विकासन्युज

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेका छन् । रासस

सगरमाथा जलविद्युतले चैत ८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला १६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९० हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार १ सय ९० रुपैयाँ रहेकाे जनाएकाे छ । यस्तै, आज चाँदीको भाउ ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम भएको छ।

सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ जर्सलाई जागिरबाट हटायो

काठमाडौं । सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जागिरबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई जागिरबाट हटाएको अस्पतालले सूचनामार्फत जनाएको छ । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि अस्पतालले उनीहरुलाई सेवाबाट हटाएको सूचनामा उल्लेख गरिएको छ ।

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बालेन पुगे बेलायत

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत गएका छन् । सम्मेलनमा भाग लिन मंगलबार उनी बेलायत गएका हुन् । उनीसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह गएका छन् । मेयर बालेन चैत ५ गते स्वदेश फर्कने छन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । मंगलबार देखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै साझेदार सहरबाट प्राविधिक शत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्ने जनाइएको छ । विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह र पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने जनाइएको छ ।

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तुलसीपुरको सेन्टर माध्यमिक विद्यालयले तरकारी बेचेरै कमाउँछ महिनामा डेढ लाख

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले एक लाख ५७ हजार आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए। यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो । उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । दुई करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा पाँच हजार पाँच सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ ।

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’ अगाडि बढाईंदै

बाग्लुङ । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका लागि कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा परियोजना निर्माण गर्न थालिएको छ । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ परियोजना अगाडी बढाइएको छ । खुतुर्केघाटस्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा उक्त परियोजना थालिएको यसको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी)ले बताए । कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकीमा स्नान, ध्यान, योग र तपस्याका लागि जग्गा व्यवस्थापनको काम भइरहेकोे छ । आगामी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र बाँकी पाँच वर्षमा अन्य काम सम्पन्न गर्ने लक्ष्य छ । दुई चरणमा सम्पन्न गरिने सो परियोजनाअन्तर्गत पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम निर्माण गरिने छ । ‘यो मुठ्ठी दानमा सञ्चालन हुनेछ, सरकारी निकायसित पनि बजेट माग्दै छौँँ’, दासले भने । परियोजना सम्पन्न गर्न झण्डै १७ करोडको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए। रासस ।