नेपालमै पहिलो अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, विजेताले एक करोड पाउने
काठमाडौं । नेपालमा पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको छ । इन्ट्रा नेशनल एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको हाे । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउनडेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने फाउनडेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मेरो भ्वाईस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परिवार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान, जस्ता वरिष्ठ गायकहरु समावेश छन् । त्यस्तै डान्स यूनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई छन् । यि शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय रियालिटी शोहरु निर्देशन गरिसकेका छन् । जस्तै नेपाल आईडल, बूगी—बुगी नेपाल लोक स्टार, सारेगमपा लिल च्याम्पको निर्देशन गरिसकेका छन् । मेरो भ्वाईस यूनिभर्सका विजेताले एक करोड पाउनेछन् । क्रमश दोस्रो हुनेले ३० लाख तेस्रो हुनेले २० लाख पुरस्कार पाउनेछन् । डान्स तर्फ क्रमश एक करोड, ३० लाख, र २० लाख पाउनेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाईल्याण्ड भुटान, भारत, अष्टेलिया, अमेरिका, क्यानडा, लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।
सगरमाथा इन्स्योरेन्सकी संचालक शोभा श्रेष्ठले दिइन् राजीनामा
काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेकाे छ ।
एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो, ५०% भन्दा बढीको लागि पर्यो आवेदन
काठमाडौं । एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो देखिएको छ । चौथो दिनमा नै कुल निष्कानशको ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन परेको हाे । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पुस ७ गते बाट सार्वजनिक निश्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म रहनेछ । यस अघि निष्काशित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको जनाएको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । ईच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । यस योजनाको समयावधि १० वर्षको रहेको छ । यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
चलचित्र ‘ह्रस्य दीर्घ’बाट पुनरागमन गर्दै नायिका विपना थापा
काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् । चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्’, निर्देशक पन्तले भने । रासस
तोलामा ४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ११ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम रहेकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
पुस १९ गतेसम्म शिवम् सिमेन्टको सेयर किन्नेले १०.५३ लाभांश पाउने
काठमाडौ । शिवम् सिमेन्टले वार्षिक साधारण सभाको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले सातौ वार्षिक साधारण सभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ । यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले आर्थिक वरष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
संसद अधिवेशनका लागि तयार छौँ : संसद सचिवालय
काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन् । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए । सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए । सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गरे । उनले भने, ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’ सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए ।
काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा
काभ्रेपलाञ्चोक । काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो। गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो। केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताए। उनका अनुसार हाल उक्त नगरमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएको छ। मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए। यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए। उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका छन्। यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ। महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए। कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ। डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ। रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताए। ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ’, उनले भने। चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । रासस