सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए । फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए । यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ । फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् । जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् । तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताए । उनले भने, ‘फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।’ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ । ‘जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उनले भने, ‘जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।’ निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ । इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गरे । उनका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । ‘सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ’, श्रेष्ठले भने । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उनको भनाइ छ । हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ । उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ । आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उनले बताए । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ । उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताए । ‘नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ, नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ’, प्रवक्ता निरौलाले भने । उनले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गरे । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस
आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनिहरुले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतलाई सुझाव दिएका हुन । सोमबार र मङ्गलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए । बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गनुपर्ने बताए । साथै उनले बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह समेत गरे । बैठकमा अर्थमन्त्री डा महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएका थिए । अर्थमन्त्री डा महतले सांसदहरुले राखेका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताएका थिए । जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने उनले प्रतिबद्धता व्यक्त गरे । बैठकमा यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछिको परिणाम, समसामयिक राजनीतिलगायत विषयमा समेत सांसदहरुले आफ्ना धारणा राखेका थिए ।
घट्यो विकासे मन्त्रालयको बजेट सिलिङ, गौरवका आयोजना निर्माण प्रभावित हुने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको सिलिङ घटेको छ । अर्थमन्त्रालयले विकासे मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको हो । यातायातमन्त्री प्रकाश ज्वालाले मंगलबार पत्रकारहरुसँग छलफल गर्दै अर्थ मन्त्रालयबाट ५४ अर्ब रुपैयाँले बजेटको सिलिङ घटेर आएको बताए । उनका अनुसार चालू आर्थिक वर्षका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आवका लागि एक खर्ब १३ अर्बको मात्रै सिलिङ आएको हो । चालू आवको भन्दा पनि कम बजेटको सिलिङ हामीलाई आएको छ, थप बजेट माग्नुपर्ने अवस्थामा घटेर आउँदा योजना अधुरा नै हुन्छन की भन्ने हाम्रो अनुमान हो, उनले भने, थोरै बजेटमा काम गर्न चुनौती छ, योजना अनुसारको काम गर्नसक्ने अवस्था नै भएन, कम बजेट हुँदा नयाँ आयोजना थपिदैन् ।’ बजेट कटौती हुँदा आगामी वर्ष नयाँ विकासका कार्यक्रम र योजनाहरु समेत बजेटमा समावेश गर्न मुस्किल पर्ने देखिएको उनको भनाई छ । उनले भएकै निर्माणलाई प्राथमिकता दिँदै नयाँ कुनै पनि आयोजना नथपिने बताए । मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ घटेर आएसँगै ४० प्रतिशत पुँजीगत खर्च घट्ने बताए । विकासे मन्त्रालयकै बजेट कटौतीहुँदा निर्माण भएका योजनामा समेत असर पर्ने उनको भनाई छ । उनले चालू आवका लागि भौतिक मन्त्रालयको मात्रै १२ अर्बभन्दा बढी फछ्यौट नभएको बताए । ‘हामीले २ महिना अगाडीदेखि अर्थमन्त्रालयमा रकम भुक्तानीका लागि माग गर्दै आएका छौँ, अर्थले बजेट विनियोजन गर्ननसक्दा विभिन्न आयोजनाका १२ अर्बभन्दा बढी रकम बक्यौता छ, समयमा नै बक्यौता भुक्तानी हुन नसक्दा पुँजीगत खर्च कम देखियो, उनले भने ।’ राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेटको सिलिङ तोकेको छ । चालू आवका लागि ल्याईएको बजेटभन्दा पनि कम बजेटको सिलिङ आएपछि अर्थले अधिकांश मन्त्रालयको बजेट सिलिङ घटाएर पठाएको हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । चालू आवमा ल्याईएको बजेटभन्दा आगामी आवका लागि १ खर्ब ५ अर्ब ३९ करोड कमको सिलिङ दिइएको छ । गौरवका आयोजनाको खर्च कटौती अर्थले बजेटको सिलिङ घटाएर पठाउँदा त्यसको असर राष्ट्रिय गौरवका आयोजनामा पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । बजेट सिलिङ कम हुँदा अधिकांश पुँजीगत खर्चहरु कटौती भएका छन् । काठमाडौं–मधेश द्रुतमार्गका लागि २० अर्बको सिलिङ प्राप्त भएको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार नेपाली सेनाले निर्माण गरिरहेको उक्त द्रुतमार्गका लागि थप ५० अर्ब रुपैयाँ माग गरिएको थियो । माग गरिएकोमा आधाभन्दा पनि कम बजेट आउँदा निर्माणमा समस्या देखिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । आगामी आर्थिक वर्षमा मध्यपहाडी राजमार्ग, मदन भण्डारी, हुलाकी र उक्तरदक्षिण करिडोर, पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजना लगायत अधिकांश गौरवका आयोजनाको बजेट कटाैती हुने भएको छ ।
ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराएका हुन । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम सभालाई जानकारी गराएका हुन ।
टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)
काठमाडौं । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ । २०७२ सालको महाभूकम्पले क्षति पुर्याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । आजको फोटो फिचरमा टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।
अब विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने
काठमाडौं । अब काठमाडौं महानगरमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने भएको छ । महानगरले शुक्रबार माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सिप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थीहरु सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको हो । महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गर्दै विद्यालय तहमा ‘शिक्षामा सिप’ कार्यक्रमको घोषणा गरेको छ । विद्यमान शिक्षा प्रणालीमा सुधार गर्ने र सिपमुलक शिक्षाको पाटो थप्ने उद्देश्यले महानगरले माध्यमिक तहमा छोटो अविधिको सिपमुलक तालिम कार्यक्रम समावेश गरेको हो । महानगरका प्रमुख बालेन्द्र साहले डिजिटल माध्यमबाट मंगलबार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको शुरुवात गरेका छन् । पाठ्यपुस्तक र नियमित कक्षासँगै जीवनउपयोगी, सिपमुलक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य कार्यक्रममा राखिएको छ । साथै विद्यार्थीले विद्यालय तहको अध्ययन पुरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको छ । साहका अनुसार इतिहासमा गुरुकुलमा सिकाइने सिपमुलक शिक्षा विदेशी शिक्षाको आगमनसँगै छायाँमा परेकाले अहिले महानगरले त्यसलाई शुरुवात गरेको हो । विद्यार्थीले सिपमुलक शिक्षाको माध्यमबाट श्रमलाई बुझ्ने र श्रमको सम्मान गर्ने संस्कृति सिक्ने महानगरका प्रमुख शाहले बताए । महानगरले ‘शिक्षासँगै सिप’ कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा ५६ वटा माध्यमिक विद्यालयहरुमार्फत शुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षमा अर्थात असार मसान्तसम्म ९० घण्टाको कार्यक्रम सञ्चालन हुने महानगरका शिक्षा अधिकारी सिताराम अधिकारीले बताएका छन् । उनका अनुसार सो कार्यक्रम प्रत्येक शुक्रबार लागु हुने र सो दिन विद्यार्थीहरु पुस्तक झोला बिना नै विद्यालयमा उपस्थिति भएर ‘शिक्षासँगै सिप’ कार्यक्रममा सहभागी हुन्छन् । तालिममा कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला विद्याहरुलाई समावेश गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताएका छन् । विद्यालय शिक्षाकै क्रममा प्रदान गरिने तालिमले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुर्याउने र आफ्नो रुचीको तालिम पश्चात विद्यार्थीले उपयोगी सिपको प्रमाणपत्र समेत प्राप्त गर्ने प्रवक्ता मानन्धरले बताए । खासगरी ‘शिक्षासँगै सिप’ कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन्छन् । विद्यार्थीहरुलाई २० देखि ३० जनासम्मको समूह बनाएर तालिम सञ्चालन गरिन्छ । विद्यालयहरुलाई तालिम सञ्चालन गर्नको लागि महानगरले आफ्नै आन्तरिक स्रोतबाट आवश्यक रकम अनुदान स्वरुप उपलब्ध गराउने महानगरका प्रवक्ता मानन्धनरले बताए । सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको प्रशिक्षक व्यक्तिले विद्यार्थीलाई तालिम प्रदान गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ । काठमाडौं महानगरले शुरुवात गरेको ‘शिक्षासँगै सिप’ तथा ‘किताब रहित शुक्रबार’ कार्यक्रमको शुरुवातबाट शिक्षक र विद्यार्थीहरु उत्साहित भएको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनले विद्यार्थीले ५ दिनसम्म निरन्तर पुस्तक पढ्दा उनीहरुको दिमाख थकित भएको हुने हुँदा शुक्रबार सञ्चालन गरिने ‘किताब रहित शुक्रबार’ कार्यक्रम निकै प्रभावकारी हुने बताए । महानगरकी उपप्रमुख सुनिता डंगोलले परीक्षामा विद्यार्थीले ल्याएको श्रेणीले क्षणिक भएको बताउँदै जीवन उपयोगी सिप सिक्नको लागि महानगरले विद्यालयस्तरमा छोटो अवधिको तालिम सञ्चालन गर्न लागिएको बताइन् । तालिमले शैक्षिक रुपमा मात्रै नभइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । दक्षजनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । अहिले महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
ड्राइभिङ लाइसेन्स १०/१० वर्षमा नवीकरण हुने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएका बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने । हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ ।
नेपाल रेमिट र सहारा ऋण सहकारीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त्त सम्झौता अनुसार विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरे । नेपाल रेमिट इन्टरनेशनलले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ । साथै, देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ । सहारा बचत तथा ऋण सहकारी संस्था ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै आएको छ ।