शिक्षाविद् भन्छन् : शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशाप्रतिको आकर्षण घट्यो
काठमाडौं । शिक्षाविद्हरुले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयाेजित शिक्षा नीति संवधाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको जानकारी दिए । कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको बताए । उनले खोजेजति योग्य शिक्षकहरु पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए । उनले सामान्य परीक्षाबाट उत्तिर्ण भएका शिक्षकहरु पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको जानकारी दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए । ‘विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा दिन आवश्यक छ । विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुन्छ,’ उनले भने । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरुलाई प्रशिक्षण दिन आवश्यक भएको बताए । उनले विकासिल देशहरुमा शिक्षकहरुलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरु दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरु हुन नसकेको गुनासो गरे । उनले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको बताए । उनले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरुको बारेमा अपडेट गराउन आवश्यक भइसकेकोमा जोड दिए । ‘नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या छ । शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरुमा पनि सुधार गर्न जरुरी छ,’ उनले भने । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरुमा गुणस्तर हुन नसकेको बताए । उनले अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने ? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको पनि जोड दिए । उनले नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताए । कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरुले गर्ने कामहरुमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए । उनले शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षकहरु विषयगत परीक्षामा अनुत्तिर्ण भएका कारण अहिलेको समस्या आइरहेको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गरे । उनले नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गरे । उनले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षकहरु नेपालमा भित्र्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले शिक्षकहरुमा आवश्यक तलवमान नहुनु, शिक्षण पेशालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेशामा आकर्षण घटेको बताए । ‘युवा पुस्तामा शिक्षण पेशामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको छ। संस्कृत गुरुकुलहरुको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरु नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको छ,’ उनले भने । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरुमा गुणस्तर नभएको र गुणस्तर शिक्षकहरुलाई आवश्यक पहिचान र संवद्र्धन हुन नसक्ने समस्या प्रचुर रहेको बताए । उनले शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार रहेको बताए । सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक भएको जानकारी दिए । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौति रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए । उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताए । उनले सम्बन्धित निकायहरु शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुहरुलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने कमजोरी रहेको बताए । उनले नेपालमा शिक्षकहरुले शिक्षण पेशालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएकाले शैक्षिक गुणस्तरमा कमी आएकोमा जोड दिए । उनले शिक्षकहरुले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भुमिका निर्वाह गर्नुपर्छ भन्नेकुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताए । उनले शिक्षकहरुले समाजप्रतिको उत्तरदायित्व वहन नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने बताए । कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरुले शिक्षक बन्नको लागि न्युनतम शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए । उनीहरुले शिक्षकहरु छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे । उनीहरुले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भुमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे ।
हुन्डाइ कन्स्ट्रक्सनका डेढ करोड हेभि एक्जाभेटर ९० लाखसम्म पाइने
काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सक्नेछन् । कम्पनीकाे अनुसार व्यवसायीहरूले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार उक्त सेकेन्ड ह्यान्डका उपकरणहरू ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका छन् । यस्तै, कम्पनीले ‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि दिएकाे छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि: शुल्क मर्मत गर्ने व्यवस्था पनि गरेकाे छ । ग्राहकले यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौँडा र बुटवल सोरुमबाट खरिद गर्न सक्ने कम्पनीले बताएकाे छ । हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो ।
उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । उखु किसानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उखु किसानको समस्यालाई बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिए। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखुलगायतका बालीलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए। उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। त्यसैगरी, राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि यसप्रति सरकार गम्भीर नभएको बताइन्। उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ। राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको औँल्याइन्। सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको उनले बताइन्। समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्नेमा उनको जोड छ। नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानका धेरै समस्या रहेको भन्दै उनले समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए। उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन आग्रह गर्दै उनले सरकारले समयमै मल र उद्योगले भुक्तानी नदिने गरेको बताए।
काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन माग्यो गृहको सहयोग
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले बागमति नदी किनारमा रहेकाे अनाधिकृत संरचना हटाउन गृह मन्त्रालयलाई सहयाेग गर्न आग्रह गरेकाे छ । महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई एक पत्र लेख्दै बागमति नदी किनारमा रहेकाे सुकुम्बासी बस्ती हटाउन सहयाग गर्न आग्रह गरेकाे हाे । महानगरले प्रयास गरे पनि सुकुम्बासी बस्तीहरु हटाउन नसकेकाे भन्दै समन्वय र सहयाेग गर्न आग्रह गरेकाे छ । ‘उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ,’ पत्रमा लेखिएकाे छ ।
कालीकोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषणले जानकारी दिए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको हो ।’ उनले भने, ‘अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ ।’ नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए । ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडि बढाएका छौँ’, उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्यजस्तै भएको छ ।’
सम्पन्न भयो आईएमएस ग्रुपको किड्स एक्स्पो, २५०० भन्दा बढीले अबलोकन गरे
काठमाडौं । शिशु र बालबालिकाहरुको पुस ९ गते लागि किड्स एक्स्पो २०२२ आयोजना भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो भएको हो । एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य एक्स्पो हुन सफल भएको छ । १५०० भन्दा बढी टिकट बिक्रि हुन साथ साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । एक्सपोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो। ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने किड्स पेल्यजोन र फुड जोनले एक्स्पो लाई अझ आकर्षित बनाएको थियो। ‘नेपालको पहिलो ठूलो किड्स एक्स्पोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनालाई हार्दिक धन्यवाद र बधाई सम्पुर्ण आयोजक टीम दिन चाहन्छु । यस स्तर्रको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षा भन्दा धेरै थियो तेसैले आगामी बर्षको किड्स एक्स्पोमा पनि हामी अवस्य सहभागि हुनेछौ’ डिकेश माल्होत्रा, आइएमी गुप्का अध्यक्ष र संचालक भन्छन्। एक्सपो क्रिसमस इभमा आयोजित भएको थियो र एक्सपोको थीम क्रिसमस ब्रान्डिङमा गरिएको थियो। जस कारण बालबालिका अझ रमाएका थिए । ‘हामी किड्स एक्स्पो २०२२ को सफलताबाट एकदमै खुशी छौ र हामी हाम्रो सबै सहभागीहरु, स्पोन्सरहरु र प्रदर्शकहरुलाई धन्यबाद दिन चाहन्छौँ’ किड्स एक्स्पो आयोजकहरु भन्छन्। किड्स एक्स्पो २०२२ को बडो सफलता पछि, आयोजक टीमले आगामी बर्षमा किड्स एक्स्पो २०२३ अझ भव्य रुप मा लिएर आउने दाबी गरेका छन् ।
प्रभु बैंकले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव, चुक्ता पूँजी साढे १३ अर्ब पुग्यो
काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व, ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको छ । यस्तै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।सभाले ६.५० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
पोखरामा एक हजार ६२४ वटा सडक बत्ति जडान हुँदै
काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम सुरु भएकाे हाे । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ति जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट वत्ति जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ति जडान गरिएको छ । सडक बत्ति जडान कार्य आगामी फागुनभित्र सकिने छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक वत्तिको संयुक्त रुपमा उद्घाटन गरे । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँका राखिएका हाइमास्ट र सडक वत्ति बालिएको थियो । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ति जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक वत्तिको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । वत्ति बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।