विकासन्युज

अर्थतन्त्रमा भएको नोक्सानीको अपेक्षकृत रिकभरी हुन सकेन : ज्योत्सना श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले कोभिड महामारीबाट भएको नोक्सानीको अपेक्षकृत रिकभरी हुन नसकेको बताएकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औं सम्मेलनलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । श्रेष्ठले पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण नेपालको आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको बताइन् । यद्यपी, विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उनले बताइन् । सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उनको भनाइ छ । १७६ भन्दा बढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ । सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल,नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहेका छन् ।

पुराना ब्रोकर व्यवसायीको गुमराहमा परी लाइसेन्स प्रक्रिया रोक्यो

काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको हुँदा तत्काल खारेज गर्न नयाँ स्टक ब्रोकर एशोसिएसनले माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वाेच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ ब्रोकर व्यवसायीहरुले लगाएका हुन् । सर्वोच्च अदालतले गत चैत २६ को फैसलापछि नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ कम्पनीलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन ३ वटा चरणमा आशयपत्र जारी पूर्वाधार तयार भएका १८ वटा नयाँ ब्रोकर कम्पनीलाई दुई चरणबाट लाइसेन्स प्रदान गरेको छ । जसमध्ये ७ वटा ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट पूर्वाधार तयारी गरी जानकारी गराउने आशयपत्र समेत प्राप्त गरिसकेको नयाँ ब्रोकर एशोसिएसनका संयोजक सागर ढकालले बताए । उनका अनुसार कर्मचारीहरु भर्ना गरी कार्यालय समेत सञ्चालन गर्ने व्यवस्था मिलाइसकेका छन् । तर, हठात रुपमा अविश्वसनीय ढंगबाट सर्वाेच्च अदालत र प्रतिनिधि सभा नियमावलीभन्दा बाहिर गएर निर्देशन दिएको उनले बताए । करिब आधा करोड लगानीकर्ताको आशा र विश्वासविपरीत पुँजीबजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले अर्थ समितिबाट नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजी बजारमा भएको प्रगतिलाई रोक्ने पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न उनीहरुले माग गरेका हुन् ।

सनराइज बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरेको थियो । सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए । त्यसै गरी, सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेष्ठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए । हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयहरुमा विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ ।

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शङ्कराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुन ः निर्माण गर्नुपर्ने भएको उनले सुनाए । विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ । रासस

घरजग्गा व्यवसाय सहज भएपछि बैंकर हौसिए, सबै कर्मचारी रिकभरीमा खटिए

काठमाडौं । चालू आर्थिक वर्ष अन्त्यमा आइपुग्दा बैंकरहरु ऋण असुलीमा सक्रिय भएका छन् । चालू वर्षको विगत महिना बैंकिङ्ग क्षेत्रका लागि खासै उत्साहजनक नभएपनि असार मसान्तमा भने राम्रो गर्ने तयारीमा बैंकरहरु जुटेका हुन् । विगतमा बैंकिङ्ग क्षेत्रमा विभिन्न गतिविधिले गर्दा खासै उत्साहजनक हुन सकेको थिएन । तर, पछिल्लो समय ब्यापार व्यवसाय बढ्न थालेपछि भने मनोबल पनि बढेको बैंकरहरुको भनाइ छ । साथै, यतिबेला बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापकहरुले कर्मचारीको विभाग नै परिवर्तन गरेर रिकभरीमा जोड दिइरहेका छन् । पहिला निक्षेप संकलनमा खटिएका कर्मचारीलाई अहिले कर्जा प्रवाहमा जोड दिएको बैंकरहरुको भनाइ छ । एक बैंकरका अनुसार अहिले पनि बैंकिङ्ग क्षेत्र सुस्तरी चलिरहेको छ । उनका अनुसार तरलता र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज भएसँगै बैंकरहरुको मनोबल पनि बढेको छ । तर, ग्राहकहरुको मनोबलमा भने खासै उत्साह नछाएको उनको भनाइ छ । ‘बैंकिङ्ग क्षेत्र सुस्तरी चलिरहेको छ, कर्जा प्रवाह उत्साहजन भएको छैन, अहिले बैंकरहरु रिकभरीमा नै लागेका छन्, रिकभरीका योजना बनाइरहेका छन्,’ उनले भने, ‘तरलता र सीडी रेसियो सहज भएकाले पहिला जस्तो सकस छैन तर, ग्राहकरुको मनोबल नबढेको हुँदा कर्जाको माग आएको छैन ।’ बैंकरहरुले रिकभरीमा जोड दिएको भएपनि विगत जस्तै रहेको उनको भनाइ छ । तर, पछिल्लो समय केही ठाउँमा कित्ताकाट खुलेका कारण रिकभरीमा केही सहज हुने उनको अपेक्षा छ । साथै, खराब कर्जा सामान्य बढ्ने उनले बताए । ‘अहिलेसम्म हेर्दा गत क्वार्टरको तुलनामा खासै परिवर्तन भएको जस्तो देखिँदैन तर, घरजग्गा र कित्ताकाट खुला भएको र घरजग्गा क्षेत्रमा कारोबार बढेको हुँदा रिकभरीमा केही सहज हुने अपेक्षा छ,’ उनले भने, ‘विगतभन्दा केही राम्रो रिकभरी भयो भने बैंकको खराब कर्जा धेरै बढ्दैन होला, खराब कर्जा स्थीर रहन सक्छ, बढेपनि सामान्य बढ्ला ।’ पछिल्लो समय अन्य क्षेत्रमा पनि केही सकारात्मक संकेत आएको छ । अन्य क्षेत्र पनि चलायमान भइरहेको बैंकरहरु बताउँछन् । साथै बैंक तथा वित्तीय संस्थाको उच्च रहेको ब्याजदर पनि घट्दै एकल अंकमा झरेको छ । जसले बैंकिङ्ग क्षेत्रमा राहत पुग्ने उनको भनाइ छ । ‘यो चक्र हो, एउटा सकस चक्रबाट विस्तारै सहज अवस्थामा पुगेका छौं, सधैं एउटै अवस्था रहँदैन, सीडी रेसियो सहज भएपछि अन्तर बैंकदर पनि घटेको छ,’ उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेको भएपनि कर्जा लगानी भने शून्य जस्तै छ । व्यवसाय वृद्धि नभएपछि पहिला भन्दा बैंकरहरु फुर्सदिला भएका छन् । बैंकरहरुका अनुसार कर्जा ग्रोथ हुन सकेको छैन । पहिला भन्दा अहिले कामको सकस कम भएको उनको भनाइ छ । ‘कर्जा शुन्य जस्तै छ, पहिला कर्जा दिने कर्मचारी अहिले अहिले कर्जा उठाउनेमा लागेका छन्, साथै नयाँ आर्थिक वर्षमा के गर्ने भनेर योजना बनाइरहेका छन्, गत वर्ष निक्षेप संकलन गर्न खटाइएका कर्मचारीलाई अहिले कर्जा प्रवाहमा जोड दिइरहेका छन्,’ उनले भने । महालक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटा बैंकरहरु पैसा उठाउनमा व्यस्त रहेको बताउँछन् । उनका अनुसार असारको चटारो लागेकाले अधिकांश बैंकरहरु रिकभरीमा जोड दिइरहेका छन् । तेस्रो त्रैमासको जस्तो बैंकहरुको खराब कर्जा खासै नबढ्ने उनको भनाइ छ । असार मसान्तसमा बैंकहरुको खराब कर्जा ५ प्रतिशत पुग्ने भनेर चर्चा गरेपनि त्यति धेरै नबढ्ने उनले बताए । ‘अहिले बैंकरहरु रिकभरीमा लागेका छन्, बैंकरहरुलाई असारको चटारो लागेको छ, असार मसान्त भएकाले बैंकहरुलाई गाह्रो नै छ, एनपीएल त्यति धेरै बढ्न सक्दैन तर, कतिपय केसमा बढ्न सक्ने देखिन्छ, राष्ट्र बैंकले पनि खराब कर्जा बढ्छ भनेर सतर्क रहन भन्दै आएकाले अहिले सतर्क हुनु परेको छ,’ उनले भने, ‘तर, त्यति धेरै बढ्दैन, सकस पूर्ण अवस्था अहिले पनि कायमै छ ।’ उनले अहिले कर्जाको माग खासै नभएपनि स-सानो कर्जा भने गइरहेको बताए । कर्जा दिने मान्छेको मनोबल बढेको भएपनि लिने मान्छेको मनोबल भने बढ्न नसकेको उनको भनाइ छ । ‘जस्तो माग आयो त्यस्तै कर्जा दिएका छैनौं, दिने मान्छेहरुमा कन्फिडेन्स बढेको भएपनि लिने मान्छेको बढेको छैन, अहिलेको अवस्थामा कर्जा लिएर कमाएर तिर्छु भन्ने स्थिती पनि छैन,’ उनले भने, ‘धेरै होसियार भएर काम गर्नु परेको छ, व्यवसाय गर्नकै लागि भएपनि कर्जा दिनु पर्ने स्थिती बैंकरलाई छैन, ग्राहकहरु पनि उत्तिकै होसियार छन्, उहाँहरु पनि कर्जा लिएर कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने भनेर सोच्दै छन्, सबै जना पर्ख र हेरको अवस्थामा छन् ।’ निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले एक आपसमा लिने कर्जा कारोबारको अन्तर बैंक ब्याजदर ६.१८ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ५५ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुसँग ४८ खर्ब ८५ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको भनाइ छ । तरलता सहज हुँदै गएपछि सीडी रेसियो ८४.४० प्रतिशत रहेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधकृत (सीईओ) सुनिल केसी बैंकहरुसँग प्रयाप्त मात्रामा तरलता भएकाले बैंकको ब्याजदर नबढ्ने बताउँछन् । साथै, निक्षेप संकलन प्रत्येक महिना बढेको भएपनि कर्जाको माग भने नगण्य रहेको उनको भनाइ छ । ‘तत्काल बैंकको ब्याज बढ्दैन, सीडी रेसियो ८४ प्रतिशतमा झरेको छ, पहिला जस्तो बजारमा तरलता अभाव छैन, बैंकहरुसँग प्रयाप्त तरलता छ,’ उनले भने, ‘चालू आर्थिक वर्षको हालसम्म १२८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ, पछिल्ला महिनाहरुमा झनै कर्जाको माग कम भएको छ भने निक्षेप बढ्दै गएको छ, बैशाख र जेठमा मात्रै ४७ अर्ब निक्षेप संकलन भएको छ, बैंकहरु कम्फर्टेबल अवस्थामा छन् ।’ उनका अनुसार बैंकहरुलाई रिकभरीमा भने सकस अवस्था रहेको छ । सहज रुपमा रिकभरी हुन नसकेको उनको भनाइ छ । ‘ब्यापार व्यवसाय राम्रोसँग उठ्न सकेको छैन, एनपीएल धेरै त बढ्दैन तर दबावमै छन्, ५ प्रतिशत पुग्ने अनुमान गरिएको भएपनि त्यति धेरै पुग्दैन,’ उनले भने, ‘माग गरेको कर्जा बैंकहरुले दिइरहेका छन्, नयाँ कर्जाको माग आएकै छैन, जस्तो पायो त्यस्तै कर्जा दिन थाल्यो भने बैंक खत्तम हुन्छन् तर, फरक फरक सेग्मेन्टमा एग्रेसन चाहि कम भएको छ ।’

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको हो । प्रेस सेन्टरले सरकारको यस कदम र निर्णयप्रति पूर्ण ऐक्यबद्धता प्रकटसमेत गरेको छ । प्रेस सेन्टरले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकामा आभार व्यक्त गरेको छ । सङ्गठनले समानुपातिक विज्ञापनको नीतिलाई व्यावहारिकरूपमा तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै सेन्टरले विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन तथा प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पत्रकारका मागका सम्बन्धमा सरकार गम्भीर रहेको बताए । सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति ऐक्यबद्धतासहित, प्रेस स्वतन्त्रता,  न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रियालगायत विषयलाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यले प्रेस सेन्टरले आज राज्यको तीन तहका प्रमुखलाई देशैभर ध्यानाकर्षणपत्र बुझाउँदैछ । भर्खरै सम्पन्न १९ साधारणसभाको निर्णयानुसार नै आज देशैभर सरकार प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउन लागिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिए । प्रेस सेन्टरका प्रदेश, जिल्ला र पालिका समितिले मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुख वा अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको उनको भनाइ छ । 

तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुन घटेर तोलाको एक लाख ११ हजा र ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुन पनि घटेर तोलाको एक लाख ११ हजार २५० रुपैयाँ पुगेको छ । मंगलबार तेजावी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । महासंघको अनुसार आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको एक हजार ४२५ रुपैयाँ पुगेको छ ।

धमाधम हटाइँदै महानगरको अव्यवस्थित तार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौं महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए । उनले भने, ‘अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।’ बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उहाँको भनाइ छ । सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए । पछिल्लो समय काठमाडौं महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँबानेश्वरका स्थानीय मुकेश हमालले बताए । उनले भने, ‘तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।’ काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए । रासस