विकासन्युज

५ सय कित्ता किन्न मिल्ने नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण लगानीकर्ताका लागि आज जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गर्दा बाँकी रहेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, प्राइम कमर्सियल बैंक बन्याे विजेता

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९तिन दिन० सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ । यस्तै, माछापुच्छ्रे बैंकले द्वितिय स्थान हासिल गरेको छ । प्रतियोगितामा उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्ट विकेट किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य बनेका थिए । कार्यक्रममा ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताएका थिए । यस्तै,महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताएका थिए ।

कुमारी बैंकले बाल अस्पताल निर्माणको लागि २५ लाख दिने

काठमाडौं । कुमारी बैंकले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले एक कार्यक्रमकाबीच प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिई प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा निर्माण गरिरहेको बाल अस्पतालको लागि उक्त रकमको सम्झौता भएको बैंकले जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखारहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत बैंकिङ्ग सेव दिइरहेको छ ।

मेटलाइफले बीमा शुल्क भुक्तानी संकलनको लागि सुरु गर्यो ई-म्यान्डेट सेवा

काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगकाे सहकार्यमा बीमा शुल्क भुक्तानीका लागि सहकार्य गरेकाे छ । कम्पनीले डिजिटल स्ट्याण्डिङ इन्स्ट्रक्सन( ई-म्यान्डेट) सुविधालाई नेपाल क्लियरिङ हाउसकाे राष्ट्रिय भुक्तानी इन्टरफेससँग एकिकृत गरी आफ्नाे प्रणाली सक्षम पार्न उक्त सहकार्य गरेकाे हाे । यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमै पहिलो पटक प्रचलनमा ल्याएको जनाएकाे छ । यस व्यवस्थासँगै मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई-म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ । ई-म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।

नेपाल–चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ को तयारी तिव्र

काठमाडौं । असार ८ र ९ गते पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब्र रुपमा भएको छ । बिहीबार नेपाल पर्यटन बोर्ड पत्रकार सम्मेलन गर्दै आयोजकले फेस्टिभलको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिए । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा हुन लागेको हो । नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने चिनियाँ दुतावास, काठमाडाैंकाे डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले बताए । ‘यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको छ, नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एशिया मै पहिलो हो, यो फेस्टिभलमा एशियन गेममा समेत सहभागी गराइने खेल रहेको छ,’ उनले भने । यस्तै, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । ‘यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै । यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ, यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ,’ उनले भने । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको उनले बताए । यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उनले जानकारी दिए । नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सेबोन र नेप्सेबीच द्वन्द्वको मारमा ब्रोकर कम्पनी, लाइसेन्स पाए तर कारोबार गर्न पाएनन्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर कम्पनीहरुलाई धमाधम इजाजत पत्र प्रदान गरिरहेको छ । सेबोनले जेठ ८ गते ७ वटा कम्पनीलाई र जेठ २२ गते ११ वटा कम्पनीलाई गरी १८ वटा कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स दिएको हो । धितोपत्र बोर्डले पहिलो चरणमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टि विजार्ड कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल (ब्रोकर)को अनुमति दिएको थियो । बोर्डबाट अनुमति पाएको तीन सातासम्म यी कम्पनीहरुले सेयर किनबेचको काम गर्न पाएका छैनन् । यस्तै, दोस्रो चरणमा बोर्डले एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, के.वि.एल. सेक्यूरिटिज, कलश स्टक मार्केट, मेघा स्टक मार्केट्स र नबिल सेक्युरिटिजलाई लाइसेन्स प्रदान गरेको हो । बोर्डबाट गत जेठ ८ गते अनुमति पाएका यी कम्पनीले जेठ ९ गते नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सदस्यताका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निवेदन पेश गरेका थिए । तर, नेप्सेले ३ सातासम्म नयाँ सेयर ब्रोकरको लागि टिएमएसमा पहुँच नदिँदा व्यवसायिक कारोबार हुन नसकेको व्यवसायीहरु बताउँछन् । सेवोन र नेप्सेका उच्च अधिकारीहरुबीचको द्वन्द्व र स्वार्थ समूहहरुको प्रभावका कारण नेप्सेले नयाँ कम्पनीहरुलाई कारोबार पहुँच दिन ढिलासुस्ती गरिरहेको जानकारहरु बताउँछन् । सेबोनले नयाँ स्टक एक्स्चेञ्जलाई लाइसेन्स दिने प्रक्रिया थालेपछि नेप्से र सेबोनबीच सम्बन्धमा दरार आएको थियो । पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स प्रक्रिया भने स्थगित भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरलाई लाइसेन्स दिँदा अपनाएको विधि र प्रक्रियाहरु नेप्सेले पुरै दोहोर्याएकोले पनि समस्या सिर्जना भएको व्यवसायीहरुको गुनासो छ । लगानीकर्ताको तीन पुस्ते विवरण लिने, कालोसूचिमा नपरको प्रमाण पुनः माग्ने, कर चुक्ता प्रमाणपत्र देखि लगानीकर्ताहरुको आयको स्रोतको वितरण माग गर्ने, कम्पनीहरुको पूर्वाधार अवलोकन गर्ने, जनशक्तिको वितवरण माग गर्ने लगायत नेपाल धितोपत्र बोर्डले सम्पन्न गरेका काममा नेप्सेले पुन हात हालेकोले प्रक्रिया लम्बिदै गएको उनीहरुको भनाई छ । कम्पनीहरुले नियम अनुसारको शुल्कसहित नेप्सेमा निवेदन बुझाउने काम भैरहेको र उनीहरुको निवेदन उपर काम कारवाही भैरहेको नेप्सेका अधिकारीहरुले बताएका छन् । ‘नेप्सेले पूर्वाधार तयार पार्नका लागि समय दिएको छ । नयाँ ब्रोकर कम्पनीले पूर्वाधारको काम जति छिटो सम्पन्न गर्यो त्यति नै छिटो कारोबार गर्न पनि पाउनेछन्,’ नेप्सेका एक कर्मचारीले भने । धितोपत्र बोर्डबाट नियमावली बमोजिम लाइसेन्स वितरण प्रक्रिया सम्पन्न भएपनि नेप्सेले टेक्लिनकल पार्टहरु निरीक्षण गर्नु पर्ने उनको भनाई छ । विगतमा ब्रोकर लाइसेन्स वितरण गर्दा नेप्से स्वयमले प्रक्रिया अघि बढाउने गरेको थियो । तर, यस पटक नेप्सेको अधिकार खोसेर सेबोनले लाइसेन्स वितरण गरेको हुँदा नेप्सेले पुनः आफ्नो भूमिका खेल्न खोजेको हुन सक्ने एलिट स्टक हाउसका लगानीकर्ता दिनेश आचार्यले बताउँछन् । सेबोनले अनुमति दिइसकेपछि नेप्सेले कारोबार गर्ने प्रक्रिया मात्रै मिलाउनु पर्ने आचार्य बताउँछन् । ‘नेप्सेले पूर्वाधार निरीक्षण गरेर सदस्यता दिने भनिरहेको छ, धितोपत्र बोर्डले निरीक्षण गरेको हुँदा नेप्सेले गर्न जरुरी छैन, सबैले आफ्नो भूमिका खोजिरहेका छन्, सबै काममा म पनि संलग्न हुनुपर्छ भन्ने सोच राखेका छन्,’ उनले भने, ‘यसले व्यवसायीको लागत बढाउने मात्र हो, समय लम्बिने मात्र हो, फाइदा कसैलाई पनि छैन ।’ धितोपत्र बोर्डको कानुनी प्रक्रिया पुर्याएर लाइसेन्स दिए जस्तै नेप्सेले टेक्निकल प्रक्रिया गर्न लागेकोले केही समय ढिला भएको हुन सक्ने क्यापिटल म्याक्स सेक्युरिटिजका लगानीकर्ता अतित लाल श्रेष्ठ बताउँछन् । नयाँ ब्रोकरहरुले कारोबार थाल्न अझै १५/२० दिन लाग्न सक्ने उनको अनुमान छ । ‘सरकारी काम कस्तो हुन्छ भन्ने सबैले देखेकै छन्, तैपनि उहाँहरुले गरिरहनु भएको छ, सरकारी संस्था धितोपत्र बोर्ड जस्तै प्रभावकारी ढंगबाट नेप्सेले काम गर्न सकेको छैन,’ उनले भने । उनका अनुसार सर्भर राख्न समय लाग्छ । सर्भर जडान गरेपछि डाटाहरु राखेको मिल्यो कि मिलेन भनेर हेर्नुपर्छ । ग्राहकहरुको गुनासो नआउने गरी काम भइरहेको उनले बताए । डेमो टेस्टिङ गरेर सबै तयार भएपछि मात्रै कारोबार खुला गर्दा समस्या नहुने उनले बताए । सन सेक्युरिटिजका लगानीकर्ता कृष्ण गिरीले नेप्सेको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेका कारण निणर्य हुन नसकेको आफूले सुनेको बताए । ‘कर्मचारीले नै टेक्निकल विषय निरीक्षण गर्ने हो, सञ्चालक समितिले स्वीकृत मात्रै दिने हो, नेप्सेले सदस्यता दिँदैन भन्न मिल्दैन तर समय लगाउन सक्छ,’ उनले भने । नेप्से स्रोतका अनुसार अध्यक्ष नभएर सदस्यता वितरण प्रक्रिया रोकिएको होइन । ‘सदस्यता दिँदा सञ्चालक समितिले पास गरिदिनुपर्छ, सञ्चालक समितिमा पुग्ने गरी उनीहरुले प्रमाणहरु दिन सकेका छैनन्, ब्रोकर कम्पनीहरुले नै प्रमाणहरु ल्याउन सकेका छैनन्, सात वटै कम्पनीले पेश गरेको कुमेन्ट पुरा आएको छैन,’ उनले भने, ‘बाँकी कागजपत्र ल्याएर आउनु भनेर लेखेर पठाएका छौं, उनीहरुले त्यो डकुमेन्ट ल्याउने क्रममा छन्, यदि नेप्सेले प्रक्रिया रोकेको छ भनेर आरोप लगाएका छन् भने के प्रक्रिया रोकेको छ भनेर म आफैं सोध्छु ।’ स्रोतका अनुसार ब्रोकर कम्पनीहरुले टेक्निकल विषयसँग सम्बन्धित कागजहरु र सर्भर, फायरप्रुफवाल, कनेक्टिभिटी, इन्टरनेटदेखि सबै कुराहरु निर्माण गरेका छैनन् । नेप्सेले दिएको चिठी अनुसार उनीहरुले पूर्वाधार तयार गर्नु पर्ने उनले बताए । ‘उहाँहरुले भटाभट डकुमेन्ट ल्याउनु भयो भने हामी नि छिट्टै एलओई दिन्छौ, त्यसपछि पूर्वाधार तयार गर्नु भयो भने सदस्यता दिन्छौं, सेबोनले जसरी काम गरेको थियो, त्यसरी नै नेप्सेले काम गरेको छ,’ उनले भने, ‘सेबोनले लाइसेन्स दिएपछि हामीले कार्यान्वयन गर्नुपर्छ, ब्रोकर लाइसेन्स दिनु बजारको माग नै हो, नियामकले दिइसकेपछि हामीले रोक्ने अधिकार छैन ।’

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशिलता जस्ता बुँदाहरुलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ । ग्लोबल आइएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजिमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।