खरायो पालनले सिर्जना गरेको रोजगारी, वार्षिक ४२ लाखको ऊनको टोपी बिक्री
कर्णाली । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै खाडी मुलुकतर्फ बर्सेनि हजारौँ युवा हानिनेक्रम रोकिएको छैन । मजदूरीका लागि विदेशिनुपर्ने बाध्यता त छ नै तर केही वर्षयता अर्काको देखासिकी र लहडमा पनि रोजगारीका लागि भन्दै बाहिरिने क्रम बढेको छ । स्वदेशमै बसेर राम्रैसँग रोजगारी गर्न सकिन्छ भन्ने कमै युवालाई विश्वास छ । आफ्नो देशमा भविश्य नदेखेका युवाहरुको माझ श्रम र पसिना चुहाएर काम गर्यो भने स्वदेशमै कमाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण जुम्ला चन्दननाथ नगरपालिकाका स्थानीयवासी बनेका छन् । सुरुका दिनमा घरमा एक/दुई वटा खरायो पाल्ने जुम्ला चन्दननाथ नगरपालिका–८ तलिउम गाउँवासी अहिले व्यावसायिकरुपमा खरायोपालनमा लागेका छन् । विसं २०५८ मा सोही वडाका गोरबहादुर रोकायले कर्णाली प्राविधिक शिक्षालय घुघुती जुम्लाबाट एक जोडी अङ्गोरा जातको खरायो ल्याएर पाल्न सुरु गरेका थिए । पछि एक/दुई घर हुँदै अहिले दुई सय ५० भन्दा बढी घरधुरीले खरायो पालेका छन् । अहिले उनीहरु हरेकको घरमा करिब डेढ सय वटा खरायो छन् । तत्कालीन समयमा सोखका लागि खरायो पाल्न सुरु गरेका तलिउमवासीले अहिले आफ्नो सोखलाई व्यवसायमा परिणत गरेका छन् । करिब एक हजार दुई सय घरधुरी भएको उक्त वडामा दुई सय ५० बढी घरधुरीमा गरिएको खरायोपालन र टोपी, मफ्लर बुन्ने उद्यमबाट अन्य गाउँवासीले पनि लाभ लिएका छन् । मासुका लागि केही मात्रामा अन्य जातका खरायो पालिएको यस वडामा अहिले टोपी उत्पादनका लागि अङ्गोरा खरायोपालनमा विशेष जोड दिइएको छ । टोपीले नेपाली बजार लिएपछि नगरपालिका–८ का वासिन्दा यो व्यवसायमा आकर्षित हुँदै गएका छन् । उनीहरुले बुनेको प्रतिटोपीको बजार मूल्य तीन हजारदेखि चार हजार रुपैयाँसम्म छ, जुन कर्णाली पुग्ने हरेक उच्च अधिकारीले खोजीखोजी किन्ने गर्दछन् । खरायोपालन व्यवसाय र त्यसले सिर्जना गरेको रोजगारीले कालापहाड जाने बाध्यता हटाएको चन्दननाथ नगरपालिका–८ स्थित झुमकला फलफुल नर्सरी एण्ड पशुपालन फर्मका तलिउम सञ्चालक खड्गबहादुर बुढाले जानकारी दिए । उनले आफ्नो फर्ममा डेढ सयभन्दा बढी खरायो पालेको बताए । ‘मैले २०५८ सालदेखि खरायो पाल्न सुरु गरेँ । खरायोपालन गरेयता कालापहाड जाने बाध्यता हट्यो,’ उनले भने, ‘अहिले यसको आम्दानीबाट नै घर परिवारको सबै समस्या हल भएको छ ।’ उनले यसअघि घरेलु विकास समितिबाट बुनाईसम्बन्धी तालिम लिएर गाउँका महिला पुरुषलाई उक्त सीप हस्तान्तरण गर्दा उनीहरुले पनि बुनाईसम्बन्धीको काम सिकेको बताए । उनले भने, ‘यहाँका पुरुषसहित नानु शाही, राममाया बुढा, रुपादेवी रोकाय, नाक्च्या धरालालगायतका महिलाले पनि टोपी बुन्दै आएका छन् । सीपसँग कमाई हुन थालेपछि यसमा उनीहरु निकै प्रफुल्लित छन् ।’ बुढाका अनुसार खासमा यो व्यवसाय गर्न त्यति कठिन छैन । एउटा टोपी बुन्न दुईदेखि तीन दिनसम्म लाग्छ । बाटोमा हिंड्दै गर्दा, गाउँघरको कचहरीमा बस्दा पनि सजिलै यो टोपी बुन्न सकिन्छ । यसका लागि एकै ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । गफ गर्दै पनि आफ्नो काम गर्न सकिन्छ । खरायोले अधिकतम् घाँस खान्छ, धेरै दानापानी पनि धेरै नचाहिने सकसानहरु बताउँछन् । जङ्गली जनावरबाट जोगाउन भने होसियारी अपनाउनु पर्दछ । छोटो समयमै यसले बच्चा दिन्छ । तीन महिनामा एकपटक ऊनका लागि मुड्ने गरिन्छ । विगत १७ वर्षदेखि खरायो पाल्दै आएका सोही वडाका पदमबहादुर रोकायाले खरायोपालन व्यवसायले जीविकोपार्जनमा ठूलो सहयोग पुर्याएको बताए । उनको रोकाया खरायोपालन उद्योगमा हाल ९० वटा खरायो छन् । सोही गाउँका भैरव धरालाको पनि भुवानी कृषि तथा पशुपंक्षी पालन उद्योग छ । उनको उद्योगमा ८० खरायो छन् । यसले आफ्नो परिवारसहित गाउँका अन्य नागरिकलाई पनि रोजगारमा सहयोग पुर्याएको उनको भनाइ थियो । रोकायलाई गत आर्थिक वर्ष २०७९/८० मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लबाट एक लाख २८ हजार अनुदान दिइएको थियो । उनीसहित चन्दननाथ पाँचजना खरायोपालक किसानले अनुदान पाएका थिए । प्राप्त अनुदानमा उनीहरुले शतप्रतिशत रकम थपेर उद्योगमा लगानी गर्दा राम्रै आम्दानी लिन सफल भएको रोकायले जनाए । किसान रोकाय र धरालाका अनुसार तलिउम गाउँले वार्षिक ४२ लाख बराबरको टोपी बेच्ने गर्दछ । खरायोपालक किसानका अनुसार सामान्यतया तीन महिनाको अन्तरालमा खरायोको ऊन मोड्न उपयुक्त मानिन्छ । दुईदेखि पाँचवटा खरायोको ऊन सङ्कलन गरेपछि एउटा टोपीका लागि आवशयक ऊन पुग्दछ । तयार भएको एउटा टोपी तीन हजार पाँच सयमा गाउँमै बिक्री हुन्छ । स्वरोजगारीले छिटफुट युवा बाहेक दुई दशकदेखि उनीहरुलाई कालपहाड र खाडी मुलुक जानुपरेको छैन । खरायो पालनबाट जुम्लाका थुप्रै किसानले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ । खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार माग राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो । खरायोपालक किसानहरुका अनुसार मासु र टोपीबाट मासिक १५ हजार आम्दानी हुने गरेको छ । चन्दननाथ नगरपालिका तलिउम गाउँका धेरैले खरायोको टोपी व्यवसायको प्रमुख माध्यम बनाइरहेका छन् । उनीहरुले पनि मासिक बीस हजार तथा वार्षिक दुई लाख ४० हजारसम्म खरायोको टोपीबाटै आम्दानी गर्दै आएका छन् । खरायोको टोपीको आकर्षण बढ्दै गएपछि बिक्री पनि त्यसैगरी बढेको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दननाथ नगरपालिकाको ८ र ९ वडालाई खरायोपालनको ‘हब’ बनाउनुपर्ने बताए । खरायोपालन गर्ने किसानको समस्या बुझ्न एकसाता अघि उनीहरुको घर जुम्लामै पुगेका मन्त्री शर्माले प्रदेश सरकारको अर्गानिक अभियानमा सहयोग पुर्याउने किसानलाई अनुदान दिइने जनाए । “व्यावसायिक खरायोपालनबाट यहाँको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ,” उनले भने, “साना किसानको जीविकोपार्जनमा सुधार ल्याउन भूमिका खेल्ने किसानका लागि उत्पादनमा अधारित अनुदान दिने कार्यक्रम बनाएका छौं,” मन्त्री शर्मा किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका चन्दननाथ नगरपालिका तलिउम गाउँका खरायोपालक किसानको घरआँगनमै पुगेका थिए । उनले जुम्लालाई भेडा र खरायोको ऊनमा अनुदान दिइने बताउँदै चन्दननाथ ८ र ९ वडालाई खरायो उत्पदान स्रोत केन्द्रको रुपमा स्थापना गर्न किसानलाई अनुरोध गरे । तलिउम गाउँमा ऊनका लागि अङ्गोरा जातको खरायो पाल्ने गरिएको छ । कृषिमन्त्री शर्माले जुम्लामा भइरहेको खरायोपालन व्यवसायप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार चन्दननाथ–८ का सबैको घरमा पाँचदेखि २० वटासम्म खरायो पाल्दै आएका धेरै किसानले उद्योगमा दर्ता गरेका छैनन् । उनले भने, “तलिउम गाउँ खरायोपालनका लागि प्रख्यात भइसकेको छ । व्यवसायीकरण गर्न हामी लागिपरेका छौँ । स्थानीयस्तरमा बनेको टोपीले राम्रै बजार लिएको छ ।’’ धेरैको रोजाइमा खरायोको टोपी जुम्लामा स्थानीय तथा राष्ट्रियस्तरका जुनसुकै कार्यक्रममा आउने अतिथिलाई मौसमअनुसार स्याउको पोटिलो दाना दिएर स्वागत गरिन्छ भने बेमौसममा साँस्कृतिक प्रयोगमा आउने वस्तुहरुले । यहाँ आउने सबै पाहुनालाई उपहारका रुपमा खरायोको टोपी मायाको चिनो स्वरुप प्रदान गर्ने गरिन्छ । जुम्ला पुग्ने धेरैका लागि खरायोको टोपी रोजाइको विषय बन्दछ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले जुम्लाको खरायोको टोपी पहिचान बनेको बताए । उनले जिल्लाका सरकारी कार्यालयका प्रमुख, उच्च अधिकारीदेखि स्थानीय बासिन्दा तथा घुम्न आउने पर्यटकहरुले समेत कर्णालीबाट फर्किदाको चिनो स्वरुप खरायोको टोपी किन्ने गरेका जनाए । गाउँका सामान्य किसानहरुले कुनै मेसिन अर्थात प्रविधिजन्य उपकरण प्रयोग नगरी टोपी तयार गर्दछन् । ऊन काट्नेदेखि टोपी तयार पार्न उनीहरुले परम्परागत सीप र कौशल प्रयोग गर्दछन् । पहिरिँदा न्यानो, नरम अनि सान देखिने विशेषता बोकेको जुम्लाको खरायोको टोपीको चर्चा देशैभरि हुन थालेको छ । उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीकाहरुले खरायोको टोपी खोजीखोजी किन्ने गरेको तलिउम गाउँका स्थानीय युवा धर्मसिंह कठायतले बताए । उनीहरुले बुनेको केही टोपी खुद्रा रुपमा बिक्री हुने गरेपनि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले थोक रुपमा खरिद गर्दै आएको छ । किसानलाई तालिम र प्रविधिको खाँचो चन्दननाथका–८ का बिर्खबहादुर धरालाले खरायोपालन गर्दा व्यवस्थापनमा समस्या आएको बताए । सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ । यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन । खरायोले एक पटकमा करिब सातदेखि १० सम्म बच्चा जन्माउन सक्छ भने सात महिनामै यो वयस्क हुने गर्दछ भन्ने पालेर बुझेको उनले जनाए । धरालाले भने, ‘हामीले तालिम पाएका छैनौँ । खरायो कसरी पाल्ने भन्ने कुरा थाहा छैन । यो अब हाम्रो सिकाइको पाटो भइरहेको छ । धरालाका अनुसार व्यावसायिक रुपमा खरायोपालन गर्दै जाँदा भाले र पोथीलाई फरकफरक ठाउँमा राखेर नै प्रजनन गराइन्छ भन्ने जानेका छौँ तर तालिम जरुरी छ ।’ उनका अनुसार दाना पिस्ने र ऊन काट्ने मेसिनको माग यहाँ किसानहरुले स्थानीय तथा प्रदेश सरकारसँग गर्दै आएका छन् । स्वरोजगारी निर्माण गर्ने र बाहिरिँदै गएको पैसोलाई आफ्नै ठाउँ भित्र्याउने किसान, व्यापारी तथा उद्योगीहरुलाई राज्यले प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरुले सुझाव दिएका छन् । रासस
घिसिङलाई प्रधानमन्त्रीको निर्देशन – डेडिकेटेड फिडर र ट्रङ्क लाइन विवाद समाधान नभएसम्म विद्युत नकाट्नु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भईरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् । उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाईसँगै राखेर छिटै टुङ्गोमा पुर्याउने बताए । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो । महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ, थप समस्या सिर्जना गरिदिनु भएन,’ महासंघ अध्यक्ष ढकालले भने । कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ ।
टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स आयलका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने
काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको बैंकले जनाएकाे छ । सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ । खुद्रा विक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरिरहेका छन् ।
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो । प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तिब्र रुपमा अगाडि बढाइने बताए । अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएकोे भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।
वित्तीय साक्षरताका लागि सांग्रिला बैंकद्वारा प्रभातफेरी कार्यक्रम
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्धचोकमा पुगेर प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनरर्जी च्याजेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।
सनराइज् क्यापिटलको शैक्षिक पहल : नेपालको पूँजी बजारमा युवा सशक्तिकरण
काठमाडौं । सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ । देश भरीका विद्यार्थी वर्गमा लक्षित गरि नेपालका प्रत्येक प्रदेशमा यस साक्षरता अभियान पुर्याउन, व्यक्ति र संस्था दुवैलाई सशक्तिकरण गर्न, तिनीहरूलाई वत्तीय साक्षरताको संस्कृतिको पालनपोषण गर्दै व्यक्ति र संस्था दुवैलाई सशक्त बनाउने, आफ्नो केन्द्रीय उद्देश्यका साथ, सनराइज क्यापिटलले सन्तोषी टोलमा अवस्थित धनगढी प्रदेश – ७ सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थी र संकायहरूले भाग लिएका थिए जसले कार्यक्रम सत्रहरूमा अत्यधिक अन्तरक्रियात्मक र सहयोगी थिए । सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पूँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, एसआइपी लगानी र धेरै आधारभूत आवश्यक विषयहरूमा विस्तृत अन्तर्दृष्टि प्रदान गरे । उनीहरूको प्रोत्साहनको लागि महत्त्वपूर्ण छ । बीटा एनालिटिक्स प्रा.का विक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्क युक्त प्रशिक्षण सत्र मार्फत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । बीटा एनालिटिक्स प्रालिका बिक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्कयुक्त प्रशिक्षण सत्र मार्फत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थी र युवा व्यक्तिहरूलाई उनीहरूको प्रश्नहरूको पर्याप्त रूपमा सम्बोधन गर्न र पूँजी बजारमा निहित विभिन्न अवसरहरू र जटिलताहरूको बारेमा जानकारी गराउन शिक्षित र प्रबुद्ध बनाउन कार्यक्रमलाई सावधानीपूर्वक तयार गरिएको हो । सनराइज क्यापिटलले यस्तै शिक्षा सञ्चालनमा निरन्तर लागिरहेको घोषणा गर्दै कार्यक्रमको समापन भयो ।