कृषि विकास बैंकको सीईओमा २२ जनाको दाबी, बद्री गुरागाईंदेखी गोविन्द गुरुङको आवेदन
काठमाडौं ।कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म बैंकको सीईओका लागि २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले विकासन्युजलाई जानकारी दिए । बैंकका सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङदेखि सहकारी राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईंसम्मले आवेदन दिएका छन् । यस्तै, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कविराज अधिकारीले पनि बैंकको सीईओका लागि आवेदन दिएका हुन् । यस्तै, कृषि विकास बैंकबाट नै दुई जनाको आवेदन परेको छ । बैंकका निमित्त सीईओ समेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले सीइओ पदका लागि आवेदन दिएको कम्पनी सचिव पौड्यालले बताए । हाल बैंकको कायम मुकायम सीईओको जिम्मेवारी उपमहाप्रबन्धक सुवेदीले नै सम्हालिरहेका छन् । यस्तै, बैंकको सीईओ पदका लागि नेपाल सरकारका पूर्व सहसचिवदेखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकले समेत आवेदन दिएको बैंकले जनाएको छ । यस्तै, बैंकको सीईओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद वावु तिवारीले बैंकको सीईओ पदका लागि दाबी गर्दै आवेदन दिएका हुन् । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो । बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीईओका लागि छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । बैंकको अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।
जनप्रतिनिधि र कर्माचारीको विवादका कारण हरिपुर्वा नगरपालिकाको कामकाज ठप्प
सर्लाही । कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो । केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए । उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो । नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन् । कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए । उनका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए । नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए । उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो । जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुव्र्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए । यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरेको हरिपुर्वा नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रमोद यादवले बताए । उनले आफूहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको बताए ।
माछापुच्छ्रे बैंकद्वारा उदयपुरका विद्यार्थीलाई २६५ थान स्वेटर वितरण
काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकालाई २६५ थान स्वेटर वितरण गरेको हो । यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रमोद खरेलले आफ्नो पारिश्रमिक धनकुटा महोत्सवका घाइतेको उपचारमा खर्च गर्ने
धनकुटा । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन् । रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए । गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिए ।
गृह मन्त्रालय हाम्रो हो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरु राख्ने बताए । ‘अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन्,’ उनले भने । यस्तै, उनले चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि बताए ।
जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु
टोकियो । यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो । आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको थियो भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेका थिए । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी सबै प्रतिबन्धात्मक कदम हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।
५० रुपैयाँमा शुरु गरेको व्यापारबाट करोडौंको मालिक बनिन् सीता, भन्छिन्- परिस्थितिले डाक्टर बनायो
काठमाडौं । संघर्षका पाटा र बाटाहरू पृथक किसिमका हुन्छन् । सफलताको श्रेणीमा पुग्न निकै मिहिनेत र संघर्ष गर्नुपर्छ । भनिन्छ ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरूको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ यो भनाईलाई आत्मसाथ गर्दै अघि बढिरहेकी छिन् गोकर्णेश्वरकी सीता थापा । आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने मोटिभका साथ आफ्नो काममा तल्लीन् हुन्छिन् उद्यमी सीता । बुटवलमा जन्मिएकी सीताको परिवार हङकङमा बस्थे । उनी पनि नेपालमा प्लस टुको पढाई सकेर हङकङ पुगिन् । उतै काम गर्न थालिन् । ६/७ वर्ष हङकङमा बिताएकी थापाले पढाईलाई भने निरन्तरता दिन सकिनन् । पछि नेपाल फर्किइन् । ‘म १७/१८ वर्षको उमेरमा हङकङ गएँ, ६/७ वर्ष काम गरेँ, कामबाट राम्रै कमाइ हुन्थ्यो, त्यसैले पनि पढाइमाभन्दा बढी काममा ध्यान दिएँ,’ उनले भनिन् । विदेश बसाईंपछि नेपाल फर्किए लगत्तै सीता ओखलढुंगाका एक युवकसँग विवाह बन्धनमा बाधिइन् । श्रीमान् होटल र ट्राभलको बिजनेस समाल्थे भने सीता घरायसी काममा व्यस्त हुन्थिन् । वीरगञ्जमा श्रीमानको व्यापार व्यवसाय राम्रै भइरहेको थियो । तर जब वि.सं. २०६३/०६४ सालमा मधेस आन्दोलन चर्कियो त्यसपछि भने उनको व्यापार घट्दै गयो । यसपछि सीताको परिवार वीरगञ्जबाट काठमाडौं आयो । डाक्टरले देखेको जोखिममा जमराको जुसको चमत्कार मानिसको शरीर हो, सधै एक नाशको हुँदैन । शरीरमा केही न केही रोगका लक्षण देखिइहाल्छ । कसैलाई छिटो कसैलाई ढिलो । त्यसमा सीता पनि अछुतो रहिनन् । उनलाई रोगले च्याप्यो । ‘म गर्भवती भएपछि टिभीको समस्या देखियो, टिभीको उपचार गर्ने क्रममा फेरी थाइराइड भयो, सो क्रममा बच्चा जन्म भयो, त्यसको लगतै घाटीमा क्यान्सर भयो, अपरेसन गर्न डाक्टरले रिक्स छ भन्यो, लाखौं रुपैयाँ अपरेसनमा खर्च लाग्ने भयो मैले अपरेसन गर्न चाहिँन, सामान्य औषधिको सेवन गरेँ,’ उनले भनिन् । समाज सेवामा पनि सीता निकै अग्रसर बनिन् । वि.सं. २०७२ सालमा गएको भूकम्पमा परेका पीडितको सहयोगको लागि उनी निस्किइन् । सो अवसरमा विभिन्न देशबाट स्वास्थ्यकर्मीसहित सहयोगीहरू पनि आए । सहयोग गर्न नेपाल आएका विदेशी नागरिकले भूकम्पमा परी हातखुट्टा भाँचिएका लगायतलाई निःशुल्क उपचार गर्ने क्याम्प चलाएका थिए । सोही क्रममा सीताले स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मीहरूसँग भेट्ने अवसर पाइन् । उक्त भेटमा उनले आफ्नो स्वास्थ्य समस्या पनि सुनाइन् । र, विदेशी स्वास्थ्यकर्मीले सीतालाई बार्ली तथा व्हिट ग्रास (जमरा) प्रयोग गर्ने सुझाव दिए । सुझाव सुनेर छक्क परिन् सीता । लाखौं रुपैयाँ खर्च गरेर त उपचार हुन नसकेको जमराको रसले के ठिक होला र ? भन्ने उनलाई लागेको थियो । तर पनि उनले सेवन गर्न थालिन् । फलस्वरुप उनलाई विस्तारै ठिक हुँदै गयो । ‘मेरो सबै रोग जमराको रसले ठिक गरायो, त्यसपछि मैले मजस्तै पीडितलाई सेयरिङ् गरेर जमराको रस पिउन आग्रह गरे, जतिलाई सेयर गरे उहाँहरुलाई पनि ठिक भयो, जमराको रस लिए पछि उहाँहरुले आफ्नो इच्छा अनुसार १/२ सय रुपैयाँ दिन थाल्नु भयो’ उनले भनिन् । त्यसपछि सीताले जमराको जुस बनाई बिरामीहरूको उपचार गर्ने सोच बनाइन् । त्यसको तालिम लिइन् । विभिन्न रोगका बिरामीहरूले यसको प्रयोग गरेपछि उनीहरूलाई ठिक हुँदै गयो । र, जमराको माग बढ्दै गयो । माग बढ्दै गएपछि यसको व्यापार गर्ने सोच सीतामा आयो । सोही अनुरुप उनले वि.सं. २०७४ सालमा सीता अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी दर्ता गरी व्यावसायिक यात्रा सुरु गरिन् । परिस्थितिले बनाएको डाक्टर सीताले व्यावसायिक यात्रा सुरु गरेको केही समयपछि नै कम्पनीमा बिरामीहरूको चाप बढ्न थाल्यो । जसलाई सीताले जमराको जुस बनाउँदै सेवन गर्न दिन थालिन् । उक्त रस पिएर निको भएका बिरामीहरु धेरै छन् । अहिले विभिन्न रोगका बिरामीहरू परामर्श लिनको लागि सयौं संख्यामा त्यहाँ पुगि रहेका हुन्छन् । ‘म डाक्टर हुँ, मलाई परिस्थितिले डाक्टर बनायो, म आइडिया स्टुडियोको विद्यार्थी, अस्पतालमा गएर लाखौं रुपैयाँ उपचारमा खर्च गरी उपचार हुन नसकेका बिरामीहरू हामीसँग जोडिन आइपुग्नु हुन्छ,’ उनले भनिन् । सीताले क्यान्सर तथा अन्य रोगका पीडितहरूलाई सेवा गर्न थालेको हाल करिब साढे ५ वर्ष भइसकेको छ । उक्त कम्पनीले बिरामीलाई प्राकृतिक थेरापी गर्दै आएको छ । त्यस्तै, सीताको अध्यक्षतामा क्यान्सर केयर नेपाल नामक संस्था सञ्चालनमा छ । उक्त संस्थाले आर्थिक वा सामाजिक रूपमा सहयोग गर्दै आएको छ । सो संस्थाको मातहतबाट क्यान्सरका बिरामीलाई आफ्नो कमाइको १० प्रतिशत रकम सहयोग गर्दै आएको उनी बताउँछिन् । कोभिड-१९ पछि अर्को सिनर्जी एग्रो कम्पनी दर्ता गरिन् । पछिल्लो समय बजारमा रासायनिक मलको प्रयोजन भई अर्गानिक उत्पादनको कमीलाई मध्यनजर गर्दै सो कम्पनी सञ्चालनमा ल्याएको उनको भनाइ छ । समाजसेवी सीता कृषक पनि हुन् । उनले बाख्रा, कुखुरासँगै मौरी पालन गर्छिन् । उनका अनुसार चितवनमा ३ सय घार मौरी पालन छ भने अन्य व्यवसाय काठमाडौंमा नै छ । सीताले अहिले उपचार सँगसँगै अर्गानिक खाद्य कलेक्सन गरी बिक्री र टिपिकल लोकल नेपाली प्रडक्टलाई लिए काम गर्दै आएकी छिन् । वार्षिक करोडौंको कारोबार सीताले सञ्चालनमा ल्याएको दुई वटा कम्पनीबाट वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी ५० रुपैयाँको लगानीबाट सुरु भएको सीता सुनाउँछिन् । ‘मैले ५० रुपैयाँको टपरी किनेर गहुँ अथवा जहुँको जमरा उमारी सेवा दिन थालेको हुँ, कोभिडपछि कृषि कम्पनी बैंकको ऋण लिएर ६८ लाखबाट सुरु गरेँ, अहिले यी दुवै कम्पनीमा डेढ करोडभन्दा बढी लगानी भइसकेको छ,’ उनले भनिन् । सीताले आफ्नो कम्पनीबाट नागरिकको जीवन मात्रै होइन रोजगार पनि बचाएकी छिन् । उनको दुई वटा कम्पनीबाट प्रत्यक्ष १५ र अप्रत्यक्ष (पार्टटाइम) २५ जना गरि करिब ४० जनाले रोजगार पाएका छन् । यति मात्रै होइन सीताको दुई वटा अर्गानिक मार्ट छन् । जहाँबाट अचार लगायत अन्य अर्गानिक खाद्य वस्तुको बिक्री हुँदै आएको छ । उक्त उत्पादनहरु बिग मार्ट तथा भाटभाटेनीमा भने पठाउने नगरेको उनी बताउँछिन् । ‘बिग मार्ट तथा भाटभाटेनीमा हामीले आफै सामान लगेर राख्नु पर्छ, राखेर बिक्री भयो भने पैसा आउन ६/७ महिना लाग्छ, यदी बिक्री भएन भने भने फिर्ता पढाई दिन्छ, उल्टै घाटा हुन्छ, त्यसैले त्यहाँ पढाउँदैनौं,’ सीताले बताइन् ।
इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा कलाकार दयाहाङ्ग राई
काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यस अभियानमा महानायक राजेश हमालसँगै नायिका स्वस्तिमा खड्का पनि आवद्ध छिन् । राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ुमेरो डिजिटल देशु अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ। यस अभियानको पहिलो चरणमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । इसेवा मनि ट्रान्सफरले इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।