्न सूर्यज्योतिलाई सुझाव, ७ अठोटका साथ अघि बढ्ने कम्पनीको प्रण
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमै नयाँ इतिहास रचेको छ । जीवन बीमा क्षेत्रमै पहिलो मर्जर सफल गरी कम्पनीले एक उज्जवल शुरुवात गरेको हो । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । गत असारमा प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले बताए । सूर्यको ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको सीईओ खत्रीले बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको समेत बताए । मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात् सूर्यज्योतिको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको स्मरण गर्दै सीईओ खत्रीले भने- ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो ।’ साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं, त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आफ्नो जिम्मेवारी पुरा गरी सूर्य र ज्योति जस्तै छाउँदै जान शुभकामना दिएका छन् । ‘१५ वर्षको सूर्य लाइफ र ५ वर्षको ज्योति लाइफ जोड्दा २० वर्षको अनुभव नभई ७५ वर्षको होस्,’ शुभकामना दिँदै उनले भने । साथै, अध्यक्ष पौडेलले सूर्य लाइफ र ज्योति लाइफबीचको मर्ज अन्य मर्जरमा जाँदै गरेको कम्पनीलाई उदाहारण बन्ने समेत बताए । सूर्यज्योतिले आगामी दिनमा ट्रेण्ड सेटरको रुपमा काम गर्ने र यसले जीवन बीमा क्षेत्रको पहुँचलाई बढाउनमा जीवन बीमक संघ विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाई छ । यता सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सूर्यज्योतीलाई नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा कम्पनीहरु अघि बढेको बताउँदै उनले मर्जरमा कर्मचारी व्यवस्थापनको पाटो निकै चुनौतिपूर्ण रहेको बताए । त्यसैगरी, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले सूर्यले ज्योति र ज्योतिले आफ्नो श्रोत सूर्य पाएको बताएका छन् । यसले नयाँ बनेको कम्पनी सूर्यज्योतिको भविष्य थप बृहत, सबल र विशाल हुने शुभेच्छा दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र नयाँ इतिहास राखेको बताएका छन् । कम्पनीले ६ महिनाको अवधिमै मर्जर सफल पारेको बताउँदै बीमा प्राधिकरण लगायत कम्पनीको सम्पूर्ण टीम धन्यवादको पात्र रहेको समेत बताएका छन् । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
अब भ्रष्टाचार गर्ने दिन गए : यातायातमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । ‘भ्रष्टाचार गर्नेहरुले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु, ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस्,’ उनले भने । मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको बताए ।
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विज्ञसँग सुझाव लिन्छु : अर्थमन्त्री पौडेल
काठमाडौं । नवनियुक्त अर्थमन्त्री पौडेलले विज्ञसँग सुझाव लिएर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’ मन्त्री पौडेलले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने पनि बताएका छन् । ‘सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचान गर्ने मेरो प्राथमिकता हुनेछ, त्यसपछि अर्थतन्त्रका चुनौतीहरू विज्ञका सुझावका आधारमा समाधान गरिनेछ,’ उनले भने । अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गरेका छन् । उनले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
‘यस वर्ष आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहन्छ’
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष अर्थतन्त्र गम्भीर मोडबाट गुज्रिए पनि अहिले बिस्तारै सम्हालिँदै गएको बताए । भूकम्पपछिको प्रतिकूल अवस्था, कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धले बाह्य क्षेत्रबाट देखिएको दबाब सम्हाल्ने विषयलाई अघिल्लो सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । आर्थिक वृद्धिदर लक्षित विन्दुमा पुग्न नसके पनि छ प्रतिशतभन्दा माथि नै रहने दाबी पनि उहाँले गरे । ‘हामीले चालु आर्थिक वर्षमा आठ प्रतिशत बराबर आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थियौँ, तर विभिन्न प्रतिकूलताका बाबजुद अहिलेको परिस्थितिसम्म पुग्दा कम्तीमा छ प्रतिशतभन्दा माथि नै रहने देखिएको छ’, शर्माले भने । नेपालको अर्थतन्त्र सङ्कटमा जान्छ भन्ने ठूलो त्रास र आतङ्क रहेकामा त्यसलाई वित्तीय तथा मौद्रिक उपकरणहरूको प्रयोगबाट लयमा ल्याइएको पनि उनको भनाइ छ, ‘वित्त र मौद्रिक नीति सन्तुलनको ठूलो महत्व हुँदो रहेछ, अहिले मुद्रास्फीति घट्दो क्रममा छ, आयात प्रतिबन्धको निर्णयले पनि सकारात्मक नतिजा देखाएको छ’, निवर्तमान अर्थमन्त्री शर्माले भने । मुद्रास्फीति गत साउनमा १० प्रतिशतसम्म पुगेकामा अहिले घट्दै गएको उनको भनाइ छ । त्यस्तै, सरकारले केही वस्तुको आयातमा लगाएको बन्देजका कारण भन्सार राजस्व घटे पनि त्यसले आयात र व्यापार घाटा भने कम गरेको शर्माले बताए । अहिले पर्यटन क्षेत्र र विप्रेषणमा सुधार हुँदै गएको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी मुद्रा सञ्चयमा देखिएको चाप पनि बिस्तारै कम हुँदै गएको उनको भनाइ छ । आफ्नो १७ महिने कार्यकालमा अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन पहल विभिन्न योजना कार्यक्रम लागू गरेको, वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य प्रगति भएको, कर प्रणालीलाई डिजिटल बनाइएको र भन्सार जाँचपास प्रणालीलाई सुधार गरी व्यवस्थित गरिएको शर्माको दाबी छ । अहिले पूँजीगत खर्च न्यून देखिए पनि त्यसले बिस्तारै गति लिने पनि उनले बताए । ‘चुनावलगायत कारणले बजेट खर्च उल्लेख्य हुन सकेन, अहिले एक खर्बभन्दा बढीका ठेक्का लागिसकेकाले पूँजीगत खर्चले अब बिस्तारै गति लिन्छ’, उनले भने । अब बन्ने सरकारले अर्थतन्त्रलाई थप गति दिन नयाँ नीति लिएर अघि बढ्नुपर्ने पनि उनको भनाइ छ ।
सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्नेछ : सीईओ खत्री
काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सीईओ खत्रीले सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको बताए । ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो,’ उनले भने । साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं । त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए । यस्तै, उनले दुबै कम्पनीमा आवद्ध भएका कर्मचारीहरुलाई एकीकृत कारोबार सुरु गर्नुअघि नै भोलीको दिनमा कसको भूमिका के हुन्छ भनेर स्वेच्छिक रुपमा अवकाश गरेको बताए । एकीकृत कारोबार पश्चात् ज्योति लाइफको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ । मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ ।
गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको फाइल बनाउन निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको फाइल बनाउन निर्देशन दिएका छन् । साेमबार पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई यस्ताे निर्देशन दिएका हुन् । उनले पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बारे जानकारी दिन सहायताकक्ष
काठमाडौं । गरिमा क्यपिटलले आइपीओ सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएकाे छ । क्यपिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ सम्बन्धी जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएकाे हाे । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेकाे छ । ‘हरेक नेपाली शेयरधनी’ अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका लागि क्यापिटलले सहायताकक्ष संचालनमा ल्याएकाे जनाएकाे छ । यस्ताे छ आइपीओमा वैदेशिक राेजगारीमा रहेकाले आवेदन दिन पुरा गर्नुपर्ने मापदण्डहरु : १. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ । २. सिडिएस एण्ड क्लियरिङ्गबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ । ३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआश्वा रजिष्ट्रेशन नम्बर लिनु पर्नेछ । ४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।
एनसेल वुमन आइकन आइसिटी अवार्ड : शिला कंसाकार कार्कीले जितिन् ३ लाख
काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको थियो । कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो । एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन् । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन् । सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कार्की आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् । २८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् । सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन् ।