विकासन्युज

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौं । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए । उक्त कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना ‘आउटलेट’, खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो एक सय १५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्टट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । चिनीको संकट अन्त्य गर्दै सहजरूपमा चिनी उपलब्ध गराउन दसैँलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो । यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैधरूपमा ल्याइएको चिनी बरामद गर्न विशेष अप्रेशन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने र भारतबाट चिनी आयातका लागिसमेत पहल गर्ने निर्णय भएको थियो । नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगले भने उपभोक्ताका लागिभन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि संकट उत्पन्न भएको थियो । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने भएको छ ।

राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री ल्याएको थियो । उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् । उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पु¥याइने छ । घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् । रासस

चार दशकपछि धादिङको किन्ताङ खोलामा बेलीब्रिज

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो । ३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उनले जानकारी दिए । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गँगाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् । पुल बनेपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका-२ रिगाउँका राजु तामाङले बताए । ‘पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ’, उनले भने । किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो । सो अस्थायी ब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ । अहिले पुलको दायाँबायाँको जिप/पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिए । रुविभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ भने, ‘यो पुलले विटक गाउँमा आवतजावत गर्न सहजता थप्नेछ । तर त्यसभन्दा अगाडि पनि खोला खोँच छन् । त्यो ठाउँमा पनि पक्की पुल बनाउन सकियो भने विकट बस्ती लापा, तिप्लिङ र सेर्तुङलगायतका उत्तरी धादिङका स्थानीयलाई सहज हुनेछ।’ उत्तरी धादिङ जोड्ने सडकको सबैभन्दा ठूलो मानिने किन्ताङ खोलामा पुल बने पनि त्यसभन्दा अगाडितिरका खोलामा पुल नहुँदा पूर्णरुपमा सहज बनिसकेको छैन । छोटो समयमै पार गर्न सकिने बाटोलाई पुल नहुँदा घण्टौँ समय लगाएर पुग्नुपर्ने बाध्यता भने कायमै छ । रासस

एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज हस्तान्तरण गरेका छन् । गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।  

दिदीले घर ल्याउने डलर देखेर पर्यटनमा होमिएकी जिस्वाँ

काठमाडौं । तीन दशकअघि मकवानपुर भीमफेदीकी एक चञ्चल स्कुले बालिकाको मनमा विदेशी पर्यटकसँग बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । स्कुल पढ्दै गर्दा मनमा बहकाएको कुरोलाई उनी फत्ते गर्नतिर लागिन् । कक्षा ७ सकिनासाथ सिधै काठमाडौं लागिन् । दरबार हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेपछि विदेशी पर्यटकसँग बोल्न पाए हुन्थ्यो भन्ने उनको स्कुले विचारले मूर्तरूप लिने छाँट देखियो । कक्षा १२ सकिनासाथ उनले मुक्तिनाथ कार्गोमा जागिर सुरु गरिन् । बरु ट्राभल एजेन्सीतिर जागिर खान पाए, पैसा पनि कमाइने र विदेशी पर्यटकसँग पनि बोल्न पाइने भएपछि उनले त्यसबेलाको नाम चलेको र ठूलो ट्राभल कम्पनी मल्ल ट्राभलमा जागिर पाइन् । अब भने उनको सपना पूरा हुने छाँट देखियो । बाल्यकालमा देखेको सपनालाई विपनामा परिणत गरी छाडिन्, तिनै चञ्चल स्कुले बालिकाले । र, रहँदा बस्दा त्यही सपनालाई पेसा नै बनाएपछि भने विदेशीसँग बोल्ने मात्र होइन, तिनलाई नेपाल घुमाउन ल्याउने र नेपालीलाई विदेश घुमाउन लैजाने केही गिनेचुनेका ट्राभल कम्पनी सञ्चालकमध्ये पर्न सफल भइन् । उनी हुन् जिस्वाँ तुलाधर श्रेष्ठ । जिस्वाँ पर्यटन उद्योगमा चिनाइरहनु पर्ने नाम होइन । उनलाई अधिकांशले ‘नेपालीलाई विदेश घुमाउने सफल पर्यटन महिला व्यवसायी’ का रूपमा चिन्छन् । जिस्वाँले नेपालीलाई विदेश घुमाउन थालेको डेढ दशक भइसकेको छ । पर्यटन उद्योगमै दत्तचित्त भएर लागि परेको पनि साढे दुई दशक हुन लागिसक्यो । विभिन्न ठूला ट्राभल कम्पनीमा काम गरेको अनुभवलाई व्यवसायमा परिणत गर्न धेरै मिहिनेत गरेकी जिस्वाँले अन्ततः १७ वर्षअघि ‘स्वाँ होलिडेज’ ट्राभल कम्पनी खोल्न सफल भइन् । त्यसपछि पछाडि फर्केर नहेरेकी उनी सारा जीवन पर्यटनमै बिताउने सुरमा छिन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी जिस्वाँ साढे दुई दशकदेखि मुलुकको आन्तरिक तथा वाह्य पर्यटनमा सक्रिय छिन् । उनले हजारौं विदेशी पर्यटकलाई नेपाल र हजारौं नेपालीलाई संसारका धेरै देश घुमाइसकिन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष रुचि राख्ने जिस्वाँ आफैं एक सक्रिय पदयात्री समेत हुन् । नेपालका विभिन्न पदयात्रा क्षेत्रमा उनले पर्यटकलाई मात्र होइन, आफैं पनि ‘सोलो ट्राभलर र सोलो ट्रेकर’ भएर भ्रमण गरिसकेकी छिन् । एडभेन्चर टुरिज्म (साहसिक पर्यटन) र स्पोर्ट्स टुरिज्म (खेल पर्यटन) मा दक्खल राख्ने जिस्वाँको परिचय यतिमै सकिँदैन । उनले ‘अटो एसिया जिमखाना च्याम्पियनसिप’ मा पहिलो नेपाली महिला चालक भएर सन् २०१८ मा सहभागी भई नेपाललाई पदक दिलाउन पनि सफल भएकी थिइन् । अझै ‘सोलो उमन ट्राभलर च्यालेन्ज’ मा समेत भाग लिई अन्नपूर्ण आधार शिविरसम्मको विजेता जिस्वाँ सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । महिला सशक्तिकरण एवं महिला सहभागितामैत्री पर्यटन क्षेत्रको अभियन्ता उनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई एकै छातामुनि ल्याउने उद्देश्यले आफ्नै पहलमा ‘टुरिज्म सिस्टरहुड नेपाल’ स्थापना गरिन् । उनले यो संस्थाको संस्थापक अध्यक्ष बनेर पर्यटन क्षेत्रमा रहेका महिलालाई खुलेर र केही गर्ने आत्मविश्वाससाथ अगाडि आउन सधैं घच्घच्याइरहिन् । अहिले उनी यसको निवर्तमान अध्यक्ष भए पनि पर्यटनमा महिलालाई अगाडि बढाउने र प्रोत्साहन दिने काम भने जारी राखेकी छन् । जिस्वाँ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यसमितिमा रहेर पनि वर्षौं काम गरिन् । उनी अहिले नेपाल अटोमोबाइल्स एसोसिएसनको कार्यकारी सदस्य समेत छिन् । जिस्वाँले भीमफेदीको महेन्द्र हाइस्कुलमा कक्षा ७ सम्म अध्ययन गरेकी थिइन् । आमा शिक्षिका भएकाले जिस्वाँलाई पनि बाल्यकालमा आमाजस्तै शिक्षक हुन्छु भन्ने पनि लाग्थ्यो । पाँच दिदी–बहिनीमध्येकी माहिली उनले वि.सं २०५१ सालमा एसएलसी (हालको एसईई) पास गरिन् । जिस्वाँका श्रीमान सुरज श्रेष्ठ मेगा एडभर्टाइजिङ एजेन्सीमा फिल्म सम्पादनको काम गर्थे । उनले सुरजलाई मेगामै भेटेकी हुन् । उनी मल्ल ट्राभलमा काम गर्नुअघि खाली बसिरहेकी थिइन् । यत्तिकै समय खेर फाल्नुभन्दा ग्राफिक डिजाइन सिक्छु भन्ने लागेर उनी पनि मेगामै जाने गर्थिन् । ‘मेगामा ग्राफिक्स सिक्न जाँदा उहाँसँग मेरो चिनजान भयो, त्यसपछि चार वर्षसम्म हामी साथीकै रूपमा रह्यौं । अनि, एक वर्ष प्रेम सम्बन्धमा रहेपछि र अबको जिन्दगी हामी सँगै बिताउन सक्छौं भन्ने लागेपछि सन् २००१ मा विवाह बन्धनमा बाधियौं,’ जिस्वाँले विगत स्मरण गर्दै भनिन् । कक्षा १२ को परीक्षा सकिएपछि जिस्वाँले मुक्तिनाथ कार्गोबाट पहिलो जागिर सुरु गरिन् । त्यसपछि मल्ल ट्राभलमा काम गर्न थालिन् । उनकी दिदी पनि बसन्तपुरस्थित फिसटेल ट्राभल एजेन्सीमा काम गर्थिन् । दिदीले कहिलेकाहीँ घरमा अमेरिकी डलर ल्याउने गर्थिन्, त्यो डलरले जिस्वाँलाई खुबै आकर्षित गथ्र्यो । यो पेसामा त धेरै पैसा कमाइने रहेछ भन्ने लाग्न थाल्यो उनलाई । सानो छँदा आमा शिक्षिका भएकाले उनलाई पनि शिक्षिका बन्छु भन्ने लाग्थ्यो । तर, उनले कक्षा १० पढ्दा नै दिदीले ट्राभल एजेन्सीमा काम गर्ने र डलर कमाएको देख्दा उनलाई पनि त्यसले आकर्षित गरेको थियो । त्यसपछि उनलाई विदेशी पर्यटकसँग बोल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । उनीहरूसँग घुलमिल हुन थालेपछि उनी पर्यटन क्षेत्रमा लागिन् । त्यसमा पनि ‘कमिसन’ वापत पैसा आउने भएकाले उनको आकर्षण बढ्दै गयो । जागिर मात्रै गर्दा आफ्नो मात्र जिम्मेवारी निभाए हुने उनको अनुभव छ । त्यसमा पनि आफू सीमित क्षेत्रमा रहेर काम गर्नुपर्ने र आफूसँग भएका आइडिया उपयोग गर्न नपाउनु जागिर गर्दाको उनको अर्को नमिठो अनुभव हो । ‘हामीले काम गर्ने क्षेत्रमा एकदमै नेपोटिज्म (नातावाद) छ । प्हिला पनि थियो र अहिले पनि छ नै,’ जिस्वाँ भन्छिन्, ‘त्यतिबेला काम गर्दा आफ्नो आइडिया सेयर गर्दा आपूmभन्दा माथिल्लो पोस्टमा रहेकाले ती कुरा दबाउने गर्थे ।’ जिस्वाँले आफ्नै व्यवसाय गर्छु भनेर कुनै योजना भने बनाएकी थिइनन् । जागिर गरेर मात्रै प्रगति हुन सक्दैन भन्ने उनलाई लाग्न थाल्यो । ट्राभल एजेन्सीमा काम गरेकी उनलाई द्वन्द्वकालमा आर्थिक संकट पनि भयो र उनलाई आधा तलबमा काम गर्नुपर्ने अवस्था पनि आयो । विवाहपछि जिम्मेवारी थपियो । उनी आधा तलबमा काम नगर्ने निर्णयमा पुगिन् र काम छाडिन् । त्यसपछि उनको छोरी जन्मिइन् । छोरी जन्मेको दुई महिनामा उनलाई सिएन्डके ट्राभलबाट कामको अफर आयो । उनले त्यहाँ नौ महिना काम गरिन् । जुनसुकै ट्राभल कम्पनीमा पनि काममात्रै गर्नुपर्ने र आफूसँग भएको आइडियाले स्थान नपाउने, नेपोटिज्म, ग्रुपिज्म धेरै हुने भएपछि त्यहाँबाट राजीनामा दिइन् । बोल्न, घुम्न मन पराउने जिस्वाँलाई आफूसँग भएका आइडियाले पनि स्थान पाउनु पर्छ भन्ने लाग्यो । त्यसपछि पाँच साथी मिलेर ‘लक्की ट्राभल’ सञ्चालन गरे । त्यहाँ दुई वर्ष सहकार्य गरेपछि उनलाई ‘अब अनुभव पनि धेरै भयो, आफ्नै कम्पनी सञ्चालन गर्नुपर्छ’ भन्ने लाग्यो । अनि सन् २००६ मा जिस्वाँले ५ लाख रुपैयाँ लगानीमा ‘स्वाँ होलिडेज’ ट्राभल कम्पनी सञ्चालनमा ल्याइन् । स्वाँ होलिडेज अहिले सञ्चालनमा आएको १८ वर्ष पूरा हुन लाग्यो । ‘मैले आफ्नो कम्पनी खोलेपछि पहिलो प्राथमिकतामा कर्मचारीको तलबलाई राखेँ,’ उनी भन्छिन्, ‘मान्छेले जागिर गर्ने भनेकै तलबका लागि हो । त्यो समयमा दिनु पर्छ ।’ एउटा व्यवसायीले राम्रोसँग व्यवसाय अघि बढाउन आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीका आइडियालाई पनि स्थान दिनुपर्ने उनी बताउँछिन् । ‘मैले उनीहरूका आइडियालाई पनि स्थान दिएँ,’ उनी भन्छिन्, ‘सबैलाई उचित स्थान दिएर नै मैले यो व्यवसायलाई यहाँसम्म ल्याउन सफल भएकी हुँ ।’ उनको कम्पनीमा काम गरेर बाहिरिनेहरूले अहिले आफ्नै कम्पनी चलाएर बसेका छन् । त्यो देख्दा आफूलाई पनि खुसी लागेको उनी गर्वसाथ सुनाउँछिन् । ट्राभल एजेन्सी सुरु गर्दा जिस्वाँ म्यानपावर कम्पनीहरूसँँग नजिक थिइन् । खासमा उनको ‘पब्लिक रिलेसन’ (पिआर) म्यानपावरमा भएकाले यो काम सजिलो हुन्छ भन्ने लागेर गरेकी थिइन् । बोल्न, घुमफिर गर्न मन पराउने उनलाई एउटा अफिस कोठामा मात्र सीमित भइरहँदा ‘अब यो तरिकाले मात्रै हुँदैन’ भन्ने लाग्यो । ‘यसरी हुँदैन भन्ने लागेपछि बिस्तारै आफैं यात्रा गर्न थालेँ, अरू ट्राभल एजेन्सीसँग बाहिरको ट्रिप किन्न थालेँ,’ जिस्वाँ सम्झिन्छिन्, ‘म एक्लै थाइल्यान्ड, सिंगापुर घुम्न गएँ, त्यसरी चार–पाँच पटक आफू घुमेपछि नेपालीहरूलाई पनि किन नघुमाउने भन्ने सोच आयो, म आफंै घुमेपछि मेरो आत्मविश्वास पनि बढ्यो ।’ त्यसपछि उनले आफू घुमेका गन्तव्यहरू ‘सेल’ गर्न थालिन् । त्यसबेला त्यस्तो काम कसैले नगरेको उनी बताउँछिन् । ‘मैले सही समयमा त्यो काम सुरु गरेँ,’ उनी हौसिँदै भन्छिन्, ‘किनभने त्यतिबेला औंलामा गन्न मिल्ने मान्छेले मात्र टुर (भ्रमण) गर्थे । अहिलेजस्तो ट्राभल एजेन्सीमा प्रतिस्पर्धा पनि हुँदैनथ्यो । यो काम सुरु गरेपछि मैले एयरलाइन्स टिकेटिङलाई बिस्तारै छाड्दै गएँ ।’ त्यसपछि उनले कर्पोरेट हाउस (व्यावसायिक घराना, प्रतिष्ठान, ठूला कम्पनी) हरूका लागि पनि काम गर्न थालिन् । कर्पोरेटलाई पनि समेट्दै गएपछि उनको ट्राभल एजेन्सी ‘टुर ब्रान्ड’ बनेको उनी खुसीसाथ बताउँछिन् । ‘बाहिर घुमाउन लैजानेमा सम्झिनुपर्यो भने म टप टेनमै आउँछु,’ उनी भन्छिन्, ‘अहिले त बाहिर जाने बेला सबैले मसँग सोधिरहेका हुन्छन् । अब त अनुभव र ज्ञान धेरै नै भइसक्यो ।’ तर, यसरी विदेश टुर गर्ने क्रममा उनीहरूसँग आफूसँगै जाँदा र स्टाफलाई पठाउँदा धेरै नै फरक पर्ने उनको अनुभव छ । ‘डिसिजन मेकिङदेखि लिएर नाफा घाटाको कुरा पनि हुन्छ,’ उनी भन्छिन्, ‘कति कुरामा सेक्रिफाइस (त्याग) गर्नुपर्ने हुन्छ । त्यही भएर सकेसम्म धेरै ठाउँमा म आफैं भ्याउने कोसिस गर्छु ।’ जिस्वाँले ट्राभल एजेन्सी सुरु गर्दा नै परिवारको भरपुर साथ र सहयोग मिल्यो । परिवारको सहयोग भएपछि यसका लागि धेरै दुःख गर्नु नपरेको उनको अनुभव छ । ‘मेरो परिवार नै सपोर्टिभ भएका कारण मैले त्यति धेरै दुःख गर्नु परेन,’ उनी सम्झिन्छिन्, ‘मेरी सासुआमाले नै मलाई एकदम सपोर्ट गर्नुहुन्थ्यो । सासुआमाले छोरी र घर हेर्ने भएपछि मैले आफ्नो समय कम्पनीका लागि खर्च गरेँ ।’ व्यवसाय सुरु गर्दा उनलाई श्रीमान सुरजको पनि बलियो साथ र सहयोग मिल्यो । ‘मलाई आफ्नो श्रीमानले जति अरूले बुझ्ने कुरा भएन,’ उनी भन्छिन्, ‘त्यसका लागि मैले श्रीमान, बहिनीलगायत आफन्तको सहयोग लिएकी थिएँ । कम्पनी सुरु गरेर यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नु परेको मलाई याद छैन । मैले जे काममा हात हालेँ पनि सफल नै भएँ । तर, कोभिड महामारीपछि भने अलिकति संघर्ष गर्नु परेजस्तो लाग्छ ।’ सन् ९० को दशकमा पनि नेपाली विदेश घुम्न सक्ने थिए अहिले नेपालीहरू विदेश टुर (भ्रमण) गर्ने क्रम एकदमै बढ्दो छ । तर, अहिलेमात्र नभई नेपालीको विदेश घुम्ने हैसियत सन् ९० कै दशकमा पनि भएको जिस्वाँ बताउँछिन् । ‘त्यतिबेला अहिलेजस्तो सूचना प्रविधिको सरल पहुँच पनि थिएन, कन्सेप्ट पनि थिएन,’ उनी भन्छिन्, ‘अहिले त घरमै बसेर विदेशका सबै गन्तव्यबारे थाहा पाउन सकिन्छ । खर्चदेखि हरेक विषयको जानकारी हुन्छ । पछिल्लो समय भूकम्प, कोभिडजस्ता महामारीपछि मरियो भने पैसा काम नलाग्ने रहेछ भनेर आफ्नै खर्चमा विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढको छ ।’ अहिलेको नयाँ कन्सेप्ट भनेको कमाउने, रमाउने र घुम्ने भन्ने छ र कर्पोरेट हाउसहरूले पनि अफरमा विदेश भ्रमण राख्ने भएकाले विदेश भ्रमण गर्नेको संख्या उल्लेख्य बढेको उनको अनुभव छ । नेपालीलाई विदेश घुमाउन कति सहज ? पर्यटन व्यवसायमा बढेको प्रतिस्पर्धाले पनि अहिलेको अवस्था पहिलाजस्तो सहज नभएको जिस्वाँ सुनाउँछिन् । सरकारी तवरबाट पनि ट्राभल एजेन्सीलाई सहज वातावरण नभएको उनको भनाइ छ । कोभिडभन्दा अगाडि धेरै सजिलो नभए पनि अहिलेजस्तो अप्ठ्यारो स्थिति सिर्जना नभएको उनी बताउँछिन् । ‘अहिलेको अवस्थामा भन्नुपर्दा रेट (मूल्य) मा प्रतिस्पर्धा हुन्छ, ट्राभल एजेन्सी बढी कर्पोरेट थोरै छन्,’ उनी भन्छिन्, ‘पहिला १ सय कर्पोरेट कम्पनीले घुमाउन लैजान्थे भने अहिले ५० कम्पनी ब्याक भइसके । आर्थिक अवस्था पनि त्यस्तै छ । अहिले धेरै कम्पनीले त्यसरी मान्छे लैजान पनि छाडिसके ।’ पछिल्लो समय ट्राभल एजेन्सी बढी भएकाले जति राम्रो सर्भिस दिए पनि रेटमा समस्या हुने उनको अनुभव छ । विदेशमा सर्भिस हेरेर रेट फिक्स हुने तर नेपालमा भने पहिल्यै रेट फिक्स हुने भएकाले धेरै समस्या खेप्नुपर्ने उनी बताउँछिन् । ‘बाहिर सर्भिस हेरेर रेट फिक्स हुन्छ,’ उनी भन्छिन्, ‘नेपालमा उल्टो छ । रेटमा एडजस्ट गरेर राम्रो सुविधा दिन सकिँदैन । राम्रो सुविधाका लागि राम्रो पैसा खर्च गर्नुपर्ने हुन्छ ।’ कोहीकोही बुझ्ने भए पनि धेरै मान्छेले यी कुरा नबुझ्ने उनी बताउँछिन् । सर्भिसका कुरा बुझाउन पनि धेरै गाह्रो भएको उनको अनुभव छ । ‘उदाहरणका लागि मैले १ लाख १५ हजार रुपैयाँमा टुर प्याकेज दिएको छु भने अर्कोले १ लाख ५ हजारमा दिन्छ,’ उनी भन्छिन्, ‘अर्को एजेन्सीले १० हजार छुट दिएपछि बुझाउन गाह्रोे हुन्छ । अब सरकारले यो प्याकेज यति रेटमा मात्रै बेच्न पाइन्छ भनेर तोकेको पनि छैन । अनि एजेन्सीहरूबीच तानातान छ ।’ विदेश जाने क्रममा नेपालका विमानस्थलमा पनि उस्तै झन्झट र दुःख दिइने उनी बताउँछिन् । ‘हामीले सबै प्रक्रिया पूरा गर्दा पनि विमानस्थलमा दुःख दिइन्छ,’ उनी गुनासो गर्छिन्, ‘एयरपोर्टको इमिग्रेसनलाई आफ्नै रुल थाहा छैन । अनि, हामीलाई उल्टो रुल लगाउँछ । सबै कुरा पर्फेक्ट हुँदा पनि कमजोरी खोज्ने, रोक्न खोज्ने अनेक गर्छन् । अर्को कुरा इमिग्रेसनका स्टाफ वेल एजुकेटेड छैनन् । त्यसले पनि गाह्रो बनाएको छ ।’ विदेश घुम्न गएका नेपालीहरू त्यहाँ पुगेपछि अनुशासनमा नबस्नाले पनि अर्को दुःख थपिने उनी बताउँछिन् । कतिबेला कहाँनेर समस्या पर्छ भनेर पूरै समय चनाखो भएर बस्नुपर्ने उनको भनाइ छ । ‘यहाँबाट जानुअघि नै विदेशका नियमबारे सिकाएर लगिएको हुन्छ,’ उनी भन्छिन्, ‘उनीहरू त्यसलाई फलो गर्दैनन् । आफ्नो जिम्मेवारी ट्राभल एजेन्सीको भन्दा पनि जाने मान्छे आफ्नै हुनुपर्छ । अरू बाँकी त एजेन्सीले पनि गरिहाल्छ ।’ नेपाली जुनसुकै देश घुम्न गए पनि त्यहाँ विदेशीले नेपालीलाई हेर्ने दृष्टिकोण फरक हुने उनको अनुभव छ । ‘उनीहरूले हामीलाई तल्लो स्तरमा हेर्छन् । सुविधा पनि जस्तो पाउनुपर्ने हो त्यस्तो पाइँदैन । नेपाली घुम्ने भनेको एसियाका देशमा हो । युरोपका देशमा हामीलाई मान्छे नै गन्दैनन्,’ जिस्वाँ दुखेसो पोख्छिन्, ‘इन्डोनेसिया, फिलिपिन्स, भियतनामजस्ता देशमा भने राम्रो सुविधा रहेको र त्यहाँ नेपालीको एकदम सम्मान हुने गरेको पाएकी छु ।’ कति खर्च लाग्छ ? अहिलेको अवस्थामा विदेश टुर गर्दा खर्चका हिसाबमा गन्तव्यले महत्व राख्ने उनी बताउँछिन् । ‘कोही थाइल्यान्ड जान चाहन्छ भने थोरैमा ८० हजार रुपैयाँ चाहिन्छ,’ उनी भन्छिन्, ‘म सबै कुरामा एडजस्ट गर्छु भन्ने हो भने त्यतिले पुर्याउन सकिन्छ । भारतबाहेक अरू गन्तव्य जान १ लाख रुपैयाँमाथि नै खर्च लाग्छ ।’ पर्यटन व्यवसायमा राजनीति घुस्यो निजी क्षेत्रका संघ संस्थामा पनि राजनीति हुन्छ भनेर जिस्वाँले कहिल्यै सोचेकै थिइनन् । उनी सुरुमा नाट्टामा आबद्ध थिइन् । उनलाई पर्यटन संस्था पर्यटन हितका लागिमात्रै खोलिएका हुन् भन्ने लाग्थ्यो । तर, पछिल्लो समय निजी संघसंस्थामा धेरै राजनीति हुने अनुभव उनी सुनाउँछिन् । ‘पछिल्लो सात–आठ वर्षमा यस क्षेत्रमा यति धेरै राजनीति छिरेको छ,’ उनी आक्रोशित हुन्छिन्, ‘त्यहाँ अहिले पर्यटन व्यवसायी आबद्ध नभएर एमाले, माओवादी, कांग्रेसलगायत विभिन्न पार्टी आबद्ध छन् । कुनै पार्टी नसमाई त्यहाँ जित्ने र भोट ल्याउन नसक्ने परिस्थिति सिर्जना गरिएका छन् ।’ पर्यटनसँग आबद्ध धेरै संस्था अहिले राजनीति गरेरै चलाइएको उनको आरोप छ । ‘पर्यटनसँग आबद्ध एउटा संस्था पाटा नेपाल च्याप्टर भने राजनीतिबाट परै छ, त्यो एउटा विशुद्ध व्यावसायिक संस्था हो भन्ने मलाई लाग्छ,’ उनी भन्छिन्, ‘पाटाले मात्र व्यवसायलाई प्राथमिकतामा राख्छ । त्योबाहेक हान, टान, नाट्टा, नेपाल पर्यटन बोर्ड सबैमा राजनीति नै राजनीति छ ।’ जिस्वाँले आफ्नै पहलमा ‘टुरिज्म सिस्टरहुड नेपाल’ नामको संघ स्थापना गरिन् । पाँच वर्षअघि स्थापित यो संस्थाका सदस्य पर्यटन क्षेत्रमा संलग्न महिलामात्र छन् । ‘यो चाहिँ महिला व्यवसायीको मात्रै संगठन हो । यहाँ कुनै किसिमको राजनीति हुँदैन । हामी यहाँ कुनै पनि किसिमको राजनीति होस् भन्ने चाहँदैनौं,’ निवर्तमान अध्यक्ष जिस्वाँ अठोट लिन्छिन् । उनले पर्यटन क्षेत्रमा महिला सहभागिता न्यून भएकाले महिलालाई पनि अगाडि ल्याउनुपर्छ भनेर एउटा व्यासायिक संगठनको आवश्यकता महसुस गरिन् र टुरिज्म सिस्टरहुड नेपाल जन्मिएको थियो । ‘पर्यटन क्षेत्रमा महिला उद्यमी न्यून छन् । विभिन्न क्षेत्रमा हेर्ने हो भने महिला संख्या त धेरै होला, तर उनीहरूले महत्वपूर्ण स्थान पाएका छन् वा छैनन्, उनीहरूको क्षमताअनुसार काम भएको छ कि छैन भन्ने पनि महत्वपूर्ण छ,’ जिस्वाँ थप्छिन्, ‘जो नेतृत्व गर्ने क्षमता राख्छन् उनीहरू पछाडि परिरहेका छन् । तिनीहरूलाई पनि अगाडि ल्याउन यो एसोसिएसन स्थापना भएको हो ।’ यो एसोसिएसनको मुख्य उद्देश्य नेपालमै बसेर पर्यटन व्यवसायमा आबद्ध महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउनु हो । अर्को भनेको टुरिज्म नै पढेका युवापुस्तालाई प्राथमिकता दिनु हो । पर्यटन पवर्द्धन गर्न ल्याइएका नीतिले मात्रै पुग्दैन पर्यटन उद्योगमा सरकारले ल्याएका नीति नियमले मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको उनी बताउँछिन् । सरकारले प्रभावकारी काम गर्न नसकेकाले पर्यटन क्षेत्रले राम्रो प्रगति गर्न नसकेको उनको बुझाइ छ । नेपालीलाई विदेशको टुर प्याकेज बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । यसरी विदेश भ्रमण प्योकजमा भ्याट लगाउँदा नेपाली पर्यटन व्यसायीले दाबी गर्न पाउँदैनन्, यसबाट नेपाली व्यवसायी घाटामा पर्ने जिस्वाँको भनाइ छ । ‘निजी क्षेत्र सेलाएर जानुको प्रमुख कारण पनि यही हो,’ उनी भन्छिन्, ‘हामीले वर्षाैंदेखि भ्याटको मार खेप्दै आएका छाैं । अझै कति खेप्नुपर्ने हाे टुंगाे छैन ।’ नेपालमा राम्रोसँग अध्ययन गरेर नीतिनियम बनाउनुपर्छ भन्ने धारणा विकास अझै हुन नसकेको उनी बताउँछिन् । ‘सरकारले जस्तोसुकै अप्ठ्यारो नीति नियम बनाए पनि मान्छे यात्रा गर्न पनि छाड्दैन र बिजनेस गर्न पनि छाड्दैन,’ उनी भन्छिन्, ‘सरकार कसरी देशलाई नाफा हुन्छ भन्नेतर्फ सोच्दैन ।’ राम्रा पर्यटन गन्तव्यमा पूर्वाधार विकास हुन नसकेको उनी बताउँछिन् । ‘जहाँ पर्यटक आकर्षण हुने गन्तव्य छन्, त्यहाँ बाटो नै पुगेको छैन । अनि कसरी पर्यटन विकास हुन्छ ?,’ उनी प्रश्न गर्छिन्, ‘एक त त्यस्ता ठाउँमा सरकारको आँखा पुगेको छैन । अब यदि सरकारले बनाउन खोज्यो भने पनि त्यहाँका स्थानीयले अवरोध सिर्जना गर्छन् । बाटो नबनेर त हामीले कमाउन पाएका छौं नि भन्ने उनीहरूको भनाइ हुन्छ । कति धेरै राम्रा गन्तव्यमा ज्यान हातमा लिएर हिँड्नुपर्ने हुन्छ । सबै पर्यटक ट्रेकिङ गर्नमात्रै आउँदैनन् ।’ निजी क्षेत्रले मात्रै पर्यटन उद्योग धान्न सक्दैन निजी क्षेत्रको प्रयासले मात्रै पर्यटन उद्योग धान्न असम्भव रहेको जिस्वाँको तर्क छ । तर, अहिलेसम्म पर्यटन क्षेत्रमा जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै योगदान रहेको उनी बताउँछिन् । ‘मौरिसस, भियतनाम, श्रीलंका, स्वीजरल्यान्ड यी लगभग हाम्रो देशसँग मिल्दाजुल्दा छन्,’ उनी भन्छिन्, ‘तर, ती देश जाँदा साना–साना कुरा संरक्षण गरेर धेरै राम्रो पर्यटकीय गन्तव्य बनाएका छन् । हाम्रो बाटैपिच्छे छाँगा–छहरा छन्, तर त्यसको हामीले सही उपयोग गर्न सकेका छैनौं । हाम्रोमा त धेरै राम्रा गन्तव्य पुग्नै असहज छ ।’ निजी क्षेत्रले विकासका काम गर्न थाले पनि सरकारी निकायले रोक्ने गरेको उनी बताउँछिन् । ‘त्यसमाथि पनि सरकारी प्रक्रिया झन्झटिलो छ । अहिलेसम्म जे जति धानेको छ त्यो सबै निजी क्षेत्रकै योगदान हो,’ उनी भन्छिन्, ‘त्यसमाथि पनि पर्यटनमन्त्री हुने सबै ज्ञानबिनाका छन् । उनीहरू ६ महिना बढी टिक्दैनन् । यसरी त पर्यटन विकास हुन धेरै समय लाग्छ ।’ दुर्घटनामा परेपछि कार रेसिङतिर सन् २०१६ मा जिस्वाँले हुन्डाईको क्रेटा कार किनेकी थिइन् । एक दिन काम विशेषले आफैं कार चलाएर जाँदै थिइन् । त्यही बेला उनी दुर्घटनामा परिन् । ‘मेरो त कुनै गल्ती थिएन, ज्ञानेश्वर चोकमा पछाडिबाट स्कुटरले आएर गाडीलाई ठक्कर दियो,’ उनी सम्झिन्छिन्, ‘मेरो कुनै गल्ती थिएन । तर, गल्ती गाडीको देखियो । त्यो दुर्घनापछि मलाई सबैले हेर्ने नजर पनि फरक पर्यो ।’ त्यसपछि उनले दुई वर्ष तनाव नै खेप्नुपर्यो । ‘मैले चलाएको गाडीमा आफन्तदेखि साथीभाइसम्म बस्न नखोज्ने वातावरण सिर्जना भयो, त्यो कुराले पनि मलाई एकदमै पीडा हुन्थ्यो ।’ अनि, उनलाई ‘मैले एकदम राम्रो ड्राइभर भएर देखाउनु पर्छ’ भन्ने लागिरहन्थ्यो । उनी सन् २०१७ मा नेपाल अटोस्पोर्ट्स क्लबले आयोजना गरेको राष्ट्रिय अटो जिमखानामा सहभागी भइन् । त्यहाँ उनी प्रतियोगितामा भाग लिनुभन्दा पनि अनुभवका लागि खेलेकी थिइन् । ‘सन् २०१७ मा नेपाल अटोस्पोर्ट्स क्लबले आयोजना गरेको राष्ट्रिय अटो जिमखानामा सहभागी भएकी थिएँ ,’ उनी भन्छिन्, ‘प्रतिस्पर्धी हुनुभन्दा पनि अनुभवका लागि खेलेकी थिएँ । त्यस प्रतियोगिताबाट मैले धेरै सिक्न पाएँ ।’ जिस्वाँ अटोस्पोटर्सकी एकमात्र नेपाली महिला खेलाडी हुन् । साहसिक खेलको एउटा विधाका रूपमा रहेको मोटर स्पोर्ट्समा उनले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् भने एउटामा तेस्रो भएकी थिइन् । त्यसपछि उनले अटो स्पोटर्स खेलबारे रुचि राख्न थालिन् । यो खेलमा महिला सहभागिता निकै थोरै रहेको थाहा पाइन् । राम्रो खेलेकै कारण उनले सन् २०१८ डिसेम्बरमा अटो एसिया जिमखानामा सहभागी भइन् । एसियालीस्तरको प्रतियोगितामा पहिला ेपटक महिला इभेन्टमा उनी समावेश भएकी थिइन्् । ‘पहिलो प्रतियोगिता र सहभागितामै म तेस्रो भएँ । त्यसको एक वर्षपछि सन् २०१९ डिसेम्बरमा इन्डोनेसियामा भएको प्रतियोगितामा पनि सहभागी भएँ ,’ उनी खुसी हुँदै भन्छिन् । आर्थिक अवस्था पनि राम्रो भएकाले मात्रै यो खेलमा भाग लिने हिम्मत आएको उनी बताउँछिन् । ‘यो खेलका लागि मैले आफ्नै गाडी दाउमा लगाएर अगाडि बढेको हो,’ उनी थप्छिन्, ‘परिवारबाट पनि निकै सहयोग भएकाले धेरै गाह्रो भएन ।’

व्यवस्थापन गरे मोहोर, नगरे फोहाेर

स्याङ्जा । देशका कतिपय पालिकाहरुलाई फोहाेरमैला व्यवस्थापन समस्याको विषय बन्ने गरेको छ । फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा देखा परिरहेका छन् । फोहाेरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको चिन्ताको विषय बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवादहरु उत्पन्न भएका छन् । बजारबाट उठाइएका फोहाेरहरुलाई कुनै ठाउँमा लगेर थुपार्ने मात्रै गर्दा त्यसले जनस्वास्थ्य र वातावरण असर पार्ने त्रासले फोहरमैला थुपार्ने ठाउँ वरपरका स्थानीय तथा बस्तीबाट विरोध आउने गरेका उदाहरणहरु प्रसस्तै सुन्न र देख्न पाइन्छन् । फोहाेरलाई वर्गीकरण नगरी एकै ठाउँमा लगेर थुपार्दा समस्या निम्त्याउने गर्दछ भने आम्दानी पनि हुँदैन । व्यवस्थापन गर्न जाने मोहोर र नजाने फोहोर हुन्छ भन्ने प्रमाणित पछिल्लो समय विभिन्न पालिकाहरुले गर्दै आइरहेका छन् । फोहोरलाई प्रशोधन गरी मोहोर भित्र्याउँदै आएको एक सफल पालिका हो स्याङ्जाको भिरकोट नगरपालिका । विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिका स्याङ्जा जिल्लाको मध्यभागमा सिद्धार्थ राजमार्गसँगै जोडिएको पालिका पनि हो । धार्मिक, पौराणिक एवं ऐतिहासिक दृष्टिले महत्व बोकेको आँधीखोलाको किनारमा रहेको बयरघारी बजार भिरकोट नगरपालिकाको प्रमुख बजार हो । यही बजारमा नै पालिकाको प्रशासकीय भवन रहेको छ । फोहरमैला थुपारिएका कतिपय ठाउँ वरपर पुग्ने प्रायःजसोले नाक मुख थुन्ने गर्दछन् । अझ फोहरमैला व्यवस्थापन गर्ने ठाउँ वरपर बनभोज खान र घुम्ने भन्नासाथै छिछि शब्द निस्किहाल्छ । फोहरैफोहरको पहाड बन्छ तर भीरकोट नगरपालिका एउटा त्यस्तो उदाहरणीय पालिका हो जहाँ फोहर व्यवस्थापन र नजिकै रहेको पार्कबाट राम्रो आम्दानी लिँदै आइरहेको छ । आँधीखोलाको किनारमा नगरपालिकाले खरिद गरेको र सार्वजनिक गरी झण्डै ६५ रोपनी जग्गामा भीरकोट सरसफाई केन्द्र तथा पार्क सञ्चालनमा रहेको छ । नगरपालिकाले पार्क र सरसफाइ केन्द्र एकै स्थानमा बनाएसँगै अहिले देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकन तथा घुम्नका लागि आउने गरेका बताउँछन् भिरकोट सरसफाइ केन्द्र तथा पार्कका व्यवस्थापक कृष्णप्रसाद अर्याल । “फोहरमैला व्यवस्थापनका क्षेत्रमा समस्या भएका देशका विभिन्न पालिकाहरुबाट व्यवस्थापनका बारेमा अध्ययन अवलोकन गर्न यहाँ आउनुहुन्छ”, उनले भने, “यहाँबाट फर्केपछि आफ्नो पालिकामा गएर फोहरमैला व्यवस्थापनको प्रक्रिया थालेको हामीले खबर पाएका छौँ ।” सरसफाइ केन्द्रको अध्ययन अवलोकन गर्न आउनेहरुका लागि दुई हजार शुल्क लिने गरिएको छ । अन्यत्रबाट यहाँ अध्ययन अवलोकनका लागि आएका पाहुनाहरुलाई यसको व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिने गरिएको छ । पार्कमा प्रवेश गर्न प्रतिव्यक्ति रु ५० शुल्क लिने गरेको छ । बनभोजका लागि चार हजार शुल्क लिई पकाउने भाँडाकुँडा तथा ग्यास उपलब्ध गराउँदै आएको व्यवस्थापक अर्यालले बताए । नगरपालिकामार्फत नै सञ्चालनमा रहेको पार्कमा विशेष गरी विदाका दिनहरु, चाडबाडका दिनहरु, बिवाह तथा अन्य सभा समारोह तथा सांस्कृतिक कार्यक्रमहरुमा भीड हुने गर्दछ । सरसफाइ केन्द्रमा आधुनिक ट्रसहरु, वर्गीकरण गरिएका पुनःप्रयोग हुने फोहरको भण्डारण कक्ष रहेका छन् । यहाँ बजारबाट आएका नकुहिने फोहरहरु तथा सिसाजन्य फोहरहरुको वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरिने व्यवस्थापक अर्यालले बताए । पार्कलाई थप ब्यवस्थित बनाउने कामहरु भइरहेका छन् । पार्कमा दुबोको हरियाली, रङ्गीविरङ्गी फूलहरु, स्विमिङ पुल, विभिन्न प्रजातिका फलफूल तथा पार्कलाई शोभा दिने अन्य बिरुवाहरु, चमेना गृह, शौचालय, कार्यालय भवन, टिकट काउण्टर, प्रतिक्षालयहरु निर्माण गरिएको छ । चारैतिरबाट पर्खालले घेराबार गरिएको छ । किनारैबाट श्रवणकुमारका अन्धाअन्धी बुबआमाको आँसुबाट उत्पत्ति भई बहेको आँधीखोला सुसाउँदै बहेको छ । यसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्छ । बजारबाट एकान्त, समथर अनि रमणीय स्थानमा रहेको पार्क पछिल्लो समय आकर्षणको केन्द्रकारुपमा स्थापित हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा सरसफाई केन्द्र तथा पार्कको दश हजारभन्दा बढीले अवलोकन गरेको तथ्याङ्क कार्यालयमा रहेको व्यवस्थापक अर्यालको दाबी छ । शान्त र मनोरञ्जनका लागि भिरकोट नगरपालिकाले निर्माण गरेको पार्क उदाहरणीय हुँदै गएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताए । “सरसफाइ केन्द्र र पार्क एउटै ठाउँमा निर्माण गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने, “भौतिक संरचना निर्माणको चरणमा भएकाले सरसफाइ र पार्क अझै व्यवस्थित हुँदै जानेमा विश्वस्त छौँ ।” सरसफाइ केन्द्र तथा पार्कमा जग्गा प्रशस्तै भएकाले थप पूर्वाधार निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेकाले आगामी दिनमा अझै आकर्षकको केन्द्रका रुपमा स्थापित हुनेछ । जसका कारण आम्दानी पनि स्वतःवृद्धि भएर जाने छ । कुहिने, नकुहिने र सिसाजन्य फोहरमैलाको उचित ब्यवस्थापन गरी नगरपालिकाले आम्दानीको स्रोतका रुपमा विकास गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना बताउँछन् । फोहरमैलाको उचित व्यवस्थापन विशेष गरी सहरी क्षेत्रका पालिकाहरुमा चुनौती भइरहँदा भिरकोटले फोहरलाई आम्दानीको स्रोतका रुपमा रुपान्तरण गरेको हो । “फोहोरलाई ब्यवस्थापन गर्न नजान्दा, वर्गीकरण नगरी एकै ठाउँमा सबै प्रकारका फोहोर डम्पिङ गर्दा समस्या हुने हो” उनले भने, “कस्तो खालको फोहोर हो, त्यसको वर्गीकरण गरी कुहिनेबाट कम्पोष्ट मल, नकुहिने र सिसाजन्य वस्तुहरुलाई पुनःप्रयोग गर्न सकिने भएकाले बिक्री गरी आम्दानी बाँध्दै आएका छौँ ।” स्थानीयले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर वर्गीकरण गरेर राख्ने गरेका छन् । नगरपालिकाको एउटा ट्रिपरले आलोपालो कुहिने, नकुहिने र सिसाजन्य फोहोर उठाउँछ । बजारबाट सङ्कलन भएको फोहोरलाई सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी भण्डारण गर्ने र त्यहीँबाट बिक्री गरिन्छ । सरसफाइ केन्द्र र पार्कमा गरी हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा फोहोर मैंला बिक्रीबाट रु। छ लाख ६ हजार ३५४, आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख २४ हजार ७६२ र आर्थिक वर्ष २०७९/८० मा फोहरमैला बिक्रीबाट आम्दानी रु १४ लाख ८६ हजार दुई सय ६८ आम्दानी गरेको छ । नगरपालिकाले हालसम्म फोहरमैला बिक्रीबाट मात्रै रु ३० लाख १७ हजार तीन सय ८४ आम्दानी गरेको छ । पार्कतर्फको प्रवेश शुल्कबाट रु एक लाख ६४ हजार नौ सय १० आम्दानी गरेको उनले बताए । “छोटो अवधिमा भिरकोट नगरपालिकाले फोहोरमैला ब्यवस्थापनमा फड्को मारेको छ” उनले भने, “नगरपालिकाले सञ्चालन गरेको यो काम आफैंमा महत्वपूर्ण र देशमै उत्कृष्ट एवं नमुना भएको दाबी हाम्रो छ ।” विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट नगरको फोहरमैला व्यवस्थापनका लागि सरसफाइ केन्द्र र पार्क निर्माण कार्य थालेको हो । राष्ट्रिय योजना आयोगको सङ्घीय विशेष अनुदान रु तीन करोड र नगरपालिकाको रु एक करोड गरी रु चार करोड लगानी भएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “सरसफाइ केन्द्रको व्यवस्थापन र पार्कलाई थप सौन्दर्यकरण गर्न अझै काम बाँकी छन्”, उनले भने, “कुन ठाउँमा कस्तो संरचना निर्माण गर्दा अझै आकर्षक हुन्छ भनेर विज्ञको सहयोगमा योजना बनाइरहेका छौँ ।” देशका विभिन्न ठाउँबाट हामीले गरेको कामको अवलोकन गर्न आउने गरेकाले थप ऊर्जा मिलेको दाबी उनको थियो । बजार वृद्धि हुँदै जाँदा भोलिका दिनमा फोहोरको मात्रा पनि बढ्दै जाने हुँदा अहिलेदेखि नै सोहीअनुसारको पूर्वाधार निर्माण गरी अगाडि बढिरहेको उनी बताउँछन्। सरसफाइ केन्द्र तथा पार्कस्थलमै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणको चरणमा नगरपालिका छ । “सरसफाइ केन्द्र तथा पार्क परिसरमै पर्यटकीय ताल निर्माण गर्दैछौँ”, उनले भने, “तालको बीचमा मन्दिर हुने र मन्दिरसम्म पुग्न तथा ताललाई फन्को लगाउन डुङ्गा शयर गर्ने गरी तयारी थालिएको छ ।” सोही ठाउँमा चार वटा सटरसहितको व्यापारिक भवन निर्माण गरी आम्दानीको स्रोतको रुपमा विकास गर्दै लैजाने योजनामा नगरपालिका छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु चार करोडको लगानीमा पूर्वाधार निर्माण हुन लागेको हो । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने क्रममा नगरपालिका रहेको उनले बताए । नगरपालिकाले तालिम दिएसँगै अहिले टोलटोलमा कुहिने, नकुहिने तथा सिसाजन्य फोहरहरु छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्दै आइएको भिरकोट–१ बयरघारी बजारमा रहेको राधाकृष्ण टोल विकास समितिका संयोजक ढाकाराम खनाल बताउँछन् । “टोलमा रहेका होटल, पसल तथा अन्य घरबाट निस्कने फोहरलाई घरमै वर्गीकरण गरेर राख्ने गर्नुहुन्छ”, उनले भने, “घरमा छुट्टाछुट्टै भाँडामा राखिएको फोहरलाई नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आउँदा त्यसैमा राखिदिन्छौँ ।” टोलटोलबाट सङ्कलन गरिएको फोहरलाई पालिकाले सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरी आम्दानी लिंदै आएको उनले बताए । “सुरुका दिनमा चोकचोकमा कुहिने, नकुहिने डस्टबिनहरु राखिएको तर डस्टबिन राखेको ठाउँमा नरहने, फुटाइदिने जस्ता क्रियाकलाप भए”, उनले भने, “पछि टोलको सक्रियतामा रकम सङ्कलन गरी घरघरमा कुहिने, नकुहिने फोहोर सङ्कलन गर्नकालागि डस्टविन खरिद गर्यौँ, त्यसपछि सहज भएको छ ।” कुहिने फोहरलाई डस्टबिनमा सङ्कलन गर्ने र नकुहिनेलाई केही घरले डस्टबिनमै सङ्कलन गर्दै आएका छन् भने केहीले कार्टुन तथा बोरामा सङ्कलन गरी गाडीमा राखिदिने गरेको उनले बताए । नगरपालिकाले फोहरमैलाबापत घरधनीसँग मासिकरुपमा रकम पनि लिने गरेको छ । नगरपालिकाले आवासीय घरबाट रु एक सय, किराना, फलफूल तथा तरकारी पसल, होटलबाट रु एकसय ५०, सैलुनहरुबाट रु एक सय २५ रकम मासिकरुपमा उठाउँदै आएको छ । स्याङ्जा । देशका कतिपय पालिकाहरुलाई फोहाेरमैला व्यवस्थापन समस्याको विषय बन्ने गरेको छ । फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा देखा परिरहेका छन् । फोहाेरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको चिन्ताको विषय बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवादहरु उत्पन्न भएका छन् । बजारबाट उठाइएका फोहाेरहरुलाई कुनै ठाउँमा लगेर थुपार्ने मात्रै गर्दा त्यसले जनस्वास्थ्य र वातावरण असर पार्ने त्रासले फोहरमैला थुपार्ने ठाउँ वरपरका स्थानीय तथा बस्तीबाट विरोध आउने गरेका उदाहरणहरु प्रसस्तै सुन्न र देख्न पाइन्छन् । फोहाेरलाई वर्गीकरण नगरी एकै ठाउँमा लगेर थुपार्दा समस्या निम्त्याउने गर्दछ भने आम्दानी पनि हुँदैन । व्यवस्थापन गर्न जाने मोहोर र नजाने फोहोर हुन्छ भन्ने प्रमाणित पछिल्लो समय विभिन्न पालिकाहरुले गर्दै आइरहेका छन् । फोहोरलाई प्रशोधन गरी मोहोर भित्र्याउँदै आएको एक सफल पालिका हो स्याङ्जाको भिरकोट नगरपालिका । विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिका स्याङ्जा जिल्लाको मध्यभागमा सिद्धार्थ राजमार्गसँगै जोडिएको पालिका पनि हो । धार्मिक, पौराणिक एवं ऐतिहासिक दृष्टिले महत्व बोकेको आँधीखोलाको किनारमा रहेको बयरघारी बजार भिरकोट नगरपालिकाको प्रमुख बजार हो । यही बजारमा नै पालिकाको प्रशासकीय भवन रहेको छ । फोहरमैला थुपारिएका कतिपय ठाउँ वरपर पुग्ने प्रायःजसोले नाक मुख थुन्ने गर्दछन् । अझ फोहरमैला व्यवस्थापन गर्ने ठाउँ वरपर बनभोज खान र घुम्ने भन्नासाथै छिछि शब्द निस्किहाल्छ । फोहरैफोहरको पहाड बन्छ तर भीरकोट नगरपालिका एउटा त्यस्तो उदाहरणीय पालिका हो जहाँ फोहर व्यवस्थापन र नजिकै रहेको पार्कबाट राम्रो आम्दानी लिँदै आइरहेको छ । आँधीखोलाको किनारमा नगरपालिकाले खरिद गरेको र सार्वजनिक गरी झण्डै ६५ रोपनी जग्गामा भीरकोट सरसफाई केन्द्र तथा पार्क सञ्चालनमा रहेको छ । नगरपालिकाले पार्क र सरसफाइ केन्द्र एकै स्थानमा बनाएसँगै अहिले देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकन तथा घुम्नका लागि आउने गरेका बताउँछन् भिरकोट सरसफाइ केन्द्र तथा पार्कका व्यवस्थापक कृष्णप्रसाद अर्याल । “फोहरमैला व्यवस्थापनका क्षेत्रमा समस्या भएका देशका विभिन्न पालिकाहरुबाट व्यवस्थापनका बारेमा अध्ययन अवलोकन गर्न यहाँ आउनुहुन्छ”, उनले भने, “यहाँबाट फर्केपछि आफ्नो पालिकामा गएर फोहरमैला व्यवस्थापनको प्रक्रिया थालेको हामीले खबर पाएका छौँ ।” सरसफाइ केन्द्रको अध्ययन अवलोकन गर्न आउनेहरुका लागि दुई हजार शुल्क लिने गरिएको छ । अन्यत्रबाट यहाँ अध्ययन अवलोकनका लागि आएका पाहुनाहरुलाई यसको व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिने गरिएको छ । पार्कमा प्रवेश गर्न प्रतिव्यक्ति रु ५० शुल्क लिने गरेको छ । बनभोजका लागि चार हजार शुल्क लिई पकाउने भाँडाकुँडा तथा ग्यास उपलब्ध गराउँदै आएको व्यवस्थापक अर्यालले बताए । नगरपालिकामार्फत नै सञ्चालनमा रहेको पार्कमा विशेष गरी विदाका दिनहरु, चाडबाडका दिनहरु, बिवाह तथा अन्य सभा समारोह तथा सांस्कृतिक कार्यक्रमहरुमा भीड हुने गर्दछ । सरसफाइ केन्द्रमा आधुनिक ट्रसहरु, वर्गीकरण गरिएका पुनःप्रयोग हुने फोहरको भण्डारण कक्ष रहेका छन् । यहाँ बजारबाट आएका नकुहिने फोहरहरु तथा सिसाजन्य फोहरहरुको वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरिने व्यवस्थापक अर्यालले बताए । पार्कलाई थप ब्यवस्थित बनाउने कामहरु भइरहेका छन् । पार्कमा दुबोको हरियाली, रङ्गीविरङ्गी फूलहरु, स्विमिङ पुल, विभिन्न प्रजातिका फलफूल तथा पार्कलाई शोभा दिने अन्य बिरुवाहरु, चमेना गृह, शौचालय, कार्यालय भवन, टिकट काउण्टर, प्रतिक्षालयहरु निर्माण गरिएको छ । चारैतिरबाट पर्खालले घेराबार गरिएको छ । किनारैबाट श्रवणकुमारका अन्धाअन्धी बुबआमाको आँसुबाट उत्पत्ति भई बहेको आँधीखोला सुसाउँदै बहेको छ । यसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्छ । बजारबाट एकान्त, समथर अनि रमणीय स्थानमा रहेको पार्क पछिल्लो समय आकर्षणको केन्द्रकारुपमा स्थापित हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा सरसफाई केन्द्र तथा पार्कको दश हजारभन्दा बढीले अवलोकन गरेको तथ्याङ्क कार्यालयमा रहेको व्यवस्थापक अर्यालको दाबी छ । शान्त र मनोरञ्जनका लागि भिरकोट नगरपालिकाले निर्माण गरेको पार्क उदाहरणीय हुँदै गएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताए । “सरसफाइ केन्द्र र पार्क एउटै ठाउँमा निर्माण गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने, “भौतिक संरचना निर्माणको चरणमा भएकाले सरसफाइ र पार्क अझै व्यवस्थित हुँदै जानेमा विश्वस्त छौँ ।” सरसफाइ केन्द्र तथा पार्कमा जग्गा प्रशस्तै भएकाले थप पूर्वाधार निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेकाले आगामी दिनमा अझै आकर्षकको केन्द्रका रुपमा स्थापित हुनेछ । जसका कारण आम्दानी पनि स्वतःवृद्धि भएर जाने छ । कुहिने, नकुहिने र सिसाजन्य फोहरमैलाको उचित ब्यवस्थापन गरी नगरपालिकाले आम्दानीको स्रोतका रुपमा विकास गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना बताउँछन् । फोहरमैलाको उचित व्यवस्थापन विशेष गरी सहरी क्षेत्रका पालिकाहरुमा चुनौती भइरहँदा भिरकोटले फोहरलाई आम्दानीको स्रोतका रुपमा रुपान्तरण गरेको हो । “फोहोरलाई ब्यवस्थापन गर्न नजान्दा, वर्गीकरण नगरी एकै ठाउँमा सबै प्रकारका फोहोर डम्पिङ गर्दा समस्या हुने हो” उनले भने, “कस्तो खालको फोहोर हो, त्यसको वर्गीकरण गरी कुहिनेबाट कम्पोष्ट मल, नकुहिने र सिसाजन्य वस्तुहरुलाई पुनःप्रयोग गर्न सकिने भएकाले बिक्री गरी आम्दानी बाँध्दै आएका छौँ ।” स्थानीयले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर वर्गीकरण गरेर राख्ने गरेका छन् । नगरपालिकाको एउटा ट्रिपरले आलोपालो कुहिने, नकुहिने र सिसाजन्य फोहोर उठाउँछ । बजारबाट सङ्कलन भएको फोहोरलाई सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी भण्डारण गर्ने र त्यहीँबाट बिक्री गरिन्छ । सरसफाइ केन्द्र र पार्कमा गरी हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा फोहोर मैंला बिक्रीबाट रु। छ लाख ६ हजार ३५४, आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख २४ हजार ७६२ र आर्थिक वर्ष २०७९/८० मा फोहरमैला बिक्रीबाट आम्दानी रु १४ लाख ८६ हजार दुई सय ६८ आम्दानी गरेको छ । नगरपालिकाले हालसम्म फोहरमैला बिक्रीबाट मात्रै रु ३० लाख १७ हजार तीन सय ८४ आम्दानी गरेको छ । पार्कतर्फको प्रवेश शुल्कबाट रु एक लाख ६४ हजार नौ सय १० आम्दानी गरेको उनले बताए । “छोटो अवधिमा भिरकोट नगरपालिकाले फोहोरमैला ब्यवस्थापनमा फड्को मारेको छ” उनले भने, “नगरपालिकाले सञ्चालन गरेको यो काम आफैंमा महत्वपूर्ण र देशमै उत्कृष्ट एवं नमुना भएको दाबी हाम्रो छ ।” विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट नगरको फोहरमैला व्यवस्थापनका लागि सरसफाइ केन्द्र र पार्क निर्माण कार्य थालेको हो । राष्ट्रिय योजना आयोगको सङ्घीय विशेष अनुदान रु तीन करोड र नगरपालिकाको रु एक करोड गरी रु चार करोड लगानी भएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “सरसफाइ केन्द्रको व्यवस्थापन र पार्कलाई थप सौन्दर्यकरण गर्न अझै काम बाँकी छन्”, उनले भने, “कुन ठाउँमा कस्तो संरचना निर्माण गर्दा अझै आकर्षक हुन्छ भनेर विज्ञको सहयोगमा योजना बनाइरहेका छौँ ।” देशका विभिन्न ठाउँबाट हामीले गरेको कामको अवलोकन गर्न आउने गरेकाले थप ऊर्जा मिलेको दाबी उनको थियो । बजार वृद्धि हुँदै जाँदा भोलिका दिनमा फोहोरको मात्रा पनि बढ्दै जाने हुँदा अहिलेदेखि नै सोहीअनुसारको पूर्वाधार निर्माण गरी अगाडि बढिरहेको उनी बताउँछन्। सरसफाइ केन्द्र तथा पार्कस्थलमै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणको चरणमा नगरपालिका छ । “सरसफाइ केन्द्र तथा पार्क परिसरमै पर्यटकीय ताल निर्माण गर्दैछौँ”, उनले भने, “तालको बीचमा मन्दिर हुने र मन्दिरसम्म पुग्न तथा ताललाई फन्को लगाउन डुङ्गा शयर गर्ने गरी तयारी थालिएको छ ।” सोही ठाउँमा चार वटा सटरसहितको व्यापारिक भवन निर्माण गरी आम्दानीको स्रोतको रुपमा विकास गर्दै लैजाने योजनामा नगरपालिका छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु चार करोडको लगानीमा पूर्वाधार निर्माण हुन लागेको हो । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने क्रममा नगरपालिका रहेको उनले बताए । नगरपालिकाले तालिम दिएसँगै अहिले टोलटोलमा कुहिने, नकुहिने तथा सिसाजन्य फोहरहरु छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्दै आइएको भिरकोट–१ बयरघारी बजारमा रहेको राधाकृष्ण टोल विकास समितिका संयोजक ढाकाराम खनाल बताउँछन् । “टोलमा रहेका होटल, पसल तथा अन्य घरबाट निस्कने फोहरलाई घरमै वर्गीकरण गरेर राख्ने गर्नुहुन्छ”, उनले भने, “घरमा छुट्टाछुट्टै भाँडामा राखिएको फोहरलाई नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आउँदा त्यसैमा राखिदिन्छौँ ।” टोलटोलबाट सङ्कलन गरिएको फोहरलाई पालिकाले सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरी आम्दानी लिंदै आएको उनले बताए । “सुरुका दिनमा चोकचोकमा कुहिने, नकुहिने डस्टबिनहरु राखिएको तर डस्टबिन राखेको ठाउँमा नरहने, फुटाइदिने जस्ता क्रियाकलाप भए”, उनले भने, “पछि टोलको सक्रियतामा रकम सङ्कलन गरी घरघरमा कुहिने, नकुहिने फोहोर सङ्कलन गर्नकालागि डस्टविन खरिद गर्यौँ, त्यसपछि सहज भएको छ ।” कुहिने फोहरलाई डस्टबिनमा सङ्कलन गर्ने र नकुहिनेलाई केही घरले डस्टबिनमै सङ्कलन गर्दै आएका छन् भने केहीले कार्टुन तथा बोरामा सङ्कलन गरी गाडीमा राखिदिने गरेको उनले बताए । नगरपालिकाले फोहरमैलाबापत घरधनीसँग मासिकरुपमा रकम पनि लिने गरेको छ । नगरपालिकाले आवासीय घरबाट रु एक सय, किराना, फलफूल तथा तरकारी पसल, होटलबाट रु एकसय ५०, सैलुनहरुबाट रु एक सय २५ रकम मासिकरुपमा उठाउँदै आएको छ । रासस

सानिमा बैंकले भूकम्प पीडितलाई २५ लाख दिने

काठमाडौं । सानिमा बैंकले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ लाभको कामनासमेत गरेको छ ।

माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

काठमाडौं । माओवादी केन्द्रले आउँदो मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित गरेको छ। पार्टी महासचिव देव गुरूङका अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित सडक प्रदर्शनका कार्यक्रम स्थगित गरिएको हो । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा प्रदर्शनका कार्यक्रम भने यथावत् रहेको उनले जानकारी दिए । ‘भूकम्पमा जनधनको धेरै क्षति भएको छ। यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ,’ उनले भने, ‘यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो ।’ गत मंगलबार माओवादी केन्द्रले प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।