सिजनमा दैनिक रू छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन् । आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ ।
गजमेरले भने, ‘यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु ।’ सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति रू एक हजारका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो ।
यहाँ उत्पादित कृषि औजार खुर्पा रू दुई सयदेखि रू दुई हजार पाँच सय, कुटो रू पाँच सय, कोदालो रू आठ सयदेखि रू दुई हजारसम्म, बञ्चरो रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म, खुँडा रू एक हजार पाँच सयदेखि रू आठ हजारसम्म, बसिला रू पाँच सयदेखि रू एक हजार पाँच सयसम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिए । पुराना औजार मर्मतका लागि रू एक सय ५० र अर्चपेको रू ६० लिने गरेको उनले बताए।
‘आरन पेसा हाम्रो पुख्र्यौली पेसा हो । गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दुःख पाएका थिए’, गजमेरले भने, ‘मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु ।’ यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए । उनले भने, ‘किसानले सुविधा खोज्छन् । म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु । यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ ।’
सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन् । उनले भने, ‘टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ । उहाँहरुले कृषि औजार खरिद गरेर लैजानुहुन्छ ।’ गाउँपालिकाले रू एक लाख प्रोत्साहनस्वरुप प्रदान गरेको गजमेरले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । त्यस्तै आरन संरक्षण तथा प्रवद्र्धनका लागि रू ४० हजार सहयोग गरिएको उनले बताए । रासस