आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई हेभी इक्यूपमेन्ट अपरेटर तालिम
काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिम सुरु गरेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखेका छन् । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए । ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ, तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन्,’ उनले भने । तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।
ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो
रुकुम । भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटनाा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरीजन चमार रहेका छन् । सख्त घाइते तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलीब्रिज आज भाँचिएको हो । मृतक र घाइते उक्त पुल निर्माणका कामदार रहेको बताइएको छ ।
सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, विभिन्न सामाजिक कार्य गरी मनायो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकको कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको थियो । यस्तै, बैंकले स्नो याक फाउन्डेशनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गराएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिब १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।
निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने व्यवस्था हटाउनुपर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गरि आएको ऐन प्रस्ताव हटाउनुपर्ने बताएका छन् । बिहीबार रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्कासँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । अख्तियारले निजी क्षेत्र हेर्ने अधिकार संविधानमा समेत नभएको अवस्थामा मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई यस्तो गर्दा लगानीको वातावरण विग्रिने र मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उनको भनाइ छ । निजी क्षेत्र समस्यै समस्याले थलिएको समयमा यस किसिमको व्यवस्था हुँदा व्यवसायि थप हतोत्साहि हुने तर्फ अध्यक्ष ढकालले कानुन मन्त्रीको ध्यानाकर्षण गराए । भेट वार्ताको क्रममा मन्त्री खड्काले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रका व्यवसायीहरु अप्ठेरोमा नपर्ने गरी उक्त विषय संशोधन हुने बताए । महासंघका तर्फबाट राखिएका सुझावलाई ध्यानमा राखी सरकारको तर्फबाट पहल गर्ने उनले प्रतिवद्धता जनाए । महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष्ँ निरक के।सी। लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।
गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको हाे । लक्ष्मीपुर-४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । धन्छुवारको नयाँ नदीमा पुल/कलभर्ट निर्माण कार्य बीचमै अलपत्र पारेको, भए/गरेको कार्यसमेत न्यून गुणस्तरको सामग्री प्रयोग गरिएको, सोही पुल/कल्भर्ट अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना बेकम्मा भई संरचना पूर्ण गर्न नसकिने अवस्थामा भुक्तानी दिएकोलगायत विषय अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
टेलिकमले विद्युत प्राधिकरणलाई स्मार्ट मिटरमा प्रयोग गर्न डेढ लाख सिम दिने
काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच आज (२०८० बैशाख ७ गते) एक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरे । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।
नेप्सेमा एशियन लाइफको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५६९.५९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
काठमाडौं । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौंमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । बैठकले भूउपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृति, राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधिवक्तालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले अजरबैजानको बाकुमा आयोजना हुने एसडिजिएसको संयुक्त कार्यसमूहको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति प्रदान गरेको छ । बैठकले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनय गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणापत्र, २०८० स्वीकृत गरी शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ । सरकारले जिल्ला समन्वय समिति प्यूठानका नाममा दर्ता रहेको साविक विजयनगर गाविस वडा नं २ स्थित दुई आना दुई पैसा र पाँच रोपनी छ आना तीन पैसा एक दाम जग्गा स्वास्थ्य कार्यालय प्यूठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिएको छ । यस्तै बैठकले स्याङ्जाको साविक पुतलीबजार गाविस वडा नं ९ स्थित चार रोपनी एक आना एक पैसा तीन दाम र ११ रोपनी एक आना दुई पैसा दुई दाम सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए । बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति तथा सो आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । नेपाली सेनाका एक महासेनानीलाई सहायकरथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा, एक सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई महासेनानीको सरुवा गरेको छ । सरकारले सुनिगाड जलविद्युत् आयोजनाका लागि बझाङको जयपृथ्वी नगरपालिका–११, सुर्मा गाउँपालिका–१ र तेलकोट गाउँपालिका–१ र २ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव ८४ हेक्टर जग्गा २५ वर्ष तथा माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाका लागि गोरखाको आरुघाट गाउँपालिका–१ र धार्चे गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनभित्रको दुई दशमलव ७५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिएको छ । रासस