विकासन्युज

मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,’ भनिएको छ । रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् । मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ । मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनो घर छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् । सान्ता फे प्रान्तका न्याय मन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएका छन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेका छन् । रासस/ एपी

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

काठमाडौं । फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ जना आवेदन रद्द भएको छ । गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गर्दा दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

३ होली इभेन्टको टिकट ‘आइएमई पे’ बाट खरिद गर्न सकिने

काठमाडौं । यस वर्षकाे तीन हाेली इभेन्टस्हरुकाे टिकट आइएमई पे बाट काट्न सकिने भएकाे छ । आइएमई पेबाट अन्नपूर्ण होटलमा हुने कलरेल्ला, द मल्ल होटलमा हुने कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा हुने होली फिएस्ता २०२३ काे टिकट काट्न सकिने भएकाे हाे । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार हाेली इभेन्टस्काे टिकट आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ । ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको जनाएकाे छ ।   

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने सरकारकाे योजना

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौं रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए । भारतीय पक्षले रक्सौल–काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ । भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने, ‘एउटा रेलबाट अर्को रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्कोमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनुपर्ने हुन्छ ।’ भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले बताए । त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ–भरतपुर खण्डको डिपिआर अध्ययन भइरहेको छ । पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ । पहिलेको रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए । सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौं–रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्नसक्ने देखिएको छ । रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको छ । भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन् । चीन सरकारले सुरु गरेको काठमाडौं–केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ । रासस

ग्रीनसिटी हस्पिटलले गर्यो ३० किलो तौल भएको ट्युमरको सफल अप्रेशन

काठमाडाैं । ग्रीनसिटी हस्पिटलले तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरिदिएकाे हाे । अस्पतालले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पाकाे जस्ताे जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रुपमा गर्दै आएको छ । शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा. रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । ‘अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको छ,’ उनले भनिन् । अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।

मस्तिष्क मृत्यु भएकी १७ वर्षकी युवतीबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन् । उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’ दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो । केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा श्रेष्ठले बताए । ‘विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधरणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ’, उनले भने । मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताए । उनले भने, ‘मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ । तर जनचेतना अभावका कारण अङ्गदान गर्नेको सङ्ख्या बढ्न नसक्नु दुःखद कुरा हो ।’ कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो । रासस

स्वावलम्बन लघुवित्तको २१ प्रतिशत लाभांश पारित

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । संस्थाकाे शुक्रबार काठमाडाैंमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेकाे हाे । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९/८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सभाले संस्थाको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २० अर्व ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १२ अर्व ६९ करोड ७ लाख रहेको छ ।    

बैंकले दिएकाे ऋण जनताको हो, तिर्दिन भन्ने परिकल्पना नगर्नु : डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका  हुन् । ‘बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन, त्यसको परिकल्पना नगर्न आग्रह छ,’ उनले भने, ‘बैंक वित्तीय संस्था लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको होइन, त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले बैंकमा राखेको पैसा हो, कर्जा लिनेहरुले कर्जा दिँदिन भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुन्छ,’ उनले भने । यस्तै, उनले कर्जा ढिला हुनसक्ने र ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए । ‘कर्जा दिन ढिला हुनसक्छ, त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ, यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं,’ उनले भने ।