विकासन्युज

वनका कारण ऊर्जाका आयोजना समस्यामा परे तत्काल समाधान गरिदिनुस् : मन्त्री बस्नेत

काठमाडौं । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री विरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ । वन तथा वातावरण मन्त्रालयमा आइतबार भएको छलफलमा वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा सहमति प्राप्त हुन नसक्दा जलविद्युत् र सिँचाइ आयोजनाको काम लामो समयदेखि अगाडि बढ्न नसकेको पाइएकाले तत्काल समस्या समाधान गरिदिन ऊर्जामन्त्री बस्नेतले आग्रह गरे । अधिकांश प्रसारण लाइनका आयोजनामा समस्या देखिएको र वन क्षेत्रको जग्गा प्रयोगको अनुमति पाउन नसक्दा आयोजनाको लागत बढेको तथा समय समेत बढ्न जाँदा राष्ट्रिय रुपमा नै जटिलता पैदा भएको मन्त्री बस्नेतको भनाइ थियो । मन्त्री बस्नेतले समस्या मात्रै देखाउने र समाधानको उपाय नखोज्ने प्रवृत्ति मौलाएको भन्दै तत्काल निरुपणको उपाय खोजिदिन वन मन्त्रालय र सम्वद्ध अधिकारीलाई आग्रह गरे । ‘यो ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको मात्रै समस्या होइन, राष्ट्रिय समस्या हो । कानुनी रुपमा नै समाधान गर्नुपर्ने भए कानुनमा सुधार गरौं, मन्त्रिपरिषद्बाट समाधान हुने भए मन्त्रिपरिषद्मा लैजाऔं’ मन्त्री बस्नेतले भने- ‘व्यवहारिक रुपमा मिलाउन सकिने अवस्था भए तल नै मिलाऔं । तर लामो समयसम्म आयोजना अल्झाएर राख्दा मुलुकले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई विशेष ख्याल गरौं।’ आफूले पनि विगतमा वन तथा वातावरण मन्त्रालय सम्हालेको दृष्टान्त पेश गर्दै मन्त्री बस्नेतले हरित ऊर्जा उत्पादनमा बढावा दिनका लागि पनि यस मन्त्रालयले ऊर्जा मन्त्रालयलाई केही सहजीकरण गरिनुपर्ने बताए । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानको अनुमति नपाउने हो भने काठमाडौँ उपत्यकामा नै थप बिजुली ल्याउन नसकिने अवस्थाको सिर्जना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यस विषयलाई गम्भीरताका साथ लिइदिन आग्रह गरे । मन्त्री बस्नेतले कानुनको दफा मात्रै समात्ने प्रवृत्ति बढेको, कर्मचारीतन्त्रले फुकाउन सक्ने कतिपय विषयमा समेत निर्णय हुन नसक्दा पूर्वाधारका आयोजनामा समस्या पैदा भएको स्पष्ट पारे । अधिकांश प्रसारण लाइनमा समस्या देखिएको र अब त्यस्ता आयोजना अगाडि बढाउनै नसकिने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई राष्ट्रिय दायित्व ठानेर समाधानको प्रयास गर्न वन मन्त्रालयलाई आग्रह गरे । मन्त्री बस्नेतले समस्या लामो समयसम्म राख्न सकिने अवस्था नरहेको उल्लेख गर्दै कोहलपुर-सुर्खेत प्रसारण लाइनका कारण समग्र कर्णाली प्रदेश नै अध्यारो हुने अवस्था आएकाले तत्काल अगाडि बढाइदिन अनुरोध गरे । राष्ट्रिय निकुञ्ज भित्र काम गर्न नपाएका कारण एक सय ३२ केभी क्षमताको सो प्रसारण लाइन लामो समयदेखि अगाडि बढ्न सकेको छैन । यस्तै, कोशी करिडोर, मस्र्याङदी करिडारेलगायतका आयोजनामा पनि वनकै कारण समस्या पैदा भएको छ । यसैगरी, तनहुँ सेती जलविद्युत् आयोजनाको बाँधस्थल र प्रसारण लाइन निर्माणमा पनि जटिलता पैदा भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा पनि वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा समस्या देखिएको छ । सो अवसरमा वन तथा वातावरण मन्त्री महतोले स्वच्छ ऊर्जा उत्पादनमा सरकारकोतर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न पनि जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गर्नुैपर्ने बताए । उहाँले भौतिक पूर्वाधार निर्माणको काम राष्ट्रिय आवश्यकता र महत्वका भएकाले असाध्यै रुढीवादी तरिकाले सोच्न नहुने उल्लेख गरे । ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार स्तम्भका रुपमा लिइएकाले पनि यसमा सहजीकरण गर्नु हामी सबैको दायित्व भएकाले सोही अनुसार व्यवहार गर्न मातहतका सबै अधिकारीलाई मन्त्री महतोले निर्देशन दिए । वातावरण संरक्षणका दृष्टिले पनि जलविद्युत् आयोजनालाई सहजीकरण गर्नैपर्ने दायित्वलाई आत्मसात गर्न मन्त्री महत्तोले आग्रह गरे । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्दलले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आयोजनाहरुलाई अगाडि बढाउन सहजीकरण गरिदिन आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मातहतका आयोजना वन मन्त्रालयको समेत आयोजना भएकाले आवश्यक सहयोग, समन्वय हुने बताए । उनले विदेशी स्टिलका पोल छाडेर स्वदेशी वनको पोल प्रयोग गरिदिन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा निर्णय हुन नसक्दा अधिकांश आयोजना चपेटामा परेकाले समय र लागत दुवै बढेको बताए । उनले समस्या समाधानमा तदारुकता देखाइदिन र आफ्नै समस्या हो भन्ने ठानेर सहजीकरण गरिदिन आग्रह गरे । छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरषण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगाना, वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेलगायतको उपस्थिति थियो ।

जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै

काठमाडौं । ललितपुरको जावलाखेलमा  असोजको १० गतेदेखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना हुने भएको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समुहले आइतबार एक कार्यक्रमको आयोजना गर्दै दशैं लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना हुन लागेको जानकारी दिएको हो । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना हुन लागेको सो मेला असोजको १० गतेदेखि  कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना हुने भएको मेला संयोजक होमनाथ उपाध्यायले बताए । वडादशैं पर्व लक्षित यो मेलामा नयाँ/नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ । उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए । आयोजक टिमले मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा निःशुल्क प्रवेश  गर्न सकिने छ । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहने छ । मेलामा रोयल शु इण्डष्ट्रिजको रोयल शुज, वेश फुटवेयरको वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको- क्रस रोड शुज, शुभकामना फुटवेयरको -फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर।डि।कलेक्सनको – हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. शुज कम्पनीको- डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।

ग्लोबल आइएमई क्यापिटलबाट बाहिरिए सीईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् । विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर काम गरेका ढकालको २ कार्यकाल सकिए पछि क्यापिटलबाट बाहिरिएका हुन् । ढकालसँग बैंकिङ्ग तथा लेखा परिक्षणको क्षेत्रमा १४ वर्ष भन्दा बढिको कार्य अनुभव छ । साथै, बिबिए तथा एमबिएमा फाईनान्सियल एकाउन्टिङ्ग, कर्पोरेट फाईनान्स, इन्भेष्टमेण्ट तथा ट्याक्सेसन विषयको अध्यापन उनले गरेका छन् ।

नेपाल बैंकको सेवा चाहिएको छ ? अब यो नम्बरमा कल गर्नुहोस्

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवाको उद्घाटन गरेको हो । बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले उक्त सेवा सुचारु गर्न लागेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । यसै गरि कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । ०१-५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ । हाल बैंकले २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ । साथै, बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छः काँग्रेस महामन्त्री थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन काँग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए । उनले काँग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । पार्टी निकट नेपाल मुस्लिम संघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई काँग्रेसले आवश्यक्ताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । ‘नेपाली काँग्रेस संसदको ठूलो पार्टी हो । त्यो भएको हिसावमा नेपाली काँग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरु छन, जुन जायज छन । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । काँग्रेसका सांसदहरु, काँग्रेसका केन्दिय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गर्छौं । मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबैभन्दा ठूलो पार्टी हो । हामीले सच्याउन चाहँदा यो सच्चिन्छ । यसलाई हामीले सच्याउनु पर्दछ । निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ । हामीले बनाउनु पर्नेछ । हामी बनाउँछौं ।’ उनले भने । महामन्त्री थापाले मुलुकमा नियोजित रुपमा सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने बताए ।

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । उक्त छुट सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मात्र पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालले भने: नेपालमा लगानीको वातावरण बनेको छ, लाभ लिनुहोस्

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा आयोजित नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, ‘हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।’ प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे । ‘नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु’, चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ ।’ उनले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरे । ‘पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गरेका थिए भने सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको थियो, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलाको क्षेत्रमा योगदान दिनुभएको थियो’, उनले भने । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राखे । सो अवसरमा उनले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताए । नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि, भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए । ‘नेपालबाट चिया, जडीबुटी, कागती, भैँसीको मासु, कफी, अदुवालगायतका उत्पादन निर्यातको प्रचुर सम्भावना भएकाले यी वस्तुको उत्पादनमा हामीले प्राथमिकता दिएका छौं’, प्रधानमन्त्री दाहालले भने- ‘यसका लागि हामीले प्राविधिक अवरोध न्यूनीकरण गर्दै यस्ता उत्पादन प्रशोधनका क्षेत्रमा काम गरिरहेका छौं ।’ नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको उनले बताए । ‘हामीले सन् २०१७ मा चीन सरकारसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा आबद्ध भएका छौँ, अहिले हामी कार्यान्वयनको अन्तिम तयारीमा छौं’, उनले भने । प्रधानमन्त्री दाहालले दुई देशबीचको क्रस बोर्डर कनेक्टिभिटी बढाउनका लागि महत्त्वपूर्ण अग्रसरता लिएको उल्लेख गर्दै आर्थिक सम्बन्धमा जोड दिइएको बताए । नेपालमा विद्युत् आपूर्ति उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै उनले नेपाल यतिबेला विद्युत् निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । सो अवसरमा चीनका वाणिज्य उपमन्त्री लि फाइले नेपाल र चीन सदियौँदेखिको घनिष्ट मित्र भएको भन्दै चीनले नेपालको सदैव उन्नति र समृद्धि देख्न चाहेको बताए । उनले दुई देशबीच विभिन्न क्षेत्रमा लगानीका अधिक सम्भावना रहेकाले आपसी समृद्धि, विकास र आर्थिक उन्नतिका लागि नेपालमा लगानीका क्षेत्र पहिचान गर्नका लागि दुवै देशले सामूहिक प्रयास गर्नेमा जोड दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएको भन्दै अझ बढी चिनियाँ लगानीको अपेक्षा रहेको बताए । उनले चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएको बताए । नेपालले कूल आयातको १६ प्रतिशत चीनबाट गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालबाट चीनतर्फको निर्यात कम भएकाले यसलाई बढाउनपर्नेमा जोड दिए । ‘नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरूले उच्च प्रतिफल लिइरहेका छन्’, उनले भने, ‘नेपाल विदेशी लगानी भित्र्याउन र प्रविधि हस्तान्तरणका लागि तयार छ ।’ उनले यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति भएको, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पर्यटकीय गन्तव्य सञ्चालनमा आएको भन्दै लगानीको सम्भावना बढेर गएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक लगानीकर्तालाई लक्षित गरी एकद्वार प्रणालीमार्फत वैदेशिक लगानी ल्याउनका लागि एफडीआई हेल्प डेस्क स्थापना गरेको समेत जानकारी गराए । उनले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै लगानीका लागि आग्रह गरे । सो अवसरमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रत्यक्ष वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो भएको उल्लेख गर्दै नेपालमा युवा उद्यमशीलता समेत बढेको बताए । उनले नेपालमा भएको युवा जनशक्तिको पूर्ण उपयोग गरी लाभ लिन चिनियाँ लगानीकर्ता समक्ष आग्रह गरे । रासस

हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी १५० करोड रूपैयाँ तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँका दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरिसकिएको छ । भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।