बैशाखको पहिलो साता कालीकोटको सुनथरालीलमा परीक्षण उडान हुने
मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थल निर्माणको काम पूरा भएको र वैशाख पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार परीक्षण उडान गर्ने जानकारी आएको छ’, उनले भने, ‘हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।’ परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोडन् र मानिसको आवातजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताए । हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाका तर्फबाट दबाब दिँदै आएका छौँ । विमानस्थल समयमा बनेन’, उनले भने, ‘परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको छु ।’ रासस
२ करोडको अडियो प्रकरण : थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।’
नक्कली विज्ञापन राखी ठग्ने ‘हाम्रो बजार डटकम’ का संचालक पक्राउ
काठमाडौं । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ । उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौ्मा बुझाइएको जानकारी दिए ।
सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट वित्तिय सेवा दिँदै आइरहेको छ ।
करिब २०० आरोहीले लिए सगरमाथा आरोहण अनुमति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् । पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै २८ करोड रोयल्टी जम्मा भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।’ रासस
सम्मानित निजी क्षेत्र बनाउन मेरो उम्मेदवारी : हेमराज ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्नुनै मेरो पहिलो प्राथमिकता रहन्छ,’ वस्तुगत संघका अध्यक्षहरुसँगको छलफल कार्यक्रममा उनले भने, ‘ वस्तुगत संघहरुका साथिहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि म उपाध्यक्ष भएर महासंघमा जाँदैछु ।’ अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आफु निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेबुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’ विशेषगरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरुका लागि सरकारले सहुलियत र पुनर्कर्जा दिनुपर्ने उनको माग थियो । ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ,’ उक्त कार्यक्रममा उनले भने, ‘तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गर्दै आएको छ ।’ अहिलेको मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने उनको माग थियो । यस्तै, अहिले महासंघको विधान अनुसार वस्तुगत संघको क्षेत्राधिकार एकदमै न्यून रहेको भन्दै आफु निर्वाचित भएर गएको खण्डमा तत्काल विधान संसोधन गरी अधिकार र दायरा बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका उनले आफ्ना सम्पूर्ण टीमलाई नै जिताएर पठाउन आग्रह गरेका छन् ।
राजश्व वृद्धि गर्न सके मात्र सामाजिक सुरक्षामा खर्च गर्न सकिन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘सामाजिक सुरक्षा भत्तामा गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको सामाजिक सुरक्षा भत्ता देशको साधन स्रोत बिना सकिन्न,’ उनले भने । मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको बताए । ‘चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था छैन, मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ, यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन सकेन,’ उनले भने । सरकार साधारण खर्च धान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर भएको बताउँदै उनले यस्तो गर्न उपयुक्त नभएको बताए । यस्तै, उनले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् । ‘अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन म लागि रहेको छु, समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ,’ उनले भने । उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।
हामीले सम्भावना र अङ्क गणितका खेल खेल्यौं, अब चुनाव जित्छौ: अञ्जन श्रेष्ठसँग
नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही लक्ष्मी ग्रुपका सञ्चालकमध्येका एक हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा विगत दुई दशकदेखि संलग्न रहेका श्रेष्ठ चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनले आफ्नो टीम बनाएर प्रचारप्रसार गरिरहेका छन् । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि आफ्नो टिम सशक्त र जुझारु रहेको उनको भनाइ छ । महासंघको चुनावी रणनीति, उनको चुनाव जित्ने आधार र चुनावी एजेण्डा लगायतका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । तपाईंलाई मतदाताले किन भोट दिने ? व्यवसायमा मेरो ३० वर्षको अनुभव छ । ४८ वर्षअघि पारिवारिक पृष्ठभूमिमा ३ सय रुपैयाँबाट व्यवसाय शुरु गरेको हुँ । त्यहि व्यवसायलाई आजको दिनमा प्रतिष्ठित व्यवसायीक समूहका रुपमा चिनाउन सफल भएको छु । मेरो अभिभावकले सुरु गरेको व्यवसायलाई मैले पनि निरन्तरता दिए । पारिवारिक व्यवसायलाई मैले नेतृत्व गरेर यहाँसम्म ल्याएँ । ३० वर्षअघि अभिभावकलाई सघाएको थिएँ । त्यसपछि मैले आफैँ नेतृत्व गर्दै आएको छु । लक्ष्मी समूह उत्पादनमुलक, कृषिजन्य, निर्माण सामाग्री उद्योग, अटोमोबाइल ट्रेडिङ लगायत अन्य ट्रेडिङमा संगलग्न छ । निकट भविष्यमा पर्यटन र जलस्रोतमा पनि लगानी गर्ने योजना रहेको छ । लक्ष्मी समूहले प्रत्यक्ष रुपमा ३२ सय जनालाई रोजगारी दिएको छ । लक्ष्मी समूहका उत्पादन भएका वस्तुहरु ११ वटा मुलुकमा निर्यात भइरहेका छन् । यो समूहलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको छु । व्यवसाय सफलतामा छुट्ट पाट पनि छ । २० वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा एउटा समितिको सदस्य भएर प्रवेश गरेको थिएँ । त्यसपछि निरन्तर रुपमा उद्योग वाणिज्य महासंघसँग संलग्न भएर काम गर्दै आएको छु । उद्योग समिति सदस्य, वाणिज्य समिति सदस्य र रोजगारदाता परिषदमा ९ वर्ष सदस्य भएर काम गरेको छु । अघिल्लो कार्यकालमा उद्योग समितिको सभापति पनि थिए । अहिले २ वर्षदेखि उद्योग वाणिज्य महासंघको वस्तुगत संघको निर्वाचित उपाध्यक्ष छु । यहाँसम्म आउँदा मैले धेरै अनुभव हाँसिल गरेको छु । मेरो संलग्नताले मलाई निखारेको छ । उपाध्यक्षको हैसियतले मैले गरेका कामहरु, मैले देखाएको नेतृत्व क्षमता, मेरो कार्यशैलीप्रति सबै उद्योगी व्यवसायीहरु सकारात्मक छन् । जिल्ला/नगर उद्यमी व्यवसायीहरुसँग लामो समयदेखि भेटघाट तथा छलफल गर्दै आएको छु । जिल्ला/नगर, वस्तुगत, एशोसिएट, द्धिराष्ट्रिय उद्योगी व्यवसायीहरुले तपाईं अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नु भएको छ । अहिले राम्रो माहोल बनेपछि चुनाव जित्छु । तपाईंले चुनाव जित्ने आधारहरु के-के हुन् ? मसँग शसक्त टिम छ । मिल्ने र मिलाउन सक्ने युवा टिम छ । समय परिवर्तनशील छ । अहिलेको समयले जोसजाँगर भएका युवा खोजिरहेको छ । हाम्रो टिममा युवा र अनुभवी छन् । वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अरुण सुमार्गी सशक्त हुनुहुन्छ । उहाँको आफ्नै किसिमको व्यवसायीक पृष्ठभूमि छ । अर्का उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधानसँग पनि लामो समयको व्यवसायीक पृष्ठभूमि छ । उहाँ पनि महासंघकै पूर्वअध्यक्ष महेशलाल प्रधानको छोरा हुनुहुन्छ । संस्थागत लगायत व्यक्तिगत रुपमा उहाँको महासंघमा ठूलो योगदान छ । मनिषजी निर्यात परिषदको सभापति र अरुण सुमार्गी कृषि उद्यम केन्द्रको सभापति हुनुहुन्छ । मजबुत, सशक्त, उर्जावान टिमलाई देशभरिका उद्यमी व्यवसायीको समर्थन छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्धिराष्ट्रिय संघ, एशोसिएट प्रतिष्ठानका उद्यमी व्यवसायीको समर्थनले अघि बढ्न हौशाला र हुटहुटी पैदा भएको छ । एशोसिएट तर्फका उपाध्यक्ष पदका उम्मेदवारले तपाईंको साथ छोड्नु भयो, पछि साझा उम्मेदवार बनाउनुभयो । टीममा पनि आशिंक सदस्यहरु मात्रै छन् । तपाईं एशोसिएटमा कमजोर बन्नुभएको हो ? चुनाव भनेको सम्भावना र अङ्क गणितको खेल हो । अङ्क गणित र सम्भावनाका केही खेल भएर नयाँ परिस्थिति बन्यो । फेरी पनि हामीले सम्भावना र अङ्कगणितका खेल खेल्यौं । अब हामी बलियो बनेका छौं । टीमको सोलो उपाध्यक्ष उम्मेदवार हुँदा तपाईंलाई फाइदा थियो की साझा उम्मेदवार हुँदा फाइदा छ ? आजको दिनमा सम्भावना र अङ्क गणितको कुरा गर्दा म बलियो छु । यो मामिलामा मैले जितेको पनि छु । मैलेभन्दा विश्वास नलाग्न सक्छ तर, रिजल्ट जितेको देखाउनेछ । यसले भोट हाल्छ उसले भोट हाल्दैन भनेर भन्दिन । जुन नयाँ सम्भावना र अङ्क गणितका खेलहरु भएका छन् ती सबैको आधारमा म बलियो बनेको छु । चुनावमा अङ्क गणित, रणनीतिक चाल, चुनावी माहोल विकास, स्थीर रहेका भोट आफ्नो समूहमा ल्याउन तपाईंका कदमहरु के-के हुन् ? चुनावका सबै रणनीति बाहिर खुलस्त भन्न मिल्दैन । चुनावमा चाल्ने कदमहरु सबै प्रयोग भएपछि देखिन्छन् । मेरा स्टेपहरु पनि सबै देखिरहनु भएको छ । मैले उम्मेदवारी घोषणा गर्दा हतारमा गर्याे भनेका थिए । तर, त्यसको पनि छुट्टै उद्देश्य तथा रणनीति थियो । निर्वाचनमा यी सबै कदमहरुका आ-आफ्नो महत्व हुन्छन् । केही न केही उद्देश्य पुरा गर्न ती कदमहरु चालिएका हुन्छन् । रणनीतिक रुपमा हामी सशक्त भएर अघि बढेका छौं । अञ्जन श्रेष्ठले चुनाव जित्ने माहोल कहिले विकास हुन्छ ? प्रत्येक दिन माहोल बन्दै गएको छ । प्रत्येक स्टेपसँगै माहोल बढिरहेको छ । चुनाव जित्ने माहोल बनिसकेको छ । मैले अवश्य चनाव जित्छु । वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवार हुनुहुन्छ, पहिलो राउण्डमा नतिजा नआउने अनुमान छ । पहिलो राउण्डमै ५१ प्रतिशत ल्याएर जित्नुहुन्छ की दोस्रो राउण्डमा जान्छ ? दोस्रो चरणमा के हुन्छ माहोल ? मैले चुनाव जित्छु भन्नेमा पूर्ण विश्वास छ । त्यो विश्वास टिम र मतदाताले दिएको छ । पहिलो र दोस्रो राउण्ड प्रक्रिया मात्रै हो । चुनाव दुई पटक भएपनि मैले नै चुनाव जित्ने हो । व्यवसायीहरुको हकहितको लागि नेतृत्व चयन गर्दैछौं । नेतृत्व तहमा पुग्नका लागि राजनीतिक आशिर्वाद लिँदा राजनीतिक एजेण्डालाई अघि बढाउनु हुन्छ की व्यवसायीक एजेण्डा ? उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायीक संस्था हो । निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन, व्यवसायीक वातावरण बनाउन, व्यवसायलाई प्रवर्द्धन तथा सम्वर्द्धन गर्न हामीहरु एकजुट भएका हौं । हाम्रो उद्देश्य योभन्दा अरु केही छैन । यी सबै काम गर्न सबै राजनीतिक दलहरुसँग सम्बन्ध बनाउनु पर्ने हुन्छ । साथै, राज्यका तह-तप्कासँग पनि सम्बन्ध कायम राख्नुपर्छ । त्यसैले राजनीतिक दलसँग भेट गरेर सम्बन्ध विकास गर्नु स्वभाविक हो । महासंघमा कुनै पनि राजनीतिक गतिविधि हुँदैनन् । बजारमा हल्ला अनेकन आउँछन् । तर, हल्लाका पछि लागेर हुँदैन । महासंघमा कुनै राजनीति हुँदैन । यहि नै वास्तविकता हो । अर्थतन्त्र समस्याग्रस्त छ । उद्योगी व्यवसायीहरु तनावमा छन् । यो समस्या समाधान गर्न तपाईंको भूमिका के रहन्छ ? लगानी गर्नका लागि पूँजी प्रयाप्त छैन । पूर्वाधारको समस्या छ । नीतिगत व्यवस्था अस्पष्ट छन् । तरलता अभाव र ब्याजदरको समस्या तत्काल समाधान गर्नुपर्नेछ । ब्याजदर घट्नै पर्नेछ । चुनावी प्रचारका लागि देशभरी दौडाह गर्दा पसल-पसलमा गएर व्यवसायीहरुसँग बसेर छलफल तथा कुराकानी गरेको छु । उनीहरुका पीडालाई मैले पनि महशुस गरेको छु । ब्याजदर उच्च हुँदा व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको छ । १ सय रुपैयाँको ब्यापार गर्नेको आज २०÷३० रुपैयाँमा झरेको छ । व्यवसाय निरन्तर घटिरहेको छ तर लागत बढिरहेको छ । कोरोना महामारी पश्चात् लजिस्टीक लागत बढ्यो । रुस र यूक्रेनको युद्धका कारण मूल्य वृद्धि उच्च भयो । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्यो । लागत बढ्ने तर, व्यापार घट्ने भएपछि ब्याज तथा साँवा तिर्न नसक्ने अवस्था छ । कर तिर्न सक्ने अवस्था छैन । त्यसैले सरकारले ब्याजदर घटाएर तरलता सहज गराउनुपर्छ । जसले गर्दा बजार चलायमान हुन्छ । ब्याजदर घटेपछि व्यवसाय आफै बढ्छ । त्यसपछि ऋण र ब्याज तिर्न सक्ने वातावरण बन्छ । हाम्रो देशको अर्थतन्त्रको आकार बढ्न सकेको छैन । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि १४ अर्बको बजेट थियो । अहिले १७ खर्बको पुगेको छ । रिफर्म हुन सकेको छैन । लगानीको आकार बढेको छैन । तथ्याङ्क विभागका अनुसार समग्र अर्थतन्त्र समस्या छ । २९ प्रतिशत व्यक्तिहरु अझै सक्रिय अर्थतन्त्रमा सहभागी भएका छैनन् । यो तथ्याङ्कले पनि हाम्रो अर्थतन्त्र सानो भएको देखाउँछ । हामीले तत्काल पूँजीको व्यवस्थापन गरेर अर्थतन्त्रको आकार बढाउनु पर्नेछ । सर्वसाधारणको आम्दानी बढाउनु पर्नेछ । यी सबै काम गर्नका लागि जोड दिन्छौं । सरकार र निजी क्षेत्रले समन्वय गरेर पूँजी ल्याउनु पर्नेछ । बचतबाट मात्रै पूँजी निर्माण हुने सम्भावना छैन । भारतमा ६० किलोमिटर प्रतिघण्टा पूर्वाधार निर्माण हुन्छ । तर, नेपालमा २३ किलोमिटर मात्रै प्रतिघण्टा पुर्वाधार निर्माण भएको देखिन्छ । जसले गर्दा लागत बढेको देखिन्छ । भन्सारमा सामान छुटाउन वर्ष दिन कुर्नुपर्छ । हाम्रो बिजुली गुणस्तरीय छैन । आवश्यकता अनुसार पाइँदैन । नीति नियमहरु पनि धेरै पुराना छन् । केही नीति नियम परिवर्तन भएपनि निजी क्षेत्रलाई दोहन गर्ने र कारवाही मात्रै गर्ने काम भएका छन् । सरकारको प्रक्षेपण स्पष्ट छैन । नीति बनाउनेले एउटा सोचले बनाएको हुन्छ भने कार्यान्वयन गर्ने पक्षले अर्कै किसिमले परिभाषित गरेका हुन्छन् । २० वर्षदेखि महासंघमा आवद्ध हुनु हुन्छ । महासंघको उपाध्यक्ष भएर काम पनि गर्नु भएको छ । नीतिगत रुपमा महासंघले राम्रोसँग पहल गर्न सकेन । निजी क्षेत्रमैत्री नभएका कानुन संशोधन गर्न महासंघले प्रयाप्त वकालत गर्न सकेन । तपाईं निर्वाचित भएपछि के गर्नुहुन्छ ? महासंघको बलियो भूमिका नभएकोमा तपाईं स्वीकार गर्नुहुन्छ ? म स्वीकार गर्दैन । हामीले गर्नुपर्ने कसुर कुनै पनि बाँकी राखेको छैन । २०४६ सालपछि ३ पटक राजनीतिक परिवर्तन भयो । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि सरकार र हामीसँगै बसेर छलफल गर्यौं । त्यसपछि द्धन्द्धकाल आएपछि तरल राजनीति भयो । संविधान बनाउन १४ वर्ष लाग्यो । ७ वर्षदेखि आर्थिक पाटोले प्रशय पाउँछ भनेर हामी कुरिरहेका छौं । तर, त्यो पनि पुरा हुन सकेको छैन । सरकारसँग बहस पैरवी गर्नुपर्ने, कानुन संशोधन गर्नुपर्ने सबै काम गरेका छौं । भिजन डकुमेन्ट कागजमा मात्रै बनाएको होइन । भिजन डकुमेन्टको महत्व कसैले बुझ्न सकेको छैन । प्रत्येक १० वर्षमा कुनै पनि मुलुकको अर्थतन्त्र माथि गएर तल झर्छ भनेर अर्थशास्त्रीहरु भन्नु हुन्छ । एउटै नीतिले सधैंभरि काम गर्न सक्दैन । समय समयमा नीतिगत परिवर्तन भइरहनुपर्छ । रिफर्मका लागि भिजन डकुमेन्ट बनाएको हो । हिजोका दिनमा कुनै ऐन संशोधन गर्दा तपाईंहरुको सुझाव दिनुहोस् भनेर चिठी आउँथ्यो । तर, अहिले त्यो वातावरण छैन । उल्टै यो – यो ऐन संशोधन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं । यदि ती व्यवस्था परिवर्तन गरियो भने १ सय खर्बको अर्थतन्त्र बन्छ । २२ लाखलाई रोजगारी दिन सकिन्छ । ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिन्छ । उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर भिजन पेपरमा बनाएको हो । तर, सरकारले स्वामित्व लिएन नी । त्यो डकुमेन्टलाई कार्यान्वयनमा लैजाने शिलशिलामा महासंघको भूमिका कमजोर रह्यो नी ? सरकार चाँडो चाँडो परिवर्तन भइरहेको छ । प्रशासनिक संयन्त्र अन्यौलमा छ । हामीले सरकारसँग एमओयू गर्याै । गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालय नेतृत्वविहीन बन्यो । यसवर्ष २ महिनाजति अर्थमन्त्रालय नेतृत्वविहीन बन्यो । यस्तो परिस्थितिमा कसरी काम हुन्छ ? सरकारले खर्च गर्न सक्दैन । यो ऐनमा यो व्यवस्था गरियो भने खर्च बढ्न सक्छ भनेर सुझाव दिएका छौं । हामी निर्णयकर्ता होइनौं । हामीले दबाव मात्रै दिने हो । यदि तपाईं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने जिल्लागत, वस्तुगत र एशोसिएटका व्यवसायीहरुका लागि गर्ने मुख्य कामहरु के-के हुन् ? नेपाल उद्योग वाणिज्य महासंघको प्रभावकारिता बढाउनु पर्नेछ । महासंघको भूमिका र प्रभाकारीतामा ब्यापकता कायम गर्नु पर्नेछ । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सुन्ने दृष्टिकोणमा एकरुपता कायम गर्नु पर्नेछ । साथै निजी क्षेत्रको मर्यादा र सम्मानका लागि काम गर्छु । हाम्रो सदस्य संस्थाहरुको क्षमता वृद्धि गर्नु पर्नेछ । जिल्ला, वस्तुगत, एशोसिएट, प्रदेश उद्योग वाणिज्य संघको क्षमता वृद्धि गर्नु पर्नेछ । उनीहरुको लागि स्रोतको व्यवस्थापन गर्नु पर्नेछ । विधान संशोधनको विषय सबै क्षेत्रबाट उठेको छ । समय सापेक्ष विधान परिवर्तन गर्नु पर्नेछ । प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरी विधान संशोधन गर्नु पर्नेछ । म निर्वाचित भएपछि प्रत्यक्ष रुपमा सम्पूर्ण सदस्यहरुले अध्यक्ष पदमा भोट हाल्न पाउनु हुन्छ । समय सापेक्ष सबै संघ संस्थाहरुलाई संगठनात्मक रुपमा मजबुत बनाउने छु । वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघको संठनलाई बलियो बनाउनु पर्नेछ । ७५३ स्थानीय तहमा गठन भएका उद्योग वाणिज्य संघका इकाइहरुलाई व्यवस्थापन बनाउने छु ।