विकासन्युज

८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुनको तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

खराब मौसमका कारण उडान प्रभावित

फाइल फाेटाे काठमाडौं । खराब मौसमका कारण विभिन्न विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । आईतबार बिहानैदेखि मौसम खराब हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्य विमानस्थलमा उडान तथा अवतरण भएतापनि उक्त विमानस्थलको भिजिविलिटी नहुँदा उडानहरु प्रभावित भएका हुन् ।

फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा

पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् । यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक १० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो । कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ । जग्गा छनोटमा तीन वर्षसम्म सङ्घर्ष गरेको कुश्माले विसं २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीबाट पाँच सय मिटर तल जङ्गलभित्रको खाली जग्गा फेला पारेको थियो । बत्तीस रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य चार व्यक्तिसँग भाडामा लिएर फोहर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र सेक्रेट नेपालसँगको साझेदारीमा पाँचवर्षे सम्झौता गरी फोहरको व्यवस्थापन भइरहेको छ । नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहर सङ्कलन गरी व्यवस्थापन सुरु गरेको छ । केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको थियो । त्यसरी फालेको फोहर सिधैँ कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको जनाउँदै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेपछि जग्गा भाडामै लिएर व्यवस्थापन गरिँदै आइएको थियो । यसपछि आम्दानीसमेत हुन थालेको नगरपालिकाले जनाएको छ । कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ । सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ । अहिले सेक्रेटले फोहर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ । व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी भइरहेको छ । आवश्यक मात्रामा जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए । फोहर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ । फोहर व्यवस्थापन कार्यक्रम सुरु भएपछि कुश्माबजार सफा र चिटिक्क देखिएको छ । नगरभित्रका विभिन्न होटल व्यवसाय तथा स–साना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा जिल्लाको फलेवास नगरपालिकालाई समस्या देखिएको छ । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लाष्टिकजन्य फोहर जलाउने गरेको भए पनि सिसाजन्य फोहर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्युत तिवारीले बताए । मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगरभित्र वातावरणीय प्रदूषण बढ्दो छ । फलेवासले गत वर्ष सिसाजन्य फोहर सङ्कलन गरी खाडल खनेर दबाएको जनाएको छ । तर उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालु वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन । पर्वतको जलजला र पैंयु गाउँपालिकाले पनि फोहर वर्गीकरण गरेर सङ्कलन तथा व्यवस्थापन गर्न थालेका छन् । मोदी गाउँपालिकाले फोहर व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गमा पर्ने पातीचौर बजार, नजिकै रहेको मोदीखोला र पातीखोला दुर्गन्धित बन्दै गएका छन् । फोहर व्यवस्थापन योजना कार्यान्वयनको चरणमा रहेको मोदीका उपाध्यक्ष विमल लामिछानेले बताए । रासस

राष्ट्र बैंकले स्वीकृति नदिँदा चैतमा वार्षिक साधारण सभा गर्न सकेनौं : नेष्डो समृद्ध लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि चैतमा वार्षिक साधारण सभा गर्न नसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बताएको छ । एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपनि स्वीकृति नपाउँदा चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।

आठाैं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, तीन बजे सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले यसअघि सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले आठौँ पटक आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मन्त्रिपरिषद् विस्तार सँगै नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका नेतो एनपी साउदलाई परराष्ट्र मन्त्रीको रुपमा तीन बजे शपथ ग्रहण गर्ने जनाईएको छ । ५ वटा मन्त्रालय खाली रहेकोमा परराष्ट्र मन्त्रीको मात्र आइतबार सपथ हुनेछ भने बाँकी ४ वटा मन्त्रालय खाली रहेनछन् । गत चैत १७ गते सातौँ पटक मन्त्रिपरिषद् विस्तार पछि प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

आणविक भट्टी बन्द गर्दै जर्मनी आणविक शक्तिबाट बाहिरियो

एजेन्सी । जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने भएको छ र आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेका बेला जर्मनीले आफ्नो आणविक युगको अन्त्य गरेको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न खोजिरहेको थियो । तर सन् २०११ मा जापानमा फुकुशिमा आणविक विपत्तिपछि पूर्व चान्सलर एन्जेला मर्केलले चरणबद्ध रूपमा यसलाई तीव्रता दिएकी हुन् । युक्रेनको चेर्नोबिलजस्ता शीतयुद्धको द्वन्द्व र आणविक विपत्तिको डरले शक्तिशाली आणविक विरोधी आन्दोलन भएको देशमा बहिर्गमनको निर्णय लोकप्रिय हुनेछ । ‘आणविक ऊर्जाको जोखिम अन्ततः अनियन्त्रित छ’, वातावरणमन्त्री स्टेफी लेम्केले भने। उनले यसै हप्ता देशमा जी–७ को बैठकअघि दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए । तर सस्तो ग्याँस आयातलाई अन्त्य गरेको रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण उत्पन्न चुनौती र उत्सर्जनमा छिटो कटौती गर्नुपर्ने आवश्यकताले जर्मनी आणविक ऊर्जाबाट फिर्ता हुन ढिलाइ गर्न स्थानीय विश्लेषकहरूले आह्वान गरेका थिए । आणविक विरोधी आन्दोलनको केन्द्रमा रहेको ग्रीनपीसले बर्लिनको ब्रान्डेनबर्ग गेटमा एक उत्सव पार्टी आयोजना गरेको छ । ‘अन्तमा, आणविक ऊर्जा इतिहासको हो, यो अप्रिल १५ लाई सम्झने दिन बनाऔं’, ग्रीनपीसले भनेको छ । यसैबीच, कन्जरभेटिभ दैनिक एफएजेडले आफ्नो शनिबारको संस्करणमा ‘धन्यवाद, आणविक ऊर्जा’ शीर्षकमा हेडलाइन बनाएको छ र यसलेले वर्षौंदेखि आणविक शक्तिले देशलाई ल्याएको फाइदाहरू सूचीबद्ध गरेको छ ।

प्रभु लाइफले चामुण्डा माईको जात्राका गर्यो सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो । प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ । हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे । विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए । नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ, संयोजक श्रेष्ठले थपे ।

‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन् । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन ।’ राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु । तर भाजपाले सीबीआईलाई मलाई पक्राउ गर्न आदेश दिएको छ भने सीबीआईले पक्कै पनि उनीहरूको निर्देशन पालना गर्नेछ ।’ केजरीवालले ट्वीटरमा भन्नुभएको छन्, ‘केन्द्रीय अनुसन्धान ब्युरो र इन्फोर्समेन्ट डाइरेक्टरेटका अधिकारीहरूविरुद्ध ‘झुटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेको’ आरोपमा उपयुक्त मुद्दा दायर गरिनेछ, हामी सीबीआई र ईडीका अधिकारीहरूविरुद्ध झूटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेकोमा उपयुक्त मुद्दा दायर गर्नेछौं ।’ ‘मलाई सीबीआईले बोलाइएको छ, म पक्कै पनि यसको सम्मान गर्नेछु, मेरो पत्रकार सम्मेलन पनि त्यसैमा केन्द्रित छ’, आम आदमी पार्टी (आप) का अध्यक्षसमेत रहनुभएका केजरीवालले भने । यसअघि पत्रकार सम्मेलनमा केजरीवालले दिल्ली विधानसभामा भ्रष्टाचारविरुद्ध बोलेको दिनदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले बोलाउने लाइनमा आफू रहेको आफूलाई थाहा भएको दाबी गरेका थिए । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मदिरा नीतिको छानबिनमा केन्द्रीय निकायहरूले हामीविरुद्ध अदालतमा झूट बोलिरहेका छन्, पक्राउ परेकाहरूलाई यातना दिइँदैछ, उनीहरूमाथि हामीलाई नेल लगाउन दबाब सिर्जना भइरहेको छ’, उनले भने, ‘सीबीआईले मनीष सिसोदियामाथि रक्सी नीतिको मुद्दामा झुटो आरोप लगाएको छ, झूटो बयान लिन मानिसहरूलाई पिटिएको छ, एजेन्सीहरूले प्रमाणका लागि मानिसहरूलाई यातना दिइरहेका छन्, भ्रष्टाचार उन्मूलनका लागि यो ठूलो नीति थियो ।’ सीबीआईले केजरीवाललाई अप्रिल १६ मा एजेन्सीसमक्ष उपस्थित हुन बोलाएको छ । आम आदमी पार्टी (आप) का नेताहरू पनि केजरीवाललाई सोधपुछका लागि सीबीआईसमक्ष उपस्थित गराइने बताएका छन् । दिल्लीका पूर्व उपमुख्यमन्त्री तथा केजरीवालका प्रमुख सहयोगी मनिष सिसोदिया आबकारी नीति प्रकरणमा अनियमितता गरेको आरोपमा जेलमा छन् । सिसोदियालाई ईडी र सीबीआईले दिल्लीमा आबकारी नीति को निर्माण र कार्यान्वयन मा कथित अनियमितता संग सम्बन्धित एक मामला को जारी अनुसन्धानका क्रममा गिरफ्तार गरेको थियो । सीबीआईले सिसोदियालाई २६ फेब्रुअरीमा गिरफ्तार गरेको थियो । पछि मार्च ९ मा ईडीले तिहाड जेलमा घन्टौंको सोधपुछपछि उनले अवैध धन्धा चलाएको आरोपबारे थप अनुसन्धान चलाइने बताएको थियो ।