माउन्टेन इनर्जीले जम्मा गर्याे सेयरधनीको खातामा १०.५२ प्रतिशत लाभांश
काठमाडौं । माउन्टेन इनर्जी नेपालले वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीले सोमबार पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५२६३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद (कर समेत) लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । बैंकको सोमबार बसेको नवौं वार्षिक साधारण सभाले १०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् ।
२ कम्पनीको साधारणसभा आज हुँदै, ७० प्रतिशतसम्म लाभांश पारित गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । मितेरी डेभलपमेन्ट बैंक र हिमालयन डिष्टिलरी कम्पनीको वार्षिक साधारण सभा आज (पुस २७ गते, बुधबार) हुने भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १७ औँ वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । यस्तै, हिमालयन डिष्टिलरी कम्पनीको २२ औ बार्षिक साधारणसभा रजिष्टर्ड कार्यलय बिरगंजमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । दुवै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछन् ।
आज सेयर कारोबार बन्द
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ । बुधबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार नहुने भएको हो । नेप्सेले आज सेयर कारोबार नहुने जनाएको छ । सरकारले पृथ्वी जयन्तीको दिन बुधबार (पुस २७ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साथै माघ १ गते माघे संक्रान्तिका दिन पनि कारोबार बन्द रहने नेप्सेले जनाएको छ ।
महिला र महुली लघुवित्तको कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । दुवै लघुवित्तले कारोबार समयमा लाभांश वितरण गर्ने घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको हो । कारोबार समयमा लाभांश वितरण गर्ने प्रस्ताव गरेर सेयर मूल्यमा प्रभाव पार्न खोजेको आरोपमा दुवै कम्पनीलाई नेप्सेले स्पष्टिकण समेत सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? भन्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, महुली लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३० रुपैयाँ घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३०.३० रूपैयाँमा भएको थियो । सोही मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पौने ५ खर्ब पुग्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । मर्जरपश्चात् शाखा कार्यालय २९६ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।
पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरिन् । ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । तत्कालिन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि उनले उल्लेख गरेकी छिन् । ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छिन् । ‘आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु,’ शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रियएकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरिन् ।
काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिकाले ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो । महानगरले सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्यले सार्वजनिक आवागमनमा बाधा अवरोध पुगेको बताएकाे छ । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ,’ सूचनामा भनिएको छ ।