विकासन्युज

डिशहोम फाइबरनेटको अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने कम्पनीले जनाएको छ । उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ । थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

नेपालीलाई मलेसियामा काम पाउन सकस, आम्दानी घट्दै

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा बढी जाने देशमध्येको एक हो मलेसिया । धेरै नपढेर र धेरै सीप नभएपनि मलेसिया गएर नेपालीहरुले राम्रो कमाइ गर्दै आएका छन् । हाल मलेसियामा मलेशियामा पाँच लाख नेपाली आप्रवासी कामदारहरू रहेको अनुमान पनि गरिन्छ । तर, पछिल्लो समय नेपाली कामदारलाई विदेशमा काम पाउन सकस भइरहेको बुझिएको छ । मलेशियामा केही समयदेखि पहिलाको जस्तो नियमित काम पाउन गाह्रो भइरहेको त्यहाँका आप्रवासी नेपालीहरूले गुनासो गरेका छन् । त्यहाँको समस्याबारे कतिपय कामदारका आफन्तले नेपालको वैदेशिक रोजगार विभागमा उजुरी पनि दिन थालेका छन् । वैदेशिक रोगजार विभागका अधिकारीहरू पनि समस्या समाधानका लागि काम गरिरहेको बताउँछन् । विभागका महानिर्देशक मदन दाहालले कामदारका आफन्तले काम नपाएको विषयमा उजुरी गरेको बताए । उनले ती समस्या समाधानका लागि विभाग काम गरिरहेको बताए । उनका अनुसार कामदारले अतिरिक्त समय काम नपाउँदा न्यूनतम १,५०० रिङ्गिटभन्दा बढी कमाउन नसकेको केही गुनासो पनि सुनिएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भण्डारीले जस्तै महानिर्देशक दहालले पनि समस्या लम्बिँदै गए आगामी दिनमा गाह्रो हुन सक्ने सङ्केत गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षले पनि मलेशियामा नेपाली कामदारलाई पछिल्लो समय समस्या भइरहेको बताए । वैदेशिक रोजगारमा जाने नेपालीहरूमध्ये खास गरी अर्धदक्ष र अदक्ष कामदारका लागि मलेशिया आकर्षक गन्तव्यको रूपमा रहेको छ । मलेशियास्थित आप्रवासी कामदारको हकहितको क्षेत्रमा काम गर्दै आएका एक नेपालीका अनुसार कतिपय कम्पनीले माग घटेपछि साप्ताहिक बिदाको समय बढाउन थालेको पाइएको छ । ‘माग घटेकोले उत्पादन घटाउनु परेको भन्दै पहिला हप्तामा एक दिनमात्र बिदा दिने कतिपय कम्पनीले हप्ताको शनिवार र आइतवार दुई दिन बिदा दिन थालेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने। कामदारलाई कतिपय कम्पनीहरूले ‘ओभरटाइम’ अर्थात्‌ तोकिएको भन्दा अतिरिक्त समयमा काम दिन पनि छाडेका कामदारहरूले गुनासो गरेका छन् । ‘ओभरटाइम काम दिँदा तलब बढ्ने भएर कम्पनीहरूले काम नदिएका होलान्,’ ती नेपालीले भने । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेशियामा पछिल्लो समय खास गरी सरसफाइ र सेवासम्बन्धी कम्पनीहरूमा नियमित काम पाउन समस्या देखिएको छ । ‘विशेष गरी सर्भिस सेक्टरमा जानुभएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू केही समय कामविहीन भएर बस्नुपरेको हामीलाई जानकारी आएको छ,’ उनले भने। ‘अहिलेसम्म समस्याले ठूलै रूप त लिइसकेको छैन, तर बजार खस्कँदै गयो भने भविष्यमा धेरै नेपालीले रोजगारी गुमाउन सक्छन्,’ भण्डारीले थपे । विगतमा काममा जाने नेपालीहरूले भिसा अवधि सकेपछि अझ गर्न चाहनेहरूले थपाएर काम गर्दै आएका थिए । तर, अहिले धेरै कम्पनीले भिसा अवधि थपाउन आवश्यक नरहेको नेपाली कामदारलाई भन्न थालेका विवरणहरू आएका छन् । बिबिसीको सहयोगमा ।

भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानार्कषण

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थाबारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका प्रमुख निक्षेप हेमराज सन्ज्यालद्वारा आइतबार जारी विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो । ‘विगत केही समयदेखि केही अनलाइन सञ्चार माध्यममा यस बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए । उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए । उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए । कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए । विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरुआत गरेको थियो । सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन् । रासस

नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी

गल्याङ ।  स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिने उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनी विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्किए । उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुब्यो । व्यवसायबाट सन्तुष्ट हुन नसकेका उनले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उनले भैँसी पाल्न सुरु गरे । ‘अहिले फार्ममा छ  भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्’, उनले भने, ‘चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०/३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।’ कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उनले कामदार अभावमा भैँसीलाई घटाएर गाई थपे । उनले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएका छन । ‘तीनदेखि पाँच  टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु’, उनले थपे, ‘गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।’ त्यस्तै उनले तीन  टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आए । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आएक छन । उनले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गरे । उनले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिए । ‘मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच/छ सय किलो सिमी उत्पादन गर्दै आएको छु’, उनले भने, ‘सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ । यस्तै उनको फार्ममा चार/पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उनले बताए । उनले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गरे । उनले वार्षिक ८०/९० मुरी धान समेत उत्पादन गर्छन् । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्किन्छन । फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उनले उन्नत जातका घाँस पनि लगाए  । ‘युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो’, उनले भने, ‘युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस गर्यो ।’ उनले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोखे । ‘कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ’, उनले भने, ‘मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।’ उहाँलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आएका छन । उनले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिए । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताए । उनले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताए । ‘फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्छन, गाउँपालिका अध्यक्ष सुवेदीले भने, ‘गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।’ वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उनले बताए । रासस

जी–७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त

एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानीको अनुमति दिने सम्झौताबाट बाहिरिएपछि ‘युक्रेनी खाद्यान्न निर्यात पूर्वाधार ध्वस्त पारेको’ भन्दै आलोचना गरेको थियो । कुनै पनि देशको नाम नलिइकन जी–७ को वक्तव्यमा ‘आर्थिक निर्भरतालाई हतियार बनाउने कार्य’ र ‘महत्वपूर्ण खनिजपदार्थमा हालैको निर्यात नियन्त्रणका उपायहरूप्रति चिन्ता व्यक्त गरिएको’ पनि उल्लेख गरिएको छ । चीनले अन्य देशलाई राजनीतिक रूपमा दबाब दिन व्यापार प्रतिबन्धहरू प्रयोग गरेको आरोप लगाइएको छ । चीनले हालै केही प्रकारका विद्युतीय वाहन ब्याट्रीहरू बनाउनको लागि महत्वपूर्ण मानिने ग्रेफाइटमा निर्यातमा प्रतिबन्धहरू लगाएको छ । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा चीनको कामलाई सुस्त बनाउने प्रयासमा उच्च प्रविधियुक्त माइक्रोचिप्सको आप्रर्तिमा नयाँ प्रतिबन्ध लगाएको केही दिनपछि यो कदम चालिएको हो । टोकियोले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधित फोहोर पानी छोड्न सुरु गरेदेखि नै चीन र रूसले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्धप्रति अर्को स्पष्ट संकेत गर्दै जी–७ राष्ट्रहरूले कुनै पनि प्रतिबन्ध ‘विज्ञानमा आधारित र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र अन्य अन्तर्राष्ट्रिय नियमअनुसार मात्र लागू हुनुपर्ने’ बताएका छन् । उक्त पत्रमा मध्यपूर्वको बारेमा कुनै प्रत्यक्ष उल्लेख गरिएको छैन । तर जापानको ओसाकामा भएको बैठकको सह–अध्यक्षता गरेका जापानका विदेशमन्त्री योको कामिकावाले इजरायल र प्यालेस्टाइनको पछिल्लो अवस्थाका कारण अनिश्चितता अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । जी–७ मा वर्तमान अध्यक्ष जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, बेलायत र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घ रहेका छन् । सन् २०१४ सम्म यसले रूसलाई सदस्यका रूपमा समेटेको थियो । ओसाकामा भएको वार्तामा भारत, अस्ट्रेलिया, चिली, केन्या र इन्डोनेसियालगायत अन्य देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।