बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका हुन् । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन्। गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर
सुर्खेत । संघीयता कार्यान्वयन भएको ५ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेश सरकार संघीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ । प्रदेशको आन्तरिक आम्दानी कमजोर हुँदा संघ सरकारकै अनुदानका भरमा प्रदेश सरकार रहेको हो । आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक आम्दानी कमजोर देखिएको हो । जसले गर्दा प्रदेश सरकार पूर्णरूपमा संघीय सरकारको अनुदानको भरमा पर्नुपरेको देखिएको छ । प्रदेश सरकार गठनपछि कर्णाली प्रदेश सरकारको ५ वर्षको आन्तरिक आम्दानी २ अर्ब १३ करोड २० लाखमात्रै देखिन्छ । जबकि सरकारले बितेका ५ आर्थिक वर्षमा १ खर्ब ३३ अर्ब ९४ करोड ४७ लाख ४२ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा कर्णाली सरकारले ५ वर्षमा ल्याएको बजेट आकार ठूलो र आन्तरिक आम्दानी कमजोर रहेको उल्लेख छ । संघीय सरकारकै भरमा प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन पनि नभएको देखिएको छ । ५ वर्षको बजेटको संरचना हेर्दा चालुतर्फ ३६ दशमलव ७९ प्रतिशत र पुँजीगततर्फ ६३ दशमलव २१ प्रतिशत विनियोजन भएकामा चालुतर्फ ६० दशमलव १४ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ५२ दशमलव ५९ प्रतिशतमात्रै खर्च भएको छ । चालु वर्षको बजेट खर्च पनि कमजोर रहेको पाइएको छ । गत जेठ मसान्तसम्म चालुतर्फ ४८ दशमलव १० प्रतिशत र पुँजीगततर्फ ३४ दशमलवग ६१ प्रतिशतमात्रै खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताएका छन् । चालु आवको जेठ मसान्तसम्म लक्ष्यको ७४ दशमलव ६२ प्रतिशत अर्थात् ५३ करोड २० लाख राजस्व संकलन भएको उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । रासस
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
किमाथाङ्का । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ । घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ । रासस
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा
झापा । हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व– पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताएका छन् । विसं २०६८ मै पुल निर्माण सुरु भएको हो। पुल निर्माण सुरुको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उनले बताएका छन् । सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उनको भनाइ छ । उनका अनुसार दुई वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ । उनले खोलामा पानीको बहाव छ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताएका छन् । ‘वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन । वर्षमा छ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ ।’ इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशतमात्र भएको बताएका छन् । राष्ट्रिय गौरवको आयोजना भएता पनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उनले ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी आठवटा लगाउने काम भइरहेको बताए । ‘विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो’, उनले भने, ‘सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ’, समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन् । उनले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताए । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन् । जसमध्ये कन्काई, विरिङ र रतुवा नदीबाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिए । रासस
युगाण्डाको एक विद्यालयमा आक्रमण, ३७ जनाको मृत्यु
एजेन्सी । इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित ३७ जनाको हत्या गरेको शनिबार बताएका छन् । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आई गरेको आक्रमणपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ । अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन् । युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ ।’ आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कङ्गोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन् । यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ । कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ । सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो ।
खेलकुदले सिकाएको सुत्रले कार्कीले प्राप्त गरे ऊर्जा उद्यममा पनि सफलता
काठमाडौं । बिहीवार काठमाडौंमा सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१औं साधारणसभाबाट गणेश कार्की सर्वसम्मत अध्यक्ष निर्वाचित भए । नेपालका लागि मौरिससका तर्फबाट वाणिज्य दूतसमेत रहेका कार्की सामाजिक कार्य गर्ने दर्जनौ संघसंस्थाको पनि नेतृत्वमा छन् । २०२४ सालमा झापाको तोपकाक्षी (कमल गाउँपालिका)मा जन्मिएका कार्कीले २०५७ सालदेखि ऊर्जा क्षेत्रमा चासो राख्न थालेका थिए । २०६४ देखि विद्युत आयोजनामा काम गर्न थालेका कार्की त्यसको १६ वर्षपछि देशभरका ऊर्जाउद्यमीहरूको साझा संस्था इप्पानको अध्यक्ष निर्वाचित भए । धरानमा विद्यालय शिक्षा पूरा गरेपछि २०४३ मा उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । त्यसपछि उनी फर्केर गाउँ जानु परेन । पछिल्लो २५ वर्षदेखि कार्की ललितपुर सानेपामा बस्दै आएका छन् । सानै उमेरदेखि खेलकुदमा रुचि भएका कार्कीले काठमाडौं आएपछि बौद्धमा कराँते सिक्न गएको बताए । २०४८ सालताकै कराँतेमा ‘बल्याक बेल्ट’ जितेका कार्की त्यसपछि कराँतेको राष्ट्रिय रेफ्री पनि बनेका थिए । ‘खेलुकमा लाग्दा अनुशासित र आत्मविश्वासी भइँदो रहेछ ।’ कार्कीले भने, ‘हारे पनि अर्कोपटक जितिन्छ भन्ने सकारात्मक सोच राख्न पनि खेलकुदले नै सिकायो । खेलकुदका यीनै सुत्रले हरेक क्षेत्रमा सफल हुन प्रेरणा दिएको हो ।’ २०४५/४६ तिर कार्कीले गलैंचामा काम गर्न सुरु गरेका थिए । पछि २०५१/५२ मा गलैंचाको आफ्नै व्यवसाय पनि सुरु गरेका थिए । तर, त्यो व्यवसाय त्यति सफल हुन सकेन । उनले त्यसमा समय खेर फालेनन् । २०५२/५३ सालमा पस्मिनाको व्यवसाय सुरु गरे । पस्मिनाको लागि चाहिने धागो आयात गरेर बेच्ने काम गरेका कार्कीले पछि पस्मिना बनाउन पनि सुरु गरेका थिए । त्यो व्यवसाय पनि लामो समयसम्म जान सकेन । २०५४/५५ तिर कार्की अध्ययनको लागि चीन गए । व्यवस्थापन पढ्न चीन गएका कार्कीको भेट नेपालमा जलविद्युत आयोजना बनाउन सुरु गरेका व्यवसायी सँग भयो । त्यसपछि उनले नेपालमा कहाँ कसले जलविद्युत आयोजना बनाइरहेका छन् भनेर अध्ययन गरे । उनीहरूलाई के के सामान चाहिन्छ भन्ने एकिन गरेर त्यस्ता सामान चीनबाट नेपाल आपूर्ति गर्न थाले । निजी क्षेत्रबाट बनेका आयोजनामध्ये खिम्ति २०५७ असार र भोटेकोशी २०५७ माघमा सञ्चालनमा आएको थियो । १८३ किलोवाट ९०.१८ मेगावाट क्षमताको निजी क्षेत्रले बनाएको स्याङ्गे खोला २०५८ माघमा मात्रै सञ्चालनमा आएको थियो । २०५९ असोजमा ७।५ मेगावाटको इन्द्रावती-३ आयोजना सञ्चालनमा आयो । त्यसपछि जलविद्युतमा निजी क्षेत्रको प्रवेश ह्वात्तै बढ्दा कार्की पनि यहि क्षेत्रमा होमिएका थिए । यसको केही समयपछि उनी लमजुङ स्थित ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजनामा प्रबन्ध निर्देशक भएर निर्माणमा खटिए । न्यादी ग्रुप प्राली प्रवर्द्धक रहेको उक्त आयोजना २०६४ मा सुरु भएर २०६९ मा सकियो । आयोजनामा ५ वर्ष बिताएका कार्कीले भने जलविद्युतमा निकै ठूलो सम्भावना देखे । उनी निकै सक्रिय भएर जलविद्युतमा लागेको २०७० पछि मात्रै हो । सिउरी खोलामा काम गरेको अनुभवले कार्कीले ललितपुरमा २ ओटा आयोजना बनाए । खानीखोला हाइड्रोपावर कम्पनीमार्फत ४.३ मेगावाटको टुङ्गुन ठोस्ने र २ मेगावाटको खानीखोलाबाट ४ वर्षभित्रै विद्युत उत्पादन गर्न सफल भए । लमजुङमा ३ मेगावाटको मिदिम खोलाबाट पनि २०७४ मै विद्युत उत्पादन सुरु भयो । लमजुङमा ५ मेगावाटको आयोजना बनाउँदा कार्कीले जलविद्युत आयोजना कसरी बन्दो रहेछ भन्ने ज्ञान पाए । सबैसँग सहजै घुलमिल हुन सक्ने स्वभावका कार्कीले बैंकरवित्तीय संस्थादेखि सरकारी क्षेत्र र निजी क्षेत्रका व्यवसायीसम्ममा सम्बन्ध विस्तार गरे । त्यसपछि कार्की एकैपटक २२/२५ मेगावाटका आयोजना बनाउन कस्सिए । २०७८ मा २२ मेगावाटको अपर चाकु-ए र २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भयो । केहि दिन अघि मात्रै उनले व्यवस्थापन हेरेको १९.८ मेगावाटको अपर सोलु जलविद्युत आयोजना र लगानीकर्ताका रुपमा बोर्ड सदस्य रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भइसकेको छ । सबै गरेर कार्की संग्लग्न भएका आयोजनाबाट १३५ मेगावाट विद्युत उत्पादन भइसकेको छ । त्यस्तै २६ मेगावाटको सुपर खुदी, २१ मेगावाटको सवा खोला, ६.२ मेगावाटको सवा खोला क्यासकेड, ५ मेगावाटको हेवा खोला र ४० मेगावाटको खानी खोला जलविद्युत आयोजना निर्माणाधिन छन् । यी सबै आयोजनाको क्षमता करीब १०० मेगावाट रहेको छ । त्यस्तै ६० मेगावाटको नार खोला र ४० मेगावाटको बलेफी जलविद्युत आयोजनाको अध्ययन सकिएर विद्युत खरिद विक्री सम्झौता (पीपीए)को पर्खाइमा छन् । सबै गरेर कार्की संग्लग्न जलविद्युतको क्षमता करीब साढे तीन सय मेगावाट पुगीसकेको छ ।
नेपाली उत्पादनको ब्राण्डिङ गरी निर्यात प्रर्वद्धन गर्न चेम्बर अध्यक्ष मल्लको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिए । नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्व हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लले बताए । ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन । निर्यात भईरहेका बस्तुहरुको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफी जस्ता बस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन’, उनले भने । नेपाली बस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्नेमा उनले जोड दिए । अर्को प्रसंगमा अध्यक्ष मल्लले करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । राजस्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै संकुचित हुन पुगेको बताए । केही वस्तुहरुको आयात प्रतिवन्ध लाग्दा राजश्वमा गम्भिर असर परेकाले करको दायारालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । मुलुकको आर्थिक नीतिमा सवैदलहरु एकै ठाउँमा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेा सवैदमा दलहरुको एउटै धारणा बन्नुपर्ने उनको भनाइ छ । युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा उनले जोड दिए ।