मुक्तिनाथ विकास बैंकले झापामा बाल अस्पताल बनाउन ५ लाख सहयोग गर्ने
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले काठमाडाैं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । डा. भगवान कोईरालाको अध्यक्षतामा संचालित उक्त गैर नाफामुलक संस्थालाई बैंकले आफ्नाे १७ औं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गर्ने निर्णय गरेकाे हाे । उक्त सहयाेग सम्झाैतामा बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकले झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि ५ लाख सहयोग गर्नेछ । बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन
पर्वत । पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालन भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिक टन क्षमताका चिस्यानगृहमा सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । ‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गछौँ, सोही अनुसार सञ्चालनमासमेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन सकेका छैनौँ’, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भनिन् । उनले राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत् लगायतका पक्षमासमेत यथोचित ध्यान दिनुपर्ने बताइन् । थापाले चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएको बताइन् । कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको उनको तर्क छ । पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको चिस्यानगृहमा भने आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको चिस्यानगृहमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको बताए। यसैगरी पैँयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यानगृह निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । पैँयूँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयूँ गाउँपालिकाको ११ लाख लगानी रहेको छ । विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैयूँ कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए । ‘छिट्टै विद्युत्को काम सकेर स्टोर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’, उनले भने । त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको चिस्यानगृह भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा छ । ‘राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माण पश्चातको व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षा अनुसार सफल हुन नसकेका हुन्’, किसान सरोज खनालले भने । चिस्यानगृहहरु अपेक्षाअनुसार किसानका लागि उपयोगी हुन सकिरहेका छैनन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतिकरणको अभावलगायतका पक्षमा र यथोचित व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको किसान उमाकान्त शर्माले बताए । रासस
आइएमई पे मार्फत भुक्तानी गर्दा डेली ग्रोसरीका सामानमा १० प्रतिशत छुट
काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट अर्थात एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म पाउनेछन् । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सकिने कम्पनीले जनाएकाे छ ।
ताराले गर्याे रेसुङा विमानस्थलमा प्रदर्शनी उडान
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो । आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । उक्त विमानस्थलमा २०७५ जेष्ठ २५ गते पनि तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरका बरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले सफल पूर्वक परीक्षण उडान भरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व,रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहका थिए । रेसुङामा आइतबार परीक्षण उडान भएपछि नियमित उडानका प्रक्रिया थालिने बर्ताैलाले बताए । उनका अनुसार नियमित उडानका लागि भने कम्तिमा २ देखी ३ साता लाग्नेछ । दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा दुर्गम क्षेत्रका उडानहरु अनियमित हुने नसकेको तारा एयरले जनाएको छ । हवाई इन्धन अत्याधिक महंगो हुनु, दुई तर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्कनु पर्ने अवस्था तथा राज्यको तर्फबाट कुनैपनी किसिमको सहुलियत नहुँदा दुर्गमका क्षेत्रका उडान महँगो पर्न गएकोले यात्रु तथा वायुसेवा दुबैलाई आर्थिक भार पर्न गएको बर्ताैलाले बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताएका थिए । ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ, नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु, जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्, अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ, त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ,’ उनले भने । ‘सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘सुशासनको कुरा राज्यको आम जिम्मेवारी होे । यसमा सरकार गम्भीर छ । भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’ छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताएका थिए । प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई गर्नुभएको निर्देशनात्मक सम्वोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंगहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने उनले बताए । आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारणका निम्ति आयोगका सबै सकारात्मक प्रस्तावहरू सम्वोधन गर्न आफू तत्पर रहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले बैंकहरुलाई भनिन् : नाफासँगै सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनु
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरुलाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले लगानीको प्रतिफलसँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि जोड दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी हुन् । उनले सरकार र बैंकहरुबीच एकअर्काको परिपुरक बन्नुपर्ने पनि धारणा राखिन् । ‘बैंकहरुले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्छ, बैंकहरुले भोग्नु परेका समस्यालाई समाधान गर्न सरकार तत्पर रहनुपर्छ, सरकार र बैंकहरु एक अर्कको परिपुरक बन्नु पर्छ,’ उनले भनिन् । नेपाली अर्थतन्त्र आयातमा निर्भर रहेको बेला स्वाबलम्बी अर्थतन्त्र हुनु पर्ने उनको भनाइ छ । उनले साना तथा लघु उद्यम ९एसएमई०लाई जोड दिनुपर्ने र बैंकहरुले कर्जा प्रवाहमा पनि प्राथमिकता दिनु पर्ने उनको धारणा छ । ‘स्वावलम्बी एवम् आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्छ, राष्ट्रको पुँजी निर्माण र परिचालन गर्न बैंकको भूमिका महत्वपूर्ण छ, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्ने देखिन्छ, स्वदेशमै वस्तु उत्पादन गरी स्वदेशमा र निर्यात गर्न गर्न ध्यान दिनु पर्छ,’ उनले भनिन् । आर्थिक समृद्धिमका लागि रोजगारी पनि श्रृजना गर्नुपर्ने उनको भनाइ छ । –
सीजीनेटको ’पोस्टपेड’ सेवा, इन्टरनेट प्रयोग गरेपछि मात्र भुक्तानी
काठमाडौं । सिजीनेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको हाे । उक्त योजना अन्तर्गत कम्पनीले १ हजार ४९ रुपैयाँ मा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यस याेजनाबाट कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा रकम भुक्तानी गर्न सक्नेछन् । नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो यस याेजनाले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार ग्राहकले फिर्ता गरिने गरी २५ सयको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । ।
एसियन र पानस फार्मेस्टिकल्सको इस्मेप्राजोल र लोराजेपाम औषधि गुणस्तरहिन भेटियो
काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर इओटी ८०३०) र लोराजेपाम ट्याबलेट युएसपी–१ एमजी (ब्याच नम्बर एलएआरटी ८०५४) औषधि गुणस्तरहिन भएको बताएको छ । त्यस्तै विभागले सूचनामार्फत पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर टिइओ ०३७) औषधि गुणस्तरहिन रहेको बताएको छ । विभागले दुबै कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन औषधिमा मापदण्डअनुसारको गुणस्तर नभएको जनाएको छ । उक्त औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन विभागले सूचनामार्फत अनुरोध गरेको छ ।