राष्ट्र बैंकले सार्वजनिक गर्याे वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन, सबैभन्दा धेरै भारतबाट भित्रियो (प्रतिवेदनसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८÷७९’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको राष्ट्र बैंकको निष्कर्श छ । यसैगरी, २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । [pdf id=438631]
‘प्रिय ईः आन्दोलन बन्द गरेर नियम कानुनको पालना गरिदिनुस्’
काठमाडौं । काठमाडौं महानगरका प्रमुख तथा मेयर बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौंमा आन्दोलन गरिरहेका अभियान्ता ईःलाई आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्न आग्रह गरेका छन् । फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियान्ता ईः लगायत अन्य आन्दोलनकारीहरुलाई बालेनले सो आग्रह गरेका हुन् । ‘हाम्रो आग्रह छ, हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योभन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ । यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला, हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । साथै, उनले आफूले चुनावी एजेन्डा नबिर्सिएको र नबिर्सिने बताएका छन् । र, उनले गरिबको सधैको लागि बोल्दिने काठमाडौं महानगर रहेको भन्दै आवश्वासन समेत देखाएका छन् । प्रीय ईः, हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईले उठाएका मागहरुलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवैजना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न । अब फुटपाथ र त्यसमा हुने व्यापार व्यवसायका बारेमा हाम्रो धारणाहरुमा प्रवेश गरौँ । १. फुटपाथ, बाटो तथा चष्नजत या धबथ मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन । २. समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ । बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिड्छन्, दृष्टिबिहिन हिड्छन्, गर्भवतिहरु हिड्छन्, बिरामीहरु हिड्छन् । त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरु बिरामी नपर्ने होइनन् । त्यस्तो आपतकालिन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन् । यहि कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरु पनि हटाइन्छन् । यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन । गत एकबर्षमा काठमाडौँ महानगरको कल सेन्टरमा आएका २० प्रतिशत भन्दा ज्यादा गुनासोहरु जुन करिब १००० जति छन्, ति सबै फुटपाथबाट व्यापार व्यवसाय हटाउने सम्बन्धितका छन् । ३. फुटपाथ बाहेक अन्य कुनै ठाउँमा मिल्छ कि भन्ने प्रसंगमा खाली ठाउजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पनि अहिलेका ऐनकानुन टेकेर दिन मिल्दैन । निजी जग्गाहरुमा त अहिले पनि सामूहिक बजारको अभ्यास भइरहेकै छ । काठमाडौँले नेपाल सरकारसँग मिलेर फुटपाथ व्यापारीहरुलाई व्यवस्थापन गर्न भृकुटी मण्डपमा कोशिस गरेकै हो । तर त्यसले फुटपाथ खाली भएन । समस्याको समाधान गरेन । ४. त्यस्तै कतिपय जग्गा त हामीले चाहेर पनि दिन मिल्दैन । किनकि, महानगरको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक फरक हुन्छ । दिने र नदिने अधिकार फरक फरक प्रक्रिया र निकायमा हुन्छ । यसैले नेपाल सरकारको सरकारी जग्गा, त्यो दिने वा नदिने अधिकार महानगरसँग छैन । साँच्चै भन्नु भने, महानगरसँग त्यस्तो जग्गा भएको भए त्यहाँ २ कोठाको सार्वजनिक शौचालय सबैभन्दा पहिले बनाउँथ्यौँ । वास्तविकता के हो भने महानगरसँग जग्गा छैन । महानगरका वडा कार्यालय र कार्यालयहरु पनि भाडामा बसेका छन् । तपाईले माग गर्नु भएको ठाउँहरुमध्ये एउटा ठाउँ २५ बर्षदेखि नेपाल सरकारले मुअब्जा नदिएर १५० परिवारलाई सुकुम्बासी बनाइएको छ । त्यो ठाउँमा कुन चै नैतिकतामा हामीले व्यापार गर्न दिन मिल्ला ? ५. यस्तो धरातलमा तपाईको माग पुरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला । संविधान, सार्वजनिक सडक ऐन जस्ता सम्बन्धित बिषयहरु हामीले परिवर्तन गर्न सक्ने कुरा भएन । त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइरहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला । तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो महानगर हेर्ने चाहना स्वयम तपाईको पनि नहोला, विधिको पालना तपाईको पनि इच्छा होला भन्ने लाग्छ । ६. मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि । गरिबको सधैको लागि बोल्दिने काठमाडौं महानगर छ । घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ । त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मुल गर्ने एउटा चरणकोरुपमा थियो । महानगरको सिमितता र सम्भावना दुवैको प्रत्यक्ष अध्ययनबाट केहि कार्यक्रमहरु थप परिस्कृत गरिएका हुन् । अहिले पनि भन्छौँ, संसारैबाट गरिबी हटाउने हो, गरिब होइन । यसैले हामीले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्दैछौँ । सामान्य तालिमहरुबाट प्राप्त गरिने र सहजै बजार पाउने सिपहरु सिकाउनका लागि १० करोड भन्दा बढि बजेट छुट्याएका छौँ । गतबर्ष मात्र हामीले १५ हजार भन्दा धेरैलाई छात्रवृतिको व्यवस्था गरायौँ । स्वास्थ्यमा १० प्रतिशत छुटको प्रक्रिया लागू गर्ने बित्तिकै हरेक दिन ९०० शैयामा विपन्नले उपचार पाउने हक स्थापित हुन्छ । यसरी धेरै गर्न सकिने ठाउँ हुँदाहुँदै भारत र चीन बाट ल्याइएका सामानहरु फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन । बरु यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरुलाई धरासायी बनाउँछ । स्वर्गीय प्रेम प्रसाद आचार्यज्यूको संघर्षको मिहिन अध्ययन गर्ने हो भने पुग्न सकिने निष्कर्ष यो पनि हो । देशभित्र बनेका तर ठुलो बजारमा जान नसक्ने, अस्थायी प्रकृतिका आय सिर्जना गर्ने व्यवसाय वा उत्पादनहरुलाई व्यवस्थित गर्ने नीति लिएर काम अगाडि बढाइरहेकै छौँ । यहि नीति लागू भएपछि देशमा उत्पादन भएका सामान र सेवाहरुको काठमाडौँमा बजारीकरण सहज बनाइ अहिले देखिएका त्योसम्बन्धित समस्या कम हुनेछन् । ७. र, जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्निम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ । उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको ? ति जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको ? त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको ? हाम्रो आग्रह छ, हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योभन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ । यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला ।
रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे
झापा । सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । उनले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न पहल थाल्ने जनाए । उनले भने, ‘काठमाडौंँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने छु ।’ समितिका कोशी प्रदेश संयोजक डा. लक्ष्मीप्रसाद मैनाली नेतृत्वको टोलीले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रेलमार्ग प्रभावितका समस्याबारे ध्यानाकर्षण गराएका थिए । समितिका महासचिव रञ्जित प्रसाईंले प्रभावितको यथोचित न्याय र मागको सन्दर्भमा सभामुखलाई अभिभावकीय भूमिका निर्वाह गरी सरकार समक्ष माग पूरा गराउन आवश्यक समन्वय र पहल गरिदिन आग्रह गरे । प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि रोक्का गरिएको घरजग्गामा अहिले रेलवे विभागले झापा र सुनसरीमा डिमार्केशनको काम सम्पन्न गरिसकेको छ भने मोरङमा डिमार्केशनको काम बाँकी रहेको उनले जानकारी दिए । ‘रेलमार्गका लागि सरकारले तीन जिल्लाका मालपोत कार्यालयमार्फत हालसम्म झापाको दुई हजार चार सय ५७ कित्ता, मोरङमा एक हजार छ सय ३८ कित्ता र सुनसरीमा एक हजार तीन सय २९ कित्ता गरी जम्मा पाँच हजार चार सय २४ कित्ता जग्गा रोक्का राखिएको छ’, समितिका महासचिव प्रसाईंले भने । सर्वसाधारणले दैनिक व्यवहारिक कठिनाइ भोग्नुका साथै आफ्नै सम्पत्तिमा बन्दिको अवस्था सिर्जना भएको प्रभावितहरुको गुनासो छ । रेलमार्गका लागि झापा, मोरङ र सुनसरीका १८ पालिकाअन्तर्गत ६३ वडाका स्थानीयवासीको सयौँं बिघा जग्गा रोक्का गरिएको उनले बताए । यस खण्डको रेलमार्ग निर्माणका लागि चार हजारभन्दा बढी घरसहितका संरचना प्रभावित हुने रेल विभागले जनाएको छ । रासस
चिकित्सकलाई हातपात तथा कुटपिट गरे १ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने
काठमाडौं । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई हातपात गरेमा एक वर्ष सम्म कैद वा एक लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा चिकित्सकहरुमाथि विभिन्न स्वास्थ्य संस्थामा भएको हातपातको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन ऐन २०७९ मा सो व्यवस्था भएको जानकारी सूचनामार्फत गराएको छ । मन्त्रालयले पछिल्लो समयमा स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा कुटपिटलाई लिएर भइरहेको आन्दोलनलाई सम्बोधन गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने हातपात गर्नेमाथि कानूनअनुसार कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध भएको भन्दै स्वास्थ्य संस्था अविछिन्न रुपमा सञ्चालन गर्न भनेको छ । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन ऐन २०७९ मा भएको व्यवस्थालाई अस्पताल परिसरमा सूचना बोर्ड बनाएर टाँस्न समेत भनेको छ ।
सिटिजन लाईफ इन्स्योरेन्सको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज १० गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (असोज १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । नियमअनुसार बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुनु पर्ने हो । तर बिहीबार अर्थात असोज ११ गते इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएसँगै सेयर बजार बन्द हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १७२.४३ रुपैयाँ र अधिकतम ५१७.२९ रुपैयाँ तोकेको छ । कम्पनीको सेयर कारोबारको लागि सिम्बोल ‘सीएलआई’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
सेयर कारोबार लगातार तीन दिन बन्द
काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो । असोज ११ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ । यससँगै, बजार अब एकैपटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ ।
जहाज खरिद पारदर्शी हुने पर्यटनमन्त्रीको दाबी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औं विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए । मन्त्री किरातीले भने, ‘जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।’ निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् । पर्यटनमा नीतिगत सुधार अपरिहार्य पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताए । पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्ययअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गरे । ‘पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्’, उनले भने, ‘हामीले पर्यटक ल्याउने मात्रै नभइ उनीहरुको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।’ उनले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे । सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोडर लैजानुपर्ने धारणा राखिन् । राष्ट्रिय एकतालाई बलियो बनाउन पनि विविध संस्कृति र सम्पदाको जगेर्ना गर्न जरुरी रहेको उनको भनाइ छ । ‘पर्यावरणमैत्री पर्यटन विकासमार्फत मुलुकको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ । दिगो पर्यटन विकासका लागि नेपालको प्रकृति, संस्कृति, सम्पदा, पर्यावरण, परम्परा, भाषा, जातजातिको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने आवश्यकता छ’, उनले भनिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, नयाँ गन्तव्यको अध्ययन र खोज गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिरहेको बताए । उनले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा पर्यटन क्षेत्रमार्फत सबैभन्दा धेरै विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो । सोही अवसरमा पर्यटनमन्त्री किरातीले ललितपुर महानगरपालिकाले महानगरपभित्रको पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरेको नक्शा सार्वजनिक गरे । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । दिवसका अवसरमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका थिए । यस्तै ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि आयोजना गरिएको छ । संस्था र व्यक्ति सम्मानित सरकारले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सेभेन समिट ट्रेक्स प्रालि, सिता वल्र्ड ट्राभल प्रालि, एभरेष्ट हस्पिटालिटी एन्ड होटल तथा रिसोर्ट, पोखरा अष्ट्रालाई प्रालि छन् । साथै, नेपाल वायुसेवा निगम, कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, नवलपरासीको अमलटारी होमस्टे पनि सम्मानित भएका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पन सो अवसरमा सम्मान गरिएको छ । रासस
बुधबार नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबार
काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र सेयर कारोबार दुबै घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो । २८२ वटा स्क्रीप्सको एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोडले घटी हो । मंगलबारको बजारमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबारभ भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो सूचीमा एनआईसी एशिया बैंक, तेश्रोमा रिलायबल नेपाल लाइफ, चौथोमा शिवम् सिमेन्ट र पाँचौंमा नागरिक लगानी कोष रहेका छन् । घटेको बजारमा पनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ । यता लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य १० प्रतिशत र शुवम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १००.६८ अंकले घटेको छ ।