एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिए । अध्यक्ष नेपालले भने, ‘पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुको बारेमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ ।’ आफूहरु पार्टी निर्माण गर्ने, सुदृढिकरण गर्ने र विस्तार गर्ने राष्ट्रिय अभियानमा जुटेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले जनताका मुद्दा उठान गर्नेमा केन्द्रित हुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिने सम्बन्धमा एकीकृत समाजवादी पार्टीको धारणा के हो भन्ने जिज्ञासामा उनले व्यक्तिगतरुपमा प्रधानमन्त्री ‘प्रचण्ड’प्रति सकारात्मक धारणा रहेको उल्लेख गर्दै विश्वासको मत दिने सन्दर्भमा सरकार कुन ढङ्गले अघि बढ्छ त्यो हेरेर टुङ्गो लगाउने बताए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेदेखि प्रारम्भ हुँदैछ । पुस २६ गते बस्ने बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वास मत लिने तय भएको छ ।
उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?
काठमाडौं । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु हुन् । यी वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले बजेटमा राखेको छ । जुत्ताचप्पलको निर्यातमा अनुदान दिने नीति सरकारले लिएको भए पनि त्यसका लागि व्यावसायिक वातावरण भने बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । स्वदेशी उत्पादनको संरक्षण र बजार बिस्तारका लागि सरकारी पहल हुन नसकेको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानिराज घिमिरे बताउँछन् । ‘सरकारले निर्यातमा अनुदान दिने त भन्यो तर त्यसका लागि हामीले कुनै सहयोग पाएनौँ । सरकारको नीति सकारात्मक भए पनि व्यवहारमा हामीले अनुभूत गर्न सकेका छैनौँ’, घिमिरेले भने । नेपाली जुत्ताचप्पलको उत्पादन लागत बढी हुने भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिएको उनको भनाइ छ । बैंकको उच्च ब्याजदर, कच्चा पदार्थमा उच्च भन्सार दर, चोरी पैठारी, न्यून बिजकीकरणलगायतका समस्या रहेको घिमिरेले बताए । सरकारले जुत्ता चप्पलको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भने पनि अधिकांश नेपाली उत्पादकले यस्तो अनुदान लिन नसकेको घिमिरे स्वीकार्छन् । ‘आठ प्रतिशतसम्म नगद अनुदान लिनका लागि धेरै उत्पादकहरूका कारोबार रकम नै पुग्दैन । तर तीनदेखि पाँच प्रतिशतसम्म अनुदान लिइरहेका उत्पादकहरू अहिले पनि छन्’, उनले भने । फुटवेयर उद्योगको उत्पादन बढाउने र निर्यातमार्फत् अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने क्षेत्र रहे पनि अनेकौँ समस्या यो क्षेत्रले खेप्नु परेको उनको भनाइ छ । ‘आन्तरिक बजार समस्यामा पर्नुको मुख्य कारण चोरी पैठारी हो । दक्ष कामदार छैनन् । फुटवेयरसँग सम्बन्धित पाठ्यक्रम छैन । हाम्रो समाजले नै जुत्ताचप्पल व्यवसायलाई सम्मानित पेसाका रूपमा लिएको देखिँदैन । बाहुन क्षेत्रीले जुत्ता बनाएको वा बेचेको भनेर सामाजिक प्रतिष्ठासँग जोडिन्छ’, अध्यक्ष घिमिरेले भने । भन्सार विभाग र आन्तरिक राजस्व विभागले सीमा नाकामा कडाइ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके चोरी पैठारी रोकिने उनको भनाइ छ । अहिले राजधानीको भृकुटीमण्डपमा १६ औं अन्तर्राष्टिय फुटवेयर औद्योगिक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा स्वदेशी जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगी, थोक तथा खुद्रा बिक्रेता सहभागी छन् । शुक्रबार आफ्नो कम्पनी युनाइटेड फुटवेयर इन्ड्रस्टिजको स्टलमा भेटिएका सदाब अख्तर अहिले जुत्ता चप्पलको कच्चा पदार्थ उत्पादनमा पनि नेपाल आत्मनिर्भरको बाटोमा रहेको बताउँछन् । ‘हामीले विगत २५ वर्षदेखि नेपालमा छाला उत्पादन गर्दै आएका थियौँ । छालाका जुत्ता चप्पल बनाउनका लागि नेपालमै गुणस्तरीय र पर्याप्त कच्चा पदार्थ उत्पादन भइरहेको छ’, अख्तरले भने । विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा जुत्ता चप्पल बनाउँदा त्यसमा हुने मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ । ‘अहिले नेपालमा उत्पादन हुने जुत्ताचप्पलको ४० देखि ५० प्रतिशत कच्चापदार्थ नेपालभित्रै उत्पादन हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याउने र त्यसलाई फाइनल प्रोडक्ट बनाउने हो भने ५० देखि ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एड) हुन्छ’, जुत्ता उत्पादक सङ्घका अध्यक्ष घिमिरेले भने । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको तथ्याङ्कअनुसार हाल नेपालमा बिक्री हुने जुत्ताचप्पलजन्य सामानमध्ये करिब ५० प्रतिशत नेपालभित्रकै उत्पादन हो । अर्थात् अहिले नेपालमा बिक्री हुने जुत्ताचप्पलमध्ये स्वदेशमै उत्पादित र आयातितको हिस्सा समान छ । नेपालभरका डिलर, थोक, खुद्रा व्यवसायीमार्फत बिक्रीवितरण बढाएर त्यसलाई ७५ प्रतिशतसम्म पु¥याउने लक्ष्य राखिएको एसोशिएसनको भनाइ छ । रासस
छिमेक लघुवित्तकाे एपबाट क्युआर भुक्तानी गर्न सकिने
काठमाडौं । छिमेक लघुवित्तले मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । यस एप अन्तर्गत कनेक्ट आइपिएस र फोनपेसर्भिस मार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने कम्पनीले व्यवस्था मिलाएको लघुवित्त जानकारी दिएको छ । लघुवित्तका सदस्यहरुले एपबाट आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सक्नेछन् । यस्तै, कारोबार सफल भए पश्चात ग्राहकहरुले कारोबारको जानकारी रकम सहित आवाज सुन्ने लघुवित्तले जनाएकाे छ । लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिएको छ ।
लेखनाथवासीको आशा : विमानस्थल बन्यो अब विकास होला कि ?
पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् । तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् । यद्यपि हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले ध्यान दिएर पर्यटकीय गतिविधि बढाउन सकेमा लेखनाथको समग्र विकासमा भूमिका खेल्ने विश्वास लेखनाथबासीको छ । ‘सात तालको बाटिका शहर’ परिचय बनाएको लेखनाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रको पूर्वाधार विकासको खाँचो रहेको बताउँछन् लेखनाथ होटल एशोसियशनका अध्यक्ष विरभद्र कँडेल । ‘लेखनाथ असाध्यै सुन्दर गन्तव्य हो, प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक हरेक कुराले भरिपूर्ण लेखनाथ सधै ओझेलमा छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि भने यस क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जान्छ कि भन्ने आशा लिएका छौ ।’ उनका अनुसार पहिले सञ्चालित विमानस्थलबाट लेकसाइड नजिक पर्दथ्यो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड र लेखनाथको बेगनास तालसम्मको दूरी उस्तै भएकाले पर्यटक लेखनाथसम्म आउने अपेक्षा गरिएको छ । लेखनाथमा रहेका रुपा, वेगनास, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी जस्ता रमणीय तालका साथै यहाँबाट आठ हजार मिटरभन्दा अग्ला धौलागिरि, अन्नपूर्ण, मनास्लु जस्ता हिमश्रृंखलाहरु देख्न सकिन्छ । त्यति मात्रै होइन, प्रिन्स चार्ल्स ल्र्स रोयल ट्रेक , चरा पर्यटन, लेखनाथको जन्मस्थल अर्घौ अर्चले, पचभैया, देउराली, चिडियाखाना, वराह क्षेत्र जस्ता निकै महत्व बोकेका पर्यटकीय गन्तव्यसँगै सुन्दर दृश्यवलोकन गर्न सकिने यस क्षेत्रको विकासमा तीनै तहको सरकारले जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ । विसं २०३७ मा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि यो बाटो रोयल ट्रेकका रूपमा चर्चित भए पनि यसको प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ । विमानस्थल सञ्चालनसँगै लेखनाथ आसपासको ग्रामीण पर्यटन प्रवद्र्धन पनि गर्न सकिने उनको भनाइ छ । लेखनाथ विकास मञ्चका संयोजक एवम सामाजिक अभियन्ता सन्दीप पौडेल साविक लेखनाथलाई पोखरासँग जोडेर महानगर बनाउँदा विकासका धेरै आश्वासन पाएको तर पछिल्लो समय विजयपुर खोला वारीका समस्यामा नेतृत्वले कहिल्यै ध्यान नदिएको गुनासो गरे । ‘हामीले धेरै आश्वासन पायाैँ, पोखरा–२६ सिलिङ्गेमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने भनेर पाँच सय रोपनी जग्गा छुट्टाएर राखिए पनि योजनामा समेटिएन’, उनले भने, ‘बेगनास तालको बसपार्क, प्रदेशस्तरी बसपार्क, सातताल जोड्ने योजना, धार्मिक पर्यटन प्रवर्द्धनका कैयन विषय भए पनि योजनामा परेनन् ।’ साथै तालचोक–बेगनास तालसम्म पर्ने बाटोको दुराबस्थाले पनि पर्यटकलाई सास्ती भएको, पूर्वाधार विकासको अभावमा यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको र पर्यटकको बसाइ लम्बाउने गतिविधि हुन नसकेको गुनासो गरे । उनका अनुसार बिदाका दिन तीन हजारदेखि पाँच हजारसम्म र सामान्य दिनमा एक हजारको हाराहारीमा बेगनास र रुपा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने भएपनि बेलुका भने पोखरा नै फर्कने गरेका छन् । जग्गाको मुआब्जा दिने गरी रुपातालमा बाँध बाँधेर करिब ६ अर्बको वृहत परियोजना एकीकृत रुपाताल विकास समितिमार्फत् भइरहेको र करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको पनि उनले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तत्काल केही समस्या देखिए पनि यसको समाधानसँगै समग्र पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकास हुनेमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले विश्वास व्यक्त गरे । ‘नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय बजार जोड्ने पहुँचको मार्ग बन्यो, पूर्वाधार बनेपनि सञ्चालनका चुनौती छन्, हवाई रुट सम्झौतापछि समस्या समाधान हुन्छ’, भण्डारीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय बजारसँग जोडिएपछि र पर्यटक आवागमन स्वतः बढ्नेछ त्यसैले अब थप पूर्वाधारमा ध्यान दिनुपर्छ ।’ उनले विमानस्थल सञ्चालनमा आएसँगै सार्क राष्ट्रका साथै चीनका दक्षिण भेगका शहर, थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता गन्तव्यमा न्यारो बडी विमानमार्फत् जोड्न सकिने र यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे । ‘डुङ्गा चढ्न मात्र बेगनास र रुपा किन जाने ? वेगनासताल वरिपरि फुट ट्रेल, हाइकिङ रुट, विपश्यना ध्यान केन्द्रको प्रचार-प्रसार होस्, जुलोजिकल पार्क विकास होस्’, उनले भने । लगानीमैत्री वातावरण बनाएर वृहत विकासका लागि एकीकृत सोच र धारणाको खाँचो औल्याउँदै प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मानिसको जीवनस्तर उकास्ने पर्यटकीय गतिविधिको खोजी अब लेखनाथमा हुनुपर्ने उनको धारणा छ । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथको पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकका लागि लेखनाथमा प्रशस्त सम्भावना छन्, सडक पहुँचदेखि थप पूर्वाधार विस्तारमा जोड दिनुपर्छ ।’ उनले विजयपुल विस्तारसँगै पोखरा मुग्लिङ सडक खण्ड विस्तार, सातताल जोड्ने सहज पहुँचमार्ग तत्काल आवश्यकता र विकासमा साझेदारीता आवश्यकता रहने भएकाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिए निजी क्षेत्र लगानी गर्न तयार र उत्साहित रहेको बताए । आत्रेयले पछिल्लो समय बेगनासताल किनारको माझीकुना साथै रुपा तालमाथिको झोलुङ्गे पुल, सुन्दरी डाँडा र पचभैया, बराह क्षेत्र पर्यटकको रोजाइमा परेकाले यस्तै पूर्वाधार विकास गरेर पर्यटकलाई थप आकर्षित गर्न सकिने बताए । पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सङ्घले वर्षेनि महोत्सव गर्दै आएको पनि जानकारी दिए । उनले पोखरा शहरमा शहरीकरणसँगै ट्राफिक जाम निकै बढ्दै गएकाले अब प्राकृतिक शान्त वातावरण चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि लेखनाथ एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त समेत व्यक्त गरे । रासस
गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित
काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । योसँगै बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ भएको छ । सभाले बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरेको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।
देशभरका २० स्थानमा औद्योगिक व्यापार मेला हुँदै, अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक व्यापार मेला आयोजना गर्ने तयारी गरेका छन् । कतिपय ठाउँहरुमा महोत्सव सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा गर्ने तयारी छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायत क्षेत्रको विस्तार विकास तथा प्रवद्र्धनका लागि विभिन्न नगर संघहरुले महोत्सब आयोजना गर्न लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार देशभरका विभिन्न २० ठाउँमा औद्योगिक व्यापार मेला हुँदैछ । केही ठाउँहरुमा क्षेत्रीय व्यापार मेला सम्पन्न भइसकेका छन् भने केही ठाउँमा गर्ने तयारी भइरहेको महासंघको मेला सभापति नरेन्द्र खड्काले बताए । हालसम्म ११ वटा महोत्सव, एक्सपो तथा हस्तकला कार्यक्रम भइसकेको छ । केही महिना अगाडि मात्रै जुम्ला, काभ्रे, बझाङ, कैलाली, सिद्धार्थ, पोखरा, धादिङ, सिन्धुली, उद्योग वाणिज्य संघले क्षेत्रीय व्यापार मेला–२०७९ सम्पन्न गरी सकेका छन् । यस्तै, नेपाल हस्तकला महासंघ ‘हस्तकला’, सीआईएम मोरङले ‘विराट एक्सपो’, नेपाल विद्युत् उद्यमी महासंघले ‘नीक इलेक्ट्रोटेक’ कार्यक्रम आयोजना गरी सम्पन्न भइसकेको छ । अहिले महासंघ अन्तर्गतका जिल्ला/नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक मेला आयोजना तयारीमा केन्द्रित भएका छन् । उद्योग वाणिज्य संघ चितवनले ‘१४ औं चितवन महोत्सव– २०७९’ को आयोजना गर्दैछ । सो महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन बताइएको छ । गोरखा उद्योग वाणिज्य संघले पनि ‘११औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यपार मेला–२०७९’ गर्ने तयारी गरिरहेको छ । सो महोत्सव पुस २७ गतेबाट सुरु गरी माघ ७ गतेसम्म सञ्चालन गर्नेछ । ‘बागमती प्रदेश महोत्सव’ को तयारीमा खैरहनी उद्योग वाणिज्य संघ लागेको छ । संघका अनुसार उक्त महोत्सव पुसको २८ गतेबाट सुरु भई माघको ८ गतेसम्म सञ्चालन हुनेछ । यस्तै, म्याग्दी महोत्सवको आयोजना म्याग्दी उद्योग वाणिज्य संघ गर्ने बताएको छ । संघले उक्त महोत्सव पुसको २८ गते देखि १० गतेसम्म गर्ने योजना बनाएको छ । यसैगरी बर्दिया उद्योग वाणिज्य संघले पनि औद्योगिक मेलाको आयोजना गर्ने बताएको छ । संघले ‘माघी पर्व–२०७९’ को आयोजना पुसको २९ गतेबाट माघको १० गतेसम्म गर्ने तयारी गरिरहेको छ । टीकापुर उद्योग वाणिज्य संघले पनि माघ ४ गतेदेखि ‘टीकापुर महोत्सव’ आयोजना गर्ने योजना बनाएको छ । यस्तै, देवचुली उद्योग वाणिज्य संघले पनि १० दिने महोत्सव आयोजना गर्ने भएको छ । संघले ‘देव चुली महोत्सव’ माघको ५ गतेदेखि १५ गतेसम्म गर्ने बताएको छ । प्युठान उद्योग वाणिज्य संघ ‘कृषि मेला’ गर्ने भएको छ । संघले माघ ५ गतेदेखि १५ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघले पनि ‘मकवानपुर महोत्सव’ गर्ने तयारी गरिरहरेको छ । संघले माघ ५ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्दैछ । धनकुटा उद्योग वाणिज्य संघले पनि ‘प्रदेश १ व्यापार मेला’ सञ्चालन गर्ने भएको छ । सो मेला माघको ६ गतेबाट सुरु भई १६ गतेसम्म सञ्चालन हुने संघको भनाइ छ । पर्वत उद्योग वाणिज्य संघले माघको ११ बाट २१ सम्म ‘पर्वत महोत्सव’ गर्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले पनि फागुनको १ गतेबाट १० गतेसम्म कञ्चनपुर महोत्सव आयोजना गर्ने भएको छ । यस्तै, सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्सपो’ गर्ने भएको छ । उक्त एक्सपो फागुनको ११ बाट सञ्चालन भई २० गते सम्पन्न हुनेछ । महासंघका अनुसार डडेल्धुरा उद्योग वाणिज्य संघले ‘डडेल्धुरा महोत्सव’ आयोजना गर्दैछ । उक्त कार्यक्रम फागुनको ४ देखि १४ गतेसम्म हुनेछ । यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघ ‘उर्लाबारी महोत्सव’ फागुमा गर्न जानकारी दिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको ‘बिर्तामोड महोत्सव’ फागुनको ५ गतेबाट १५ गतेसम्म हुने भनिएको छ । सल्यान उद्योग वाणिज्य संघले ‘सल्यान कृषि मेला’ को आयोजना गर्दैछ । संघका अनुसार मेला फाल्गुनको पहिलो सातादेखि हुँदैछ । स्याङ्या उद्योग वाणिज्य संघले ‘स्याङ्या महोत्सव’ गर्ने योजना बनाएको छ । सो महोत्सव फागुनमा हुने भनिएको छ । ‘लमजुङ महोत्सव’ को आयोजना लमजुङ उद्योग वाणिज्य संघले चैत्र २५ गतेदेखि वैशाखको ४ गतेसम्म गर्ने जनाएको छ ।यी विभिन्न मेला महोत्सव सम्पन्न भए पश्चात् महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने योजना बनाएको छ । सम्बन्धित सामग्री : ‘वर्षमा ७० वटा प्रदर्शनी गर्न सके १४ अर्ब रुपैयाँको कारोबार हुन्छ, लाखौंले रोजगारी पाउँछन्’
‘सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउँछ’
काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन् । अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताए । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने उनकाे भनाइ छ । ‘नयाँ सरकार बनेसँगै सेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ,’ उनले भने । पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको उनले बताए । सेयर बजार, घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको उनी बताउँछन् ।
नेपाल फाईनान्स ३० औं वर्षमा, एक महिनासम्म टपअप सेवामा १० प्रतिशत छुट
काठमाडौं । नेपाल फाईनान्सको स्थापनाकाे ३० औं वर्षमा प्रवेश गरेकाे छ । फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पौष २२ गतेबाट स्थापना भएकाे नेपाल फाईनान्सले ३० औं वर्षमा प्रवेश गरेकाे हाे । यस अवसरमा कम्पनीले संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध आश्रमा खाद्यन्न सामाग्रीहरु वितरण गरेकाे थियाे । त्यसैगरी, संस्थाले विभिन्न विद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । फाइनान्सले पुष २२ देखि १ महिनाको लागि संस्थाको मोबाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने जनाएकाे छ । साथै, १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने फाइनान्सले जनाएकाे छ । फाइनान्सले पुष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको छ । फाइनान्सले काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टर मार्फत बैंकिङ्ग सेवाको साथै आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।