विकासन्युज

दुई घण्टामै २० लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार खुलेको दुई घण्टामा धेरै लघुवित्त संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज १४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र ६ वटाको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे जानकारहरु बताउँछन् । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै लघुवित्तहरुलाई कडाइ गरेकाे हाे । नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, लघुवित्तबाट ऋण लिँदा अब ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नुपर्नेछ । यति मात्र नभएर अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध देशभरि गतिविधि भइरहँदा पनि लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।

तनहुँ र लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । तनहुँको व्यास र लमजुङको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । तनहुँ जिल्लाको व्यास नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्यौलमा पर्ने गरेको उल्लेख गर्दै बीमा कम्पनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए । प्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुती गर्दै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे । कार्यक्रममा सहभागीहरुले प्रलोभनमा परेर बीमा गर्दा बीमाशुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमाशुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासो राखे । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो । यसैगरी, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अतिथि, मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।

सूचना र तथ्याङ्क सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छिन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन् । सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन् । उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनतालाई हुने लाभको लेखाजोखा गरेर यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् । एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए । अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ’, अध्यक्ष ओलीले भने । वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गरे । अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताए । उनले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको दाबी गरेका छन् । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दैनिक १८ घण्टा सञ्चालन, रात्रिकालीन उडानका लागि तयार

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । गत जनवरी १ तारिखदेखि औपचारिक रुपमा उद्घाटनमा आएको क्षेत्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएकोे हो । विमानस्थलमा इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ । विमानस्थलका प्रमुख विक्रम गौतम आइएफआर प्रणाली जडान भएसँगै दैनिक १८ घण्टा सञ्चालनमा आएको जानकारी दिए । उनका अनसार बिहान ६ बजेदेखि साँझ १२ बजेसम्म विमानस्थल खुला रहनेछ । विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताए । ‘एआइपी प्रकाशन भएको बिहीबार ४२ दिन पुग्दैछ, हामीले यसको जानकारी कम्पनीलाई दिएका छौँ, यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागिसमेत परिपक्क भएको छ’, उनले भने । यसअघि एआइपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रिकालीन उडानका लागि समय पर्खिनुपरेको बताइन्छ । हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ । विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् । बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको जनाएको छ । बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् । हाल दैनिक १० उडान गर्दै आएको बुद्धले मार्च ९ तारिखदेखि २ वटा रात्रीकालिन उडान गरी दैनिक १२ वटा उडान गर्ने जनाएको छ । हाल साँझ ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने विश्वास छ । यसबाट पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन । पोखरा विमानस्थलका प्रमुख गौतमले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकसँग कूटनीतिक पहलका लागि आफूले प्रधानमन्त्रीसँग समेत आग्रह गरेको बताए ।

सार्वजनिक सवारी साधनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् उपत्यकाका यात्रु

काठमाडौं । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ । प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मङ्सिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए् । ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए । त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो । क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ । रासस

बजार खुलेको डेढ घण्टामा ४८ अंकले घट्यो सेयर बजार

काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ । यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।

गौतमको अध्यक्षतामा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको छ । उक्त संघमा अध्यक्षको रुपमा रहेका कृष्ण प्रसाद गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका हुन् । संघको कार्यकाल तिन वर्षको हुने गर्दछ । अध्यक्षको उम्मेदवारमा हालका अध्यक्ष कृष्ण प्रसाद गौतमले प्यानलको घोषणा गरेका छन् । उक्त घोषणा बानेश्वरको एक होटलमा गरेका थिए । उक्त टिममा बरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उापध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषण गरेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए । उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशानै धर्मसंकटमा रहेको हुदाँ यसका लागि निर्माण व्यवसायीहरुको सुझाब अनुसार सधै लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।