विकासन्युज

लक्ष्मी बैंकको १४४औं शाखा ललितपुरको हात्तीवनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औं शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सिनर्जी पावरले यस वर्ष लाभांश नदिने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश घोषणा नगरी फागुन ४ गते बिहीबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ १७ गते बसको संचालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । यस्तै, बैठकले साधारण सभा परियोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले माघ २५ गते बुक क्लोज एक दिन बुक क्लोज मिति तोकेको हो ।

एनआइसी एशिया क्यापिटलमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तीय विभागका लागि १ जना र म्युचअल फण्ड डिपार्टमेन्टका लागि केहि संख्याका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो । हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ । विश्वरुप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ । रासस

फक्सवागन गाडीको एक्सचेन्ज अफर सुरु

काठमाडौं । फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल यो एक्सचेन्ज योजना ल्याएको हो । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि सुरु भएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा ग्राहकले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने भन्दा राम्रो मूल्य दिईने कम्पनील बताएको छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले फ्रि एक्सेसरिज, विशेष लोयल्टी बोनस र ३ जना ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । हाल नेपालमा फक्सवागनका पोलो, ताइगुन, अलस्पेस र टउरेग भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरुमा २ वर्षको अनलिमिटेड केएम वारेन्टी, प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी रहेको छ । कम्पनीको अनुसार यसका गाडीहरु एक वर्ष वा १५ हजार किलोमिटर दौडेपछि सर्भिसिङ गर्दा हुन्छ ।

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा  महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए । गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ । उद्यान बनेपछि गाउँमा रौनकता थप्ने र आर्थिक गतिविधि बढ्ने स्थानीय नागेन्द्र यादवले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उद्यान निर्माण भइरहेको छ । ‘निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा गरेका छौँ’ उनले भने । रासस

बाइक पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा प्रष्ट लेखिएको छ– ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’ छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मासहित विभिन्न विभाग प्रमुख तथा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डको सामान खरिद गर्दा ब्याज नलाग्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ । शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने छन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्ने बैंकले जनाएको छ ।