विदेशबाट फर्किएपछि पुर्ख्यौली पेसामा रमाउँदै अर्जुन, दैनिक ७ हजार आम्दानी
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए। स्वदेश फर्किएपछि उनले पुख्र्यौली आरन पेसालाई अगाडि बढाए । गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन् । हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् । आरन पेसाबाट वार्षिक रू सात लाख आम्दानी भइरहेको गजमेरले जानकारी दिए। साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेको उनले बताए । ‘विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुव्र्यवहार खेप्नुपरेको अनुभव छ । मैले स्वदेश फर्किएपछि पुख्र्यौली पेसालाई सुरु गर्ने सोच बनाएँ । अहिले वार्षिक रू सात लाखसम्म आम्दानी हुन्छ’, गजमेरले भने । गत वर्षमात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेको उनले बताए । आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिँदै आएको गजमेरको भनाइ थियो । हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बञ्चरो, खुँडा, तरबार, खुकुरी, करौँती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम गर्दै आएको उनले जानकारी दिए। सिजनमा दैनिक रू छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन् । आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ । गजमेरले भने, ‘यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु ।’ सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति रू एक हजारका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो । यहाँ उत्पादित कृषि औजार खुर्पा रू दुई सयदेखि रू दुई हजार पाँच सय, कुटो रू पाँच सय, कोदालो रू आठ सयदेखि रू दुई हजारसम्म, बञ्चरो रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म, खुँडा रू एक हजार पाँच सयदेखि रू आठ हजारसम्म, बसिला रू पाँच सयदेखि रू एक हजार पाँच सयसम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिए । पुराना औजार मर्मतका लागि रू एक सय ५० र अर्चपेको रू ६० लिने गरेको उनले बताए। ‘आरन पेसा हाम्रो पुख्र्यौली पेसा हो । गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दुःख पाएका थिए’, गजमेरले भने, ‘मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु ।’ यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए । उनले भने, ‘किसानले सुविधा खोज्छन् । म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु । यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ ।’ सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन् । उनले भने, ‘टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ । उहाँहरुले कृषि औजार खरिद गरेर लैजानुहुन्छ ।’ गाउँपालिकाले रू एक लाख प्रोत्साहनस्वरुप प्रदान गरेको गजमेरले जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । त्यस्तै आरन संरक्षण तथा प्रवद्र्धनका लागि रू ४० हजार सहयोग गरिएको उनले बताए । रासस
केबुलकारलाई ट्रान्सपोटेसनको रूपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताएका हुन् । नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको जानकारी दिए । केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए । ‘धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भुमिका हुनेछ । यसले विद्युत खपतका साथै इकोनोमिमा राम्रो गर्छ । लुम्बिनी केबल कार महत्वपूर्ण छ’, उनले भने । त्यस्तै लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे । ‘यात्रुहरुको भीड छ । दशैँ तिहारको अफर र छुट्टिको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ’, उनले भने । उनले लुम्बिनी केबुलकारको टिकट महंगो नभएको बताए ।
अब अमेजनबाट हुन्डाईको गाडी पनि किन्न पाइने
एजेन्सी । हुन्डाईका गाडीहरु अनलाइन प्लेटफर्म अमेजनबाट किन्न पाइने भएको छ । हुन्डाई र अमेजन कम्पनीबीच सम्झौता भएपछि अनलाईनबाटै गाडी किन्न पाइने भएको हो । कम्पनीका अनुसार सन् २०२४ बाट अनलाइन प्लेटफर्म अमेजन मार्फत गाडी किन्न सकिने छ । अमेजनले पहिलो पटक हुन्डाईबाट सुरु गरी अनलाइन कार बिक्री गर्ने भएको छ । कम्पनीले हुन्डाईसँग एक सम्झौता गरे पश्चात् डीलरशिपहरूलाई साइट मार्फत कारहरू बेच्न अनुमति दिइने बताइएको छ । हुन्डाईका गाडीहरु अमेजनको प्लेटफर्ममा अहिले नै देखिएता पनि कारको बिक्री भने नयाँ वर्षदेखि हुने कम्पनीले बताएको छ । ग्राहकहरूले साइटमा कारहरू ब्राउज गर्न र विभिन्न माध्यमबाट भुक्तानी गरी गाडी गरेर खरिद गर्न सक्छन् । कम्पनीका अनुसार गाडीको खरिद मूल्य भुक्तानी भएपछि ग्राहकको घर नजिकैको डिलरशिपले गाडीलाई घरमा डेलिभरि गर्ने बताइएको छ । ‘हुन्डाई नवीन कम्पनी हो जसले ग्राहकहरूको जीवनलाई दिनहुँ राम्रो र सहज बनाउन प्रयास गर्दै आएको छ, ‘अमेजनका सीईओ एन्डी जस्सीले भने, ‘हुण्डाईलाई मनोरञ्जन, किनमेल, स्मार्ट घर समायोजन, र क्यालेन्डर जाँचका लागि हुण्डाईका सवारी साधनहरूमा एलेक्सा प्रयोग गर्न सजिलो बनाउनको लागि अनलाइनबाट गाडीहरू किन्नुहोस् ।’ अमेजनमा कारमात्र नभई कार पार्ट्स र सामानहरू पनि किन्न सकिने कम्पनीले बताएको छ । यो नयाँ डिजिटल प्लायटफर्मले ग्राहकहरूलाई नयाँ कार अनलाइन खरिद गर्न सजिलो बनाउने पनि सिईओ जस्सीले बताए ।
मस्कले यहुदी विरोधी पोस्ट समर्थन गरेको भन्दै एक्समा एप्पललगायतले रोके विज्ञापन
एजेन्सी । इलन मस्कले एक्स (ट्वीटर) प्राप्त गरेदेखि कम्पनीलाई विभिन्न समस्याले सताइरहेका छन् । अहिले भने मस्कको एक टिप्पणीले नयाँ विवाद सिर्जना गरेको छ । वास्तवमा, एक्स मालिक मस्कले सोशल मिडिया प्लेटफर्ममा यहुदी विरोधी पोस्टको समर्थन गर्दै एक टिप्पणी गरेका थिए। उक्त टिप्पणीका कारण एप्पल, आईबीएम, डिज्नी, लायन्सगेट र वार्नर ब्रदर्सलगायत धेरै ठूला प्रविधि र मिडिया कम्पनीहरूले माइक्रोब्लगिङ साइटमा आफ्ना विज्ञापनहरू बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले पनि मस्कको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ । ह्वाइट हाउसले मस्कको जवाफ अस्वीकार्य र यहुदी समुदायलाई खतरामा पार्ने जनाएको छ। वास्तवमा, सोशल मिडियामा एक पोस्टले दाबी गरेको छ कि यहुदीहरूले गोरा मानिसविरुद्ध घृणा फैलाइरहेका थिए । यो ट्वीटको समर्थन गर्दै मस्कले लेखे, ‘बिल्कुल सत्य’ । उनको कमेन्टलाई धेरैले मन पराएका छैनन् । ब्लूमबर्गको रिपोर्टअनुसार एप्पलले एक्समा विज्ञापन नगर्ने निर्णय गरेको छ । एप्पल एक्सको प्रमुख विज्ञापनदाता हो । यसले २०२२ नोभेम्बरसम्म हरेक वर्ष १० करोड अमेरिकी डलरको विज्ञापन दिइरहेको थियो । दुई कम्पनीबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो थिएन । अब मस्कको पोस्टले तरंग बढाएको छ । विवादपछि फिल्म स्टुडियो लायन्सगेट, वार्नर ब्रदर्स र कमकास्ट–एनबीसी युनिभर्सलले पनि घोषणा गरेका छन् कि उनीहरूले एक्समा विज्ञापन बन्द गर्ने छन् । यसबाहेक न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ कि डिज्नीले सोशल मिडिया प्लेटफर्महरूमा आफ्ना विज्ञापनहरू रोक्ने निर्णय गरेको छ । चलचित्र निर्माण र वितरण कम्पनीका प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई भने, ‘एलन मस्कको हालैको यहुदी विरोधी ट्वीटका कारण लायन्सगेटले एक्समा विज्ञापन रोकेको छ ।’
महँगो सटर भाडा, अनलाइन सपिङ र पार्किङले कसरी डुबे व्यापारिक केन्द्र ?
काठमाडौं । कोरोना महामारीबाट जब नेपाल पनि अछुतो रहन सकेन, तब आममानिस स्वास्थ्य समस्यामा त परे नै, सँगसँगै मुलुकको अर्थतन्त्रको गति पनि बिस्तारै धिमा हुँदै गयो । चलायमान अर्थतन्त्र लगभग ठप्प हुँदा संघीय राजधानीको व्यापारिक केन्द्र दरबारमार्ग यसबाट बच्न सक्ने कुरै भएन । कोरोना महामारीअघि व्यापारिक केन्द्र दरबारमार्गको व्यापार गुलजार थियो । दरबारमार्ग काठमाडौंको ठूलो व्यापारिक केन्द्र हो । कोरोना महामारीको चपेटामा परेर तनाव खेपिरहेको दरबारमार्गले महामारी हट्दै जान थालेपछि बिस्तारै सास फेरिरहेको थियो । यसले यसो गति लिने छाँट देखाइरहेको थियो । तर, एक्कासि यसमाथि अर्को बज्रपात आइलाग्यो । काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव जितेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फ्याट्टै निर्णय गरिदिए– ‘दरबारमार्ग सडक छेउमा रहेको पार्किङ तुरुन्त हटाउनू !’ यति भएपछि सबै काम तमाम हुन पुग्यो । हिजोसम्म गुलजार दरबारमार्ग एक्कासि खहरे सुकेजस्तो भयो । ‘क्वालिटी ग्राहक’ अर्थात बढी पैसा खर्च गर्न सक्ने उपभोक्ताको गन्तव्य दरबारमार्गमा लगभग कर्फ्यु लागेजस्तै भयो । दरबारमार्ग मूलसडकका दायाँ–बायाँ वर्षौंदेखि व्यापार गरिरहेका रेस्टुरेन्ट, ब्रान्डेड सामानका पसल, होटल, जुत्ता, कस्मेटिक, गहना पसल, अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट, चस्मा पसल, बुटिक, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानका पसललगायतका कारोबार लगभग ठप्प नै भयो भन्दा अतिशयोक्ति नहोला । काठमाडौं महानगरपालिकाले दरबारमार्गका सडकमा दशकौंदेखि हुँदै आएको गाडी र मोटरसाइकल पार्किङ हटाएपछि यहाँको व्यापारिक कारोबार लगभग ठप्पजस्तै छ । महानगरले पार्किङको विकल्प नदिनाले सारा व्यापार चौपट भएको व्यवसायीको दुखेसो छ । अब आजको कुरा, अहिले दरबारमार्ग सुनसान छ । अधिकांश व्यापारिक भवन र तिनका पसल कबलमा ‘टु लेट’ लेखेर टाँसिएको देख्न सकिन्छ । ग्राहक आउलान् र सामान किन्लान् भनेर बाटो हेरेर बसेका व्यापारीलाई आफ्ना पसल कबलका सटर भाडा कसरी तिर्ने भन्ने चिन्ताले दिनहुँ सताइरहन्छ । घरधनीले भाडा छुट दिए वा भाडा तिर्न केही समय थपिएदिए पनि व्यापारै नभएपछि व्यापारीलाई पसल कबल टिकाइराख्न कम्ता चुनौती छैन । विकासन्युजकर्मी दरबारमार्ग घुमिरहँदा पसल कबल सबै खुलेका थिए । तर, रेस्टुरेन्ट, सपिङ मल, कपडा, जुत्तादेखि गहना पसलसम्म सुनसान थिए, ग्राहक देखिन्थेनन् । ग्राहक नै नआएपछि पसल सञ्चालक र कर्मचारी फुर्सदमै थिए र गफगाफमै व्यस्त देखिन्थे । दरबारमार्गका व्यापारीका पसल कबलका सटरका भित्तामा ‘५० प्रतिशसम्म आकर्षक छुट’ भनेर पम्प्लेट टाँसिएका छन् । तर, त्यहाँ टाँसिएका आर्कषक छुटले पनि ग्राहक आकर्षित गर्न सकिरहेका छैनन् । त्यहाँका व्यापारीले एउटै सटरको मासिक भाडा १० देखि १५ लाख रुपैयाँसम्म बुझाउनुपर्ने सम्बद्ध व्यापारी बताउँछन् । तर, पसल खुले पनि व्यापार चाहिँ नभएको व्यापारी दुखेसो पोख्छन् । दरबारमार्गमा ‘फेसन मन्त्र’ नामक बुटिक चलाइरहेकी रजनी राणा पछिल्लो केही समयदेखि व्यापार चलायमान नभएको बताउँछिन् । ‘दसैँ/तिहारमा पनि सोचेजस्तो व्यापार भएन,’ उनी भन्छिन्, ‘ आधा पनि व्यापार छैन ।’ राणाका अनुसार तिहारका लागि भन्दै फाट्टफुट्ट कपडा किन्ने त आइरहेका छन् । तर, त्यस्तो व्यापारले मात्रै सटर भाडा तिर्न सकिने अवस्था छैन । ‘पार्किङको व्यवस्था नभएकाले पनि आफ्ना सवारीसाधनमा आउने यहाँ रोकिन पाउँदैनन्,’ उनी गुनासो गर्छिन्, ‘अब पैदल आउनेले मात्रै यहाँको व्यापार धान्न सक्ने कुरा हुँदैन । सटर भाडा नै तिर्न नसक्ने अवस्था आएपछि पसल खोल्नुले मात्रै कुनै औचित्य पनि राख्दैन । यही व्यापार नै मान्छेको रोजीरोटीको विषय हो । रोजीरोटी नचल्ने अवस्था आएपछि अर्को विकल्प खोज्नुपर्ने हुन्छ ।’ त्यस्तै दरबारमार्गकै अर्का एक व्यापारी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा पार्किङको असुविधाका कारण व्यापार खस्किएको बताउँछन् । ‘अहिलेको अवस्था नियाल्दा दरबारमार्गका सडक सवारीसाधन आवतजावत गर्ने माध्यममात्र बनेका छन्,’ उनी काठमाडौं महानगरपालिकाप्रति आक्रोशित हुँदै भन्छन्, ‘पोहोरभन्दा अहिलेको व्यापारमा धेरै नै गिरावट आयो । यही कारण नै भनेर भन्न सकिने अवस्था छैन । सामान किन्न आउने ग्राहकले पनि सामानको मूल्य सोध्ने र मूल्यअनुसारको पैसा तिर्न नसक्ने बताउँछन् ।’ उनले पनि पसलको मासिक भाडा ८ लाख रुपैयाँसम्म तिनुपर्ने बताए । ‘अहिले पछिल्लो दुई महिनामा मैले ३ लाख रुपयाँको मात्रै व्यापार गरेको छु । अब भाडा कसरी तिर्ने ?,’ उनले गम्भीर हुँदै भने, ‘अब भाडा तिर्न पनि महिनाको ५ लाख आफ्नै गोजीबाट हाल्नुपर्छ । घाटाको व्यापार गर्न सकिँदैन । मैले पनि अर्को विकल्पका लागि अध्ययन गर्दैछु । तपाईंले यहाँ जति पनि कमर्सियल भवनमा टु लेट देख्नुभएको छ नि, यसको मुख्य कारण नै यही हो ।’ दरबारमार्गमै ३० वर्षदेखि गरगहना पसल सञ्चालन गरिरहेका एक व्यापारी निराश मुद्रामा देखिन्थे । ३० वर्षको अनुभवमा पहिलोपटक यस्तो गम्भीर समस्या देखापरेको उनी सुस्तरी बताउँछन् । ‘पछिल्लो समय आर्थिक मन्दीका कारण पनि गहनामा मानिसहरूको आकर्षण नबढेको हुन सक्छ,’ उनी भन्छन्, ‘तिहारको समय भएकाले फाट्टफुट्ट अर्डर त आएका छन् । तर, पछिल्लो तीन–चार महिनामा सोचेजस्तो व्यापार छैन । भूकम्प र कोरोना महामारीले पनि व्यापारलाई असर त गरेको थियो तर अहिलेजस्तो अवस्था आएको याद छैन ।’ पोहोरभन्दा यो वर्ष व्यापारमा उच्च घाटा बेहोर्नुपरेको उनी दुखी हुँदै बताउँछन् । ‘मेरो नाम नलेखिदिनुहोला है,’ उनको आग्रह थियो । ००० दरबारमार्ग विकास समिति अध्यक्ष सञ्जीव तुलाधर काठमाडौंको प्रमुख व्यापारिक केन्द्रको व्यापारमा गिरावट आउनु र व्यापारिक भवनहरू खाली हुँदै जानुको मुख्य कारण आर्थिक मन्दी नभई ‘पार्किङ’ हट्नु रहेको दाबी गर्छन् । धेरैजसो ग्राहक ‘दबारमार्गमा पार्किङ छैन’ भन्दै अन्यन्त्र किनमेल गर्न जान थालेको उनको भनाइ छ । ‘अब दरबारमार्गप्रति ग्राहकले गलत धारणा बनाइसके,’ अध्यक्ष तुलाधरले विकासन्युजसँग भने, ‘पार्किङको समस्या छ भनेर दरबारमार्ग आउने ग्राहकले अरू गन्तव्य रोज्न थालेका छन् । जसले गर्दा यहाँको व्यापारको आकार पनि सानो हुँदै गएको छ । धेरै व्यवसायी पलायन हुने अवस्थामा छन् । अहिले दरबारमार्गको व्यापार ५० देखि ६० प्रतिशत घटेको छ ।’ पहिला दरबारमार्गमा पार्किङ हुँदा व्यापार ७० देखि ८० प्रतिशत हुने गरेको तुलाधरको भनाइ छ । व्यापारमा कमी आएका कारण राजस्व पनि घटेको उनले बताए । दरबारमार्गमा पाँच लेनको सडक छ । ती लेनमध्ये दुई–दुई लेनमा गाडी आवतजावत गर्नुपर्ने र एक लेन पार्किङलाई दिनुपर्ने अध्यक्ष तुलाधरको भनाइ छ । ‘पहिलेदेखि नै एक लेन चाहिँ पार्किङलाई भनेरै छुट्ट्याइएको थियोे,’ उनी भन्छन्, ‘काठमाडौं महानगरका मेयर बालेनजीले बुझेर पार्किङ हटाउनुभयो वा नबुझी हटाउनुभयो, त्यो थाहा भएन । तर, यही कारण दरबारमार्गका व्यापारीको बिजोग नै भयो । यसको अर्थ धेरैको रोजीरोटी र सरकारी राजस्वमा पनि असर गरेको छ ।’ पार्किङको विकल्पका लागि तुलाधर र उनको टिमले मेयर साहसँग बारम्बार अनुरोध गरिरहेको छ । ‘हामीले गरेको अनुरोधमा मेयरसाबका तर्फबाट कुनै जवाफ आएको छैन,’ अध्यक्ष तुलाधर निराश हुँदै भन्छन्, ‘अब त दरबारमार्गको व्यापारिक केन्द्रको ट्याग हट्ने निश्चितजस्तै भइसक्यो । तै पनि मेयर साबले कुरा बुझ्नुहुन्छ कि भन्ने झिनो आश भने बाँकी छ ।’ ००० काठमाडौं महानगरले २०७९ मंसिर दोस्रो साता दरबारमार्गका सडक छेउ हुँदै आएको गाडी तथा मोटरसाइकल पार्किङ हटाएको थियो । दरबारमार्ग मूलसडकका दुवैतर्फ पैदलयात्रीका लाग १०/१० फिटको सडक पेटी, कुल ७० फिट चौडाइको पाँच लेन सडकमध्ये एक लेन सवारी पार्किङमा प्रयोग भइरहेको थियो । दरबारमल १, दरबारमल २, अन्नपूर्ण होटललगायतमा भएको पार्किङ दरबारमार्गको व्यापारका लागि अपुग हुने अध्यक्ष तुलाधर बताउँछन् । अहिले दरबारमार्ग क्षेत्रको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ भएकाले महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्ने उनको माग छ । दरबारमार्ग सामान किनबेच गर्ने ठाउँमात्रै नभएको अध्यक्ष तुलाधरको तर्क छ । ‘दबारमार्ग व्यापारिक केन्द्रमात्रै नभएर मनोरञ्जन र पर्यटन गन्तव्य पनि हो,’ उनी भन्छन, ‘दरबारमार्गलाई सरकारले प्राथमिकतामा राख्नैपर्छ ।’ ०००० पछिल्लो समय भाटभटेनी, सेल्सबेरी, बिगमार्टजस्ता आधुनिक र विकेन्द्रित मार्टको भने व्यापार बढेको छ र उपभोक्ताको आकर्षण पनि त्यतातिर बढेको देख्न सकिन्छ । भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार भाटभटेनी सुपरमार्केटले एक वर्षमा २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो । ठमेलमा पनि अधिकांश सटर बन्द पछिल्लो समय पर्यटन गन्तव्य ठमेलको अवस्था पनि दरबारमार्गको जस्तै छ । अहिले ठमेलमा व्यापारिक भवनका दोस्रो तलादेखि माथिका अधिकांश सटर (कोठा) खाली देख्न सकिन्छ । ठमेलका घरधनीहरूले पनि २५ देखि ३० प्रतिशतसम्म छुट दिएर सटर भाडामा लगाउन चाहेका छन् । तर, पनि भाडामा लिने मान्छे पाउन मुस्किल देखिने उनीहरूको गुनासो छ । विगतमा दरबारमार्ग, ठमेल, न्यूरोड, पुतलीसडकमा सटर वा वा कोठाहरू लाखौं रुपैयाँ ‘सलामी’ लिएर किनबेच हुने गर्थे भने हाल त्यो पनि असम्भव देखिएको छ । यी ठाउँहरूमा कोरोना महामारीअघि व्यापारका लागि महँगै भाडा तिरेर व्यापार गर्न पनि व्यापारी पछि पर्दैनथे । अहिले घरधनीलाई पनि सटर खाली राख्नुभन्दा भाडा घटाएरै दिनुपर्ने दबाबजस्तै देखिन्छ । ठमेलमा अहिले पनि मासिक २० हजारदेखि ५० लाखसम्म घरभाडा बुझाउने व्यवसायी छन् । घरधनीले घरभाडा छुट दिए पनि ठमेलमा पसल, अफिस, रेष्टुरेन्ट बन्द हुने क्रम रोकिएका छैनन् । ठमेलका रात्रि क्लब पनि यसबाट प्रभावित नै छन् । उनीहरू फ्याट्टै व्यवसाय बन्द गरेर हिँडिहाल्ने अवस्थामा पनि छैनन् । ठमेलमा अहिले पर्यटक सिजन भए पनि व्यापार भने घटेको ठमेल पर्यटन विकास परिषदका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया बताउँछन् । ‘अहिले ठमेल सिजनमै छ, अफ सिजन त होइन,’ पूर्वअध्यक्ष थपलिया भन्छन्, ‘पर्यटक आगमन सन्तोषजनक भए पनि व्यापार छैन ।’ अहिले व्यापारिक केन्द्र ठमेलको दोस्रो, तेस्रो तलामात्र नभई भुइँतला पनि खाली हुँदै गएको उनी बताउँछन् । अहिले विश्व नै आर्थिक मन्दीमा रहेकाले नेपाल त्यसबाट अछुतो रहन नसकेको थपलियाको भनाइ छ । ‘हामीकहाँ म्यानपावर कम छ । यहाँका जनशक्ति कुनै एउटा पसलमा आएर काम गर्छन्, केही समयपछि विदेश पलायन भइहाल्छन्,’ उनी भन्छन्, ‘अर्को कुरा, तलब समयमा हुँदैन । सञ्चालकले आम्दानी नभएपछि नियमित तलब दिन सक्दैन । अब सञ्चालक नै पलायन हुने अवस्था आइसक्यो ।’ अहिले पर्यटक सिजन भए पनि विगतकै दाँजोमा आम्दानी नभएको उनको भनाइ छ । ‘हामीले विभिन्न स्किम ल्याएर व्यापार बढाउन पनि नखोजेका होइनौं,’ थपलिया थप्छन्, ‘तर, कुनै परिवर्तन भएन । के नपुगेर परिवर्तन भएन भन्नेमा हामीले समीक्षा पनि गर्न खोजेनौं ।’ ठमेलको व्यवसाय धान्न पर्यटक संख्या नै बढाउनुपर्ने पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘पर्यटक नै आएनन् भने ठमेलको सटर स्वदेशी पर्यटकबाट एकदमै कम चल्छ,’ उनी भन्छन्, ‘नेपालीले पनि खर्च गर्न नसक्ने भन्ने त छैन । तर, सामान्य खाना खाने, सपिङ गर्नेले मात्रै ठमेल चल्न निकै गाह्रो छ ।’ अहिले ठमेलमा स्वदेशी र विदेशी पर्यटक संख्याबराबरजस्तै भएको पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘ठमेलमा नेपालकै महँगो घरभाडा छ । हिजोको दिनमा राम्रो व्यापार थियो । व्यापार राम्रो भएकाले व्यापारीलाई पनि चल्न सहज थियो,’ उनी भन्छन्, ‘एउटा व्यापारीले व्यवसाय छाडिहाले पनि अर्को तुरुन्तै आएर व्यापार सुरु गरिहाल्थ्यो । अहिले व्यापार शून्य र भाडा चर्को हुनाले धमाधम व्यवसायी सटर छाड्न बाध्य छन् ।’ हाल बैंकले सहजै लगानी नगरेकाले व्यापारीहरू मारमा परेको पनि थपलिया बताउँछन् । ‘धेरै बैंकले ऋण दिएका छैनन्,’ उनी भन्छन्, ‘ऋण दिए पनि ब्याज तिर्न सक्ने व्यापारीको अवस्था छैन । बैंकले असुल नगरी छाड्दैन ।’ पछिल्लोपटक मुलकमा आयात परिमाण बढेको छ भने उपभोक्ता खपत पनि सोहीअनुसार बढिरहेको छ । तर, राजधानी सहरका प्रमुख व्यापारिक केन्द्रमा रहेका अधिकांश सटरको व्यापार कम भएको थपलिया बताउँछन् । ०००० सन् १९९५ मा विश्वव्यापीरूपमा इन्टरनेट सुरुवात भएपछि संसारभरि अनलाइनबाट हुने व्यवसाय सुरु भएको थियो । विश्वबजारमा अमेजनजस्ता ठूला अनलाइन सपिङ प्लेटफर्म कम्पनीले आफ्नो बजार स्थापना गरेपछि पछिल्लो दशकमा नेपालमा पनि ई–कमर्स फस्टाएको छ । नेपालमा पनि मार्केटप्लेसका रूपमा दराज, हाम्रो बजार, सस्तो डिल, युवामञ्च डटकमजस्ता प्लेटफर्महरूले व्यापारको परिचयमा नयाँ आयाम थपेका छन् । पसलसम्म गएर सामान खरिद गर्ने ग्राहक यतिबेला ई–कमर्स कम्पनीका मोबाइल एप र वेबसाइटमा सामान रोज्ने र आफूले खोजेजस्तो ब्राण्ड र मूल्यमा सहजै अर्डर गर्न पाइने भएपछि अनलाइन सपिङमा ग्राहकको आकर्षण नजानिँदो पारामा बढिरहेको छ । पछिल्लो समय विश्वप्रख्या सामाजिक सञ्जाल एपहरू टिकटक, फेसबुक र इन्स्टाग्राम पनि आफ्ना व्यवसायको विज्ञापन गर्ने राम्रो माध्यम बनेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्राम वा कम्पनीको वेबसाइट नै बनाएर पनि व्यवसाय भइरहेका छन् । साना–साना खुद्रा पसल, कपडा पसल, जुत्ता, ब्याग, कस्मेटिक, ब्युटीपार्लर, बुटिक, गरगहना पसल, रेस्टुरेन्ट, सामान्य खाजा खाने पसल, नर्सरीदेखि ठमेल, दरबारमार्ग, न्यूरोड, बानेश्वरजस्ता व्यापारिक केन्द्रमा करोडौं लगानीमा खुलेका ठूला पसल, मल, सपिङ कम्प्लेक्समा रहेका पसलहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमार्फत व्यापार गर्दै आएका छन् । यस्ता सामाजिक सञ्जालमा आफ्नै एकाउन्ट वा ह्यान्डल खोलेर भिडियोमार्फत सामान बेच्न धेरै नै सजिलो भएको छ । अनलाइन सपिङ गर्न रुचाउने ग्राहक वा उपभोक्ताले व्यापारी तथा पसलका त्यस्ता एकाउन्ट वा ह्यान्डललाई चौबिसै घन्टा पछ्याइरहेका हुन्छन् । नयाँ सामान वा नयाँ उत्पादन बजारमा ल्याउनुपरे त्यस्ता व्यापारिक एकाउन्ट वा ह्यान्डलबाट सार्वजनिक हुने गरेका छन् । जसले गर्दा कुनै पनि सञ्चारमाध्यम (टेलिभिजन, पत्रपत्रिका, अनलाइन समाचार पोर्टल) मा महँगो रकम तिरेर विज्ञापन गर्नु पनि नपर्ने हुँदा व्यापारीलाई राम्रै फाइदा हुने गर्छ । त्यतिमात्र होइन, यसरी सामाजिक सञ्जाल फेसबुक, टिकटक वा इन्स्टग्राम जेबाट आफ्ना सामान वा उत्पादनबारे भिडियो सार्वजनिक गर्नासाथ एकैपटक हजारौं, लाखौं वा करोडौं ग्राहकमाझ पुग्ने गर्छ । त्यस्ता भिडियोमा सामान खरिद अर्डर गर्नका लागि सम्पर्क ठेगाना, मोबाइल वा ल्यान्डलाइन टेलिफोन नम्बर दिइएको हुन्छ । यसबाट ग्रााहकलाई पनि कति सजिलो भएको छ भने सामान किन्न बजार गइरहनै पर्दैन, जसबाट समयको बचत छँदैछ, यातायात खर्च पनि जोगिन्छ । ग्राहकले त्यही भिडियोमा हेरेर आफूलाई मनपर्ने सामान खरिद अर्डर गर्न सक्छन् । प्रविधिले त्यसमाथि यति सजिलो बनाइदिएको छ कि सामान खरिद अर्डर गरेपछि पैसा पनि सिधै अनलाइनमार्फत तिरे हुन्छ । ग्राहकले आफूलाई मनपरेका लुगा, जुत्ता, कस्मेटिक, घडी, ब्याग, सारी, कुथौ, पाइन्ट, सर्ट, टिसर्ट वा अन्य जुनसुकै सामान अर्डर गरेको केही समयमै घरमै आइपुग्छ । कुनै नाम चलेकै रेस्टुरेन्ट होस् वा सामान्य खाजा पसल वा ठूलै होटलबाट आफूलाई मन लागेको खानेकुरा मगाउन पनि सिधै अनलाइबाट सकिन्छ । प्रविधि र सामाजिक सञ्जालले ग्राहकलाई धेरै नै सहज बनाइदिएका छन् । बजारमा आर्थिक मन्दी या विविध कारण सटरहरू खाली गर्नुपर्ने बाध्यता आइलाग्दा पसल छाड्न बाध्य भइरहेका व्यापारीहरूले यी माध्यममबाट पनि आफ्नो व्यापारलाई अगाडि बढाइरहेको पनि देख्न सकिन्छ । महँगो सलामी दस्तुरका कारण व्यापारिक केन्द्रका मुख्य सडकमै सटर भाडामा लिन नसक्ने अवस्था भएपछि व्यापार गर्न चलाखी गर्नेहरूले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको व्यापक उपयोग गरिरहेका छन् । उनीहरू मुख्य सडकमा पसल नराखी भित्री सडकमा स्टोर खोलेर राम्रै आँकडामा व्यापार गरिरहेका छन्, तर यसमा सबै तिनै अनलाइन प्लेटफर्मको उपयोग भइरहेको छ । सीमित खर्च, सीमित स्रोत र सीमित साधनबीच कसैले कुनै नयाँ व्यवसाय सुरुवात गर्छु भन्ने सोच बनाएमात्र हुने वातावरण पछिल्लोपटक प्रविधिमा भएको विकासले तयार पारिदिएको छ । अहिलेका यस्ता डिजिटल प्लेटफर्मले पनि सानादेखि ठूला आकारका व्यापार गर्न राम्रै साथ दिइरहेका छन् । संघीय राजधानीमात्र नभई मुलुकका धेरै सहरबजारका सटर खाली हुँदै गएका देखिन्छन् । यसको प्रमुख कारण महँगो भाडा वा महँगो सलामी दस्तुर रहेको व्यवसायी बताउँछन् । त्यसमाथि पछिल्लो दशक त अनलाइन सपिङको बढेदो क्रेजले त्यस्ता व्यापारिक केन्द्रका सटरमा टु–लेट (भाडामा छ) लेखिएका बोर्ड झुन्ड्याइनु अब नौलो नहुने अवस्था सिर्जना भइसकेको दरबारमार्गका एक व्यापारीले बताए । संघीय राजधानी काठमाडौंको कुरा गर्दा विगतमा असन, इन्द्रचोक, भोटाहिटी, न्यूरोड, दरबारमार्ग, ठमेल, नयाँबानेश्वरलगायत मात्र बजारका रूपमा चिनिन्थे । तर, अहिले बजार धेरै नै विस्तार भइसकेको छ । चक्रपथ (रिङरोड) क्षेत्र वरपार र त्यसभन्दा बाहिर पनि प्रशस्त बजार खुलेका छन् । त्यसको असरले पनि मुख्य बजारमा व्यापार घटेको व्यापारीको अनुभव छ । रिङरोड बाहिर पनि भाटभटेनी, बिगमार्ट, केके मार्टजस्ता ठूला सपिङ मलहरू भटाभट खुल्न थालेपछि व्यापारिक केन्द्रमा महँगो भाडामा सटर लिएर बसेका व्यापारीको लगभग बिचल्ली भएको छ भन्दा अतिशयोक्ति नहोला । त्यसमाथि संघीयतासँगै प्रदेश मुकाम र पालिका मुकाममा नयाँ बजार बसेका छन् । त्यसले पनि मुख्य बजार सुनसान बनाउन सहयोग पुगेको छ । सम्बन्धित शिर्षक सहरमा व्यापार बढेकै छ, घटेको सटरमा मात्र हो
नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय
काठमाडौं । आज १९ नोभेम्बर । अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् । खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो । नेपालमा शौचालय प्रयोग गर्नेहरुको संख्या वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात यो संख्या ३६ लाख ६७ हजार ७८० हो । त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो संख्या ३२ हजार ३८१ हो । त्यतै शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात ३ लाख १ हजार ४९० रहेको छ ।
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता
काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर-दुल्लीकुना खण्ड र घाटपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् । बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक र दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल दुई सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ । रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी-किमाथाङ्का सडकअन्तर्गत (च्याम्ताङ-घोङघप्पा खण्ड) १० दशमवल ५१ किमी सडक निर्माण कार्य भइरहेको छ । विसं २०७७ माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ । गत आवसम्म उक्त सडकको प्रगति ६ दशमवल ५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३ दशमवल ५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर-दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डको ११ दशमलव ५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ । लालिबगर-दुल्लिकुन्ना खण्डमा गत आवसम्म छ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा तीन दशमलव पाँच किमी ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर-दुल्लिकुन्ना खण्डमा दुई दशमलव पाँच नयाँ ट्र्याक निर्माण र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा एक दशमलव ५ किमी ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई छ सय ८२ किमी छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५ दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा दुई दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण र तीन किमी स्तरोन्नतिको लक्ष्य राखिएको छ । यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर खण्ड) सडक आयोजनाको कूल चार सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आवसम्म १० दशमलव ४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किमी र दुई किमी स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । ती सडकको कूल लम्बाई एक हजार चार सय ११ किलोमिटर रहेको छ ।सेनाले सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिन्चु-जाजरकोट ४५ किमी, बेँसीसहर-चामे ६५ किमी, नाङ्मा-गमगढी ९४ किमी, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किमी, मैलुङ-स्याफ्रुबेँसी १७ किमी, जाजरकोट-डोल्पा (दुनै) एक सय १७ दशमलव ७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी-बागलुङ खण्ड) ७५ दशमलव ४ किमी र कर्णाली कोरिडोर (खुलालु-लैफु-सलिसल्ला खण्ड) एक सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ । राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ । रासस
सूर्यज्योतिका सीईओ खत्रीको नयाँ शैलीले जमेको माहोल
काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । गत शुक्रबार नेपालकै पहिलो र एक मात्र नयाँ जीवन बीमा योजनाको सुभारम्भ गर्ने भन्दै कम्पनीले पत्रकारलाई जानकारी गरायो । तर, तपाईं हामीले सोचेजस्तो त्यहाँ पत्रकारले प्रश्न गर्नेभन्दा पनि कम्पनीले पत्रकारहरूलाई प्रश्न गर्यो । जसले माहोल मात्रै जमाएन पत्रकारहरूमा पनि बीमा सम्बन्धि सचेतना र बीमा शिक्षाको विषयमा राम्रोसँग जानकारी भयो । कार्यक्रम हलभित्र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, प्राधिकरणका उच्च तहका कर्मचारी, सूर्यज्योति लाइफका कर्मचारी र सञ्चालक र पत्रकारहरूसहित करिब दुई/अढाई सय जनाको उपस्थिती थियो । कार्यक्रममा अधिकांश सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू थिए । कार्यक्रमको सुरुवातमै आफ्नो प्रस्तुति दिन उद्घोषकले सूर्यज्योति लाइफ प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीलाई पोडिएममा बोलाए । उनले सबैलाई स्वागत गर्दै आफ्नो प्रस्तुति राख्ने अनुमति मागे । ल्यापटप खोल्दै उनले कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणको झलक प्रस्तुत गरे । गत वर्षको पुसमा साविक सूर्य लाइफ र ज्योति लाइफबीच जीवन बीमा कम्पनीहरुमा पहिलो मर्ज भएको बताए । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, कूल लगानी ३४ अर्ब रुपैयाँ, जीवन बीमा कोष २९ अर्ब ५० करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब २२ करोड रुपैयाँ, जारी बीमालेख संख्या २२ लाख, १७६ शाखा कार्यालय र सक्रिय रुपमा आवद्ध करिब ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको बताउँदै उनी अर्काे विषयतर्फ मोडिए । ‘विभिन्न कार्यक्रम हुँदा पत्रकारहरूले हामीलाई प्रश्न गर्नु हुन्छ । तर, आज म तपाईंहरूलाई प्रश्न गर्छु,’ उनले त्यसो भनिरहँदा सबै जना पत्रकारहरू अचम्मित बने । सीईओ खत्रीले सबैजनालाई होटलले उपलब्ध गराएको वाईफाई मोबाइलमा कनेक्सन गर्न आग्रह गरे । वाईफाईको युजर आईडी र पासवर्ड सबै टेबलमा प्रिन्ट गरेर राखिएको थियो । सबैले वाईफाई कनेक्सन गरेपछि मेन्टी डटकम वेभसाइट खोल्न लगाए । सो वेभसाइट खोलेपछि कोड नम्बर भने । सो कोड नम्बर उल्लेख गरेपछि सुरुमा एउटा प्रश्न सोधियो, ‘के तपाईंहरूले जीवन बीमा गर्नु भएको छ ? साथै, उक्त प्रश्न ठूलो पर्दामा पनि सबैले देख्ने गरी स्पष्ट देखिएको थियो । साथै, प्रश्नको तलतिर विकल्पको रूपमा उत्तर पनि उल्लेख गरिएको थियो, ‘एस’, ‘नो’ र ‘गर्ने योजनामा छु’ । त्यसपछि ३४ प्रतिशतले बीमा गरेको छु, १२ जनाले गरेको छैन र १ जनाले गर्ने योजनामा छु भनेर उत्तर दिए । उक्त प्रश्नपछि सीईओ खत्रीले अर्काे प्रश्न गरे, ‘नेपाली जनताहरुहरूमा बीमा सचेतनाको अवस्था के छ ? अप्सनमा राखिएको थियो, बढ्दोक्रम, उच्च, मध्यम र न्यून । सर्वेक्षणमा सहभागीहरुमध्ये बढ्दोक्रममा ४५ प्रतिशत, उच्च २ प्रतिशत, मध्यम ३९ प्रतिशत र न्यूनमा १४ प्रतिशत रहेको जवाफ दिए । त्यस्तै, पोलिसी होल्डरको लागि सबैभन्दा महत्वपूर्ण तत्व के हो ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य । सर्वेक्षणमा सहभागीहरुमध्ये बोनसमा १३ प्रतिशत, रिस्क कभरेजमा ६९ प्रतिशत, फोर्स सेभिङमा १८ प्रतिशत र अन्यमा शुन्य उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा सबैभन्दा चर्चित प्रडक्ट कुन हो ? जसको उत्तरमा थियो, इन्ड्राउनमेन्ट, मोनि ब्याक, टर्म प्लान र होल लाइफ । सर्वेक्षणमा सहभागीहरुमध्ये इन्ड्राउनमेन्टमा ५५ प्रतिशत, मोनि ब्याकमा २० प्रतिशत, टर्म प्लानमा १० प्रतिशत र होल लाइफमा १५ प्रतिशत उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा बीमितहरुले कुन बीमाङ्क रकमको पोलिसी खरिद गरिरहेका छन् र औषत प्रिमियम कति छ ? अप्सलमा ६ लाखको बीमाङ्क रकम र वार्षिक ४० हजार प्रिमियम, २० लाखको बीमाङ्क रकम र वार्षिक १ लाख ३० हजार प्रिमियम र २५ लाखको बीमाङ्क र वार्षिक १ लाख ६५ हजार प्रिमियम । सर्वेक्षणमा सहभागीहरुमध्ये अधिकांशले सानो बीमाङ्क रकम र कम प्रिमियम शुल्क भएको बीमा योजना खरिद गरिरहेको जवाफ दिए । ८६ प्रतिशतले ६ लाख, १२ प्रतिशतले २० लाख र २ प्रतिशतले मात्रै २५ लाख बीमाङ्क रकम भएको बीमा योजना खरिद गरिरहेको सर्वेक्षणले देखायो । साथै, कुनैपनि मान्छे बीमा गर्दा आफ्नो सम्पत्ति, कर्जा लगायतको अवस्था हेरेर वा अध्ययन बीमा गर्ने गरेको छ नबुझि बीमा गरिरहेको छ ? भनेर सीईओ खत्रीले प्रश्न गरे । एस, नो र नट स्योर अप्सन राखिएको थियो । सर्वेक्षणमा सहभागी ८० प्रतिशतले आफ्नो सम्पत्तिको सुरक्षा नहेरि बीमा गर्ने गरेकोमा बढी देखिए । उनले अर्काे प्रश्न गरे, जीवन बीमा किन खरिद गर्नु पर्छ ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य अप्सन थिए । सर्वेक्षणमा सहभागीमध्ये ९८ प्रतिशतले रिस्क कभरेज र २ प्रतिशतले मात्रै बोनसको लागि जीवन बीमा गर्नु पर्ने उत्तर दिए । यस्तै, ग्राहकहरुलाई बैंकको प्रडक्ट जस्तै बीमा प्रडक्टको बारेमा जानकारी छ की छैन ? सहभागीहरुमध्ये ८० प्रतिशतले बीमा प्रडक्टको बारेमा ग्राहकलाई जानकारी नभएको उत्तर दिए । बीमा बुझाउन गाह्रो भएकाले बैंकिङ्ग प्रडक्टभन्दा बीमा प्रडक्टका बारेमा ग्राहकरुलाई जानकारी नभएको जवाफ दिए । जीवन बीमा सामान्य, सबैले खरिद गर्न सक्ने र उच्च कभरेज हुनु पर्छ की नाइ भन्ने प्रश्नमा ९५ प्रतिशतले जीवन बीमा धेरै सरल, सबैले खरिद गर्न सक्ने र सस्तो भएपनि उच्च कभरेज हुनु पर्ने उत्तर दिए । खत्रीको यो नयाँ अभ्यासले कार्यक्रमको माहोल मात्रै जमेन नयाँ सिकाइ र अनुभव पनि प्राप्त भएको धेरैको प्रतिक्रिया थियो । बीमा र बीमाको पहुँच सम्बन्धि सो सर्वेक्षणले केही मात्रामा भएपनि जानकारी भएको धेरैको धारणा थियो । उक्त सर्वेक्षणले नेपालको बीमा बजार कस्तो छ भन्नेबारे प्रष्ट पारेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । यसबाट जे उत्तर आएको छ, स्थिती पनि ठ्याक्कै त्यहि रहेको उनको भनाइ छ । साथै, सोही सर्वेक्षणलाई मनन गरेर प्रत्येक जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा बीमा सम्बन्धि जनचेतना कार्यक्रम गर्न निर्देशन दिए ।