विकासन्युज

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

फाइल फोटो काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिश्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ । भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत् आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिंदै थियो । डे अहेडको नविकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गरे । ‘यसअघि प्रतिश्पर्धी बजारबाट विद्युत आयात निर्यातका लागि एक दिन पर्खनु पर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौं, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ,’ अधिकारीले भने, ‘डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रो लागि नयाँ अनुभव र उपलब्धी हो, यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत व्यापारमा नयाँ इँटा थपिएको छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

व्यवसायिक सफलतासँगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा रोविन शेरचन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ। आइसीसी नेटवर्कमा पुग्न र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ-आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै विभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् । उम्मेदवारी घोषणाको लहरमा उभिएका मध्ये एकजना बलिया उम्मेदवार रोबिनप्रसाद शेरचन पनि एक हुन् । उनले आइसीसीको आगामी २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेकाछन् । हालको कार्यसमितिमा उनि एनआरएनए आईसीसी सदस्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् । लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आएका शेरचन सामाजिक र परोपकारको क्षेत्रमा समेत क्रियाशील रहेका छन् । उनी विश्वभरी रहेका नेपालीमाझ परिचित एवं एक बलियो उम्मेदवारका रुपमा समेत मानिन्छन् । उनी भन्छन, ‘एनआरएनए स्थापना भएको करिब २० वर्ष भयो, मैले करिब ३५ वर्ष जापानमा बिताएको छु, एनआरएनए स्थापना हुनुपूर्व पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको थिएँ, ती सबै संस्थागत थिएनन् तरपनि एक किसिमको आत्मसन्तुष्टि प्राप्त भइरहेको थियो ।’ परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रियस्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनले बताए । उनी भन्छन्, ‘यो विश्वभर फैलिएको नेपालीहरूको गैरराजनीतिक संस्था हो । यहाँ जोडिएर संस्थागत रुपमा नेपाल र नेपालीका लागि निस्वार्थ रुपमा व्यापक काम गर्न सकिन्छ । त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाईहरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’ एनआरएनए एक विशुद्ध गैरराजनीतिक संस्था भएपनि यसभित्र राजनीतिक हस्तक्षेप र नेतृत्वमा देखिएको विवादका कारण संघको १०औं महाधिवेशन हुनसकेको थिएन । त्यसबेला तीन जना अध्यक्षका दाबेदार थिए । कोरोना महामारीको अवस्था एवं नेतृत्वमा उत्पन्न विवादका कारण पालैपालो गरेर तीनै जना अध्यक्ष रहने सहमति गरिएको थियो । तर, यसपटक ११औं महाधिवेशन आगामी अक्टोवर १७ देखी १९ सम्म काठमाडौंमा हुने निर्णय संघले गरेको छ । उपाध्यक्षका प्रत्यासी शेरचनका विचारमा विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवालगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् । शेरचन भन्छन्, ‘तिनीहरूलाई सङ्घको घेराभित्र ल्याउनु पर्नेछ, सबैले अपनत्व महसुस गर्नेगरी काम गर्नु पर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावकासाथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि अपिल गर्न चाहन्छु ।’ शेरचनको पृष्ठभूमी मुस्ताङमा जन्मेपनि शेरचनने आफ्नो बाल्यकाल भने पोखरामा बिताएका थिए । गण्डकी बोर्डिङ स्कुल अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनलाई आफन्तले बोलाएपछि सन् १९८८ अर्थात् आजभन्दा ३५ वर्षअघि जापान गएका थिए । उनी जापान पुग्दा जापान अहिलेको जस्तो अवस्थामा थिएन, हिरोसिमा र नागासाकीमा अमेरिकाले खसालेको परमाणु बमको घाउ ताजै थियो । परमाणु बमका कारण ठूलो क्षति ब्यहोरेको जापानले भर्खर-भर्खर विकासको गतिमा रफ्तार अगाडि बढाएको थियो । जापानमा हाल करिब १ लाख ५० हजार नेपाली छन् तर, त्यस बखत त्यति धेरै नेपाली थिएनन् । करिब सय जना जति मात्रै नेपाली भएको हुनसक्ने शेरचन बताउँछन् । त्यो समयमा जापानमा जीवन बिताउने विषय सोचे जस्तो थिएन । भाषा फरक खानपान, चालचलन जीबनशैली सबै फरक थिए । सुरुमा काम गर्न निकै गाह्रो थियो । भाषा र शिप दुवै नभएकोले कठिन थियो । जापानीहरु जापानी भाषा नै बोल्ने गर्दछन् अंग्रेजी बोल्नेहरु बिरलै भेटिन्छन् । त्यसैले उनले सुरुमा भाषा पढ्न थाले दुई वर्ष भाषा पढिसकेपछि मात्र त्यहाँ उनलाई घुलमिल हुन सजिलो भयो, भाषा भएपछि काम पाउन सजिलो भयो । त्यसपछि केही समय रेस्टुरेन्टमा काम गरे । त्यसबेला जापानमा भएका मध्ये धेरै जसो थकाली समुदायका थिए । मुस्ताङका थकालीहरु सीमापार व्यापार गर्ने गदर्थे । शेरचनको पुर्ख्यौली पेशा पनि व्यापार नै थियो । उनका बुबाले होटल व्यवसाय साथै हङकङबाट कपडाहरु ल्याएर बेच्ने व्यवसाय पनि गर्थे । भैरहवामा रहेका होटल तथा पसलहरु राम्रै चलेका थिए । बुवाले गरेको व्यवसायलाई निरन्तरता दिँदा भविष्य छैन भन्ने लागेर उनले आफैं केही गर्ने सोंच बनाएर जापान प्रवेश गरेको बताउँछन् । रेस्टुरेन्टमा काम गर्ने सिलसिलामा उनले एक जापानी युवतीसँग २७ वर्षको उमेरमा प्रेम विवाह गरेका थिए। शेरचनको विवाहसँगै नयाँ जीवनको शुरुवात भएको अनुभव सुनाउँछन् । जापानी नागरिक भएपनि उनकी श्रीमतीले विदेशमा उच्च शिक्षा हासिल गरेकी थिइन्, जसले गर्दा उनको अंग्रेजी भाषामा राम्रो ज्ञान थियो । शेरचनको श्रीमतीलाई आफ्नो देशको संस्कृति अरुलाई बुझाउने विषयमा रुची थियो, सो रुची दुवैको साझा जस्तो बन्यो । यसैक्रममा उनीहरुले एउटा साँस्कृतिक विद्यालय खोल्न पुगे । उनीहरुले सो विद्यालयमा अंग्रेजी लगायतका विभिन्न भाषाको कक्षा शुरुवात गर्न थाले । त्यसबेला पत्रपत्रिकाको उति चलन थिएन पत्रपत्रिकाहरु व्यापक थिएनन् । ‘माउथ टु माउथ’ प्रचार गर्दै हुने गर्दथ्यो । एकदिन उनीहरुको स्कुलको बारेमा एउटा स्थानीय पत्रिकामा समाचार प्रकाशन भएपछि स्कुल सोचेभन्दा राम्रो चल्न थालेको शेरचन सुनाउँछन् । तर, सुख र खुसीहरुको सुरुवात हुँदै गरेको शेरचनको जीवनमा अचानक ठूलो बज्रपात आइपर्यो । उनकी ३९ वर्षीय श्रीमतीलाई क्यान्सरले लग्यो । शेरचन एक्लै भए । दुईजनाको मन मिलेर खोलेको स्कुल एक्लै सम्हाल्नुपर्ने अवस्था आयो । श्रीमतीको यादसँगै केहीवर्ष उक्त स्कुल चलाए । पछि आफ्ना भाईहरुसँग मिलेर एउटा बार खोले करिब १३० देशका विभिन्न ब्रान्डका बियरहरु र खानेकुराहरु बिक्री गरिने उक्त बार पनि सोचेभन्दा राम्रो चल्न थाल्यो । फेरि उनले इटालियन रेष्टुरेन्ट खोले त्यो पनि राम्रो चल्यो । आफ्नी श्रीमतीको याद बोकेर उनी एकपछि अर्को व्यवसायको उकालो यात्रा गर्दै गए असफलता भने कतै भोग्नपरेन जुन काममा हात हाल्यो त्यो फलिफाप हुँदै गयो । मानौं कुनै चमत्कार हुँदैछ जस्तो । अहिले उनले आफ्नो रेस्टुरेण्ट व्यवसायलाई जापानभर फैलाएका छन् उनले जापानभर २५ आउटलेटहरु सञ्चालन गरिरहेका छन् । व्यवसाय सफल रहेपनि लामो समय सम्म परदेशमा रहँदा नेपाल र नेपालीको निकटमा रहेर काम गरिरहेको अनुभव सुनाउदै रोबिन शेरचनले बिदेशमा हासील गरेको दक्षता, सीप र रकमलाई व्यवस्थित गरी नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न एनआरएनए एउटा बलियो माध्यम भएको बताउँछन् । इमान्दारीता र पारदर्शी तरिकाले कार्य गर्ने नेतृत्व चयन गर्न सकेमात्र संस्थालाई रुपान्तरण गर्दै पद्दती अनुरुप प्रभावकारी कार्य सकिने उनको विश्वास रहेको छ । शेरचनको महाधिवेशन लक्षित पर्चा

नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै

काठमाडौं । नेपालले अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्ने भएको छ । संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु रविशंकरले गरेका हुन् । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७ हजार कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन । /* नेपालले पनि उक्त संस्कृतिक उत्सवमा सहभागिता हुँदैछ र नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुती गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगिसकेका छन् । यी नृत्यहरुको निर्देशन नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गरेका छन् । उनले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आएका थिए । नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताए । अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् । यस वर्ष हुन लागेको ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो । सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण जुन बर्लिनमा सन्न२०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सन्सस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैतिस लाख सहभागी थिए ।

कर्मचारीको व्यक्तित्व विकासका लागि सूर्यज्योति लाइफको कर्पाेरेट मिट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पाेरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको हो । दुुई दिनको कर्पाेरेट मिटको पहिलो दिनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ बारे जानकारी गराएका थिए । उनले सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली ,ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्ग निर्देश दिएका थिए । कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुदै आइरहेको बताउदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको बताउँदै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने जानकारी दिएका थिए । कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व बिकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिदै जाने बताएका थिए । उनले नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।

बुबाले अधियाँ कमाएर हुर्काएका ‘भीम’, क्रिकेट खेलेर नामसँगै बुुबाको ऋण समेत तिरे

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो’, बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ । ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । ‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५÷२० लाख रुपैयाँ ऋणमा डुबे’, उनले भने, ‘९÷१० लाख रुपैयाँ छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् । थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्् । ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे । ‘सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । ‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । ‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।’ भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । ‘क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन’, ्उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।’ त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो, कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ’, उनले भने । यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो, अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो’, उनले भने । बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ । ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै, खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्’, उनले भने । पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ । ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन््’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।’ रासस

थिति बिग्रिएका सडक (फोटोफिचर)

काठमाडौं । सडककै कारण सधैँ जनताले शास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रिय राजधानी काठमाडौंको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचरणीय छ । काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरेमात्रै पनि पुग्छ । काठमाडौंका यी सडकहरु मृत्युमार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखन्छि । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।  

शरदयाममा धौलागिरि आरोहण सुुरु, १३ जनाले गरे सफल आरोहण

म्याग्दी । चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरिसकेको शेर्पाले बताए । सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुुचुरोमा पुुगेका छन् । विभिन्न टे«किङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ । गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा ८६ लाख २४ हजार तीन सय ३० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका चार सय ३६ जनाले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड दश लाख १४ हजार सात सय ९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ शुल्क तिरेका विभागले जनाएको छ । शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका तीन सय एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो । हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ जना, खयाङ ६छजना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहनुभएका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो । ‘अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ’, उनले भने, ‘दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ । भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ । अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ । विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनको भनाइ छ । त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए । चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उनको भनाइ छ । कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे । ‘हामीकहाँ कृषिजन्य वस्तुको उत्पादन निकै कम छ र त्यसमा पनि निर्यातजन्य वस्तु उत्पादन अझै कम छ, मन्त्री साउदले भने, ‘नेपालले लामो समयदेखि केही निर्यातजन्य उत्पादनमा चीन सरकारसँग छुटका लागि पहल गरिरहेको विषयमा पनि महत्वपूर्ण छलफल हुनुलाई भ्रमणको उपलब्धिका रूपमा लिएका छौँ । मन्त्री साउदले भ्रमणमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीले पनि नेपाललाई उच्च महत्व दिएर कुराकानी गरेको र नेपालले पनि आफ्नो हित र चासोका विषयमा आफ्ना विषयहरु उच्च तहमै स्पष्टसँग राखेको बताए । उनले विभिन्न विषयमा दुई देशबीच गहनरुपमा छलफल भएको र यसबाट नयाँ समझदारी निर्माण भएको आफूले पाएको जानकारी दिए । यस भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उच्च महत्व दिएको देखिएको बताउँदै मन्त्री साउदले भने, ‘प्रधानमन्त्रीलाई एक औपचारिक कार्यक्रममा नै गार्ड अफ अनर प्रदान गरिएको छ, संयुक्त वक्तव्य प्रकाशित भएको छ र यसमा दुई देशबीचका आपसी हितका महत्वपूर्ण विषयलाई समेटिएको छ, राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि उच्च महत्वका साथ आफ्ना कुरा राख्ने र नयाँ समझदारी निर्माण गर्ने काम भएकाले यो भ्रमणलाई पूर्णरूपमा सफल मान्नुपर्दछ ।’ चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेको बताए । उनले नेपाल आर्थिकरूपमा बलियो बन्नका लागि चीनबाट कसरी लाभ लिने भन्ने विषय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण र बलियो पक्ष हो भन्ने आफूलाई लाग्ने बताए । भ्रमणका क्रममा गरिएको कैलाश मानसरोवरको भ्रमण सो ठाउँ हेर्नका लागि मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थलगत निरीक्षण भएको मन्त्री साउदको भनाइ छ । भारतसहित विश्वका लाखौँ हिन्दू पर्यटकलाई नेपाल हुँदै कैलाश मानसरोवरको भ्रमणको उचित वातावरण बनाउनका लागि सो ठाउँको स्थलगत अध्ययन अवलोकन गरिएको उनको भनाइ छ । यो क्षेत्रमा नेपालको बाटो भएर जान पाए धेरै सजिलो हुने विषय बारम्बार उठ्ने गरेका सन्दर्भमा नेपालका तर्फबाट कैलाश मानसरोवर जान पाउने गरी सडक निर्माणको प्रबन्धका लागि त्यहाँ गएको उनले स्पष्ट पारे । मन्त्री साउदले हुम्लाको सिमकोटका अतिरिक्त बझाङको उरई र दार्चुलाको तिङ्करको बाटो भएर पनि सो क्षेत्रमा पुग्न सकिने गरी अध्ययन भइरहेकाले सोही स्थानमा नै पुगेर अध्ययन गरेको बताए । चीन नेपाललाई कृषि, प्रविधि एवं अन्य लगानीका क्षेत्रमा सहयोग गर्न चाहन्छ । चीन आर्थिक सम्पन्न मुलुक भएकाले नेपालको पनि आर्थिक विकासमा सहयोग गर्न चाहन्छौँ भनेर चीनले भनिरहेकाले यस्तो खालको समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनका लागि पनि यो भ्रमण फलदायी रहेको भनाइ मन्त्री साउदले राखे । चीन आउनुअघि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता जनाएर नेपालले विश्व समुदायलाई शान्ति स्थापना, अतिकम विकसित मुलुकका आवश्यकता तथा जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र त्यसबाट नेपालले पाउनुपर्ने सुविधालगायतका विषयमा सम्बोधन गरेकाले महासभाको सहभागिता नेपालका लागि महत्वपूर्ण रहेको मन्त्री साउदले बताए । अतिकम विकसित राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकलाई आफूले अध्यक्षता गरी सामूहिक चासोका बारेमा कुरा भएको पनि उनले जानकारी दिए । ‘नेपाल हाल अतिकम विकसित राष्ट्रहरूको नेताको हैसियतले यसपटक प्रधानमन्त्रीले राष्ट्रसङ्घीय महासभामा हामीजस्ता विकासशील देशका समस्याका साथै यस्ता देशहरूप्रति विकसित देशको दायित्वका साथै सङ्क्रमणकालीन न्यायका विषयमा पनि राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउनुभएको छ’, उनले भने । साथै आफूले पनि परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न देशका विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको हित र चासोका विविध विषयमा कुरा उठाएको मन्त्री साउदले जानकारी दिए ।  रासस