७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ
काठमाडौं । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो । महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए । निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।
राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ : डा. वाग्ले
तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् । मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने–’राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।’ राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो । राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उनले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उनले जोड दिए । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गरे । ‘रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ । यसले पराम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ’, उनले भने । युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो । उनले भने,’देशका विकृति विसङ्सङ्गतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ’, उनले भने । तनहुँवासीले गर्ब गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा. वाग्लेले प्रतिवद्धता व्यक्त गरे । रासस
बारा २ को मतगणना पुनः सुरु
काठमाडाैं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।
‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’
काठमाडौं । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध सङ्कलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उनको भनाइ छ । उनका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासङ्घमा लैजाने विषयमा पनि छलफल भएको थियो । ‘गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ’, महासचिव हेमचन्द्र खनालले भने । वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेस प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव एवं जिल्लाका अध्यक्षको सहभागिता रहेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिए । साथै अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिएका थिए । बैठकमा विगतका भएका निर्णयमाथि समीक्षा, आय तथा व्ययको फछ्र्यौट, दूधको मूल्य वृद्धिका कारण परेको असरको समीक्षा, आगामी दिनमा प्रदेशअनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा पनि छलफल भएको थियो । एसोसिएसनको आगामी बिस्तारित बैठक लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ । रासस
१५ दिनभित्र पोलमा रहेको अनावश्यक तार हटाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरले पोलमा छोडिएका अनावश्यक तार हटाउन सेवा प्रदायकहरुलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन निर्देशन दिएको हो । सेवा प्रदायकहरुले १५ दिनभित्र तार नहटाए १६ दिनपछि महानगरको कार्य समूहले आफैँ तार हटाउने र यसबाट हुने असुविधाको जिम्मेवारी हुने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए । ‘हामीले पत्र पठाइसकेका छौँ, १५ दिनको अवधि तोकेर भोलि सार्वजनिक सूचना जारी गर्छौँ, त्यस अवधिमा पनि तार हटाउने काम भएन भने १६ दिन महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्नेछ, यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले लिनुपर्नेछ,’ उनले भने । धेरै पटक सरोकारवाला कार्यालयका अधिकारीसँग बैठक बसेर प्रतिकुल अवस्थालाई अनुकुल बनाउन अनुरोध गर्दा पनि अपेक्षा गरिएको समयमा नतिजा नआएपछि पत्र पठाएको अधिकारीले बताए । ‘दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन्, टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ, यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेको छ, तार धेरै भएपछि पोल लड्न सक्ने र तारमा आगो लागेर दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ,’ उनले भने । महानगरले सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल ९आईएसपीएएन० लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध पनि गरेको छ ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीका अनुसार तोलामा ४ सयले सुनको मूल्य बढेको हो । नेपाली बजारमा बढेको सुनको मूल्य अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजारमा कारोबार भइरहेको छ । साथै चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रहरी र शिक्षकले पाउन छाडे तलब, धरौटी रकमबाट खर्च चलाउँदै सरकार
काठमाडौं । सरकारको आम्दानीभन्दा खर्च बढी हुन थालेसँगै कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् । सरकारले निजामती कर्मचारीहरुका लागि चैत महिनाको सेवा सुविधा भुक्तानी गरेता पनि नेपाल प्रहरीको रोकिएको छ । केही जिल्लामा प्रहरीको सेवासुविधा भुक्तानी भएपनि केही जिल्लामा रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । ‘अन्य कर्मचारीहरुको सेवा सुविधा भुक्तानी भएतापनि नेपाल प्रहरीको रोकिएकाे छ, केही प्राविधिक कारण सेवासुविधा रोकिएको हो, हामी छिटै भुक्तानी गर्ने तयारीमा छौँ’, स्रोतले विकासन्युजलाई भन्यो । धरौटीबाट खर्च गर्दै सरकार सरकारसँग खर्च गर्ने पैसा नभएपछि धरौटीमा राखिएका रकम खर्च हुन थालेको छ । ‘चालु आर्थिक वर्षमा नै सरकारको आम्दानीभन्दा खर्च बढी भएको छ, खर्च धान्नका लागि पछिल्लो समय ठेकेदार तथा म्यानपावर कम्पनीले राखेको धरौटी रकमबाट खर्च गर्नुपरेको छ’, महालेखा स्रोतले भन्यो । तर महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनाल कर्मचारीका लागि तलब खुवाउनै नसक्ने अवस्था नआएको दाबी गर्छन् । ‘हामीले विभिन्न कोषको रकम खर्च गरेर भएपनि कर्मचारीको तलव सुविधा भुक्तानी गरेका छौँ, केही प्राविधिक कारण तलब रोकिएको होला, तर सरकारसँग पैसा नै नभएर रोकिएको भन्नु गलत हो’, उनले भने । उनले नयाँ भर्ना भएका नेपाल प्रहरीका केही कर्मचारीको तलब रोकिए पनि अन्य कर्मचारीको नियमित रुपमा भुक्तानी भैरहेको बताए । ‘पछिल्लो समय नयाँ भर्ना भएका नेपाल प्रहरीका केहीको तलब रोकिएको हो, गृह मन्त्रालयबाट निर्णय गरेर उक्त समस्या समाधानको प्रयास भैरहेको छ, अन्यको रोकिएको छैन्’, उनले भने । यस्तै, सरकारले शिक्षकलाई दिदैँ आएको बिरामी बिदा तथा औषधि उपचार खर्च समेत रोकिएको छ । चैत महिनामा भुक्तानी हुनुपर्ने उक्त रकम रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले शिक्षक कर्मचारीको सेवा सुविधा तथा औैषधि र उपचार खर्च तीन/तीन महिनामा भुक्तानी दिदैँ आएको छ । चैत महिनामा आउनुपर्ने सेवासुविधा आएपनि उक्त खर्च बापतको पैसा नआएको लेखापालहरु बताउँछन् । बजेट नपुगेपछि २२ हजारभन्दा बढी शिक्षकको पेन्सन रोकिएको छ । अर्थले दिएको बजेट अपुग भएपछि पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । मासिक रुपमा साढे ५ अर्ब बजेट आवश्यक पर्नेमा रकम अपुग भएपछि मुख्य शहरका पूर्व शिक्षक कर्मचारीको पेन्सन रोकिएको कार्यालयका प्रमुख बिष्णुप्रसाद खरेलले जानकारी दिए । चालु आर्थिक वर्षको बजेट बनाउँदा पुरानै स्केलमा बनाईएको र पेन्सन बढ्दा अपुग भएको उनको भनाइ छ । उनका अनुसार हाल ५० हजार पूर्व शिक्षकले पेन्सन पाउँदै आएका छन् । कर्मचारीको तलब काटेर पुँजीगत खर्च बढाउनुपर्छ महालेखा नियन्त्रकका कर्मचारीहरु भने सबै कर्मचारीको सेवा सुविधा कटौती गरेर भएपनि पुँजीगत खर्च बढाउनुपर्ने बताउँछन् । ‘अहिले कर्मचारीको सेवा सुविधाका लागि मात्र खर्च भएको छ, अन्य कामहरु लगभग ठप्प जस्तै छ, सबै सेवा सुविधा कटौती गरेर निर्माणका काममा जोड दिनुपर्छ,’ स्रोतले भन्यो, ‘मन्त्री, सांसद तथा कर्मचारीको सेवा सुविधा कटौती गरेपछि मात्र विकास निर्माणका कामले गति लिन्छ, काम नै नगरी तलब खाने प्रवृत्तिकाे अन्त्य गर्नुपर्छ ।’
प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट
काठमाडौं । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बैंक र सौभाग्य हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट हुने भएको छ । साथै प्याथोलोजी, एक्स्–रे, युएस्जी, एन्डोस्कोपी, नर्मल बेड, एच्डीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयुरएन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट पाइनेछ । सम्झौता अनुसार सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।