विकासन्युज

एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए । उनले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरितको कुरा भएको बताए । उनले भने, ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’ उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।

पाल्पा रामपुर नगरपालिकाद्वारा डिजिटल परिचयपत्र वितरण सुरु

पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक । अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ । डिजिटल प्रविधिको परिचयपत्र पाउँदा ज्यादै खुसी लागेको उनले बताएका छन् । नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताएका छन् । ‘नगरपालिका कार्यालय, केही वडा कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिसकेको र बाँकी वडामा पनि नगरले राख्ने तयारी गरिरहेको छ’, उनले भने, ‘सूचना प्रविधिको विकासलाई अवलम्बन गरी सफ्टवेयर जडान गरेर नगर तथा वडा कार्यालयबाट विभिन्न सेवा दिइरहेका छौँ, नगरलाई डिजिटलमैत्री नगर बनाउने हाम्रो सङ्कल्प छ ।’ सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनियर गङ्गाराम रेग्मीले जानकारी दिएका छन् । अपाङ्गता भएका व्यक्तिका लागि वर्गअनुसारको रातो, निलो, पहेँलो र सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको अवस्थामा कार्यालयका कामकाज छिटो गर्न डिजिटल प्रविधिको परिचयपत्र वितरण कार्य सुरु गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । यस्तो परिचयपत्र पानीमा नभिज्ने, हराएमा तत्काल अर्को निकाल्न मिल्ने, नवीकरण गर्न झण्झट नहुने, नवीकरण घरमै बसेर पनि गर्न सकिने, कर्मचारीलाई परिचयपत्र बनाउन धेरै समय खर्चिएर बस्न नपर्ने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताए। यसअघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिँदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मेसिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालिएको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । हातले बनाएका परिचयपत्र पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेकाले सो समस्या धेरै सेवाग्राहीले गुनासो गरेपछि यस्तो परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । अनलाइन प्रविष्टीकरण गरिने भएकाले यो परिचयपत्र बारकोडमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुनेछ । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै यस्तो परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ । रासस ।

एडीबीले लुम्बिनी विकास कोषलाई दिएको १३ करोडको विद्युतीय गाडी प्रयोगमा आएन

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि सरोकारवाला निकायको चासो पुगेको छैन । लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । तर, आवश्यक कानुनी प्रक्रियामा ढिलाई र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुल्ला आकाशमुनि थन्किएका छन् । एसियाली विकास बैंक (एडीवी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडमा लुम्बिनी विकास कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे तीन करोड बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी साधन लामो समय खुल्ला आकाशमुनि थन्किएर रहँदा बिग्रने सम्भावना रहेको छ । थन्क्याइएका कतिपय गाडीका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रने समस्या देखिन थालेका छन् । लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि ल्याइएका पाँचवटा १९ सिट क्षमताका बस र १४ वटा पाँच सिट क्षमताका भ्यान सञ्चालन प्रक्रियामा अन्यौल देखिएको छ । अत्याधुनिक सुविधासहितका यी विद्युतीय गाडी स्वचालित ढोका भएका र शारीरिकरुपमा अशक्तका लागि अपाङ्गतामैत्री रहेका छन् । सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्य लुम्बिनी विकास कोषले जनतालाई सेवा दिने भनेर ल्याएका अनुदानका सवारी साधन खुला चौरमा राखेर राज्यको सम्पत्ति नोक्सान पु¥याउने काम भएको बताउँछन् । यसको सञ्चालनको मोडल विकास कोषले आफैँ व्यवस्थापनाको जिम्मा लिएर चलाउनुपर्ने बताउँछन् । उनले भने, ‘निजी क्षेत्र वा अरु कुनै पनि मोडलमा लैजादा केही वर्ष पछि यी गाडी कामै नलाग्ने गरी थन्किने अवस्थामा पुग्ने छन् ।’ विकास कोषले यति लामो समयसम्म करोडौ मूल्यका गाडी थन्क्याएर राख्दा पनि सरोकारवला कसैसँग पनि छलफल नगरेको उनी बताउँछन् । तीन वर्षसम्म सञ्चालनको ढाँचा र सवारीको नम्बर प्लेट परिवर्तनमा समय लाग्नु अचम्मको विषय भएको उनको भनाइ छ । ‘सरकारी सवारी साधन सेतो नम्बर प्लेटबाट रातो वा हरियोमा परिवर्तन गर्न एकै दिनमा सकिन्छ तर विभिन्न बाहानमा अल्झाउने काम भएको छ’ उनले भने, ‘जनतालाई सेवा दिन ल्याएका साधन खै त जनतालाई सेवा दिएको ?’ लुम्बिनी विकास कोषले असोज १३ गतेबाट दशैं तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने भन्दै परीक्षणका रुपमा पाँचवटा बस सञ्चालन गरेको थियो । चाड पर्व अवधिभर परीक्षणका रुपमा सञ्चालन गरिएका बसमा निःशुल्क सेवा प्रदान गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रुपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच वटा बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । तर, चाडपर्व पछि भने बस सञ्चालनमा आउन सकेका छैनन् । नेपाल एसोसिएसन आफ ट्राभल्स एण्ड टुर ऐजेन्ट(नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दातृ निकायले दिएका सवारी साधन यसरी लामो समयसम्म पनि तिनको सञ्चालन प्रक्रियामै अलमल गरेर थन्क्याएर राख्नु राम्रो सन्देश नजाने बताउँछन् । उनले लुम्बिनीको पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील निजी क्षेत्रका सङ्घ संस्थालाई सञ्चालनको जिम्मा दिन आफूले विकास कोषका पदाधिकारीसमक्ष कुरा राखेको समेत बताए । अध्यक्ष पन्तले यी सवारी साधनको विकास कोषले अनुगमन गर्ने गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिँदा यसको सञ्चालन दीर्घकालीन रहने बताउँछन् । ‘जे सुकै होस् तर यति लामो समयसम्म सञ्चालनमा आउन नसक्नु राम्रो होइन’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हो भने यस्ता पर्यटकीय सेवालाई आवश्यक कानुन बनाएर छिटो सञ्चालनमा ल्याउन पर्छ ।’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्ढीराज भट्टराई लुम्बिनीमा आएका बस पर्यटक लक्षित भएकाले पनि सरकारी नम्बर प्लेट बाट हरियो नम्बर प्लेट रुपान्तरण गर्नुपर्ने तर विकास कोषले सङ्घीय पर्यटन मन्त्रालयलाई आवश्यक निर्णयका लागि पत्राचार गरे पनि निर्णयमा ढिलाइ भएको बताउँछन्। ‘सेतो प्लेटबाट हरियो प्लेटमा रुपान्तरण गर्न नियमनकारी निकायले बाटो फुकाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले विकास कोषका तर्फबाट पत्राचार गरेका छौँ, तर सङ्घीय मन्त्रालयबाट ढिला भएकाले प्रदेश सरकारबाट निर्णय गराउने विषयमा पनि छलफल चल्दै छ ।’ उनले गत असोजमा गाडीको परीक्षणका लागि बृहत्तर लुम्बिनी क्षेत्रभित्र बस सञ्चालन गरेर गाडी र सडकको अवस्थाअनुरुप परीक्षण सफल भएको पनि बताए। ‘गाडी, बाटोको अवस्था मुख्य राजमार्गभन्दा कतिभित्र जान सक्छन् सम्पूर्ण अध्ययन गरिसकेका छौँ’, उनले भने, ‘परीक्षणबाट बृहत्तर लुम्बिनीभित्रका बौद्ध परिपथमा यी बस राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था छ ।’ उनले यी सवारी साधनको सञ्चालन ढाँचा कसरी गर्ने भन्ने अझै टुङ्गो लागि नसकेको तर सवारी साधनसँगै चार्जिङ स्टेसनसमेत सञ्चालन गर्ने गरी सञ्चालन ढाँचा तयार गरिने बताउँछन् । उनले भने, ‘पहिले कोषले आफैँ सञ्चालन गर्ने र केही समयपछि व्यावसायिक रुपमा निजी वा साझेदारी कुन मोडल उपयुक्त हुन्छ त्यसतर्फ जान पनि सकिन्छ । रासस ।

काठमाडौंवासीलाई गिज्याइरहेको वागमती (फोटो फिचर)

काठमाडौंको बल्खुस्थित वागमती नदिमा छाडा गाई गोरु । काठमाडौं । वागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त वागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर । वागमती नदीको सभ्यता धेरै गर्विलो छ । वागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । कुलेश्वर छेउको वागमती र सुकुम्बासी बस्ती । पछिल्लो समय वागमती सरसफाई अभियानसँगै वागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण वागमती नदी स्वच्छ, सफा र सुन्दर वागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर काठमाडौंवासी नै वागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन् । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदिमा मिसाइएको नाली । काठमाडौं उपत्यकाभित्र त वागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो वागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले वागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ । ललितपुर देविचौर र काठमाडौंको छैमले बीचबाट बगेको वागमती नदि र फोहोरका कारण निस्केको फिज । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।

नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसाय लक्षित अरबौं लगानी थपिँदै

नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगञ्ज ‘होटल हव’को रुपमा विकास हुँदैछ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो । व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना ठूला होटलमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । साना होटलसँगै जिल्लामा ठूलो लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ । लुम्बिनी प्रदेशमा तीन होटलले पाँचतारेको मान्यता पाउँदा बाँकेमा दुई वटा पाँचतारे होटल खुलिसकेका छन् । चारतारे दुई, बाँकी तिनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा पदयात्रा सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका व्यवसायी बताउँछन् । होटल बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए। आफूहरूले पनि दुई हजार जना अट्ने नेपालगञ्जकै सबैभन्दा ठूलो हल बनाइसकेको उनले जानकारी दिए । नेपालगञ्ज र कोहलपुर बजारको दृश्यावलोकन गर्न मिल्ने होटलको आठ तलमाथि रुफटप रेस्टुराँ सञ्चालन गरिरहेको उनको भनाइ छ । होटलमा व्यवसायीको लगानी बढे पनि सरकारका तर्फबाट लगानी सुरक्षाको वातावरण नभएको भन्दै उनीहरू चिन्तित छन् । सरकारले पर्यटनतर्फ आकर्षण गर्ने कार्यक्रम घोषणा गरेअनुसारको कुनै गतिविधि नभएकाले पर्यटक बढ्नेमा खासै आशावादी नरहेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाका प्रबन्धक देवानन्द अर्यालले बताए। उनका अनुसार पश्चिममा थुप्रै पर्यटन सम्भावना रहेकाले विकासका लागि सरकारको ध्यान जानुपर्ने देखिन्छ । बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीयस्थलको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न तालतलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्राङ्गारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक घुम्नलायक थुप्रै मनमोहक दृश्य छन् । जसको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । यहाँ बागेश्वरी, जङ्गेश्वर महादेव, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्र रहेको धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए। त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य बताउँछन् । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा करिब डेढ अर्बको लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको यसका सञ्चालकले जानकारी दिएका छन् । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ । अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । रासस ।

स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसमा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । करिब एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचनको चहलपहल बढेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ । आज बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए । उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा रहेको बताए । पिएन क्याम्पसमा १० हजार आठ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार एक सय नौ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् । यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शङ्करदेव क्याम्पसमा छन् । शङ्करदेवमा आठ हजार चार सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन् । शङ्करदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा आठ हजार एक सय ८८, पाटन संयुक्त क्याम्पसमा सात हजार छ सय नौ र पद्मकन्या बहुमुखी क्याम्पसमा पाँच हजार पाँच सय ९२ विद्यार्थी मतदाता छन् । त्रिविको केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् । देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् ।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ । उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो । कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवम् लिड क्याल्सियम प्रविधिजस्ता  विशेषता यस ब्याट्रीमा छ । ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ । ‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’