ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस सेयरभन्दा नगद बढी
काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछन ।
नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ। देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ। गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए। देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ। दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ। समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ। मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ। विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन्। सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ। देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ। दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ। पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ। मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।
मह बेचेर वर्षिक ३५ लाख आम्दानी गर्दै पर्वतका किसान
पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ । उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् । उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।’ विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले महमात्र बिक्री गर्दैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन् । मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाखभन्दा बढी आम्दानी हुन्छ उनले भने । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उनले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए । सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ । त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउँछन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।
भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा
डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो। सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए। आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए। स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौँ–नेपालगञ्जलगायतका अन्य जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए। ‘रुकुमपश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजीकरण गरेन भने सिधा मलाई फोन गर्नु’, प्रजिअ न्यौपानेले भने। दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएको तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका–१२ का वडासचिव रामप्रसाद शर्माले जानकारी दिए। दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै आवत जावत भइरहेको उनले जानकारी दिए। अब नेपालगञ्जबाट सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादरसमेत घट्ने भएको छ। यही ठाउँमा नयाँ पुल निर्माणको कामसमेत चलिरहेको छ। अघिल्लो वर्ष निर्माण भइसक्नुपर्ने पुल यस वर्ष मात्र निर्माण सुरु गरिएको छ। अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी बुद्धीबहादुर खत्रीले बताए। रासस
आजको मौसम : केही स्थानमा आंशिक बदली
काठमाडौं । देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया रहने बताइएको छ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लागिरहेको अवस्था छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।
नेपाल लाइफले दियो ८ सय भन्दा बढी अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाएै प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो । कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ छ । असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत् सेवा प्रदान गरिरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।
कृषि व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंकले गर्याे किन्निहो प्रालिसँग सम्झौता
काठमाडौं । मेगा बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेटसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा बैंकले कर्जा प्रदान गर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्ने गरेको बताए । बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
दुबईमा प्रेम बसेको रोज ग्राण्डा र जंगबहादुरको जोडीको मोरङमा ‘फुड ट्रक’ व्यवसाय
काठमाडौं । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन् । फुड ट्रक भनेको ४ चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ । वि.सं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे । वि.सं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । तर, ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन् । आफ्ना श्रीमानलाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन् । ४ चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरिरहेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए । यसमा उनको २२ लाख रुपैयाँ खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन् । उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाईन् । ३ महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् । विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा.सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरिन् । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताइन् । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेको श्रेष्ठले बताइन् । रासस ।