वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन
पर्सा । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड चार लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा दुई खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए । सो भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ । रासस
टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीको दक्षिण–पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ रेक्टरस्केल (म्याग्निच्युड मापन) गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएको छ । कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस २१ रुपैयाँ, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४० प्रतिशत बढेर १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क २५ प्रतिशत बढेर ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशत घटेर ३० करोड ६८ लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षका् सोही अवधिमा कम्पनीले ३३ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४० करोड १६ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ५९ करोड ९३ लाख ८३ हजार रुपैयाँ र भुक्तानी हुन बाँकी रकम १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ४० करोड ३९ लाख २० हजार रुपैयाँ, जगेडा कोष १७ प्रतिशत बढेर २८ करोड १४ लाख ३१ हजार रुपैयाँ, बीमा कोष १ अर्ब २५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र महाविपत्ति कोष २२ प्रतिशत बढेर १० करोड १९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.९९ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २१६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।
कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा.डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो । थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि वि.सं २०७८ चैत १० गते सम्झौता गरेका थिए । केन्द्रबाट डा.रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा.सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा. सुमित आचार्य, डा.दीपा लामिछाने र रेडियोलोजिस्ट डा.समीर दवाडी संलग्न थिए । त्यस्तै, सुर्खेत अस्पतालबाट डा.पूजन बल्ल, डा.जनी बज्राचार्य, फिजिसियन डा.कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न थिए । प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा.डम्बर खड्काले जनाए । प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु एक समेत खर्च गर्नुपर्दैन, यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन,’ उनले भने । मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए । ‘म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ, सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे, मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ,’ उनले भने । अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए । पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवद्र्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा.गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले सङ्ग्रहालयमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्ने गरेको तर सङ्ग्रहालय अहिले पनि आत्मनिर्भर बन्न नसकेको बताए । यसअघि मुख्यमन्त्री अधिकारी र मन्त्री गुरुङले सङ्ग्रहालय स्थापनाकालमा योगदान गर्ने डा.हर्क गुरुङ, खड्कविक्रम शाह र दावानर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यापर्ण गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेपाल पर्वतारोहणको झण्डोत्तोलन गर्दै, सङ्ग्रहालय परिसरमा तेजपातको बिरुवा रोपिएको थियो ।
राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘ञ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले माघ २४ गते बोलकबोल गर्ने र माघ २५ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
पुरानो लाभांश लिन सनराइज बैंकको आग्रह
काठमाडौं । सनराइज बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश हालसम्म लिन बाँकी रहेका सेयरधनीहरुले लाभांश भुक्तानी लिन आग्रह गरेको हो । बैंकले सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम भनेको हो । बैंकले ३५ दिनभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
शुभम पावरको आईपीओ २ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?
काठमाडौैं । शुभम पावर कम्पनीको आईपीओमा ३१.२८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा १३ लाख ६० हजार ९७ जनाले १ करोड ५० लाख ७३ हजार ६४० कित्ता सेयरका लागि १ अर्ब ५० करोड ७३ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरिएको थियो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ । कम्पनीले माघ १८ गतेदेखि माघ २२ गतेसम्म २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ४८ हजार १८८ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २ कित्ता बाँकी रहन्छन् । २ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गर्नेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।