विकासन्युज

सानिमा जिआईसीको नाफा २४ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा २४.३९ प्रतिशत बढाएर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३२ लाख ७८ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म १९ करोड ८१ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४ लाख ७२ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ति कोष ३ करोड ९२ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.८० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६३.२० गुणा छ ।

सलिको इन्स्योरेन्सले ९२.७१ प्रतिशत नाफा बढायो, ईपीएस कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ९२.७१ प्रतिशत बढाएर ५ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ६२ लाख ७६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म ९३ करोड ७८ लाख ४६ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ७५ लाख ४५ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, महाविपत्ति कोष १८ करोड ७४ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ६ अर्ब ६३ करोड १७ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९.६० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७९.१८ गुणा छ ।

एशियन लाईफको नाफा १५ प्रतिशत बढ्यो, ३९ अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा १४.९६ प्रतिशत बढाएर १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ६० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म ९५ करोड ७२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ, महाविपत्ति कोष १७ करोड ७३ लाख रुपैयाँ र जीवन बीमा कोष ३९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.०७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११७.२६ रुपैयाँ रहेको छ ।

तिहारमै बिक्री भएन फूल, किसान निराश

काठमाडौं । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । “फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन, अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्,” उनले भने । बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ । “प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ, अब फूलले बजार पाउने आशा छ,” उनले भने । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गरेका छन् । “फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ, फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ,” उनले भने । उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ । उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थिए । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ । “फूल र माला बनाएर बेच्ने गर्छौ, ५ सय रुपैयाँ प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ, एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ,” उनले भने । स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो । दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । रासस

आज धनधान्यकी देवी लक्ष्मीपूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

काठमाडौं । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भने ‘हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो । त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।’ समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गरेका छन् । ‘प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु,’ उनले भने । भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताए । रासस

विचौलियाले अस्पताललाई बदनाम गरिरहेका छन् : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेको बताएका छन् । वीर अस्पताल सरसफाइ अभियानको शनिबार शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बद्नाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताए । ‘केही स्वार्थी कर्मचारी र विचौलियाले अस्पतालको बद्नाम गरिरहेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न केही कर्मचारीलाई उचालिरहेकाले यसतर्फ सबै सजक रहन जरुरी छ, ‘उनले भने, ‘वीर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्छ ।’ कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालका उपकुलपति प्रा डा। भूपेन्द्र बस्नेतले तिहारका बेला अरु ठाउँ सफा सुग्घर र झिलीमिली बनाए जस्तै अस्पतालमा पनि सरसफाइ अभियानको सुरुआत गरिएको बताए । यो कार्यले निरन्तरता पाउने उनको भनाइ छ । वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले विभिन्न समूह बनाएर अस्पताल सरसफाइ अभियान थालिएको जानकारी दिए । सरसफाइ अभियानमा न्याम्सका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारीलगायतको सहभागिता थियो । रासस

फूलमाला बिक्री गर्न महानगरले तोक्यो चार स्थान 

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको पाण्डेले बताए । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डे स्पष्ट परे । महानगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यमा सहयोग पुर्याउन सबैसँग आग्रह गर्दै आगामी दिनमा अझ व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । ‘स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ,’ उनले भने । विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सो अवसरमा जानकारी दिइयो । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ । अध्यक्ष तामाङले उपभोक्तालाई नेपाली उत्पादनको प्रयोगका लागि आह्वान गरिएकाले अस्वाभाविक मूल्यवृद्धि नगर्न र सहुलियत मूल्यमा उपलब्ध गराउन किसान र व्यवसायीलाई आग्रह पनि गरेका छन् । नेपाल चेम्बर्स अफ कमर्श काठमाडौंका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पु¥याउन आह्वान गरे । ‘स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि सुनिता न्हेमाफूकीले मुलुकको फूलको ठूलो बजार काठमाडाै‌ उपत्यका भएकाले महानगरपालिको स्वदेशी उत्पादन प्रवद्र्धन र सम्मान गरौँ भन्ने अभियानले किसानलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिइन् । राष्ट्रिय कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष उद्धव अधिकारीले नेपाल बहुधार्मिक, बहुसास्कृतिक र बहुभाषिक, बहुजातीय मुलुक भएकाले प्रत्येक दिनहुँजसो मनाइने पर्व र सांस्कृतिक कार्यक्रममा कुनै न कुनैरुपमा फूलको प्रयोग हुँदै आएको बताए । गाउँघरमा आफ्नै खेतबारीमा उत्पादन हुने भए पनि अधिकांश किसानले यसलाई व्यावसायिक प्रयोजनसित जोड्न सकेका छैनन् । तिहारमा मात्रै सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा त्यसमध्ये सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब ३५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ । रासस