विकासन्युज

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययनको काम सुरु हुने

काठमाडौं । नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ । दुई महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएर केही समय बसेर फर्किएको थियो । नयाँ वर्ष मनाउन गएको टोली फर्किएलगत्तै विस्तृत अध्ययन अघि बढाइने रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए । उनीहरु फर्केपछि आवश्यक प्राविधिक जनशक्ति पनि थप हुने उनले बताए । उनले भने, ‘उहाँहरु जनशक्ति थप गरेर फर्किएपछि अध्ययनले गति लिनसक्छ ।’ पहिलो चरणमा आएका व्यक्ति रेलसम्बन्धी विज्ञ रहेको प्रवक्ता चित्रकारले बताए । त्यसमा पनि तिब्बत क्षेत्रमा रेल निर्माणमा संलग्न मान्छे आएर सर्वेक्षण गरेका थिए । ‘लिडिङ एक्सपर्ट’ आएर फिल्डमा सर्वेक्षण गरेको उनले बताए । उनले भने, ‘अब गहन अध्ययनका लागि जनशक्ति थप गरेर आउनेछन् ।’ चिनियाँ पक्षले ‘स्टाण्डर्ड गेज’ मा निर्माण हुनेगरी अध्ययन गर्ने विभागले जनाएको छ । भारतीय पक्षले निर्माण गरेको रेलमार्ग ‘ब्रोड गेज’ मा रहेकामा विश्वमा पछिल्लो र आधुनिक मानिने स्ट्यान्डर्ड गेजमा अध्ययन हुन लागेको हो । नेपालले सकेसम्म एउटै गेज गर्दा राम्रो हुने र यसले गर्दा भविष्यमा सञ्चालन र मर्मतमा सजिलो हुने उनले बताए । उनले भने, ‘अहिलेको सन्दर्भमा नवीनतम प्रविधि स्ट्यान्डर्ड गेज हो, भारत आफैँले पनि आफ्ना रेल स्ट्यान्डर्ड गेजमा बनाइरहेको छ ।’ नेपालमा ट्याक गेज प्राविधिक विषय मात्रै नभएर रणनैतिक विषय भएकाले पनि त्यसमा थप छलफल आवश्यक हुने प्रवक्ता चित्रकारले बताए । नीतिगत निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा मन्त्रिपरिषद् वा संसद्मा छलफल हुनुपर्ने उनको भनाइ छ । रेल विभागले हेर्दा एउटै गेज हुँदा सञ्चालन र मर्मतमा सजिलो हुने उनको भनाइ छ । संसारका धेरै देशमा गेजमा समस्या रहेको भए पनि ढिला मात्रै रेलको निर्माण सुरु भएकाले यसमा एकरुपता ल्याउन सकिने सम्भावना रहेको उनले बताए । उनले भने, ‘हामीले ढिला सुरु गरेकाले एउटै गर्न सकिन्छ ।’ चीनमा पनि केरुङबाट सिङाचेसम्म रेल निर्माण भएर सञ्चालनमा छ । त्यसबाट पश्चिम अध्ययनको काम सुरु भइसकेको र राष्ट्रिय योजनामा यसलाई समेटेर दु्रत गतिमा काम अघि बढाइरहेको प्रवक्ता चित्रकारले बताए । अब बनाउन बाँकी चार सय किमीभन्दा बढिरहेको अनुमान गरिएको छ । चीनका लागि त्यो लम्बाइमा निर्माण गर्नु ठूलो विषय नभएको उनले बताए । उनले भने, ‘बेइजिङ–सङ्घाइ रेलमार्ग तीन वर्षमा बनाउने भनेको त्योभन्दा कम समयमा नै सम्पन्न गर्ने मुलुक हो, उसले गर्छु भनेपछि सक्नेछ ।’ नेपालको सीमासम्मको रेलमार्ग निर्माण गर्नुमा चीनको आफ्नो प्रयोजनसँगै नेपाललाई पनि लक्षित गरेको उनले बताए । चीनको नेतृत्वमा आएका नेताहरुले विगतदेखि नै नेपालसँग रेलमार्गमार्फत जोडिने कुरामा चासो देखाएको उनले बताए । उनले भने, ‘यो रेलमार्ग चाँडो निर्माण हुँदा त्यसबाट नेपाललाई मात्र फाइदा छ ।’ रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले नयाँ वर्ष मनाउन चीन फर्किएको टोली आएपछि नै अध्ययन अघि बढ्ने बताए । अध्ययन साढे तीन वर्षमा सकाउने लक्ष्य रहेको उनले बताए । पुसमा आएको टोलीले नक्सा देखाएर अहिले ल्हासाबाट सिङाचे आइसकेको र सिङाचेबाट यताको डिपिआर भइरहेको जानकारी दिएको उनले बताए । नक्सामा यता आउँदा जोडिँदै आउने देखाएको उनले जानकारी दिए । सो रेलमार्ग नेपालभित्र ७२ किमी रहेको छ । केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट यता छुट्टिएर आउने उनले बताए । तालबाट मानसरोवर जाने मार्गबाट छुट्टिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ । रेलमार्ग निर्माणमा कति लगानी आवश्यक पर्छ, समय र कठिनाइ केके छन् भनी पत्ता लागेपछि नै निर्माण कसरी बनाउने भन्ने छलफल हुने महानिर्देशक विसुरालले बताए । रासस

किन ढिलो भयो हिउँदे वर्षा ?

काठमाडौं । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताइन् । उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरिन् । ‘हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ’, मौसमविद् कँडेलले भने । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताइन् । यो वर्ष के कारणले हिउँदे वर्षा भएन भनी सोधिएको जिज्ञासामा मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको उल्लेख गरिन् । उनले भनिन्, ‘पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।’ विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ । आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसमविद्को भनाइ छ । पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गङ्गा नगरकोटी बताउनुहुन्छ । वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख गरिन् । सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन । नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो । वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ । मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्तमात्रामा हुन सकेन । राजधानी काठमाडौँ उपत्यकामा त झन यो वर्ष हिउँदे वर्षा भएन । उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । हिउँदे वर्षा नहँुदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन् । लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरुको विश्लेषण छ । गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन् । यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ । युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्लाक सी’ को बाटो हँुदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन् । पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ । रासस

राजीनामा बुझाउन अर्थमन्त्रीसहित ८ मन्त्री बालुवाटारमा

काठमाडौं । अपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित नेकमा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने बालुवाटार पुगेका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउन पुगेका हुन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णय अनुसार नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउन लागेका हुन । राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका बेला जेनेभा जान लागेकी मन्त्री विमला राई पौड्याललाई रोक्ने र एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने अभिव्यक्ति दिएपछि राजीनामा दिएर सरकारमा बाहिरिन लागेको अर्थमन्त्री पौडेलले जानकारी दिए । ‘हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ, तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ, त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ,’ उनले भने । पौडेलको नेतृत्वमा एमालेबाट ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता रहेको थियो ।

जापान जान चाहने अधिकांश विद्यार्थीको सीओई रद्द, यस कारण पाउँदैनन् अध्ययन अनुमति

काठमाडौं । जापानको टोकियोमा अध्ययन भिसामा जान चाहेका नेपाली विद्यार्थीहरुले पछिल्लो केही वर्ष यता अनुमति पाउन छाडेका छन् । टोकियोमा अध्ययनको लागि भिसा आवेदन प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थीहरु अस्विकृत हुने गरेको काठमाडौंस्थित कन्सल्टेन्सी सञ्चालकहरुको भनाइ छ । जापान नेपाली विद्यार्थीहरुको एउटा महत्वपूर्ण रोजाइ मध्येमा पर्ने मुलुक हो । जापान जान चाहने धेरै नेपालीहरुले पहिलो रोजाई टोकियोलाई बनाउने गर्छन । तर, तीन वर्षदेखि जापानको टोकियोमा अध्ययन अनुमति प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थी अस्विकृत हुने गरेका छन् । जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेले विगत ३ वर्षदेखि जापानको टोकियोले अत्यन्तै कम नेपाली विद्यार्थीलाई मात्र अध्ययन अनुमति दिने गरेको बताए । ‘भर्खरै आउन शुरु भएको नतिजा हेर्दा टोकियो इमिग्रेसनको लगभग ५ प्रतिशत पनि छैन’, उनले भने, ‘टोकियोमा नतिजा बिग्रेको ३ वर्ष भयो, टोकियोले विद्यार्थी लिन नमानेको हामीले देखिरहेका छौं ।’ जापानमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएको विद्यार्थीले अध्ययन अनुमतिको लागि आवेदन गर्न सक्छन् । तर कस्तो सर्टिफिकेट भएको विद्यार्थी लिने भन्ने विषयमा भने त्यहाँका स्कुलहरुले आ–आफ्नो मापदण्ड बनाएका हुन्छन् । नेपाली विद्यार्थीहरुले अध्ययन अनुमति किन पाउन सकेनन् भन्ने विषय भने आफूहरुले जान्न नसकेको महासचिव पाण्डेले विकासन्युजलाई बताए । कोभिड महामारीपछि जापान जाने विद्यार्थीको संख्यामा वृद्धि भएपनि टोकियोमा भने कम विद्यार्थीले अनुमति पाउने गरेको जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका अध्यक्ष देवकोटाको भनाइ छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा नै बढ्दै गएको महंगीको प्रभाव जापानमा पनि परेको छ । जसले गर्दा जापानी परिवेशमा दैनिकी जीवन महंगो हुँदै गएको छ । पछिल्लो ३ वर्षदेखि जापान सरकारले उपभोग्य करमा वृद्धि गरेर ७ प्रतिशत पुर्याएको जालसानका महासचिव पाण्डेले बताए । जापानमा अध्ययन भिसामा गएका विद्यार्थीहरुले कानूनी रुपमा हप्तामा २८ घण्टामात्रै र विदाको समयमा काम गर्न पाउने उनले बताए । तर, बढेको महंगीका कारण भने जापानमा विद्यार्थीहरुलाई काम गरेर कलेजको शुल्क बुझाउने र दैनिकी खर्च उठाउन नै समस्या हुँदै गइरहेको धेरैले प्रतिक्रिया दिन थालेका छन् । महंगी र विदेशी विद्यार्थीलाई तोकिएको काम गर्ने समयको विषयमा जापानको संसदमा पनि कुरा उठेको र पारिश्रमिकको विषयमा पनि नयाँ व्यवस्था हुने सम्भावना रहेको उनले बताए । के छ जापानमा अध्ययन भिसा आवेदन प्रकृया ? जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेका अनुसार जापानमा अध्ययनको लागि कम्तिमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएका विद्यार्थीहरुले आवदेन गर्न सक्छन् । त्यसरी विद्यार्थी भिसामा आवेदन गर्दा पहिला विद्यार्थीहरुले निश्चित समयको भाषा स्कुलमा पढ्नुपर्ने हुन्छ । त्यसैले उल्लेखित शर्त पूरा भएका इच्छुक विद्यार्थीहरुले जापानको कुन ठाउँमा अध्ययन गर्ने हो सो का आधारमा कन्सल्टेन्सी मार्फत स्कुल छनोट गरेर सम्बन्धित स्कुलमा आवेदन गर्छन् । ‘त्यसरी आवदेन गर्दा विद्यार्थीले आफ्नो राष्ट्रिय परिचयपत्र खुल्ने नागरिकता वा पासपोर्टको फोटोकपी र प्लस टु पास भएको सर्टिफिकेट र ट्रान्सकिप्ट पठाउनुपर्ने हुन्छ’, पाण्डेले भने । उनका अनुसार विद्यार्थीले छनोट गरेको स्कुलले विद्यार्थीको आवेदनलाई स्वभाविक ठानेमा योग्यताको प्रमाणपत्र (सिओई)का लागि सम्बन्धित क्षेत्रको अध्यागमन विभागमा पठाउँछ । त्यसपछि अध्यागमन विभागले विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिने वा नदिने निर्णय गर्छ । योग्यताको प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई मात्रै स्कुलले अध्ययनमा जानको लागि आवश्यक कागजात प्रकृया अगाडि बढाउने अनुमति दिन्छ । त्यसपछि मात्रै विद्यार्थीले कलेजले उपलब्ध गराएको कागजात र पासपोर्टका आधारमा भिसाको लागि राजदुतावासमार्फत आवेदन प्रकृया अगाडि बढाउन सक्छ । कोरोना महामारीको समयमा नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि जान पाएका थिएनन् । त्यसपछिका समयमा भने ठूलो संख्याका नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जान थालेका छन् । अहिले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट दैनिक दुई देखि छ सय जना विद्यार्थीले एनओसी लिने गरेका छन् । उक्त शाखाका अनुसार साउन देखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि) लिएका छन् । जसमध्ये जापान पनि विद्यार्थीहरुको महत्वपूर्ण रोजाइको देश बन्ने गरेको छ । तर, केही वर्ष यता जापानको टोकियोलाई केन्द्र बनाएर अध्ययन भिसाको लागि प्रयास गरेका विद्यार्थीहरुलाई निरन्तर रुपमा हातमा सुन्य लाग्दा उनीहरु निराश बन्दै गएका छन् ।

‘राज्यलाई कर नतिर्ने र जनतालाई खुशी नदिने क्षेत्रलाई सदाको लागि बन्द गरौं’

काठमाडौं । उद्यमी तथा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले राज्यलाई कर योगदान नगर्ने क्षेत्रलाई सदाको लागि बन्द गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो बताएका हुन् । ‘कुनै क्षेत्रले राज्यलाई कर योगदान गर्न र जनताको मुहारमा खुशी थप्न सक्दैन भने त्यो क्षेत्र सदाको लागि बन्द गर्दा राम्रो हुन्छ,’ उनले लेखेका छन् ।

राष्ट्रपतिमा पौडेल विजयी हुन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए । पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो । उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए । आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो । उनले भने, ‘२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौ, माओवादी सशस्त्र द्वन्दमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।’

असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

कास्की । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए । दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग पाँच करोड रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिहेको छ । महाशाखा प्रमुख कँडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा करिब साढे दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि कृषक मर्कामा परिरहेको बताउँदै उनले क्षतिको जोखिमलाई न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्नेमा जोड दिए । रासस

सोमबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार, स्वाभिमान लघुवित्तमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २५९ वटा स्क्रीप्समध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको हो । एकैदिन कम्पनीको २९ हजार २२ कित्ता सेयर ६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको हो । नेप्सेका अनुसार कम्पनीको सो मात्राको सेयर एक हजार ३० पटकमा किनबेच भएको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा रहेको एनआईसी एशिया बैंकको ५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा सोमबारको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६३ करोडले घटी हो । आइतबारको बजारमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका थिए । त्यस्तै, सोमबार सर्वाधिक सेयर मूल्य बढ्नेको सूचीमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा अर्थात ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४८९ रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा प्रतिकित्ता १३२ रुपैयाँले बढी हो । यसैगरी, ९ प्रतिशत बढीले बढ्नेमा सामलिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सोमबारको नेप्से परिसूचक भने ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले घटी हो । सो दिन परिसूचक घटेर न्यूनतम अर्थात १९९२ बिन्दुमा झरेको थियो । सामान्य अंकले घटेको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.४३ प्रतिशतले घटेको छ । र, सोमबार प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।