सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रमबाट सहभागीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान हसिल गर्न सफल भएको बताए । साथै सीप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप ऊर्जावान बनेको उनले बताए । कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे । कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्याउने ४८ जना कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको ११ योजना : सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्म
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ११ योजना सार्वजनिक गरेको छ । मंगलबार ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको आगामी ११ योजना सार्वजनिक गरेका हुन् । बैकले योजना अन्तर्गत कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन लोन ओरिजिनेसा एण्ड अप्रुभल अटोमेसन सिस्टम लागु गर्ने जनाएको छ । यस्तै, बैंकले वैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाउने योजना बनाएको छ । यसका साथै बैंकले लो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गर्ने योजना पनि बनाएको छ । यस्तो छ बैंकको ११ योजना १। बैंकको स्वीकृत रणनैतीक योजना (Strategic Plan 2020-2025) बमोजिम कार्यक्रमहरुलाई समयावधी सहितको कार्ययोजना बनाई निरन्तरता दिईने । २। कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन Loan Origination and Approval Automation System लागु गरिने । ३। बैंकका सम्पुर्ण म्यानुयल, कार्यविधि, नितिहरुलाई समयसापेक्ष बनाउन आवश्यकता अनुसार पुनरावलोकन, परिमार्जन तथा पुर्नलेखन गरिने । ४। बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सुधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन तथा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न Business Process Re-engineering (BPR) को कार्यलाई थप प्रभावकारी बनाई तिव्रता प्रदान गरिने । ५। बैंकको सूचना प्रविधि सम्बन्धी संरचनालाई समयसापेक्ष तथा सुदृढ बनाउने योजना बमोजिम सुरु गरिएको IT Enhancement Roadmap बमोजिम नयाँ CBS खरिद प्रक्रिया सम्पन्न गरिने । ६। बैंकका सम्पूर्ण अचल सम्पत्तिहरुको उचित व्यवस्थापनका लागि तर्जुमा गरिएको Asset Utilization Plan कार्यान्वयन गरी समुचित प्रतिफलको सुनिश्चतता गरिने । ७| अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि आ.व. ०७९/८० को बजेट तथा कार्यक्रममा उल्लेखित Cost Control & Reduction Project लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने । ८। बैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाईने। ९। ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गरिने । १०। जोखिम व्यवस्थापन तथा AML/CFT का क्षेत्रलाई थप व्यवस्थित र सुदृढ गरिने । ११। संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन खुला
काठमाडौं । सनराइज क्यापिटलले मंगलबार (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले सोमध्ये १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीकाे लागि राखेकाे हाे । क्यापिटलकाे अनुसार लगानीकर्ताले न्यूनतम १०० इकाईका र अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा माघ १३ गते र पूर्ण आवेदन नपरेमा माघ २४ गतेसम्म लम्बिने क्यापिटलले जानकारी दिएकाे छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्इवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
काठमाडौं । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थिए भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेका उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहेका छन् । त्यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा छन् । समितिलाई १५ दिनको समय दिइएको छ । सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँले व्यवस्थित गर्न सक्नेछ । समितिका सदस्यहरुले आफूमध्येबाट एकजना सभापति चयन गर्नेछन् भने समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्नेछ । प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नेपालको संविधानअनुरुप प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्नेसम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी छ । यसैबीच प्रतिनिधिसभाका सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखको अनुपस्थितिमा कृष्णगोपाल श्रेष्ठ र उपाध्यक्षको अनुपस्थितिमा विमला सुवेदीले बैठक सञ्चालन गर्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिए ।
गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।
छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार
कालीकोट । हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुन्, कालीकोट पचाल झरना गाउँपालिका ५ कि दुर्गा बुढा । बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेकी छिन् । उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेका हुन् । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हाल्एकी उनले त्यो बेलामा मासिक ३० देखि ४० हजारसम्म कमाउँथिन् । ‘गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ’, उनले भनिन्, ‘यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।’ तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् । ‘टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके’, उनले भने । नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन् । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गरेकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन । ‘दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ’, दुर्गा भन्छिन्, ‘काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।’
सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल
काठमाडौं । सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । कम्पनीको सोमबारा बसेको संचालक समितिको बैठकले दाहाललाई स्वतन्त्र संचलकमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहालको कार्यकाल ४ वर्षको रहनेछ । बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको सिभिल वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
होटल रोयल सिंगीको २५ वर्ष पुरा, फेब्रुअरीभर २५ प्रतिशत छुट
काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे । कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट ‘द बिएलभिडी’मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने बताएकाे छ । यस्तै, फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया, कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैँया र साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने हाेटलले जानकारी दिएकाे छ । यति मात्र नभएर हाेटलले विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराउने जनाएकाे छ । होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र २५ सय नेट रहेको छ ।