विकासन्युज

बीमाशुल्क आर्जनमा आईएमईपछि गुराँस लाइफ एग्रेशिभ, अर्ब क्लबमा थपियो प्रभु लाइफ

काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन भएको छ । पुसदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्ससमेत गरी २० वटा जीवन बीमा कम्पनीले सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिना अर्थात मंसिरसम्मको तुलनामा ३९.०९ प्रतिशतले बढी हो । मंसिरसम्ममा १९ वटा जीवन बीमा कम्पनीले ५१ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबै कम्पनीको व्यवसायमा सुधार देखिन्छ । रकमको आधारमा नेपाल लाइफको अग्रता कायमै छ । कम्पनीले चालु आवको ६ महिनामै १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा १५ अर्ब ६२ करोडको व्यवसाय गरेको कम्पनीले एक महिनामै १९.२३ प्रतिशतले वृद्धि गरेको छ । यससँगै १० अर्ब बढीको जीवन बीमाशुल्क संकलन गर्नेको सूचीमा नेपाल लाइफ एक्लै छ । प्रतिशतको आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स एग्रेशिभ बनेको छ । कम्पनीले पुस एक महिनामै ३२.६० प्रतिशत बढी व्यवसाय विस्तार गरेको छ । गत मंसिरसम्म १ अर्ब ४७ करोड रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा १ अर्ब ९५ करोड प्रिमियम उठाएको छ । आईएमईपछि गुराँस लाइफ एग्रेशिभ देखिन्छ । समीक्षा अवधिमा गुराँस लाइफले २८.५३ प्रतिशतले जीवन बीमाशुल्क संकलनमा वृद्धि गरी १ अर्ब ४३ लाख रुपैयाँ कायम गरेको छ । जुन अघिल्लो महिनासम्ममा १ अर्ब ११ करोड रुपैयाँ थियो । यो अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा प्रभु लाइफ इन्स्योरेन्स थपिएको छ । गत मंसिरसम्ममा ८२ करोड ५३ लाख रुपैयाँ बराबरको बीमशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब ३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा २५.७२ प्रतिशतले बढी हो । यस्तै, ५ अर्बदेखि १० अर्बको बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् । यता १ अर्बदेखि ५ अर्बको सूचीमा अधिकांश कम्पनी छन् । समीक्षा अवधिमा महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन मंसिरसम्मको तुलनामा २०.९१ प्रतिशतले बढी हो । त्यस्तै, पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५९ करोड ८२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ । कुनको कति ?

आदर्श लघुवित्तको २१.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कस्तो बन्ला धरान-लेउती सुरुङमार्ग ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले धरान–लेउती सुरुङ मार्ग निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरे । बजेटमा सो सुरुङमार्ग निर्माणको विषयलाई प्राथमिकता दिए पनि बजेट विनियोजनको विषयले भने प्राथमिकता पाउन सकेको छैन । तर, गृहकार्य अहिले सो परियोजनाका लागि बजेट सुनिश्चित गर्ने तयारी भइरहेको बताइएको छ । यसका लागि  भइरहेको बुझिएको छ । केही समय अगाडि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रले धरान–लेउती सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको थियो । जोगवनी किमाथांका व्यापारिक मार्गको दुरी र समय घटाउने उद्देश्यले उक्त सुरुङ मार्गको अवधारणा लिइएको हो । बजेट वक्तव्यअनुसार नै पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा भएको छ । उक्त सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने तयारी भइरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका सूचना अधिकारी सौरभ बज्राचार्यले बताए । ‘यो आयोजना मन्त्रालयमा छलफल भएर सहमति भयो भने अगाडि बढाउने हो, सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने तयारी भइरहेको छ,’ उनले भने । अहिले उक्त सुरुङमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाउनको लागि विभिन्न गृहकार्य भइरहेको बताइएको छ । २०७९ असार अन्तिममा सार्वजनिक भएको फिजिबिलिटी रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने उल्लेख छ । धरान लेउती सुरुङमार्गको अध्ययन ‘टीएमएस ईआई माभेन रेस जेभी’ ले गरेको हो । उक्त सुरुङमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष ०७९/०८० मा एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो बजेट सुरुङमार्ग निर्माणको लागि पर्याप्त नभएको उनको भनाइ छ । सुरुङमार्गको लम्बाई ३.८९ किमि हुने बताइएको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माणको लागि बजेट सुनिश्चित गरेपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हुने पनि बज्राचार्यले जानकारी दिए । उनका अनुसार सो सुरुङमार्ग दुई लेनको हुनेछ । सम्भाव्यता अध्ययन पुरा भएपनि आगामी आर्थिक वर्ष २०८०/८१ मा अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरे काम अगाडि बढ्नेछ । छोटो दुरी तथा सहज आवागमन गर्न सकिने उद्देश्यले यो सुरुङमार्गको अवधारणा अगाडि सारिएको हो । धरान–लेउती सुरुङमार्ग निर्माण सम्पन्न भएमा करिब १० मिनेटमा लेउती पुग्न सकिन्छ । हाल बस यात्राबाट करिब डेढ घण्टा समय लाग्छ । सरकारले महत्वका साथ हेरेको यो परियोजनाले धरानको खानेपानी समस्या समाधान हुने बताइएको छ ।

नाडेप लघुवित्तले १० प्रतिशत बोनस बाँड्ने, नगद कति छ ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

पर्यटनमन्त्री किरातीको निर्देशन पछि निगमले सुरु गर्यो अनलाईन टिकेटिङ

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो । यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फतबाट मात्रै टिकट खरिद गर्ने गरिएकोमा अब मोबाइलबाटै टिकट खरिद गर्न सकिने भएको हो । सुरुवाती चरणमा इसेवाबाट उक्त सुविधा दिएको निगमले विस्तारै अन्य पेमेन्ट गेटवेहरु मार्फत समेत टिकट काट्न सकिने सुविधा दिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले एक महिनाभित्र सहज रुपमा अनलाईन मार्फत टिकट काट्न सकिने व्यवस्था लागु गर्न निगम सञ्चालक समितिलाई निर्देशन दिएका थिए । पर्यटनमन्त्रीमा नियुक्त भएपछि निगमको अनुगमनका गएका मन्त्री किरातीले निर्देशन दिएको एक सातामै निगमले अनलाईन मार्फत टिकट् काट्न सकिने व्यवस्था लागु गरेको हो । यसअघि निगमले अनलाईन बाटै टिकट काट्न सकिने व्यवस्था लागु भैसकेको जनाएको थियो । निगमको बेवसाइटमा अनलाईन मार्फत टिकट काट्न सकिने सुविधा रहेको उल्लेख भएता पनि डिजिटल वालेटबाट टिकट काट्ने सुविधा उपलब्ध गराईएको थिएन ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ७ हजार पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार आठ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।    

२० प्रतिशत लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । इन्फिनिटी लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तको माघ १७ गते बसेको संचालक समितिको बैठकले फागुन १३ गतेको लागि साधारण सभा बोलाएको हो । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति पनि तोकेको छ । कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात फागुन १ गतेसम्म कम्पनीको सेयरधनीको रुपम नेपाल स्टक एक्सचेन्जमा  सक्रिय भएकाले मात्र लाभांश प्राप्त गर्नेछन् ।

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला, वार्षिक १५ लाख आम्दानी

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० रुपैयाँ हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले जानकारी दिइन् । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताइन् । ‘हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ’, उनले भनिन् । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उनले सुनाइन् । वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । ‘आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो ।  अहिले त्यो बाध्यता हटेको छ’, भट्टराई भन्छिन् । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले जनाइन् । बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दो छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ। उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ । उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ । सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन्। आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उनको सुझाव छ । ‘हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन् । ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई एक सय रुपैयाँसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ। चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य दुई सय ५० रुपैयाँसम्म पर्छ । उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उनले बताइन् । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ। महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ’, उनले भनिन् । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । ‘सिधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ’, उनले भने । रासस