विकासन्युज

जथाभावी फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०–८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिए । उनका अनुसार गत आव २०७९–८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । ‘घर, पसल र कार्यालयबाट निस्कने फोहर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । सामानसहित ट्रक नियन्त्रणमा बिलबिजकभन्दा बढी लोड गरेको तयारी कपडा तथा विद्युतीय सामानसहित पर्सा प्रहरीले ट्रक निन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डबाट बिलबिजकभन्दा बढी सामान लोड गरेको ना३ख ४६५१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिलविजकभन्दा बढीका सामान बोकेको ट्रक वीरगन्जबाट झापातर्फ जाँदैै गरेको गोप्य सूचनाका आधारमा रोकेर जाँच गर्दा बिलबिजक शङ्कास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । बरामद सामग्रीको मूल्याङ्कन करिब रु ४२ लाख ३२ हजार आठ सय २७ कायम गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस

कुटपिट र झगडामा व्यस्त एनआरएनए, बैंक खाता रोक्का गरेर कार्यालय कब्जा गर्ने रणनीति

काठमाडौं । आफ्नो जन्मभूमी अर्थात् नेपालको समृद्धिमा योगदान पुर्याउने भनेर संगठित भएका गैर आवासिय संघ (एनआरएनए)का पदाधिकारी तथा सदस्यहरु नै एकआपसमा कुटपिट र झैझगडामा व्यस्त हुन थालेका छन् । लामो समयदेखि विवाद झेल्दै आएको एनआरएनएको ११ औं महाधिवेशनमा धाँदली भएको भन्दै विवाद थप चुलिएपछि सामूहिक झैझगडा र कुटपिटमा उत्रिएका हुन् । एनआरएनएको सम्मेलनमा कमिटि चयनका लागि प्रयोग गरिएको विद्यु्तीय मतदान प्रणालीमार्फत् नियोजित रुपमा धाँदली गरिएको भन्दै छानविन समिति गठन गर्ने र पुनः मतदान गर्ने जस्ता विषयहरु असन्तुष्ट पक्षले उठाएको थियो । सो विषयमा विजयी पक्षले समेत छानविनमा सहमति जनाएको थियो । तर, सहमति विपरित निर्वाचित अध्यक्ष बद्री केसी सहितको पदाधिकारीले सपथ लिएपछि असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटि गठन गरेर अगाडि बढ्ने काम गरेको छ । अहिले एनआरएनएमा दुवै पक्षले एनआरएनको कार्यालयलाई एकआपसमा कसले कब्जामा लिने भन्ने होडबाजीमा उत्रिएका छन् । सोही शिलशिलामा एनआरएनको बालुवाटारस्थित कार्यालयमा मंगलबार आरके शर्मा र केसी पक्षका व्यक्तिहरुबीचमा झडपको अवस्था सिर्जना भएको थियो । झडपमा बेल्जियम निवासी पत्रकार ओम शर्मालाई चोट लागेको छ । बद्री केसीले दिए उजुरी मंगलबार एनआरएनएको कार्यालयमा भएको झडपपछि एनआरएनएका निर्वाचित अध्यक्ष बद्री केसीले असन्तुष्ट पक्षको नेतृत्व आरके शर्मासहित ५ जना विरुद्धमा भिन्न–भिन्न अभियोगमा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । बुधबार अध्यक्ष केसीले जीउ, ज्यान र सम्पत्तिको सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनियाताको विषयलाई लिएर उजुरी दिएका हुन् । एनआरएनए दुई समूहमा विभाजित भएपछि संगठनको बैंक खाता रोक्का गर्न असतुन्ष्ट पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन गरेको छ । परराष्ट्रले समेत संघको बैंक खाता रोक्का गर्न निर्देशन दिइसकेको छ । साथै आधिकारिक संघको दाबी गर्दै आरके समूहले परराष्ट्र मन्त्रालयमा आइतबार नै निवेदन समेत दिइसकेको छ । महाधिवेशनपछि शुरु भएको विवादलाई सल्ट्याउने पक्षमा निर्वाचित भएको दाबी गर्ने समूह रहेको देखिँदैन भने असन्तुष्ट पक्षले पनि निर्वाचनको परिणामलाई अस्वीकार गर्ने बताउँदै आएको छ । मध्यस्थता गर्ने पक्षको अभाव र दुवै पक्षको आ-आफ्नै अडानका कारण एनआरएनको विवाद थप चुलिँदै जाने देखिन्छ । अझ पछिल्लो समयमा एनआरएनए स्पष्ट रुपमा राजनीतिक दलमा विभाजित हुँदै  खोज्दा समस्या थप बढ्ने समेत देखिएको छ । १० औं महाधिवेशनदेखि विवाद एनआरएनएमा अहिले देखिएको विवाद भर्खरै विकास भएको भने होइन । २०७८ चैतमा भएको दशौं महाधिवेशनमा नै एनआरएनए दुई समूहमा विभाजन भएको थियो । त्यसपछि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले ६/६ महिनामा अध्यक्षको नेतृत्व गर्नेगरी एनआरएनए सञ्चालन भएको थियो । विभाजनको डिलमा पुगेर समझदारीमा आइपुगेको एनआरएनको ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भनिएपनि राजनीतिक रुपमा कित्ताकाट हुँदै जाँदा भोटिङ प्रणाली नै कब्जामा लिएर मतपरिणाम तय गरेको आरोप लाग्नेगरी विवाद फेरि थपिएको छ । निर्वाचनमा धाँदली भएको समितिको निष्कर्ष निर्वाचनको नतिजामा विवाद सिर्जना भएपछि असन्तुष्ट पक्षले माग गरेबमोजिम निर्माण भएको छानविन समितिले समेत निर्वाचनमा योजनाबद्ध रुपमा धाँदली भएको ठहरसहित प्रतिवेदन बुझाएको थियो । समितिले निर्वाचन समितिले निर्वाचनका बेलामा गम्भीर अनियमितता गरेको र तथा तेस्रो पक्षले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको निष्कर्ष निकालेको छ । निर्वाचनपछिको अवस्थामा एनआरएनए कार्यालय दिनहुँ तनावपूर्ण अवस्थाबाट गुज्रदै आएको छ । एनआरएनका विभिन्न समूहबीचमा झडप हुँदै गएपछि अहिले सो कार्यालयलाई प्रहरीले सुरक्षा दिँदै आएको छ । नेपालको समृद्धिमा योगदान पुर्याउने नाममा संगठित हुन शुरु गरेका एनआएरएनएका पदाधिकारी तथा सदस्यहरु नै पद तथा प्रतिष्ठाको लागि लड्न शुरु गरेपछि उनीहरुको आदर्श नै जोखिममा पर्ने देखिएको छ ।

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा आयात

बाँके । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ । नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केराखेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए । उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ । बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केराखेती गरिरहेका छन् ।

एकैदिन सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

माओवादीको सडक प्रदर्शन : व्यवस्था समृद्धिले जोगिन्छ कि आन्दोलनले ?

काठमाडौं । सत्तासिन माओवादीको केन्द्रीय पदाधिकारीको बैठकले मंगलबार पार्टीमा ६ बुँदे आन्तरिक सर्कुलर जारी गर्यो । उक्त ६ बुँदे सर्कुलरमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध लगायत विषयलाई लिएर जनप्रदर्शन गर्ने विषय उल्लेख छ । ससस्त्र युद्ध’ पश्चात शान्ति प्रकृयामा आइसकेपछिको १७ वर्ष अवधि माओवादी झण्डै केन्द्रीय सरकारमा सहभागी हुँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास भइसकेपछि प्राप्त मतको हैसियतअनुसार माओवादी संघ देखि स्थानीय स्तरको सरकार सञ्चालनमा स्वयम् सहभागी हुँदै आएको छ । अहिले त झनै तत्कालिन युद्धका कमाण्डर तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकारको नेतृत्व गरिरहेका छन् । अनि फेरि सत्तासिन माओवादीले कस्तो ‘प्रतिगमन’को तर्क गरेर सडक संघर्षको आह्वान गरेको छ ? इतिहास भन्छ : आन्दोलनले व्यवस्था जोगिँदैन विश्व वा नेपालको राजनीतिक इतिहास हेर्ने हो भने निरन्तर सिर्जित नयाँ व्यवस्था निरन्तर आन्दोलनले मात्रै जोगिँदैन । यतिमात्रै नभएर रुपान्तरण बिनाको आन्दोलनमा जनसहभागिता पनि हुँदैन । वर्तमान भू–राजनीतिक नेपाली नक्साको सर्जकको रुपमा मानिने पृथ्वीनारायण शाहको परिवार बिक्रम सम्बत् १९०४ बाट २००७ सालसम्म राणा परिवारबाट ‘बन्धक’ बन्दा जनताको तर्फबाट उद्धारको लागि कहिल्यै आन्दोलन भएन । किनकी त्यो राजतन्त्रबाट जनताले न्याय र समृद्धिको अपेक्षा गर्न छाडिसकेको थियो । वि.सं २००७ सालमा प्रजातन्त्र स्थापनाको लागि आन्दोलनको नेतृत्व गरेका विपी कोइरालाको दुई तिहाई बढीको सरकारलाई च्युत गरेर ०१७ सालमा राजा महेन्द्रले उनलाई जेल हाल्दा उनको पक्षमा तुरुन्तै निर्णायक जनसंघर्ष सृष्टी हुन सकेन । किनकी २००७ देखि ०१७ सालसम्मको अवधिमा विपी कोइराला र नेपाली कांग्रेसले जनअपेक्षित व्यवहार प्रदर्शन गर्न नसकेर नै सायद त्यो हुन सकेन । राजा महेन्द्रले स्थापना गरेको निरंकुश पञ्चायती व्यवस्था फाल्न ३५ वर्ष कुर्नुपर्यो । २०४६ मा स्थापित बहुदलीय व्यवस्था ०५९ सम्म पुग्दा जनताको आशाबाट धेरै पर पुग्यो । जसकारण जनताको अपेक्षा माओवादी, राजा र संसदीय दलमा बाँडिन पुग्यो । संसदीय दलहरुले अपेक्षित गतिमा विकास र सुशासन कायम गर्न नसकेको कारणले नै सो अवस्थाको सिर्जना भएकोमा धेरैको आज पनि मतएैक्यता पाइन्छ । माओवादी र सात राजनीतिक दलहरुको संयुक्त आन्दोलनबाट शुरु भएको नयाँ संक्रमण हुँदै स्थापना भएको वर्तमान व्यवस्थाले पनि करिब ६ वर्ष पुरा गर्न लागेको छ । तर, सो अवधिमा पनि राज्य हाँक्ने हैसियतमा रहेका मुख्य राजनीतिक दलहरुमा मुलुकको समृद्धि, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता मुख्य राजनीतिक मुद्दाहरुमा आधारभूत एकता हुन सकेको छैन । बरु तत्कालीन समयमा वर्तमान व्यवस्थाको वैचारिक नेतृत्व गरेको माओवादी र मुख्य राजनीतिक दलका नेतृत्वहरुमा अपारदर्शिता र शक्तिको दुरुपयोगको व्यापक आक्षेप लागेको छ । वर्तमान व्यवस्थाले सिर्जना गरेको सुन्दर पक्ष ‘नागरिकको स्वराज’को वातावरण भएपनि दल र नेतृत्वले नियोजित रुपमा सिर्जना गरेको सिन्डिकेट र त्यसको दुरुपयोग आम मानिसहरुले मन पराइरहेका छैनन् । नागरिकसँग आजको दिनमा यी मुख्य दल भन्दा उन्नत विचारको अर्को नयाँ शक्ति नभएको निराशाको बादल मडारिइरहेको अवस्थामा विदेशी वा देशी प्रतिगमनकारीहरुले व्यवस्था उल्ट्याउने प्रयत्न गरिरहेका हुन सक्छन् र सोही जालमा फेरि जनता फस्दैनन् भन्न सकिँदैन । तर, त्यसलाई रोक्नका लागि अब ‘प्रचण्ड’ सडकमा आउन नै सम्भव छैन, किनकी यो व्यवस्था यही तरिकाले ‘प्रचण्डहरुले’ टिकाउन भन्नेमा आम मानिसको चाहना नै छैन । त्यसैले उनले पनि विगतका प्राप्तिहरु उल्टिदा कसैले साथ नदिएजस्तै साथ पाउने छैनन् । विगतका बाचा र जनताको अपेक्षाबाट किन भाग्न खोज्छ माओवादी ? नौलो जनवादी स्थापना गर्ने भनेर २०५२ सालमा शुरु भएको माओवादी ससस्त्र युद्ध ०६२/६३ सम्म आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा ओर्लिएको थियो । यद्यपी माओवादीले राजनीतिक वैचारिक रुपमा अहिलेसम्म आफ्ना दस्ताबेजहरुमा कम्युनिष्ट समाजवादलाई छोडेको छैन । तर, डेढ दशदेखि सत्ताको वरिपरि र संगठनात्मक रुपमा उभिएको माओवादीले आन्दोलनको ससस्त्र युद्ध र आन्दोलनको मुख्य उपलव्धिको रुपमा रहेको वर्तमान व्यवस्थालाई टिकाउन किन सो व्यवस्थासँग जोडिने कानून निर्माण, संरचना निर्माण र कार्यान्वयनको विषयलाई खबरदारी पूर्वक अगाडि लैजान नै चाहेन ? वार्षिक रुपमा सरकारले ल्याएका बजेटहरुको अवस्था हेर्दा केन्द्रीकृत राज्यप्रणाली कायमै भएको आभास हुन्छ, किन माओवादीले कहिल्यै संघीय बजेटको पहल गरेन ? शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासन लोकतान्त्रिक व्यवस्थाका सबैभन्दा आधारभूत र सुन्दर पक्ष हुन भनिन्छ तर, यी विषयहरुलाई बलियो ढंगले निर्माण गर्ने विषयमा किन माओवादीले कहिल्यै प्राथमिकता दिएन ? दैनिक रुपमा हजारौं नेपालीहरु विदेश जान लाइन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तस्वीर अहिले सबैका लागि सामान्य बनिसकेको छ । । वर्षमा १२ अर्ब डलर रेमिट्यान्स आइरहेको छ । राज्यको आम्दानीको तुलनामा आयात वृद्धि भइरहेको छ । वर्षमा झण्डै ६ लाख युवा श्रमको लागि तयार हुँदा राज्यसँग १० हजार युवालाई रोजगारी दिने पनि क्षमता छैन । तर, नेपालमा हिमालदेखि तराइसम्म मौलिक उद्यमको व्यापक सम्भावना छ । किन माओवादीको समृद्धिको स्पष्ट दृष्टिकोण बन्दैन ? लोकतन्त्रको विकल्प अवश्य पनि उन्नत प्रजातन्त्र नै हो । लोकतन्त्रको विकल्पमा अवश्य पनि सामन्ती राजतन्त्र अबको विकल्प हुन सक्दैन । तर, लोकतन्त्रमा धेरै राजाहरु आएमा मानिसहरु माओवादी केन्द्र तर्सिएको एउटा राजातर्फ जाँदैनन भनेर ठोकुवा गर्न भने सकिँदैन । यद्यपी त्यो उन्नत विकल्प भने होइन । नीति निर्माण, कार्यान्वयन र संगठनसहित विचार निर्माण र कार्यान्वयन गर्ने ठाउँमा भइरहेको माओवादी पदाधिकारीको निर्णय सुनेर जनताले खित्का छाडेका छन् । विचरा भनेका छन्, झन पत्याउन छाडेका छन् । त्यसैले प्रतिगमनलाई शक्ति प्रदर्शन गरेर होइन, काम गरेर तर्साउ नत्र शक्ति प्रदर्शनले प्रतिगमनको यात्रालाई नै सहज बनाइदिन्छ ।

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि सुरु गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ फूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन् । यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी सुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी तर, साझा परिकल्पना गरिएको थियो । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष प्रदेश सरकारबाट एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ । आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ‘सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ’, उनले भने, ‘फूलको बगैँचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको नेतृत्व नगरपालिकाले गरेको छ । भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’ दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ । उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् । मझुवाको अर्थमाझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ । माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबीएलएल परियोजनाको ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगर उपप्रमुख विशन राईले बताए । ‘मझुवागढी हाम्रो ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो । मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागिपरेको छ’, उनले भने ‘मझुवागढीको चौतर्फी विकासमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सकारात्मक देखिनुभएको छ । उहाँले आफैं आएर स्थलगतरूपमा अवलोकन भम्रण गर्नुभएपछि २० लाख बजेटसमेत उपलब्ध गराउनुभएको छ । यसले हाम्रो अभियानलाई ठूलो सहयोग पुगेको छ ।’ मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्धार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्थालगायतका भौतिक पूर्वाधार निर्माणको गरेको छ । मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान सामाजिक सञ्जालमा देखेर विभिन्न क्षेत्रका व्यक्तिले आफू पनि सहभागी हुन पाउनुपर्ने अनुरोध आउने गरेको नगर प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिए । रासस

सिटिजन्स बैंकका ग्राहकलाई द द्वारिकाज् होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको बत्तिसपुतलीमा रहेको द द्वारिकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले द द्वारिकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने  बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभरका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सहित देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने तथा काठमाडौँमा आंशिक बदली रहने सम्भवना रहेको मौसमविद् पुडासैनीले बताए । यसैगरी आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।