आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
काठमाडौं । आइएमई एजेन्ट्स मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने भएको छ । आइएमई तथा आइएमई डिजिटल सोलुसनका साझेदार मित्रमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगँ यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने छ । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा कम्पनीले जनाएकाे छ ।
प्राइम बैंकले मनकामना मन्दिरमा बनायो सार्वजनिक शौचालय
काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखा जिल्लामा अवस्थित मनकामनाको मन्दिर परिसरमा सार्वजनिक शौचालय बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय बनाएको हो । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आज मनकामना क्षेत्र विकास समितिलाइ उक्त्त निर्मित शौचालय हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।
ब्याजदर घटाउने प्रयास भइरहेको छ : अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले कुनै समूहले आन्दोलन गरेर ब्याजदर नघट्ने समेत बताए । ब्याजदर निरन्तर घट्ने क्रममा रहेकाले अराजक गतिविध रोक्न आग्रह गरे । ‘पछिल्लो समय बैंकको ब्याजदर उच्च भयो भनेर व्यवसायीहरु सडकमा आन्दोलन गरिरहेका छन्, बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि भएका छन्,’ उनले भने, ‘ब्याजदर घटाउन हामी प्रयास गरिरहेका छौं, आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन, माग र आपूर्तिले निर्धारण गर्छ ।’ उनले घरजग्गाको कारोबारमा कमी आउँदा बैंकको खराब कर्जा बढेको समेत बताए । अधिकांश सूचकहरु सकारात्मक अवस्थामा रहेका बेला बैंकहरु जोखिम अवस्थामा नरहेको उनको भनाइ छ । ‘सूचकहरु सकारात्मक रहेका छन्, नेपालका बैंकहरु जोखिममा छैनन्, घरजग्गाको कारोबार ठप्प हुँदा खराब कर्जा बढ्ने सम्भावना छ,’ उनले भने । विभिन्न कारणले विश्वका अन्य मुलुकमा ब्याजदरमा उच्च वृद्धि भएको उनले बताए । १८ लाख ऋणीको मुख हेरेर ब्याज घटाउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।
विमानस्थल प्रशासनलाई मन्त्री किरातीका १२ प्रश्न
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनलाई विभिन्न प्रश्न गरेका छन् । बिहीबार अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी उनले विभिन्न १२ वटा प्रश्न गर्दै त्यसको उत्तर बोलेर, लेखेर नभएर परिणाममा खोज्ने बताएका छन् । उनले यात्रुको व्यागेज चोरिदेखि शौचालय भित्र बज्ने म्यूजिक बन्दका विषय राखेका छन् । यस्ता छन् उनका प्रश्न –व्यागेज चोरिएको घटनाहरु सत्य हो ? –अराइभलमा यात्रु लड्ने बिधुतिय भ¥याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ? –सरसफाई अभियान के कस्तो चल्दै छ ? –समयमा जहाज उड्दैछ कि छैन ? –ब्रेक बिनाको ट्रली किन्ने प्रकृया के हुदैछ ? –एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ? –ब्रेक बिनाको ट्रली फेर्ने काम कहा पुग्यो ? –शाैचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ? –महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ? –एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ? –एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ? –एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
आइडियाप्रनर नेपालले ल्यायाे मनिमित्र एप, २९९ रुपैयाँमा लगानीकर्तालाई सबै जानकारी
काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित सेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीबार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका आइडियाप्रनर नेपालले निभाउँदै आएको छ । एपमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार एप प्रयोग कर्ताले शुरुवातका दिनहरुमा २९९ रुपैयाँ शुल्क प्रति महिनामा तिरेर प्रयोग गर्न सक्नेछन् । उक्त एप सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सार्वजनिक भएको मणीमित्र एपले धितोपत्र बोर्डको समस्या समेत समाधान गर्न बताए । ‘नेपालका सेयर बजारमा मुल जनसख्याको २० प्रतिशत नागरिक सहभागी छन्, यस एपले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित सेयर लगानीलाई सहयोग गर्नेछ,’ उनले भने । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जोक कोईरालाले मनिमित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचिकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेसक्ने बताए । उनकाे अनुसार एपको प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोग गर्न सकिनेछ । ‘मनिभित्र एपमा रहेको गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी पाउन सकिने छ,’ उनले भने । ‘गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेको छ, नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिनसक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेण्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ,’ उनले थपे । उनले मनिमित्रले मानिसहरुलाई लगानी गर्न सिकाउने, लगानी बढाउने र लगानी गरेको रकमलाई व्यवस्थापन गर्न समेत सिकाउने बताए । मनि मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ प्रदान गर्न सकिन्छ । ब्रोकर चिरफारको फीडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्नेगरी साझा गर्ने व्यवस्था गरिएको छ । ब्रोकर चिरफार अन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकेरले सर्वाधिक खरिद/बिक्री गरेका सेयरको विवरण, ब्रोकरले होल्ड गरेको कम्पनीको विवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ । मनिमित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ ।
तल्लो खारे खोला जलविद्युत आयोजनामा तोडफोड, २५ लाख क्षति
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मे.वा.) को हेडवर्क साइटमा तोडफोड भएको छ । ११ मेगावाटको उक्त आयोजनामा तोडफोड गरी करिब २५ लाख रूपैयाँ बराबर क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले बताएको छ। साथै, कर्मचारीमाथि आक्रमण समेत भएको उल्लेख छ। इप्पानले यो घटनाको भत्र्सना गरेको छ। आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ। घाइते भएका आयोजनाका कर्मचारीको उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इप्पानले स्थानीय प्रशासनसँग माग गरेको छ।
काँग्रेसका महामन्त्रीलाई स्वर्णिमको पत्र : देउवा आरजुको अपमान सहन नसकेर पार्टी छोडें
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, शेखर कोइराला र डा.गाेविन्दराज पोखरेललाई ह्वाट्सएपमा मार्फत पत्र पठाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् । उनले देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको समेत उल्लेख गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए । यस्तो छ पत्र प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं । काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।